बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कृषि सहकारी केन्द्रीय संघ : खर्चमा मनामौजी, घट्दो नाफा

सोमबार, २२ पुस २०८१, १७ : ५७
सोमबार, २२ पुस २०८१

काठमाडौँ । देशभर भएका कृषि सहकारी संस्थाहरुको संघ हो, नेपाल कृषि केन्द्रीय सहकारी संघ । संघको मातहतमा ९८६ कृषि सहकारी संस्था आबद्ध छन् । केन्द्रीय संघले देशभरका कृषि सहकारी संस्था र संघहरुको १४ करोड रुपैयाँभन्दा धेरै बचत संकलन गरेको उल्लेख गरेको छ । 

तर, त्यति धेरै आबद्धता र सहभागिता रहेको केन्द्रीय संघको वित्तीय अवस्था पनि राम्रै देखिन्छ । तर, अनावश्यक खर्च र स्रोतको दोहन गरेर नाफा भने शून्यको हाराहारीमा देखाउने गरेको पाइएको छ । संघको १७ औँ साधारण सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा खुद बचत (नाफा) जम्मा ४ लाख ८६ हजार ९६८ रुपैयाँ रहेको उल्लेख छ । अघिल्लो वर्ष सहकारीको यस्तो बचत ८ लाख ४४ हजार ८४९ रुपैयाँ रहेको देखाइएको थियो । 

खुद बचतमा कमजोर देखिएको सहकारीको अरू क्षेत्रमा भने निस्फिक्री खर्च गरेको देखिएको छ  । यो अवधिमा विभिन्न स्रोतबाट ७ करोड ९४ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको सहकारीले ७ करोड ८९ लाख १६ हजार रुपैयाँ खर्च गरेरै सकेको छ । 

उक्त संघले एक वर्षमा कर्मचारीबापत मात्रै ९८ लाख १५ हजार रुपैयाँ खर्च गरेको छ । त्यस्तै, ८६ लाख ४४ हजार रुपैयाँ बराबरको प्रशासनिक खर्च गरेको जनाएको छ । यसमध्ये साधारण सभामा १३ लाख र मायाको चिनोको लागि १ लाख १८ हजार रुपैयाँ खर्च गरेको छ । त्यस्तै, सवारी मर्मतका लागि ५ लाख ६८ हजार, अतिथि सत्कारका लागि ३ लाख १८ हजार तथा अन्य खर्च शीर्षकमा १ लाख ४५ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । 

एक वर्षको अवधिमा संघको सञ्चालक समितिको बैठक भत्ताका लागि ६ लाख ९१ हजार खर्च भएको छ । त्यसमध्ये अध्यक्ष खेमराज पाठकले भने सञ्चार खर्चबापत २४ हजार रुपैयाँ बाहेक अरू भत्ता नलिएको लेखा समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसबाहेक, लेखा समिति तथा अन्य उपसमितिको बैठकका लागि १ लाख ५३ हजारभन्दा धेरै खर्च गरेको छ । वैदेशिक भ्रमणका लागि भनेर ७ लाख ८६ हजार रुपैयाँ खर्च निकासा दिइएको छ । 

चार वर्षदेखि निरन्तर घट्दै नाफा

आर्थिक वर्ष २०६४/६५ मा स्थापना भएको उक्त संघले स्थापनाको चौथो वर्ष अर्थात् आव २०६७/६८ मा १५ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, २०६८/७९ मा २० लाख ३९ हजार तथा आर्थिक वर्ष २०७२/७३ मा २४ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको केन्द्रीय संघको नाफा त्यसपछि घट्न थालेको हो । पछिल्लो पटक विगत ४ वर्षदेखि संघको नाफा घट्दै गएको देखिन्छ । 

आर्थिक वर्ष २०७७/७८ मा १६ लाख ३८ हजार नाफा कमाएको संघले २०७८/७९ मा ९ लाख ५० हजार, २०७९/८० मा ९ लाख ३८ हजार कमाउँदा गत आवमा नाफा ५ लाख रुपैयाँमा सीमित भएको हो । 

सच्चिने छैन लक्षण

संघका अध्यक्ष खेमराज पाठकले वार्षिक साधारण सभामा संघको दिगो आम्दानीको स्रोत नभएको र उपलब्ध स्रोतलाई मितव्ययी ढंगले कार्यान्वयन गर्नुपर्ने बताए पनि अनावश्यक खर्चहरू घटाउनुको सट्टा उल्टो बढाउँदै गएको देखिन्छ । संघले चालु आर्थिक वर्षका लागि बैठक भत्ता अघिल्लो वर्षको खर्चभन्दा १४९ प्रतिशतले बढाएको छ । यस अनुसार चालु आवमा सञ्चालक समितिको बैठकका लागि मात्रै १७ लाख २१ हजार रुपैयाँ खर्च गरिनेछ । 

त्यस्तै, लेखा समिति र उपसमितिको बैठक भत्तामा साढे ८ लाख, वैदेशिक भ्रमण खर्चमा ९ लाख ६० हजार मायाको चिनोका लागि १ लाख ३२ हजार, अतिथि सत्कार ३ लाख ३० हजार तथा दैनिक भ्रमण खर्च शीर्षकमा १ लाख ५६ हजार खर्चको बजेट विनियोजन गरिएको छ । तर, यो वर्ष पनि बचतको लक्ष्य भने यो वर्ष पनि ९ लाख २० हजार रुपैयाँ मात्रै छ ।

संघको लेखा समिति तथा बाह्य लेखापरीक्षकको प्रतिवेदनमा स्थायी आम्दानीको दरिलो स्रोत खोज्नुपर्ने बताए पनि खर्चको मितव्ययिताको लागि भने यी खर्चहरूमा मितव्ययिता कायम गर्ने सन्दर्भमा भने केही बोलिएको छैन, न त अध्यक्षको मन्तव्यमा नै आत्मसमीक्षा गरिएको छ । संघकी कोषाध्यक्ष गीता केसी संघले विभिन्न जगेडा कोषहरुमा पठाएकोले नाफा कम भएको बताउँछिन् । अन्य खर्चहरु भने सञ्चालक समितिले निर्णय गरेबमोजिम गरिएको केसी बताउँछिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप