पूर्वराष्ट्रपतिले लक्ष्मण रेखा बुझ्नुपर्छ
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन लागेको विषयमा बेलाबखत चर्चा र बहस हुने गरेको छ । यसबारे नेकपा एमालेकै नेताहरूले समयसमयमा बहस र चर्चा गर्दै आएको पाइन्छ ।
राष्ट्रपति पद भनेको दलीय आबद्धता अस्वीकार गरेको पद हो । दलको सङ्कीर्ण घेरा, सीमितताभन्दा माथि उठेको मान्छे मात्रै राष्ट्रपतिको उचाइका लागि तयार हुन्छ । भूतपूर्व भइसकेपछि पनि त्यो पद मर्यादित खालको हुन्छ । व्यक्ति होइन, संस्थाको कल्पना गरेर त्यो इज्जत दिएर राखेको हुन्छ ।
पूर्वराष्ट्रपतिहरू वर्तमानबाटै भूतपूर्व हुने हो । वर्तमानमा जसरी राष्ट्रपतिको हकमा दलविहीनताको कल्पना गरिएको छ, भूतपूर्व भइसकेपछि पनि त्यही हुनुपर्छ । दलसँगको सम्बन्ध टुटिसकेको, निष्पक्षता, राष्ट्रिय एकताको, दलहरूभन्दा माथिको कल्पना गरिएको संस्था भएकाले पूर्वराष्ट्रपतिमा पनि राजनीतिक निरपेक्षता हुनुपर्छ ।
त्यो उचाइमा पुगेको मान्छे फर्केर राजनीतिक दलदलमा आउँछु भन्नु आफ्नो गरिमा नबुझेको भन्ने अर्थ लाग्छ । सक्रिय राजनीतिको इच्छा भनेको त ‘पावर इन्जोय’ भन्ने हिसाबले बुझ्नुपर्छ । त्यस्तो खालको सङ्कीर्ण सोच हुने हो भने राष्ट्रपति बन्ने बेलामै सोच्नुपर्थ्यो । कहीँ पनि विवाद सिर्जना गर्ने मान्छेलाई राष्ट्रपति बनाइँदैन ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निजी इच्छा हो वा एमालेभित्रको राजनीतिक समस्याका कारण उहाँलाई तानिँदैछ भन्ने थाहा छैन । त्यो एमालेको आन्तरिक समस्या हो । यद्यपि आगो नबली धुवाँ त आउँदैन । अलिकति इच्छा उहाँको पनि होला, अलिकति अवस्था एमालेमा पनि सिर्जना भएको होला ।
एमालेमा संस्थापन (ओली पक्ष) बाट पेलाइ खाएका व्यक्तिहरू ठुलो संख्यामा होलान् । तिनीहरूले पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन प्रेरित गरिरहेको कुरा अनुमान होइन कि केपी ओलीले नै बोलिरहनुभएको छ ।
दलमा अध्यक्ष केपी ओली मन नपर्नुको समाधान भनेकै विकल्पमा अर्को व्यक्ति खोज्ने हो । अर्को व्यक्ति खोज्ने भन्दैमा पूर्वराष्ट्रपति भण्डारीलाई ल्याउँदा दीर्घरोगको उपचार सिटामोलबाट खोजेजस्तो हुन्छ । एमालेलाई गति दिन, पार्टीको नवजीवनका लागि अरू नेता तयार हुनुपर्छ । किनकि लामो समय सक्रिय राजनीतिको शिखर नेतृत्वमा बसेकाहरूलाई नै दोहोर्याउँदा नयाँ परिवर्तन आउँदैन । परीक्षण भइसकेका नेतालाई फेरि परीक्षणमा राख्नु बेकार हो । समयको बर्बादीमात्रै हो ।
एउटा व्यक्तिको अभावमा देशै चल्दैन, पार्टी चल्दैन भन्ने सोच राख्नु हुन्न । ओलीको पेलाइबाट बच्नुपर्छ भन्दैमा पूर्वराष्ट्रपतिलाई तान्ने होइन । बरु पद्धतिको खोजी गर्नुपर्छ । व्यक्ति समस्याको समाधान होइन, पद्धति हो । पद्धति अधीनस्थ व्यक्ति खोजियो भने कम क्षति हुन्छ वा सुयोग्य नतिजा आउँछ । सबै पार्टीले सिक्नुपर्ने यही हो ।
दलहरू व्यक्ति केन्द्रित हुनु भनेको लोकतन्त्रकै लागि हानिकारक हो । व्यक्तिको अयोग्यताको भारी प्रणालीले बोक्नुपर्ने र निर्दोष प्रणालीप्रति प्रश्न उठ्ने कुरा लोकतन्त्रका लागि समस्या हो ।
अहिले चर्चा पूर्वराष्ट्रपति विद्या भण्डारीको घुमघाम र मन्दिर दर्शनमा पनि छ । मन्दिर चहार्नु पनि एक हिसाबले राजाको फोटोकपी हो भन्न हिचकिचाउनु पर्दैन । राजाहरूले गरेको प्रणाली र राष्ट्रपतिले गर्ने प्रणाली फरक हो । मार्क्सवादी विचारधाराको विद्यादेवी भण्डारी भएर शक्तिपीठहरूको भ्रमण गर्नुभएको छ भने यो त विचारधाराको परित्याग हो । त्यो होइन भने भ्रमण नक्कली हो, जनतालाई भ्रम छर्नुभएको छ । कुनै राजनीतिक अर्थ छ भने पनि त्यसले त्यति ठुलो आकार लिँदैन । अरू निजी कुरामा कुनै टिप्पणी गर्ने कुरा भएन ।
एमालेमा संस्थापन (ओली पक्ष) बाट पेलाइ खाएका व्यक्तिहरू ठुलो संख्यामा होलान् । तिनीहरूले पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन प्रेरित गरिरहेको कुरा अनुमान होइन कि केपी ओलीले नै बोलिरहनुभएको छ । पार्टी अध्यक्षले नै भण्डारीको राजनीतिक इच्छा अनुचित हो भनिरहनुभएको छ भने हामीले उहाँको भनाइलाई उचित नै ठान्नुपर्यो ।
राष्ट्रपति भनेको त देशको सम्पत्ति हो नि । कतिपयले अरू देशहरूमा पूर्वराष्ट्रपति राजनीतिमा फर्किएको भनेर तर्क गर्छन् । देशको संवैधानिक हिसाबमा राष्ट्रपति पद राजनीतिक छ भने फर्किने सम्भावना छ । राजनीतिक होइन भने त्यो सम्भावना छैन । संविधान अनुसार पूर्वराष्ट्रपतिको पृष्ठभूमि के हो, हेर्नुपर्छ । कतिपय देशमा राष्ट्रपति दलले बनाउँछ । हाम्रो देशमा दलले बनाउने होइन ।
हाम्रो राष्ट्रपति राष्ट्रिय एकताको प्रतीक हो । विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन लाग्नुभएको हो भने उहाँ गुटको राष्ट्रपति बन्नुभएको रहेछ भन्ने बुझिन्छ । पदको अवमूल्यन गरेको ठहरिन्छ । प्रणालीलाई असफल पार्न उहाँको भूमिका देखिन्छ । पूर्वराष्ट्रपतिको व्यवहार यस्तो खालको हुने हो भने गणतान्त्रिक प्रणालीमा पनि प्रश्न उठ्छ ।
हुन त नेपालको कम्युनिस्ट एकीकरणमा भूराजनीतिक प्रभाव पनि उत्तिकै छ । यसअघि दलहरू जुट्नु र फुट्नुमा घरेलु राजनीतिको प्रभावभन्दा बाह्य राजनीतिको उक्साहट बढी छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । कतै पूर्वराष्ट्रपतिज्यूलाई त्यसमै तान्न खोजिएको त होइन ? भन्ने प्रश्न पनि अहम् हो । त्यसो त, रिजल्ट नआउँदासम्म यस्ता कुराहरू परिकल्पनामात्रै होला ।
पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिको परिकल्पना संविधानले पनि गर्दैन, हामी कसैले गर्दैनौँ ।
एमाले, माओवादी र सबै कम्युनिस्ट पार्टीको एकीकरणका लागि पर्दा पछाडि कसैको योगदान भइराखेको छ कि भन्ने चर्चा अहिले चल्न थालेको छ । घरेलु राजनीतिमा आउने बदलावलाई परिस्थितिले जोड्न नसक्ला । तर राजनीति हो, असम्भव नहोला भन्न सकिन्न । उहाँ (विद्यादेवी)ले लामो समय एमालेको राजनीति गर्नुभयो । शिखर नेता मदन भण्डारीको श्रीमती हो उहाँ । एमालेभित्र उहाँको विशिष्ट मर्यादा छ । त्यसका कारण एमालेप्रति मोह छ । कहिलेकाहीँ मोहले तान्छ । तर लक्ष्मण रेखा कहाँ हो भन्ने हेक्का आफैँले राख्नुपर्छ ।
एमालेभित्रैका एक पंक्ति आगामी महाधिवेशनपछि नेतृत्वलाई लिएर असुरक्षित महसुस गरिरहेका छन् । पूर्वराष्ट्रपतिलाई नेता बनाउन खोजेको भन्दा पनि हारगुहार गरेकोमात्रै होला । कसैले हारगुहार मागिरहेको बेला पूर्वराष्ट्रपति भण्डारी आफैँ त्रिशूल लिएर झर्नुहुन्न होला भन्ने विश्वास गरौँ । कोही हार–गुहार गर्न आउँछ भने विवेकको प्रयोग आफैँले गर्नुपर्छ । मर्यादाको सीमारेखा थाहा हुनुपर्छ । लक्ष्मण रेखा नाघेर राजनीतिक दलको दलदलमा आउनुभयो भने परिवर्तनलाई भुत्ते पार्न उहाँको योगदान रहेको ठहर्छ ।
पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिको परिकल्पना संविधानले पनि गर्दैन, हामी कसैले गर्दैनौँ । त्यसो त, कहीँ न कहीँ दृश्य, अदृश्य रूपमा सत्ता राजनीतिमा खेल्न उहाँ रुचाउनुहुन्छ । राष्ट्रपति रहेकै बेला पनि मन्त्री, सांसद, राजदूत बनाउने कुरामा उहाँका व्यक्तिगत रिजर्भेसन थिए । भूतपूर्व भइसकेपछि पनि कोही नजिक हुन सक्छन् । त्यसैलाई आधार बनाएर पार्टीमा शक्तिको हिस्सा लिनु उहाँलाई नै नोक्सानी हो ।
हामीले अनुमान गरेर हुँदैन, २ पटक राष्ट्रपति भइसकेको मान्छेले सीमारेखा बुझ्नुहुन्छ । मान्छेले कल्पना गरेको कुरा पूरा नहोस् । अहिलेसम्म कल्पनामात्रै हो । विभिन्न घटनाक्रमले हो कि भन्ने लाग्ने मात्रै हो । यो परिकल्पना सत्य नहोस् ।
(राजनीतिक विश्लेषक चालिसेसँग रातोपाटीका लागि प्रकाश ढकालले गरेको कुराकानीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : चीनमा भूकम्प नेपालसम्म धक्का, एकैदिन सकिए एमाले र माओवादीको बैठक
-
माओवादी बैठकमा लेखनाथ न्यौपानेले बुझाएको पाँचबुँदे सुझाव के–के छन् ?
-
सशस्त्रका ४ डीआईजीको पदावधि थप्ने निर्णय
-
‘बिहानै त्रसित बनाएको भूकम्पको धक्का’
-
पर्यटकीयस्थल घोडेपानीमा हिमपात
-
भूकम्पका कारण ११ जना बेहोस, दुई घाइते