बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय
जय ट्रफी क्रिकेट

मधेसविरुद्ध पहिलो पालीमा बागमतीलाई ४८ रनको अग्रता, अर्धशतकबाट चुके नन्दन यादव

सोमबार, २२ पुस २०८१, ११ : ०५
सोमबार, २२ पुस २०८१

काठमाडौँ । दुई दिवसीय जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले पहिलो पालीमा मधेश प्रदेशसँग ४८ रनको अग्रता लिएको छ । जनकपुरमा जारी प्रतियोगिताको दोस्रो दिन सोमबार बागमती प्रदेशको टोली आफ्नो पहिलो पालीमा एक सय ५० रन बनाउँदै अलआउट भयो ।  

बागमती प्रदेशले दुई विकेटको नोक्सानीमा ३४ रनको स्थितिबाट दोस्रो दिनको खेल अघि बढाएको थियो । बागमती प्रदेशका लागि नन्दन यादबले सर्वाधिक ४७ रनको योगदान गरे । दशौँ नम्बरका ब्याट्सम्यान नन्दनले टोली अप्ठ्यारो स्थितिमा रहँदा जिम्मेबारीपूर्वक ब्याटिङ गर्दै ५५ बलमा एक छक्का र ६ चौका पनि हिर्काए ।

शुभ कंसाकारले पनि ३५ रनको योगदान गरे । चौथो नम्बरमा क्रिज समाल्न आएका शुभले केवल ३३ बलमा आठ चौका हिर्काए । शुभले ३२ रन त बाउन्ड्री प्रहारबाट मात्र बटुलेका थिए । कप्तान सन्दीप लामिछानेले पनि टोलीको खातामा ३३ रन थपे । आठौँ नम्बरमा क्रिज समाल्न आएका सन्दीपले केवल २२ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काए । 

अन्तिम ब्याट्सम्यानका रुपमा क्रिज समाल्न आएका रिजन ढकालले पनि बागमती प्रदेशको खातामा अविजित १३ रन थपे । उनले २३ बलको सामना गरी एक छक्का र एकच चौका पनि हिर्काए । यसका अतिरिक्त बागमती प्रदेशका लागि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

ओपनर आशुतोष घिरैया खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । अर्का ओपनर रित गौतम पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएका ईशान पाण्डे नौ रन बनाउँदै आउट भए । विकेटकिपर ब्याट्सम्यान उत्तम मगर पनि एक रनमै पेभेलियन फर्किए । रोशन विक, प्रतिश जीसी र सूर्य तामाङले त खातासम्म खोल्न सकेनन् । 

मधेश प्रदेशका बलर रुपेश सिंहले चार विकेट लिए । उनले १० ओभरमा तीन मेडन राख्दै ३२ रन खर्चिए । अभिषेक तिवारीले पनि चार विकेट हात पारे । उनले ६.५ ओभरमा एक मेडन राख्दै केवल २५ रन खर्चिए । विशाल पटेल र रञ्जित कुमारले पनि एक–एक विकेट लिए । बागमती प्रदेशले अतिरिक्त रुपमा पनि नौ रन पायो ।  

त्यसअघि मधेश प्रदेशको टोली आफ्नो पहिलो पालीमा केवल एक सय दुई रन बनाउँदै अलआउट भएको थियो । मधेश प्रदेशको टोली ३५.३ ओभरमै अलआउट भएको हो । दुई दिवसीय प्रतियोगितामा मधेश प्रदेशले टस जिति पहिले ब्याटिङको निर्णय लिएको थियो । 

प्रतिकुल मौसमका कारण निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो सुरु भएको खेलमा मधेश प्रदेशका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । कप्तानसमेत रहेका ओपनर हरिशंकर साह चार रन बनाउँदै पेभेलियन फर्किए । उनले १८ बलमा एक चौका हिर्काए । अर्का ओपनर मयान यादबले टोलीको खातामा २१ रन थपे । उनले ३६ बलमा एक छक्का र एक चौका हिर्काए ।

तेस्रो नम्बरका ब्याट्सम्यान निरज यादब भने १२ रनभन्दा अगाडि बढ्न सकेनन् । उनले ३५ बलमा एक चौका प्रहार गरे । चौथो नम्बरमा क्रिज समाल्न आएका साहिल पटेल ६ रनमै आउट भए । विकेटकिपर ब्याट्सम्यान हिमांशु दत्त पनि १० रनभन्दा अगाडि बढ्न सकेनन् ।
रुपेश सिंह पनि ६ रन बनाउँदै पेभेलियन फर्किए । सातौँ नम्बरमा क्रिज समाल्न आएका विशाल पटेलले टोलीको खातामा १६ रन थपे । उनले ३० बलको सामना गरी एक छक्का र एक चौका पनि हिर्काएका थिए । 

अभिषेक तिवारीले ११ रन बनाए । उनले ४० बलको सामना गरी दुई चौका पनि हिर्काए । प्रदिप पासवान दुई रन बनाउँदै आउट भए । रञ्जित कुमारले शून्य रनमै आउट भए । भुलावन साहनीले दुई रनमा अविजित रहे । मधेश प्रदेशले अतिरिक्त रुपमा पनि १२ रन पायो । 
बागमती प्रदेशका बलर सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए । टोलीका कप्तानसमेत रहेका सन्दीपले १४ ओभरमा दुई मेडन राख्दै ४१ रन खर्चिए । सूर्य तामाङले तीन विकेट हात पारे । उनले २।३ ओभरमा केवल सात रन खर्चिए । नन्दन यादब र प्रतिस जीसी पनि एक–एक विकेट लिए । 

नेपाली क्रिकेट इतिहासकै प्रतिष्ठित घरेलु प्रतियोगितामध्येको एक जय ट्रफी आइतबारदेखि जनकपुर र वीरगञ्जमा सुरु भएको हो । नेपाल क्रिकेट संघ ९क्यान० ले आयोजना गरेको प्रतियोगितामा चारवटा टोलीको सहभागिता रहेको छ । 

प्रतियोगिताको प्रारम्भिक चरणको खेल दुई दिवसीय हुनेछ । फाइनल खेल भने तीन दिवसीय हुने क्यानले जनाएको छ । क्यानका पूर्वअध्यक्ष जयकुमारनाथ शाहको नाममा जय ट्रफी सुरु भएको हो । जयकुमार नाथ शाह आफैले २०३७ सालमा ‘जय ट्रफी’ सुरुवात गरेका थिए । लामो समयसम्म जय ट्रफी नै राष्ट्रिय टोली छनोटको आधार पनि थियो । 

जय ट्रफीमा खेलाडीहरु सेतो रङको जर्सीमा देखा परेका छन् भने खेल रातो बलले खेलाइँदै छ । नेपाल पुलिस क्लबको कप्तानको भूमिकामा आरिफ शेख छन् । बागमती प्रदेशको कप्तान सन्दीप लामिछाने हुन् । मधेश प्रदेश हरिशंकर साहको कप्तानीमा छ । आर्मी क्लबको कप्तान विनोद भण्डारी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप