आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, शतकबाट चुके सोमपाल
काठमाडौँ । दुई दिवसीय जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको छ । वीरगञ्जमा जारी प्रतियोगिताको दोस्रो दिन सोमबार आर्मी क्लब आफ्नो दोस्रो पालीमा एक सय ७५ रन बनाउँदै अलआउट भएपछि पुलिस क्लबले उक्त लक्ष्य पाएको हो ।
दोस्रो पालीमा आर्मी क्लबका लागि सोमपाल कामीले अर्धशतक बनाए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका सोमपालले टोलीको खातामा अविजित ८२ रनको योगदान गरे । उनले एक सय ३८ बलको सामना गरी एक छक्का र १० चौका पनि हिर्काए ।
उनी केवल १८ रनका कारण शतकबाट चुके । जारी जय ट्रफीमा कुनै पनि ब्याट्सम्यानले बनाएको यो पहिलो अर्धशतक पनि हो । दोस्रो पालीमा ओपनर ब्याट्सम्यान तृतराज दासले पनि ३४ रनको योगदान गरे । उनले ५१ बलमा ६ चौका पनि प्रहार गरे ।
अर्का ओपनर सन्तोष कार्की भने सात रनमै पेभेलियन फर्किए । तेस्रो नम्बरका ब्याट्सम्यान भीम सार्कीले टोलीको खातामा १५ रन थपे । कुशल मल्ल दुई र बसिर अहमद एक रनमै आउट भए । कप्तान विनोद भण्डारी भने एक रनभन्दा अगाडि बढ्न सकेनन् ।
पवन कार्कीले २५ बलमा दुई चौकाको मद्दतले नौ रन बटुले । विवेक यादव ३२ बलमा एक चौकाको मद्दतले ११ रन बनाउँदै आउट भए । साहब आलम पनि तीन रन बनाउँदै पेभेलियन फर्किए । आकाश चन्दले चार रन बटुले ।
पुलिस क्लबका बलर कुशल भुर्तेलले चार विकेट लिए । उनले १६ ओभरमा तीन मेडन राख्दै ५० रन खर्चिए । गुलसन झाले पनि तीन विकेट हात पारे । ललित राजवंशीले पनि दुई विकेट लिए । रासिद खानले एक विकेट लिए । आर्मी क्लबले अतिरिक्त रुपमा पनि ६ रन पायो ।
त्यसअघि, सोमबार नै पुलिस क्लब आफ्नो पहिलो पालीमा एक सय २५ रन बनाउँदै अलआउट भएको थियो । पुलिस क्लबले सात विकेटको नोक्सानीमा एक सय तीन रनको स्थितिबाट दोस्रो दिनको खेल अघि बढाएको थियो ।
पहिले ब्याटिङ गरेको आर्मी क्लब आफ्नो पहिलो पालीमा सस्तैमा समेटिएपछि जवाफी ब्याटिङमा ओर्लिएको पुलिस क्लबका ब्याट्सम्यानले पनि गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । पहिलो पालीमा पुलिस क्लबका लागि गुलसन झाले सर्वाधिक ४७ रनको योगदान गरे ।
सातौँ नम्बरमा क्रिज समाल्न आएका गुलसनले केवल ५४ बलको सामना गरी तीन छक्का र तीन चौका पनि हिर्काए । पुलिस क्लबका अन्य ब्याट्सम्यानको प्रदर्शन भने निराशाजनक रह्यो । पुलिसका दुबै ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र अर्जुन साउद खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका अमित श्रेष्ठले टोलीको खातामा १८ रन थपे । उनले १३ बलमा चार चौका हिर्काए । चौथो नम्बरका ब्याट्सम्यान दिलिप नाथ पनि ३४ बलमा एक चौकाको मद्दतले १० रन बनाउँदै पेभेलियन फर्किए ।
पाँचौँ नम्बरका ब्याट्सम्यान कप्तान आरिफ शेख पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् । छैटौँ नम्बरका ब्याट्सम्यान रासिद खानले २८ बलमा दुई चौकाको मद्दतले १६ रन बनाए । शंकर राना पनि १३ रन बनाउँदै आउट भए । उनले १६ बलमा दुई चौका हिर्काए ।
प्रेम तामाङले टोलीको खातामा १० रन थपे । श्रवण यादब र ललित राजवंशीले खाता खोल्न सकेनन् । पुलिस क्लबका ब्याट्सम्यानहरु ३३.१ ओभरमात्र क्रिजमा टिक्न सके । आर्मी क्लबका बलर साहब आलम एक्लैले आठ विकेट लिए ।
साहब आलमले १५.१ ओभरमा दुई मेडन राख्दै ५९ रन खर्चिएका थिए । सोमपाल कामी र पवन कार्कीले पनि एक–एक विकेट हात पारे । पुलिस क्लबले अतिरिक्त रुपमा पनि सात रन हात पारेको थियो ।
त्यसअघि, त्रिभुवन आर्मी क्लब पनि आफ्नो पहिलो पालीमा केवल एक सय २१ रन बनाउँदै अलआउट भएको थियो । आर्मी क्लबका ब्याट्सम्यान ३४.४ ओभरमात्र क्रिजमा टिक्न सकेका थिए । आर्मी क्लबका ब्याट्सम्यानले पनि निराशाजनक प्रदर्शन गरेका थिए ।
सेतो जर्सी लगाएर खेलिएको दुई दिवसीय प्रतियोगितामा आर्मी क्लबले टस हारी पहिले ब्याटिङको निम्तो पाएको थियो । आर्मी क्लबका माथिल्ला तीन ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेका थिएनन् ।
ओपनर सन्तोष कार्की एक र अर्का ओपनर सोमपाल कामी पाँच रन बनाउँदै पेभेलियन फर्किए । आर्मी क्लबले दुई ओभरमै दुई विकेट गुमाइसकेको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका तृतराज दासले त खातासम्म खोल्न सकेनन् ।
चौथो नम्बरका ब्याट्सम्यान कुशल मल्लले २५ र पाँचौँ नम्बरका ब्याट्सम्यान भीम सार्कीले २२ रन बनाए । कुशलले ३८ बलमा एक छक्का दुई चौका तथा भीमले ४६ बलमा एक छक्का र दुई चौका प्रहार गरेका थिए ।
बसिर अहमद २५ बलमा एक चौकाको मद्दतले १२ रन बनाउँदै पेभेलियन फर्किए । कपतान विनोद भण्डारीले टोलीको खातामा २१ रन थपे । उनले १६ बलमा एक छक्का र दुई चौका पनि हिर्काए । विवेक यादबले खाता खोल्न सकेनन् भने साहब आलमले टोलीको खातामा ११ रन थपे ।
साहब आलमले २७ बलमा एक चौका हिर्काए । पवन कार्कीले पनि अविजित १५ रन बनाए । उनले २७ बलमा दुई चौका हिर्काए । आकाश चन्द भने शून्य रनमै पेभेलियन फर्किए । आर्मी क्लबले अतिरिक्त रुपमा पनि नौ रन पायो ।
त्रिभुवन आर्मी क्लबका ब्याट्सम्यानका लागि पुलिस क्लबका बलर ललित राजवंशी सबैभन्दा घातक बने । उनी एक्लैले सात विकेट लिए । ललितले १४.४ ओभरमा चार मेडन राख्दै केवल ४७ रन खर्चिएका थिए ।
कुशल भुर्तेल, श्रवण यादब र रासिद खानले पनि एक–एक विकेट हात पारे । आर्मी र पुलिस क्लबका अधिकांश ब्याट्सम्यानले सिमित ओभरकै प्रतियोगिताको शैलीमा ब्याटिङ गरेका थिए । त्यसैले पनि अधिकांश ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्किएका थिए ।
नेपाली क्रिकेट इतिहासकै प्रतिष्ठित घरेलु प्रतियोगितामध्येको एक जय ट्रफी आइतबारदेखि जनकपुर र वीरगञ्जमा सुरु भएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रतियोगितामा चारवटा टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको प्रारम्भिक चरणको खेल दुई दिवसीय हुनेछ । फाइनल खेल भने तीन दिवसीय हुने क्यानले जनाएको छ । क्यानका पूर्वअध्यक्ष जयकुमारनाथ शाहको नाममा जय ट्रफी सुरु भएको हो । जयकुमार नाथ शाह आफैले २०३७ सालमा ‘जय ट्रफी’ सुरुवात गरेका थिए । लामो समयसम्म जय ट्रफी नै राष्ट्रिय टोली छनोटको आधार पनि थियो ।
जय ट्रफीमा खेलाडीहरु सेतो रङको जर्सीमा देखा परेका छन् भने खेल रातो बलले खेलाइँदै छ । नेपाल पुलिस क्लबको कप्तानको भूमिकामा आरिफ शेख छन् । बागमती प्रदेशको कप्तान सन्दीप लामिछाने हुन् । मधेश प्रदेश हरिशंकर साहको कप्तानीमा छ । आर्मी क्लबको कप्तान विनोद भण्डारी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पसँग सम्बन्ध सुधार्न ‘फ्याक्ट चेक’हटाउँदै मेटा
-
नास्ट र उद्योग वाणिज्य महासङ्घबीच वैज्ञानिक सहकार्यका लागि छलफल
-
१२ बजे, १२ समाचार : सशस्त्रका चार डीआईजीहरुको पदावधि थपदेखि कुलमानलाई हटाउन मन्त्री खड्काको जोडबलसम्म
-
१० बजे १० समाचार : चीनमा भूकम्प नेपालसम्म धक्का, एकैदिन सकिए एमाले र माओवादीको बैठक
-
माओवादी बैठकमा लेखनाथ न्यौपानेले बुझाएको पाँचबुँदे सुझाव के–के छन् ?
-
सशस्त्रका ४ डीआईजीको पदावधि थप्ने निर्णय