बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

नेपालका लागि नौलो होइन एचएमपीभी भाइरस

२०१४ मा गरिएको एक अनुसन्धानमा नै नेपालमा एचएमपीभी भाइरस देखापरेको थियो : डा. पुन
सोमबार, २२ पुस २०८१, १५ : ००
सोमबार, २२ पुस २०८१

काठमाडौँ । कोभिड महामारीको भयावह चरण सुरु भएको पाँच वर्षपछि चीनमा ह्युमन मेटाप्युमोभाइरस (एचएमपीभी) भाइरसको सङ्क्रमण देखिएको छ । यो नयाँ भाइरसले विशेष गरी १४ वर्ष मुनिका बालबालिकालाई असर गरिरहेको छ । उत्तरी चीनमा ह्युमन मेटाप्युमोभाइरस (एचएमपीभी) नामको यो भाइरसको सङ्क्रमण बढी देखिएको विदेशी सञ्चार माध्यमले जनाएका छन् ।

चीनको आधिकारिक समाचार वेबसाइट ग्लोबल टाइम्सका अनुसार उत्तरी चीनका क्षेत्रहरू बाहेक, एचएमपीभीका घटनाहरू बेइजिङ, दक्षिणपश्चिमी सहर चोङकिङ, दक्षिणी चीनको ग्वाङ्डोङ प्रान्तमा रिपोर्ट गरिएको छ।

50547970-caa6-11ef-a078-37769e6d4b12.jpg

समाचार एजेन्सी रोयटर्समा २७ डिसेम्बर, २०२४ मा प्रकाशित रिपोर्ट अनुसार, चीनको स्वास्थ्य एजेन्सीहरूले जाडोमा श्वासप्रश्वाससम्बन्धी रोगहरूको बढ्दो केसहरूलाई ध्यानमा राख्दै उनीहरूले निगरानी प्रणाली सुरु गरिरहेको बताएको छ। यस निगरानी प्रणालीका सम्बन्धमा चीनको राष्ट्रिय रोग नियन्त्रण तथा रोकथामका प्रमुख ली जेङलङले यसमार्फत अज्ञात कारणले हुने निमोनियाका घटनाहरूको निगरानी गरिने बताएका थिए।

चीन सरकारले जारी गरेको विज्ञप्तिमा आधारित रोयटर्सले आफ्नो रिपोर्टमा डिसेम्बरको तेस्रो साता चीनमा श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित हुनेको संख्यामा तीव्र वृद्धि भएको जनाएको छ । यस प्रतिवेदनका अनुसार रेकर्ड गरिएका केसमध्ये राइनोभाइरस र ह्युमन मेटाप्युमोभाइरस (एचएमपीभी) संक्रमणका घटना बढी छन्। 

  • नेपालका लागि नौलो होइन : डा. पुन

तर एचएमपीभी भाइरस नेपालका लागि नौलो नरहेको चिकित्सकहरूले बताएका छन् । सन् २०१४ मा गरिएको एक अनुसन्धानमा नेपालमा  एचएमपीभी भाइरस देखा परिसकेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले बताए । ‘सन् २०१४ सालमा भएको एक अनुसन्धानमा नेपालमा एचएमपीभी भाइरस देखिएको थियो,’ उनले भने, ‘यो एचएमपीभी भाइरस नेपालका लागि नौलो होइन ।’

जाडोयाममा रुघाखोकी लक्षणका रूपमा देखा पर्ने एचएमपीभी भाइरस ‘म्युटेसन’ नभएमा जोखिम नरहेको उनले रातोपाटीलाई बताए । ‘यो भाइरस विभिन्न देशमा छ । तर म्युटेसन भइरहेको छ कि छैन यो विषय अझै बाहिर आएको छैन,’ उनले भने, ‘यदि भाइरसको म्युटेसन भएको भेरियन्ट भएमा घातक हुन सक्छ ।’

यो भाइरसको लक्षण रुघाखोकी वा सिजनल फ्लु जस्तो हुने भएकाले सोही भाइरस हो कि होइन भनेर पहिचान गर्न पनि समस्या हुने गर्दछ । चीनलाई आतङ्कित बनाइरहेको भनिएको एचएमपीभी भाइरस भारतमा पनि देखापरेको छ । भारतमा देखा परेसँगै नेपालमा पनि हुन सक्ने बताइएको छ ।

  • एचएमपीभी भाइरस के हो?

साइन्स डाइरेक्टका अनुसार यो भाइरस २ सय देखि ४ सय वर्ष पहिले चराबाट उत्पत्ति भएको हो। तर त्यसयता यो भाइरसले बारम्बार आफूलाई परिवर्तन गरिरहेको छ र अहिले यो भाइरसले चराहरूलाई सङ्क्रमित गर्न सक्दैन ।

53aafba0-ca9f-11ef-a078-37769e6d4b12

अमेरिकी सरकारको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)का अनुसार सन् २००१ मा मानिसमा यो पत्ता लागेको थियो अर्थात् यही वर्षमा यो भाइरसले मानिसमा सङ्क्रमण गर्न सक्छ भन्ने पत्ता लागेको थियो ।

यो भाइरसले सबै उमेरका मानिसलाई सर्न सक्छ। जसका कारण बिरामीलाई ज्वरो आउने, खोकी लाग्ने, नाक बन्द हुने र सास फेर्न गाह्रो हुने जस्ता समस्या हुने गरेको छ । तर, यदि सङ्क्रमण बढ्यो भने, यो भाइरस ब्रोंकाइटिस वा निमोनियाको लागि जिम्मेवार हुन सक्छ।

यो भाइरसको इन्क्युबेसन अवधि सामान्यतया तीनदेखि छ दिनको हुन्छ, तर रोगको अवधि कम वा बढी हुन सक्छ। यो सङ्क्रमण कति गम्भीर छ मा निर्भर गर्दछ।

5be343d0-caa5-11ef-9fd6-0be88a764111.jpg

  • एचएमपीभी कसरी फैलिन्छ?

यो भाइरस खोकी र हाँच्छ्युँ गर्दा निस्कने थुकको कणबाट मानिसमा सर्छ र सङ्क्रमित हुन्छ। यो हात मिलाएर, अँगालो हालेर वा एकअर्कालाई छुँदा पनि फैलिन सक्छ।

यदि खोक्दा वा हाँच्छ्युँ गर्दा थुकको कण सतहमा खसेको छ र त्यो सतह छोएपछि त्यो हातले अनुहार, नाक, आँखा वा मुख छोयो भने त्यसले पनि भाइरस सर्न सक्छ।

  • जोगिन के गर्ने ?

एचएमपीभी भाइरसले श्वासप्रश्वासमा असर पार्ने भएकाले एचएमपीभी भाइरसबाट जोगिन कोरोना भाइरसको स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने डा. पुन सुझाउँछन् । यो भाइरसले रोगप्रतिरोध क्षमता कम भएका व्यक्ति, बालबालिका, वृद्धवृद्धालाई बढी असर पार्ने भएकाले सतर्कता अपनाउन पनि सुझाउँछन् । भिडभाडमा सकेसम्म नजाने, जानुपरेमा मास्क लगाउने, साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्ने गर्नुपर्छ । रुघाखोकीको लक्षण देखा परेमा आफू सतर्क रहने डा. पुनले सुझाएका छन् । 

  • खोक्दा वा हाँच्छ्युँ गर्दा मुखमा रुमाल वा कपडा राख्नुहोस्। खोक्दा र हाच्छिउँ गर्दा छुट्टै रुमाल वा तौलिया प्रयोग गर्नुहोस् ।
  • केही घण्टाको अन्तरमा साबुन पानीले धुनुहोस्।  अमेरिकी सरकारको सीडीसीका अनुसार साबुन र पानीले कम्तीमा २० सेकेन्डसम्म हात धुनुपर्छ।
  • यदि तपाईँलाई रुघा लागेको छ भने, मास्क लगाउनुहोस्। घरमै बस्नुहोस् र आराम गर्नुहोस्। 
  • आफ्ना भाँडाहरू, (कप, प्लेट वा चम्चा) एकअर्कासँग साझा नगर्नुहोस्।
  • अहिलेसम्म यो भाइरसको लागि न त कुनै विशेष एन्टिभाइरल औषधि बनेको छ न त कुनै भ्याक्सिन नै बनेको छ । यसका लागि सामान्यतया रुघाखोकी र ज्वरोको औषधि दिइने चिकित्सकहरू बताउँछन् ।
  • तर यो भाइरसले पहिलेदेखि नै श्वासप्रश्वाससम्बन्धी कुनै पनि रोग भएकाहरूलाई समस्या निम्त्याउन सक्छ। यस्तो अवस्थामा चिकित्सकको सल्लाह अवश्य लिनुहोस्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप