किन घटाएनन् उद्योगीले सिमेन्टको मूल्य ?
काठमाडौँ । पछिल्लो समय सिमेन्टको मूल्य वृद्धि भएका कारण निर्माण व्यवसायी आक्रोशित बनेका छन् । निर्माणको सिजनमा मूल्य बढेको भन्दै उनीहरू आन्दोलनको तयारीमा छन् । निर्माण व्यवसायीहरूका अनुसार अहिले सिमेन्टको मूल्य प्रतिबोरा २०० रुपैयाँभन्दा धेरै बढेको छ । अहिले पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा ६५० रुपैयाँ र ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ७५० रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष २०८१/०८२ को बजेट विश्लेषण गर्ने क्रममा अधिकांश ठाउँमा सिमेन्टको मूल्य पीपीसीको प्रतिबोरा ४०० रुपैयाँ र ओपीसीको ५०० रुपैयाँ मूल्य कायम थियो । अधिकांश आयोजना सोही मूल्यअनुसार ठेक्का लागेर निर्माणको क्रममा छन् ।
पछिल्लो समय निर्माण सामग्रीको मूल्य बढ्दा आफू मर्कामा परेको निर्माण व्यवसायी बताउँछन् । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सिमेन्टको मूल्य बढेपछि उद्योग मन्त्रालयमा भएको छलफलमा सरकार र उद्योगीबिच मूल्य घटाउन सहमति भएको बताए । तर उद्योगीहरूले सहमतिअनुसार मूल्य कायम नगरेको सिंहको भनाइ छ ।
सिमेन्ट उद्योगीले गत मंसिरदेखि सिमेन्टमा प्रतिबोरा ५० रुपैयाँभन्दा माथि मूल्य वृद्धि गरेका थिए । सोही बेला अत्यावश्यक निर्माण सामग्री फलामे छडको पनि मूल्य वृद्धि भएको थियो । निर्माणको सीजनमा निर्माण सामग्रीको मूल्य बढेको भन्दै निर्माण व्यवसायीहरूले विरोध जनाए ।
यसपछि मंसिर २७ गते उद्योगमन्त्री, वाणिज्य विभागका महानिर्देशक, सचिवहरू लगायत र सिमेन्ट उद्योगीबिच छलफल भएको थियो । उक्त छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहको भनाइ छ ।
सिंहका अनुसार मन्त्रालयमा भएको छलफलमा ओपीसी सिमेन्ट प्रतिबोरा ५६० रुपैयाँ र पीपीसी सिमेन्टको मूल्य ४६० रुपैयाँ राख्ने सहमति भएको थियो । तर सहमति कार्यान्वयन नभएको सिंहको गुनासो छ ।
उद्योग मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारी मन्त्रालयले सिमेन्ट उत्पादक संघलाई बोलाएर छलफल गरेको तर मूल्य निर्धारणको सहमति नभएको बताउँछन् ।
‘छलफल भएको हो तर व्यवसायीले भनेजस्तो मूल्य तोकेको छैन,’ अधिकारीले भने, ‘छलफलमा बरु मूल्य बढाउनको कारण सोधिएको थियो ।’
‘उद्योगको घाटा कम गर्न मूल्य वृद्धि’
सिमेन्ट उद्योग संघका अध्यक्ष रघुनन्दन मारु पनि मन्त्रालयमा भएको छलफलमा मूल्य घटाउने सहमति नभएको बताउँछन् । यसअघि सिमेन्ट विक्री नभएर उत्पादन लागतभन्दा कम मूल्यमा विक्री गर्नु परेको र अहिले माग बढेकाले मूल्य समायोजन गरेको अध्यक्ष मारुको भनाइ छ ।
‘यसलाई मूल्य वृद्धि भनिँदैन, मूल्य समायोजन हो । पहिला हामीले न्यूनतम मूल्यमा विक्री गरिरहेका थियौँ,’ अध्यक्ष मारु भन्छन्, ‘निर्माणको अफ सिजनमा सिमेन्ट विक्री नभएर कम्पनी घाटामा गएको हुन्छ । त्यस्तो घाटा कम गर्नका लागि थोरै मूल्य बढाइएको हो ।’
अध्यक्ष मारुका अनुसार सिमेन्टको मूल्य गुणस्तरअनुसार फरक–फरक छ । अहिले पीपीसी सिमेन्ट प्रतिबोरा ५२५ रुपैयाँदेखि ६५० रुपैयाँ मूल्य छ । यसैगरी ओपीसी सिमेन्ट प्रतिबोरा ६५० देखि ७५० सम्म छ ।
यो मूल्यभन्दा घटाएर विक्री गर्न नसकिने अध्यक्ष मारु बताउँछन् । ‘अहिले सिमेन्ट उत्पादन बढाउनु पर्ने बेला हो । तर उत्पादनमा पनि कमी आएको छ,’ अध्यक्ष मारुले भने, ‘लोडसेडिङका कारण उत्पादन लागत बढेकाले मूल्य बढाएका हौँ ।’
विद्युत् प्राधिकरणले विद्युत् कटौती गर्दा दैनिक उत्पादनमा कमी आएसँगै मूल्य वृद्धि गरिएको उनको भनाइ छ । अहिले सिमेन्ट उद्योगमा दैनिक १० घण्टा लोडसेडिङ हुने गरेको उद्योगी बताउँछन् । साथै प्राधिकरणले सिमेन्ट उद्योगलाई आवश्यक पर्ने पावरभन्दा कम पावर विद्युत् पठाएकाले सिमेन्ट उत्पादनमा अवरोध भइरहेको उद्योगीको गुनासो छ ।
अघिल्लो वर्ष पनि प्राधिकरणले दैनिक १२ घण्टा विद्युत् कटौती गरिदिएको थियो । प्राधिकरणले आवश्यक विद्युत् उत्पादन गर्न नसकेको र यो सिजनमा विद्युत् आयात गर्नुपर्नेमा उल्टै निर्यात गर्दा समस्या देखिएको उद्योगीको भनाइ छ ।
‘सस्तो मूल्यमा भारततर्फ निर्यात’
निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंह नेपालमा भन्दा भारतमा सिमेन्टको मूल्य सस्तो भएको बताउँछन् । नेपालमा महँगो दरमा सिमेन्ट विक्री गर्दै आएका उद्योगीले भारतमा सस्तो मूल्यमा निर्यात गर्दै आएको उनको भनाइ छ ।
‘भारतीय बजारमा मूल्य सस्तो छ । प्रतिबोरा २०० देखि ३५० रुपैयाँमा पाइन्छ,’ अध्यक्ष सिंहले भने, ‘यसका बाबजुद नेपाली सिमेन्ट निर्यात भइरहेको छ ।’
सिमेन्ट उद्योगीहरूका अनुसार नेपालमा वार्षिक साढे ३ करोड टन सिमेन्ट उत्पादन क्षमता छ । कुल क्षमताको ४० प्रतिशतमात्रै सिमेन्ट उत्पादन हुने गरेको छ । वार्षिक १ करोड टन सिमेन्ट स्वदेशीमा खपत हुने गर्दछ । सानो परिमाणमा भारततर्फ सिमेन्ट निर्यात हुने गरेको छ ।
चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म (५ महिना)मा एक अर्बभन्दा बढीको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार १ अर्ब ४ करोड ४३ लाख बराबरको ६ लाख ९९ हजार ५१० मेट्रिक टन सिमेन्ट भारततर्फ निर्यात भएको हो । जसमध्ये ३८ करोड ८२ लाख ६२ हजार रुपैयाँको ४ लाख ३६ हजार ९०६ मेट्रिक टन क्लिङ्कर निर्यात भएको छ । यसैगरी ६५ करोड ६० लाख ४० हजार रुपैयाँको २ लाख ६२ हजार ६०४ मेट्रिक टन सिमेन्ट निर्यात भएको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा ३ अर्ब ८५ करोड २८ लाख २४ हजार रुपैयाँको २८ लाख ३९ हजार २१७ टन सिमेन्ट र क्लिङ्कर निर्यात भएको थियो । जसमध्ये १ अर्ब ९७ करोड ८ लाख १७ हजार रुपैयाँको सिमेन्ट र १ अर्ब ८८ करोड २ लाख ८ हजार रुपैयाँको क्लिङ्कर निर्यात भएको थियो ।
यसैगरी आर्थिक वर्ष २०७९/०८० मा ७७ करोड ९३ लाख ५ हजार रुपैयाँको १० लाख ४ हजार २३ टन सिमेन्ट र क्लिङ्कर निर्यात भएको थियो । जसमध्ये ३५ करोड ८९ लाख ५१ हजार रुपैयाँको सिमेन्ट र ४२ करोड ३ लाख ५५ हजार रुपैयाँको क्लिङ्कर निर्यात भएको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा १२ लाख ९३ हजार रुपैयाँको १५ हजार १८९ टन सिमेन्ट निर्यात भएको थियो भने आर्थिक वर्ष २०७७/०७८मा ८३ हजार रुपैयाँको ११ टन सिमेन्ट निर्यात भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : चीनमा भूकम्प नेपालसम्म धक्का, एकैदिन सकिए एमाले र माओवादीको बैठक
-
माओवादी बैठकमा लेखनाथ न्यौपानेले बुझाएको पाँचबुँदे सुझाव के–के छन् ?
-
सशस्त्रका ४ डीआईजीको पदावधि थप्ने निर्णय
-
‘बिहानै त्रसित बनाएको भूकम्पको धक्का’
-
पर्यटकीयस्थल घोडेपानीमा हिमपात
-
भूकम्पका कारण ११ जना बेहोस, दुई घाइते