मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय
केन्द्रीय कमिटी बैठक

प्रचण्डको प्रतिवेदनमा पूर्वी क्षेत्रलाई उपेक्षा गरिएको नेताहरूको आरोप

सोमबार, २२ पुस २०८१, १५ : ५६
सोमबार, २२ पुस २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक दस्ताबेजमा पूर्वी क्षेत्र (कोशी) प्रदेशलाई सम्बोधन नगरिएकोमा नेताहरूले आश्चर्य जनाएका छन् । आइतबार धुमबाराहीमा बसेको उद्दघाटन बैठकमा अध्यक्ष प्रचण्डले ३० पृष्ठको राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।

भर्खर सम्पन्न स्थानीय तह उपनिर्वाचनमा दुइ ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेलाई उछिनेर माओवादी पहिलो दल बनेको थियो । तर प्रचण्डको प्रतिवेदनमा पूर्व क्षेत्रबारे केही उल्लेख नभएकोबारे नेताहरूले आश्चर्य जनाएका हुन् । माओवादीका एक पदाधिकारी तहका नेताले अध्यक्षको प्रतिवेदनमा पश्चिम आधार क्षेत्र, काठमाडौँ उपत्यका, मधेस लगायत क्षेत्रलाई विशेष महत्व दिएपनि पूर्वी क्षेत्रलाई उपेक्षा गरेको आरोप लगाए । 

‘२०७९ को स्थानीय तह उपनिर्वाचनमा तेस्रो दल भएको माओवादीलाई कोशीमा पहिलो दलमात्र भएन मोरङको ग्रामथान गाउँपालिकासहित दुइ वडा जित्यो । सिट मात्र होइन मतमा पनि पहिलो दल भयो । यो त माओवादीका लागि गर्वको विषय हो । पश्चिम आधार क्षेत्रको विषय उठाइएको छ । काठमाडौँ उपत्यका, मधेस, प्रवासको कुरा उठाइएको छ । तर अध्यक्षको प्रतिवेदनमा पहिलो दल बनाउन महत्वपूर्ण भूमिका खेलेको पूर्वलाई नसमेटिँदा आश्चर्य लागेको छ’, तीन नेताले । 

प्रचण्डको प्रतिवेदनमा फागुन १ देखि सुरु हुने पूर्व–पश्चिम राजमार्ग र हुलाकी राजमार्गमा जागरण अभियान सञ्चालन गर्ने उल्लेख छ । मेची–महाकाली जागरण अभियानअन्तर्गत मध्यपहाडी पुष्पलाल मार्गमा सञ्चालन गर्ने प्रस्ताव छ । यसैगरी संगठन विशेष अभियान तीनवटा रहेका छन् । जसमा उपत्यका विशेष अभियान चलाउने प्रस्ताव गरेका छन् । 

मतदाता सबैभन्दा बढी भएका मधेसमा विशेष अभियान प्रस्ताव गरेका छन् । लाखौँ मानिस रहेका प्रवासमा समस्या समाधान गर्न त्यति धेरै गम्भीर नभएको निष्कर्ष निकाल्दै  त्यसका लागि प्रवास विशेष अभियान सञ्चालन गर्ने प्रस्ताव गरेका छन् ।  यी बाहेक आन्तरिक संगठन सुदृढीकरण, जबसरमोर्चाको सम्मेलन र महाधिवेशन गर्ने उल्लेख छ । 

केन्द्रीय समिति बैठकको सुरुमा रिपोर्टिङ गरेका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले कोशीमा माओवादीप्रति जनआकर्षण बढिरहेको बिफ्रिङ गरेका थिए । प्रचण्डको प्रतिवेदनमा कोशीबारे समीक्षा नभएको बताएका छन् ।

‘स्थानीय तह उपनिर्वाचनसम्बन्धमा अन्य धेरै ठाउँको चर्चा भएको छ । तर कोहीबारे छुटेको देखिन्छ । यसविषयमा अब बैठकमा कुरा राख्छौँ’, उनले भने ।  यस्तै प्रचण्डको दस्ताबेज मूलभूत रुपमा राम्रो भएपनि कार्यान्वयनमा नेताहरूले आशंका व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप