एमाले–माओवादी आरोप–प्रत्यारोपमा, कांग्रेसलाई हाइसन्चो
काठमाडौँ । सरकारको नेतृत्व गरेको दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक दुई दिन यता काठमाडौँमा जारी छ ।
संसद्को चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक भने शनिबार सुरु भएर आइतबार नै सकिएको छ ।
एमाले र माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार सुरु भएको हो । दुवै दलको पहिलो दिनको बैठकमा सम्बन्धित पार्टीका अध्यक्षले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
एमाले बैठकमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओली र माओवादी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनमा एक अर्कामाथि आरोप–प्रत्यारोप गरेका छन् ।
ओली र प्रचण्डका प्रतिवेदनमाथि सम्बन्धित दलको बैठकमा सदस्यहरूले बोल्ने क्रम जारी छ । दुवै अध्यक्षले आफ्ना प्रतिवेदनमा मुलुकको राजनीति, अर्थ व्यवस्था, सरकार सञ्चालन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्था र पार्टीको आन्तरिक अवस्थाका बारेमा चर्चासहित व्याख्या गरेका छन् ।
रोचक त के छ भने प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आफ्नो प्रतिवेदनमा तेस्रो ठुलो दल माओवादी, चौथो ठुलो दल रास्वपा र पाँचौँ ठुलो दल राप्रपाको भूमिकामाथि प्रश्न उठाएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो प्रतिवेदनमा पहिलो दल नेपाली कांग्रेससँगको सत्ता सहकार्यलाई राजनीतिक स्थायित्वको प्रयास भनेका छन् । उनले माओवादी केन्द्र, रास्वपा र राप्रपाको चरित्रबारे पार्टीगत टिप्पणी गरेका छन् ।
त्यतिमात्रै होइन, ओलीले विपक्षी दलका नेता–कार्यकर्ताले निर्दयी र अमानवीय रूपमा एमालेविरुद्ध झुटा प्रचार गरिरहेको आरोप पनि लगाएका छन् । एमालेको लोकप्रियता देखेर त्यो लोकप्रियता घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरू लागेको ओलीको बुझाइ छ ।
‘हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन । चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो । विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ । हाम्रा सबै सङ्गठनहरू उत्साहित भएर व्यक्ति–व्यक्ति र घर–घरमा पुग्नुपर्छ । वैचारिक कामलाई उत्तिकै महत्त्व दिनुपर्छ’, ओलीले प्रतिवेदनमा भनेका छन् ।
- प्रचण्डलाई दाउपेच र विश्वासघातीको संज्ञा
प्रधानमन्त्री ओलीले २०७९ को निर्वाचनमा प्राप्त जनमतलाई सम्मान गर्दै उपलब्ध विकल्पमध्ये एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाए पनि प्रधानमन्त्री बनेको भोलिपल्टबाटै दाउपेचसहितको पुरानै चरित्र प्रदर्शनमा प्रचण्ड लागेको आरोप लगाएका छन् ।
‘तर प्रधानमन्त्री बनेको भोलिपल्टदेखि नै प्रचण्डबाट पुरानै चरित्र प्रदर्शन भयो । राष्ट्रपति निर्वाचनमा आइपुग्दा त माओवादी दाउपेच, विश्वासघात र शक्ति केन्द्रहरूको दबाबसामु आत्मसमर्पणको तल्लो बिन्दुसम्म ओर्लियो । त्यस स्थितिमा हामी सरकारमा बसिरहन सक्ने अवस्था भएन’, ओलीले भनेका छन् ।
त्यसै क्रममा ओलीले तत्कालीन प्रधानमन्त्री प्रचण्ड स्वयं सामाजिक सद्भावलाई बिथोल्न र अतिवादलाई बढवा दिन थालेका तथ्यहरू प्रकट भएको बताएका छन् । उनले परिवर्तनविरोधी शक्तिहरू खुलेआम संविधानलाई चुनौती दिँदै लोकतान्त्रिक गणतन्त्रको विरोधमा उत्रिने र दिनै तोकेर राजा फर्काउने अभिव्यक्ति दिन थालेको बताएका छन् ।
‘तर तत्कालीन प्रधानमन्त्रीबाट निरन्तर दाउपेचको खेती चलिरह्यो । एकातिर एमालेलाई राष्ट्रिय महत्वका विषयमा निर्णय प्रक्रियाबाट अलग्याउँदै जाने, अर्कातिर सत्ता समीकरणका लागि अन्य दलहरूसँग समानान्तर रूपमा गुप्त परामर्श गरिरहने काम भइरह्यो’, ओलीले आफ्नो प्रतिवेदनमा माओवादीबारे लेखेका छन् ।
त्यतिमात्रै होइन, ओलीले प्रचण्ड प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि आफ्नो दलको स्वार्थमा प्रयोग गरेको आरोप लगाएका छन् । ‘भ्रष्टाचारविरुद्धका कारबाहीलाई पनि आफ्नो दलगत स्वार्थमा दुरुपयोग गर्ने काम भइरहे । आफूसँग संसद्भित्र जादुको नम्बर रहेको र त्यसलाई प्रयोग गर्दै पाँचै वर्ष सत्ता चलाइरहने भन्दै दिइएको सार्वजनिक अभिव्यक्ति र कहिलेकाहीँ पार्टी सानो हुनु पनि फाइदाको विषय हुने, त्यसैले पार्टी सानो भयो भनेर कार्यकर्ताले चिन्ता गर्न नपर्ने भन्दै गरिएको टिप्पणी संसदीय मूल्य–मान्यताको उपहास थियो’, ओलीको भनाइ छ
- लोकप्रियताको जगमा रास्वपाको अराजक चरित्र
प्रधानमन्त्री ओलीले सहकारीको रकम हिनामिना गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने र पीडितहरूको बचत रकम फिर्ता गर्ने प्रयासमा सरकार लागिरहेको बताएका छन् । उनले नागरिकहरूको बचत रकम हिनामिना गर्ने कसैलाई पनि छुट दिनु हुँदैन भन्ने कुरामा एमाले स्पष्ट भएको भन्दै जो सुकै होस्, दोषीले उन्मुक्ति पाउन नहुने पक्षमा रहेको बताएका छन् ।
रास्वपा अध्यक्ष रवि लामिछानेसहितका व्यक्तिहरूमाथि सहकारी ठगीबारे अनुसन्धान भइरहेको छ । तर ओलीले उक्त अनुसन्धानलाई रास्वपाले राजनीतिकरण गर्ने र आफूहरूप्रति पूर्वाग्रह या प्रतिशोध करार गर्ने कोसिस गरेको बताएका छन् ।
‘तर यस प्रक्रियामा सत्तारुढ पार्टीहरू सम्बद्ध कतिपय व्यक्तिहरू समेत अनुसन्धानमा तानिएको, थुनामा परेको या मुद्दा खेपिरहेका घटनाक्रमले त्यस्तो आरोपलाई मिथ्या प्रमाणित गरिसकेको छ’, ओलीले भनेका छन्, ‘आफूले गल्ती गरिएको छैन भने कोही पनि न्यायिक प्रक्रियाबाट तर्सिनु पर्दैन । गल्ती गरेको भए सडक अदालतले उन्मुक्ति दिन सक्दैन भन्ने कुरा सबैले बुझ्नु पर्छ ।’
उनले संसदीय छानबिन समितिले किटान गरेकासमेत विभिन्न ५ सयभन्दा बढी व्यक्ति थुनामा परेका, हजारभन्दा बढीविरुद्ध मुद्दा चलाएको तथा सहकारी ठगीका अतिरिक्त कतिपयलाई सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा दायर भएको जनाएका छन् ।
रास्वपाको कार्यशैलीप्रति आलोचना गर्दै ओलीले ‘पपुलरिज्म’ को जगमा उभिएका समूहहरूको (नयाँपन) को व्यर्थता, अराजक चरित्र र नीतिहीन अन्तर्यलाई उदाङ्गो पारेको बताएका छन् ।
‘आफ्ना सभापति सहकारी प्रकरणमा अनुसन्धानमा तानिएपछि रास्वपाका नेता कार्यकर्ताहरूबाट प्रकट व्यवहार, अभिव्यक्ति र अनुसन्धानमा पार्न खोजेको प्रभाव रत्तिभर कानुनसम्मत, उचित र लोकतान्त्रिक थिएनन् । प्रहरी अनुसन्धानलाई सघाउनुको साटो त्यसलाई सरकारले आफूहरू विरुद्ध खडा गरेको राजनीतिक प्रतिशोधको मिथ्या भाष्य निर्माण गर्दै सडक प्रदर्शन गर्ने, त्यस क्रममा प्रहरीमाथि हातपात गर्ने, अनुसन्धानमा अवरोध खडा गर्ने र गलत कामलाई संरक्षण गर्ने काममा त्यस पार्टीका कार्यकर्ता सङ्लग्न देखिए,’ उनले भनेका छन् ।
आफ्ना प्रतिनिधिसमेतको सहमति र हस्ताक्षरमा तयार गरिएको संसदीय छानबिन प्रतिवेदन कार्यान्वयनलाई लिएर प्रधानमन्त्रीमाथि व्यक्तिगत गालीगलौज र अशोभनीय टिप्पणीमा उत्रिएको ओलीको आरोप छ ।
- पूर्वराजावादीले गणतन्त्रमाथि हिलो छ्यापे
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले पूर्वराजावादी भनेर राप्रपासहितका राजवादी पक्षधरलाई अराजकता मच्चाउन लागेको टिप्पणी गरेका छन् । ‘पछिल्लो समय पूर्वराजावादी समूह या व्यक्तिहरू पनि अराजकतालाई बढवा दिन सक्रिय छन्’, ओलीले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘२४० वर्षे शाहवंशीय शासनकाल अवधिमा मुलुकले बेहोर्नु परेको दुर्दशा र लोकतन्त्र खोसिएको पीडादायी इतिहासमाथि पर्दा हाल्दै यतिबेला उनीहरू १६ वर्षअगाडि मात्रै स्थापित नवोदित गणतन्त्रमाथि हिलो छ्याप्न र जनतामा निराशा फैलाउन उद्यत देखिन्छन् ।’
सरकारको नेतृत्वकर्ताको हैसियतले मुलुकमा अशान्ति वा अराजकता नियन्त्रण गर्ने काम प्रधानमन्त्रीको हुन्छ तर ओलीले तिनलाई नियन्त्रण लिने कामभन्दा पनि गुनासो पोख्नेमै आफूलाई सीमित तुल्याएका छन् ।
भिन्नभिन्न बाटोमा हिँडिरहेका अराजकता र अस्थिरताका संवाहकहरूलाई एक ठाउँमा उभ्याउने र अराजकताको परीक्षण गर्न विभिन्न शक्तिकेन्द्रहरू प्रयत्नशील रहेको ओलीको बुझाइ छ । नेपालले हासिल गरेको युगान्तकारी राजनीतिक परिवर्तन, त्यसले जन्माएका सपनाहरू र हाम्रो कार्यसम्पादन, ‘डेलिभरी’ र कतिपय कार्यशैलीका बिचमा अन्तर्विरोध देखा परेको ओलीले स्वीकार गरेका छन् ।
- दुई पार्टीको दन्तबझानले कांग्रेसलाई हाइसन्चो
आफूसँगै सत्तामा रहेको एउटा कम्युनिस्ट पार्टी र विपक्षमा रहेको अर्को कम्युनिस्ट पार्टीबिच आरोप–प्रत्यारोप चलिरहँदा नेपाली कांग्रेसलाई भने हाइसन्चो भएको छ ।
प्रचण्डले कांग्रेसलाई त्यति धेरै आलोचना गरेका छैनन् । प्रचण्डले केपी ओली पुँजीवादीको पक्षपोषक रहेको बताएका छन् । ओलीले त आफूसँगै सरकारमा रहेको पार्टीलाई गाली गर्ने कुरै भएन ।
‘एमालेसँगको सहकार्य एउटा विश्वासको आधारमा भएको थियो । तर, उनमा यति असहिष्णु र अरूको कुरा नसुन्ने प्रवृत्ति देखियो कि अघिल्लो दिनसम्म सँगै मर्ने, सँगै बाँच्ने भन्ने, भोलिपल्ट कांग्रेससँग एकाएक गठबन्धन गर्ने व्यक्ति उनी हुन्’, प्रचण्डले ओलीलाई लक्षित गर्दै भनेका छन्, घाती, ढाँटछल र कपटपूर्ण व्यवहार ओलीसँग देखियो ।’
प्रचण्डले आगामी चुनावमा एमाले र कांग्रेसजस्ता पार्टीसँग चुनावी गठबन्धन नगर्नेसमेत बताएका छन् ।
‘हामी कांग्रेस र एमालेजस्ता पार्टीसँग गठबन्धन गर्दैनौँ बरु एक्लै चुनाव लड्छौँ’, प्रचण्डले प्रतिवेदनमा भनेका छन्, ‘वैज्ञानिक समाजवाद मान्ने राजनीतिक शक्तिहरूसँग एकताको पहल गर्छौँ । समाजवादी शक्तिसँग सहकार्य हुन्छ र दलाल पुँजीवादविरुद्ध आन्दोलन गर्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पसँग सम्बन्ध सुधार्न ‘फ्याक्ट चेक’हटाउँदै मेटा
-
नास्ट र उद्योग वाणिज्य महासङ्घबीच वैज्ञानिक सहकार्यका लागि छलफल
-
१२ बजे, १२ समाचार : सशस्त्रका चार डीआईजीहरुको पदावधि थपदेखि कुलमानलाई हटाउन मन्त्री खड्काको जोडबलसम्म
-
१० बजे १० समाचार : चीनमा भूकम्प नेपालसम्म धक्का, एकैदिन सकिए एमाले र माओवादीको बैठक
-
माओवादी बैठकमा लेखनाथ न्यौपानेले बुझाएको पाँचबुँदे सुझाव के–के छन् ?
-
सशस्त्रका ४ डीआईजीको पदावधि थप्ने निर्णय