पूर्वराष्ट्रपति भण्डारीमाथि धेरैको विश्वास छ
पूर्वराष्ट्रपति विद्या भण्डारी पोखरा आएको समयमा भएको भेटघाटलाई नै आधार मानेर कतिपयले उहाँ राजनीतिमा फर्कन लागेको भनेर टिप्पणी गरेका छन् । हरेक विषयलाई मानिसले आ–आफ्नै तरिकाले बुझ्नु, विश्लेषण गर्नु स्वाभाविक हो ।
पूर्वराष्ट्रपति भण्डारी राजनीतिक उद्देश्यले नभई त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालयबिचको सिकाइ आदानप्रदान हुने किसिमको ‘फेवा डायलग’ कार्यक्रममा सम्बोधन गर्न आउनुभएको थियो । त्यही मौकामा उहाँले विभिन्न व्यक्तित्वसँग भेटघाट गर्नुभयो । पोखरा उहाँलाई विशेष मन पर्ने ठाउँ भएकाले पनि बसाइ केही लम्बियो ।
पूर्वराष्ट्रपति भण्डारी लामो बसाइका लागि आउनुभएको थिएन । आएको बेलामा गोरखा र स्याङ्जाको आलमदेवी जाने कार्यक्रम तय भएको थियो । त्यत्तिकैमा बसाइ लम्बियो । गोरखाको कार्यक्रम स्थगित नै भयो ।
उहाँ पहिलेदेखि नै पोखरा आउन खोजिरहनुभएको थियो । विभिन्न कारणले आउन पाउनुभएन । अहिले सन्दर्भ मिलेको हो । पोखरा आउन उहाँ निकै रुचाउनुहुन्थ्यो । काठमाडौँमा पट्यार लाग्यो भने पोखरा आउनुपर्यो भन्नुहुन्थ्यो उहाँ । राष्ट्रपति बनेपछि फुत्तफुत्त आइराख्न सजिलो भएन । तर अब उहाँलाई यस्ता भ्रमणमा निस्किन गाह्रो छैन । त्यसैले पनि उहाँ पोखरा आउनुभएको हो । यसअघि पोखरा आउँदा पनि धेरै व्यक्तिले उहाँलाई भेट्न खोज्थे । भेट्ने अवसर जुरिरहेको थिएन । अहिले प्रदेशभरिका नेता कार्यकर्ताहरूले सजिलोसँग भेट्न पाउनुभयो । खुलेर आफ्ना कुरा उहाँसमक्ष राख्नुभयो ।
उहाँको पोखरा बसाइमा एक पटक पनि क्रियाशील राजनीतिक जीवनबारे कुराकानी भएन । मान्छेहरू आउजाउ गर्दा राजनीतिमा फर्किन लाग्नुभएको हो कि भन्ने आशंका त देखिन्थ्यो नै । भोलि पार्टीले आवश्यकता महसुस गरेर उहाँलाई बोलायो भने के गर्नुहुन्छ, थाहा भएन । होइन भने सक्रिय राजनीतिमा फर्किने चाहना राखेजस्तो लाग्दैन ।
हुन त उच्च तहकै नेताहरू पनि आशंकाले हेर्न थालेका छन् । कसैलाई उहाँ सक्रिय राजनीतिमा आइदिए हुन्थ्यो भन्ने लागेको छ । कसैले आइहाल्ने पो हो कि भन्ने चिन्ता पनि राखेका छन् । उहाँ सक्रिय राजनीतिमा आउने कि नआउने भन्नेबारे आफैँले केही भन्नुभएको छैन तर यिनै दुईथरी व्यक्तिले यसबारे बहस गर्दै आएका छन् ।
कसैले पार्टीको बारेमा सोध्दा माथिको नेताहरूलाई मात्रै भन्ने होइन, तलबाटै मजबुत बन्नुस् न भनेर प्रतिक्रिया दिनुहुन्थ्यो ।
पोखराको भेटघाटलाई लिएर केहीले त एघारौँ महाधिवेशनको तयारी पनि भन्न भ्याएको सुन्छु । त्यस्तोचाहिँ कुनै पनि तर्कले पुष्टि गर्दैन । त्यही राजनीतिबाट, त्यही पार्टीबाट राष्ट्रपति बनेपछि राजनीतिक कुरा हुनु नौलो विषय होइन । भेट्न चाहने जतिलाई खुला थियो । पार्टीका मात्रै नभएर आम नागरिकहरूले पनि उहाँलाई भेट्न खोजिरहेका थिए । जनप्रतिनिधिहरूले पहिलादेखि उहाँसँग भेट्न खोजिरहनुभएको थियो । उहाँसँग भेटकै लागि काठमाडौँ लगिदिनु न भन्दै आउनुभएको थियो । काठमाडौँ पुगेर भेट्ने कुरा सजिलो भएन । पोखरा आउँदा उहाँहरूले पनि अवसर छोप्नुभयो । मलाई लाग्छ, ७ दिनको बसाइमा राजनीतिक विषयमा चाहिँ गहिरो गरी कुरा नै भएन ।
हामी पार्टीका जिम्मेवार व्यक्तिहरूले पनि अरू साथीहरूलाई समय दियौँ । त्यसो भएपछि नजिकबाट पार्टीको गफगाफ गर्ने अवसर मिलेन । चाहे जे भने पनि सबै कुराहरू समयले बताउने हो । समयले के माग गर्छ, हेरौँ । समयले माग्यो भने हामी त पार्टी कमिटीको निर्णय मान्ने मान्छे हौँ । उहाँले पनि त्यसलाई स्वीकार्नुहुन्छ कि भन्ने त लाग्छ । तर यसै भन्न सक्दिनँ म । किनकि यत्रो भेटघाटमा पार्टीको एघारौँ महाधिवेशनको शब्द पनि निस्किएन । हामी उहाँ आउने बित्तिकै पुम्दीकोट गयौँ । स्याङ्जा गयौँ । पोखरा र आसपासका अरू ठाउँहरू घुम्न निस्कियौँ ।
कसैले पार्टीको बारेमा सोध्दा माथिको नेताहरूलाई मात्रै भन्ने होइन, तलबाटै मजबुत बन्नुस् न भनेर प्रतिक्रिया दिनुहुन्थ्यो । गुटको पछि लाग्नुभन्दा जरैबाट मजबुत हुने उपाय खोज्नुस् भनेर उहाँ सुझाउनुहुन्थ्यो । यो भ्रमण खासगरी भेटघाट गर्ने, फोटो खिच्ने मै बित्यो भन्ने लाग्छ । बरु जलवायु परिवर्तनका विषयमा उहाँको चिन्ता थियो । पहिला आउँदा माछापुच्छ्रे हिमाल हिउँले ढाकिएको थियो । अहिले कालै देखेपछि निकै दुःखी देखिनुभयो ।
महिला अधिकारका लागि उहाँको योगदान धेरै लामो छ । त्यही पनि कारण हुन सक्छ, अरू कारण पनि होलान् ।
होटलमा बिहानदेखि बेलुकासम्म भेट्नेहरूको लाइन नै हुन्थ्यो । विभिन्न क्षेत्र र समुदायका व्यक्तिहरू उहाँलाई भेट गर्न आएका थिए । यसले पनि राजनीतिक जीवनमा फर्किने हो कि भनेर आशंका बढेको हुन सक्छ । त्यसलाई अन्यथा लिने कुरा त भएन । हामीले सुझाव दिएर उहाँ पार्टीमा फर्किने पनि होइन, नआउनुस् भनेर नआउने पनि होइन । आउनुपर्छ वा आउनु हुँदैन भन्ने हामीले सुझाव दिने कुरा होइन । पार्टीको आवश्यकताका आधारमा चल्ने कुराहरू हुन् यी सबै ।
धेरै पटकको भेटमा उहाँ राजनीतिमा फर्कन लागेको गन्ध पाइएन । आए हुन्थ्यो भन्ने चाहना फरक पाटो होला । बढी मात्रामा महिलाहरू बढी भेट्न आउनुभएको थियो । उहाँहरूको अनुहारमा अभिभावक पाएको जस्तो महसुस बाहिरैबाट पढ्न पाइन्थ्यो । त्यस्तो अभिभावक भनेको राजनीतिक नेतृत्वमात्रै होइन, उहाँप्रति धेरैको विश्वास पनि छ ।
किनभने महिला अधिकारका लागि उहाँको योगदान धेरै लामो छ । त्यही पनि कारण हुन सक्छ, अरू कारण पनि होलान् । त्यही भएर पोखरा भ्रमण राजनीतिक हुँदै होइन भन्नेमा क्लियर भए हुन्छ । धेरै टिप्पणी पनि खास जरुरी छैन भन्ने लाग्छ । तैपनि प्रभावशाली व्यक्ति भएका कारण यस्ता तर्क–वितर्क भइरहन्छन् । यो सामान्य कुरा हो ।
(पोखरा महानगरकी उपमेयर तथा नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जुदेवी गुरुङसँग रातोपाटीका लागि प्रकाश ढकालले गरेको कुराकानीमा आधारित । गुरुङ पूर्वराष्ट्रपति भण्डारीकी मितिनी पनि हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : चीनमा भूकम्प नेपालसम्म धक्का, एकैदिन सकिए एमाले र माओवादीको बैठक
-
माओवादी बैठकमा लेखनाथ न्यौपानेले बुझाएको पाँचबुँदे सुझाव के–के छन् ?
-
सशस्त्रका ४ डीआईजीको पदावधि थप्ने निर्णय
-
‘बिहानै त्रसित बनाएको भूकम्पको धक्का’
-
पर्यटकीयस्थल घोडेपानीमा हिमपात
-
भूकम्पका कारण ११ जना बेहोस, दुई घाइते