बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय
जय ट्रफी क्रिकेट

पहिलो पालीमा पुलिसलाई चार रनको अग्रता, आर्मीका साहब आलम एक्लैले लिए ८ विकेट

सोमबार, २२ पुस २०८१, १० : ०५
सोमबार, २२ पुस २०८१

काठमाडौँ । दुई दिवसीय जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लबविरुद्धको खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो पालीमा चार रनको अग्रता हासिल गरेको छ । 

वीरगन्जमा जारी प्रतियोगिताको दोस्रो दिन सोमबार पुलिस क्लब आफ्नो पहिलो पालीमा एक सय २५ रन बनाउँदै अलआउट भयो । पुलिस क्लबले सात विकेटको नोक्सानीमा एक सय तीन रनको स्थितिबाट दोस्रो दिनको खेल अघि बढाएको थियो । 

पहिले ब्याटिङ गरेको आर्मी क्लब आफ्नो पहिलो पालीमा सस्तैमा समेटिएपछि जवाफी ब्याटिङमा ओर्लिएको पुलिस क्लबका ब्याट्सम्यानले पनि गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । पहिलो पालीमा पुलिस क्लबका लागि गुलसन झाले सर्वाधिक ४७ रनको योगदान गरे ।

सातौँ नम्बरमा क्रिज समाल्न आएका गुलसनले केवल ५४ बलको सामना गरी तीन छक्का र तीन चौका पनि हिर्काए । पुलिस क्लबका अन्य ब्याट्सम्यानको प्रदर्शन भने निराशाजनक रह्यो । पुलिसका दुबै ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र अर्जुन साउद खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । 

तेस्रो नम्बरमा क्रिज समाल्न आएका अमित श्रेष्ठले टोलीको खातामा १८ रन थपे । उनले १३ बलमा चार चौका हिर्काए । चौथो नम्बरका ब्याट्सम्यान दिलिप नाथ पनि ३४ बलमा एक चौकाको मद्दतले १० रन बनाउँदै पेभेलियन फर्किए । 

पाँचौँ नम्बरका ब्याट्सम्यान कप्तान आरिफ शेख पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् । छैटौँ नम्बरका ब्याट्सम्यान रासिद खानले २८ बलमा दुई चौकाको मद्दतले १६ रन बनाए । शंकर राना पनि १३ रन बनाउँदै आउट भए । उनले १६ बलमा दुई चौका हिर्काए ।

प्रेम तामाङले टोलीको खातामा १० रन थपे । श्रवण यादव र ललित राजवंशीले खाता खोल्न सकेनन् । पुलिस क्लबका ब्याट्सम्यानहरु ३३.१ ओभरमात्र क्रिजमा टिक्न सके । आर्मी क्लबका बलर साहब आलम एक्लैले आठ विकेट लिए । 

साहब आलमले १५.१ ओभरमा दुई मेडन राख्दै ५९ रन खर्चिएका थिए । सोमपाल कामी र पवन कार्कीले पनि एक–एक विकेट हात पारे । पुलिस क्लबले अतिरिक्त रुपमा पनि सात रन हात पारेको थियो । 

त्यसअघि, त्रिभुवन आर्मी क्लब पनि आफ्नो पहिलो पालीमा केवल एक सय २१ रन बनाउँदै अलआउट भएको थियो । आर्मी क्लबका ब्याट्सम्यान ३४.४ ओभरमात्र क्रिजमा टिक्न सकेका थिए । आर्मी क्लबका ब्याट्सम्यानले पनि निराशाजनक प्रदर्शन गरेका थिए । 

सेतो जर्सी लगाएर खेलिएको दुई दिवसीय प्रतियोगितामा आर्मी क्लबले टस हारी पहिले ब्याटिङको निम्तो पाएको थियो । आर्मी क्लबका माथिल्ला तीन ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेका थिएनन् ।

ओपनर सन्तोष कार्की एक र अर्का ओपनर सोमपाल कामी पाँच रन बनाउँदै पेभेलियन फर्किए । आर्मी क्लबले दुई ओभरमै दुई विकेट गुमाइसकेको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका तृतराज दासले त खातासम्म खोल्न सकेनन् ।

चौथो नम्बरका ब्याट्सम्यान कुशल मल्लले २५ र पाँचौँ नम्बरका ब्याट्सम्यान भीम सार्कीले २२ रन बनाए । कुशलले ३८ बलमा एक छक्का दुई चौका तथा भीमले ४६ बलमा एक छक्का र दुई चौका प्रहार गरेका थिए । 

बसिर अहमद २५ बलमा एक चौकाको मद्दतले १२ रन बनाउँदै पेभेलियन फर्किए । कपतान विनोद भण्डारीले टोलीको खातामा २१ रन थपे । उनले १६ बलमा एक छक्का र दुई चौका पनि हिर्काए । विवेक यादबले खाता खोल्न सकेनन् भने साहब आलमले टोलीको खातामा ११ रन थपे ।

साहब आलमले २७ बलमा एक चौका हिर्काए । पवन कार्कीले पनि अविजित १५ रन बनाए । उनले २७ बलमा दुई चौका हिर्काए । आकाश चन्द भने शून्य रनमै पेभेलियन फर्किए । आर्मी क्लबले अतिरिक्त रुपमा पनि नौ रन पायो । 

त्रिभुवन आर्मी क्लबका ब्याट्सम्यानका लागि पुलिस क्लबका बलर ललित राजवंशी सबैभन्दा घातक बने । उनी एक्लैले सात विकेट लिए । ललितले १४.४ ओभरमा चार मेडन राख्दै केवल ४७ रन खर्चिएका थिए । 

कुशल भुर्तेल, श्रवण यादव र रासिद खानले पनि एक–एक विकेट हात पारे । आर्मी र पुलिस क्लबका अधिकांश ब्याट्सम्यानले सिमित ओभरकै प्रतियोगिताको शैलीमा ब्याटिङ गरेका थिए । त्यसैले पनि अधिकांश ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्किएका थिए । 

नेपाली क्रिकेटको इतिहासकै प्रतिष्ठित घरेलु प्रतियोगितामध्येको एक जय ट्रफी आइतबारदेखि जनकपुर र वीरगन्जमा सुरु भएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रतियोगितामा चारवटा टोलीको सहभागिता रहेको छ । 

प्रतियोगिताको प्रारम्भिक चरणको खेल दुई दिवसीय हुनेछ । फाइनल खेल भने तीन दिवसीय हुने क्यानले जनाएको छ । क्यानका पूर्वअध्यक्ष जयकुमारनाथ शाहको नाममा जय ट्रफी सुरु भएको हो । जयकुमार नाथ शाह आफैले २०३७ सालमा ‘जय ट्रफी’ सुरुवात गरेका थिए । लामो समयसम्म जय ट्रफी नै राष्ट्रिय टोली छनोटको आधार पनि थियो । 

जय ट्रफीमा खेलाडीहरु सेतो रङको जर्सीमा देखा परेका छन् भने खेल रातो बलले खेलाइँदै छ । नेपाल पुलिस क्लबको कप्तानको भूमिकामा आरिफ शेख छन् । बागमती प्रदेशको कप्तान सन्दीप लामिछाने हुन् । मधेश प्रदेश हरिशंकर साहको कप्तानीमा छ । आर्मी क्लबको कप्तान विनोद भण्डारी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप