बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय
विचार

माओवादी केन्द्रको वर्तमान अवस्था र अबको मार्ग

सोमबार, २२ पुस २०८१, १३ : ५९
सोमबार, २२ पुस २०८१

दशवर्षे माओवादी जनयुद्धकै जगमा आज हामी संघीय लोकतान्त्रिक गणतन्त्र उपभोग गरिरहेका छौँ । आज जसरी मुलुकले सहभागिता, समावेशी र सामाजिक न्यायको अभ्यास गरिरहेको छ, त्यसमा माओवादी आन्दोलनको भूमिका प्रधान रहेको कसैले नकार्न सक्दैन । 

शान्ति प्रक्रियामा आएसँगै माओवादी पार्टीले आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका खातिर निरन्तर संघर्ष गरिरहनुपरेको छ । पहिलो संविधानसभामा पार्टीले जस्तो जनमत प्राप्त गर्‍यो, त्यसले परिवर्तनका थुप्रै एजेन्डालाई संस्थागत गर्न प्रधान भूमिका खेलेको थियो । पहिलो संविधानबाट संविधान बन्न सकेन, त्यस यताका निर्वाचनमा पार्टी निरन्तर खस्कँदै गएको छ । वैचारिक विमति राख्दै पार्टीबाट केही व्यक्ति र समूह टुक्रिएर समेत गए । 

प्राप्त उपलब्धिको रक्षाकै नाममा विभिन्न पार्टीसँग चुनावी र सत्ता गठबन्धनदेखि एकताका प्रयास समेत गरिरहनुपरेको अवस्था छ । यी सबै वस्तुगत अवस्थाबाट पार्टीले केही गुमाएको छ र धेरै सिकेको पनि छ । खासगरी माओवादी नेतृत्वको पछिल्लो सरकारले जे–जस्ता काम गर्‍यो, त्यसबाट माओवादीप्रति नेपाली जनता केही आशावादी बन्न थाले र उपनिर्वाचनमा त्यसको संंकेत समेत दिए । 

मुलुकमा यतिखेर भ्रष्टाचार व्याप्त छ । ठुल्ठुला सेटिङका ठुल्ठुला काण्डले मुलुकलाई शिथिल बनाएको देखेरै पछिल्लो माओवादी सरकार भष्टाचारका फाइल पल्टाउन अग्रसर थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको त्यस किसिमको कार्यबाट धेरै हल्लिए । 

यतिखेर जनताले व्यवस्था बदलिएको तर अवस्था उस्तै रहेको गुनासो गरिरहेका छन् । मुलुक रेमिट्यान्समा धानिएको छ । गाउँ–ठाउँका खेतीयोग्य जमिन बाँझिदै गएका छन् । यो अवस्थामा देशमै स्वरोजगारी बढाउन उत्पादन बढाउने अभियान थाल्नुपरेको छ । 

जुनयुद्ध कालमा माओवादीले सामूहिक उत्पादनलाई जोड दिएको थियो । आगामी दिनमा पार्टी उत्पादन नीतिमा स्पष्ट भई एक्सनमा जान जरुरी छ ।  

यी सबै वस्तुस्थिति केलाएर पार्टीले जनयुद्धकालीन जनताका मुद्दालाई स्थापित गर्नतिर अर्थात् पार्टीको पुनर्जागरणतर्फ लाग्नुपरेको छ ।   

पार्टीलाई पुनर्जीवन दिन एकातिर नेता तथा कार्यकर्ताको शुद्धीकरण र आत्मालोचना अनिवार्य छ, अर्कोतिर पार्टी वैचारिक रूपमा स्पष्ट खाकासहित आउनुपर्छ । हिजो माओवादीकै संघर्ष, पैरवी र पहलकदमीमा संविधानमा समाजवाद उन्मुख शब्द र भावना परेको छ । त्यसको स्पष्ट कार्यान्वयन नै माओवादीको एजेन्डा बन्नुपर्छ ।
  • पुनर्जागरण केका लागि ?

शान्तिपूर्ण राजनीतिक प्रक्रियामा माओवादीको प्रवेशलाई चौतर्फी सकारात्मक मानिए पनि पार्टीभित्रै यसको प्रभावमाथि निरन्तर बहस चलिरहेको छ । केही नेताहरू शान्तिपूर्ण मार्गबाट समाजवादको आधार तयार गर्नुपर्ने पक्षमा छन् भने केहीले विद्रोहको मूल नीति बिर्सन नहुने बताउँदै आएका छन् । यस अन्योलले कार्यकर्तामाझ दुविधा उत्पन्न गरेको छ । यो अन्योल चिर्ने अभियान पार्टीले थाल्न जरुरी छ ।

आठौँ महाधिवेशनले पार्टी विधान र विधि–पद्धतिलाई संस्थागत गर्ने निर्णय गरेको थियो । तर, त्यसको प्रभावकारी कार्यान्वयनप्रति गुनासा व्याप्त छन् । नेतृत्व चयनमा पारदर्शिता र लोकतान्त्रिक प्रक्रिया सुनिश्चित गर्न पार्टी सफल भएको देखिँदैन । कार्यकर्ताले निर्णय प्रक्रियामा सहभागिता अनुभूत गर्न नपाएको गुनासो सामान्य भइसकेको छ ।
यी सबै वस्तुस्थितिमाथि छलफल गर्दै पार्टीको पुनर्जीवन र पुनर्जागरणका लागि पहल गर्नुपर्ने भएको छ ।

  • शुद्धीकरणको खाँचो

पार्टीभित्र वैचारिक, सांस्कृतिक र व्यावहारिक शुद्धीकरणको खाँचो देखिन्छ । माओवादी आन्दोलनको प्रारम्भिक चरणमा देखिएको सामूहिक भावना र बलिदानको आदर्श अहिले कमजोर भएको छ । 

पार्टी नेतृत्व र कार्यकर्तामाझ पुँजीवादी सोच हाबी भइरहेको आरोप सामान्य बनेको छ । पार्टी नव–दलाल पुँजीपति वर्ग र नव–सम्भ्रान्त वर्गको कब्जामा पुगेको आवाज पनि उठिरहेकै छन् । 

भ्रष्टाचार, व्यक्तिगत लाभको खोजी र सत्तालिप्सा जस्ता प्रवृत्तिले पार्टीभित्र वैचारिक संकट निम्त्याएको छ । यो समस्या समाधान नगरेसम्म माओवादीको क्रान्तिकारी छवि पुनः स्थापना असम्भव देखिन्छ ।

समाजवादतर्फ अघि बढ्न पार्टीले अहिलेको सैद्धान्तिक आधारलाई पुनव्र्याख्या र परिमार्जन गर्नुपर्ने देखिन्छ । वर्तमान विश्व परिप्रेक्ष्यअनुसार समाजवादको नयाँ स्वरूप विकास गर्ने जिम्मेवारी माओवादीजस्तो ऐतिहासिक पृष्ठभूमि बोकेको दलले लिनुपर्छ ।

माओवादी केन्द्र र जनताबिचको सम्बन्ध पहिलेको तुलनामा कमजोर भएको स्पष्ट छ । संघर्षकालमा सँगै रहेर काम गरेका जनताले हाल पार्टीलाई आफूहरूको प्रतिनिधि मान्न छाडेका छन् । हिजो कांग्रेस उच्च वर्गको प्रतिनिधित्व गर्ने पार्टी, एमाले मध्यम वर्गको प्रतिनिधित्व गर्ने पार्टी र माओवादी निम्न वर्गको प्रतिनिधित्व गर्ने पार्टी भन्ने जुन भाष्य स्थापित थियो, त्यो अहिले भत्किएको छ । माओवादीले वर्ग बिर्सेको आरोप झुटो होइन । त्यसैले यतिखेर माओवादीलाई जनतासँग जोडिने एजेन्डा चाहिएको छ । 

निम्न वर्गको तत्कालीन समस्यालाई सम्बोधन गर्ने योजना र उनीहरूको उत्थानका लागि दीर्घकालीन योजना अर्थात् समाजवादी मार्ग माओवादी पार्टीसँग हुनुपर्छ । यी विषय हाम्रो नेतृत्व पंक्तिले नबुझेको पनि होइन । यद्यपि पार्टी कहीँ न कहीँ चुकिरहेको छ र हिजो ठुलो दल आज तेस्रो दलमा खुम्चिएर अर्काको हात र साथ खोजिरहनुपरेको छ । कुनै पनि पार्टी एकैचोटि बन्दैन तर खस्कन धेरैबेर लाग्दैन । आफ्ना एजेन्डा नभएरै वा एजेन्डा बिर्सिएकै कारण आज पार्टी यो अवस्थामा आइपुगेको हो ।

पार्टीलाई पुनर्जीवन दिन एकातिर नेता तथा कार्यकर्ताको शुद्धीकरण र आत्मालोचना अनिवार्य छ, अर्कोतिर पार्टी वैचारिक रूपमा स्पष्ट खाकासहित आउनुपर्छ । हिजो माओवादीकै संघर्ष, पैरवी र पहलकदमीमा संविधानमा समाजवाद उन्मुख शब्द र भावना परेको छ । त्यसको स्पष्ट कार्यान्वयन नै माओवादीको एजेन्डा बन्नुपर्छ ।
समाजवाद स्थापना गर्ने लक्ष्यप्रति प्रतिबद्ध रहेका अन्य वामपन्थी दलहरू र समूहसँगको एकता आवश्यक छ । समान विचारधारा भएका दलहरूबिच मोर्चाबन्दी गर्दै समाजवादको आधार तयार गर्न माओवादीले अग्रसरता लिनुपर्छ ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले यी विषयमा गहिरो बहस गरी पार्टीको पुनर्जागरणका लागि ठोस नीतिगत निर्णय लिन जरुरी छ । 

पार्टीभित्रै वैचारिक एकता, संगठनात्मक सुधार र जनसरोकारका विषयमा केन्द्रित हुने चिन्तनको विकास गर्नुपरेको छ । त्यसो भयो भने मात्रै माओवादीको भविष्य सुरक्षित हुनेछ । 

जनता र पार्टीबिचको सम्बन्ध सुधार गर्दै समाजवादको यात्रालाई सार्थक बनाउने चुनौती स्विकार्न माओवादी केन्द्र सक्षम हुने आशा गरौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप