‘सिमित ओभरको खेलमा पाकिस्तानलाई हराउन पाए भारतीय समर्थकलाई पुग्छ’
काठमाडौँ । हालै सम्पन्न अस्ट्रेलियाविरुद्धको बोर्डर–गावस्कर ट्रफीमा भारतीय टोलीका ब्याट्सम्यानको प्रदर्शन निकै खराब रह्यो । पाँच टेस्टको शृंखलामा भारतीय टोली घरेलु टोली अस्ट्रेलियासँग ३–१ ले पराजित भयो ।
उक्त हारसँगै भारत आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्नबाट पनि बञ्चित भयो । भारतलाई जिल्याउँदै अस्ट्रेलिया टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने दोस्रो टोली बन्यो । दक्षिण अफ्रिका त्यसअघि नै फाइनलमा पुगिसकेको थियो ।
भारतीय टोली १० वर्षपछि बोर्डर–गावस्कर शृंखलामा पराजित भएको हो । त्यो हारपछि समर्थकसँगै भारतका पूर्वक्रिकेटरहरु पनि आक्रोशित बनेका छन् । खासगरी उनीहरुको आक्रोश कप्तान रोहित शर्मा, विराट कोहलीलगायतका अनुभवी ब्याट्सम्यानतर्फ सोझिएको देखिन्छ ।
यसै क्रममा भारतका पूर्वक्रिकेटर मोहम्मद कैफले पनि ब्याट्सम्यानहरुको प्रदर्शनप्रति तिखो टिप्पणी गरेका छन् । उनले अस्ट्रेलियासँगको हार भारतीय टोलीका लागि ‘खतराको घण्टी’ भएको प्रतिक्रिया दिएका छन् । मोहम्मद कैफले अब भारतीय टोलीले आफ्नो सम्पूर्ण ध्यान आगामी टेस्ट च्याम्पियनसिपमा केन्द्रीत गर्नुपर्ने धारणा पनि राखेका छन् । उनले भारतको टेस्ट टोलीमा ब्यापक सुधारको खाँचो रहेको पनि बताएका छन् ।
पूर्वक्रिकेटर मोहम्मद कैफले भारतीय ब्याट्सम्यानहरुसँग ‘टर्निङ पिच’ मा खेल्ने अनुभवको कमी रहेको धारणा पनि ब्यक्त गरेका छन् । उनले भारतीय समर्थकहरुका लागि आफ्नो टोलीले सिमित ओभरको खेलमा पाकिस्तानी टोलीलाई हराउनु नै सर्वोस्व भएको प्रतिक्रिया पनि दिएका छन् ।
‘अब छिट्टै च्याम्पियन्स ट्रफी हुन्छ । त्यो प्रतियोगितामा पाकिस्तानलाई हराएर फेरि हाम्रा खेलाडीले समर्थकहरुको प्रसस्तै प्रशंसा बटुल्छन् । हाम्रो टोली सेतो बलको प्रतियोगितामा अब्बल छ भनेर खुसी मनाउने छन् । यति भए पुग्छ,’ मोहम्मद कैफले भनेका छन् ।
अस्ट्रेलियाविरुद्धको टेस्ट शृंखलामा भारतीय टोलीको हारपछि आक्रोशित बनेका मोहम्मद कैफले टेस्ट क्रिकेट खेल्न छुट्टै टोलीको आवश्यक्ता रहेको पनि बताएका छन् । ‘यदि भारतले टेस्ट च्याम्पियनसिप जित्ने हो भने छुट्टै टोली बनाउनु आवश्यक छ,’ उनले भनेका छन् ।
हालसम्म भारतले टेस्ट च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन । भारतीय टोली दुई पटक फाइनलमा पुगेर पराजित भएको छ । तेस्रो संस्करणमा त भारतीय टोली टेस्ट च्याम्पियनसिपको फाइनलसम्म पनि पुग्न सकेन ।
सन् २०२३ मा खेलिएको टेस्ट च्याम्पियनसिपको फाइनलमा अस्ट्रेलियाले भारतलाई दुई सय नौ रनले हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो । पहिलो संस्करणको उपाधि भने न्युजिल्यान्डले जितेको थियो । सन् २०२१ मा खेलिएको पहिलो संस्करणको फाइनलमा न्युजिल्यान्डले भारतलाई आठ विकेटले हराएको थियो ।
‘टेस्ट क्रिकेटमा हामी निकै पछि परिसकेका छौँ । यसतर्फ ध्यान जानु आवश्यक छ । यदि टेस्ट च्याम्पियनसिप जित्ने हो भने छुट्टै टेस्ट टोली चाहिन्छ । घरेलु प्रतियोगिताहरु पनि टर्निङ पिचमा खेल्नु पर्छ । सिमित ओभरको सफलतामा रमाएर मात्र हुँदैन,’ उनले भनेका छन् ।
मोहम्मद कैफले रोहित शर्मा, विराट कोहलीजस्ता सिनियर खेलाडीको प्रदर्शनप्रति पनि आक्रोश ब्यक्त गरेका छन् । अस्ट्रेलिया भ्रमणका क्रममा विराटले नौ पालीमा कुल एक सय ९० रनमात्र बनाउन सके । रोहित शर्माको औसत पनि केवल ६.२० रह्यो ।
केही पूर्वक्रिकेटरले रोहित, विराटलगायतका सिनियर खेलाडीलाई रणजी ट्रफी खेलाउनु पर्ने सुझाव पनि दिएका छन् । मोहम्मद कैफले पनि यस्तै सुझाव दिएका छन् । उनले प्रमुख प्रशिक्षक गौतम गम्भीरलाई मात्र हारको भागिदार बनाउन नहुने तर्क पनि राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : चीनमा भूकम्प नेपालसम्म धक्का, एकैदिन सकिए एमाले र माओवादीको बैठक
-
माओवादी बैठकमा लेखनाथ न्यौपानेले बुझाएको पाँचबुँदे सुझाव के–के छन् ?
-
सशस्त्रका ४ डीआईजीको पदावधि थप्ने निर्णय
-
‘बिहानै त्रसित बनाएको भूकम्पको धक्का’
-
पर्यटकीयस्थल घोडेपानीमा हिमपात
-
भूकम्पका कारण ११ जना बेहोस, दुई घाइते