पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कन लागेकी हुन् ?
पोखरा । पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा फर्किन लागेको विषय बेलाबखत चर्चामा आउने गरेको छ । पछिल्लो समय केही घटनाक्रमले यसबारे बहस थप बढाएको देखिन्छ ।
एमालेभित्र मात्र होइन, अन्य दलमा पनि पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किन लागेको विषयले तरङ्ग ल्याएको छ । पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कनु ठिक कि बेठिक भन्ने चर्चा बेलाबखत उत्कर्षमा पुग्ने गरेको छ ।
नेपालमा दुई पूर्वराष्ट्रपति छन् । देशका प्रथम राष्ट्रपति रामवरण यादवले सक्रिय राजनीति त्यागिसकेका छन् । उनी राजनीतिमा फर्कने कुनै सङ्केत देखिएको छैन ।
तर, पूर्वराष्ट्रपति विद्या भण्डारी भने सक्रिय राजनीतिमा फर्कन लागेको विषयलाई लिएर बहस हुँदै आएको छ ।
गत शुक्रबार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पुस्तक ‘आमा, सपना र ताराहरू’ विमोचन कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीकै सामु यो विषयमाथि चर्चा भयो । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिमा फर्कने कि नफर्कने भन्ने विषय पूर्वराष्ट्रपति भण्डारीको स्वविवेकमा भर पर्ने बताए । तर आफूसँग सुझाव मागेको खण्डमा अभिभावक भएर बस्न सल्लाह दिने शर्माको भनाइ थियो । राष्ट्रपति भइसकेको व्यक्ति फेरि राजनीतिमा फर्कन नहुने आफ्नो व्यक्तिगत मान्यता रहेको शर्माले खुलाए ।
पुसको सुरुवातमा पूर्वराष्ट्रपति भण्डारीको गण्डकी प्रदेश भ्रमणलाई पनि राजनीतिमा पुनरागमनको पूर्वअभ्यासका रूपमा हेरिएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण थापालाई विश्वास गर्ने हो भने पूर्वराष्ट्रपति भण्डारी काठमाडौँको ‘चिसो छल्न’ पोखरा आएकी थिइन् । पूर्वराष्ट्रपति भण्डारीको भ्रमणलाई सक्रिय राजनीतिमा फर्कने अर्थमा बुझ्न नहुने उनको धारणा छ । यद्यपि, करिब एक साता पोखरामा बसेर काठमाडौँ फर्किंदैमा ‘चिसो छलियो’ भनेर विश्वास गरिहाल्नुपर्ने कारण भने देखिँदैन । तर उनको भ्रमणले एमालेभित्र राजनीतिक गर्मी भने बढाएको छ ।
राजतन्त्र अस्तित्वमा रहँदा राजपरिवारले हिउँदमा पोखरा रोज्थे । तत्कालीन राजा महेन्द्रले पोखरास्थित रत्न मन्दिर काठमाडौँको चिसो छल्नकै लागि बनाएका हुन् । दशकौँसम्म ढोका लागेको उक्त दरबार गत वर्षदेखि सर्वसाधारणका लागि खुला भएको छ ।
धेरैले भन्छन्, ‘पोखरा शीतल छ, हत्तपत्त तात्दैन ।’ पोखरा तात्छ कि तात्दैन– यसै भन्न मिलेन, तर कहिलेकाहीँ पोखराले धेरैलाई तताउँछ, योचाहिँ सत्य हो ।
पूर्वराष्ट्रपति भण्डारीले पोखरा भ्रमणका क्रममा पाँचतारे होटल ‘पोखरा ग्राण्ड’मा गरेको गतिविधिले फेरि एक पटक नेपाली राजनीतिलाई तताएको छ । भण्डारीको भ्रमणले सबैको ध्यान खिचेको छ ।
३ दिनका लागि भनेर गण्डकी प्रदेशको भ्रमणमा निस्किएकी भण्डारीले ७ दिन पोखरामा बिताइन् । यो अवधिमा ३ हजारभन्दा बढी नेता–कार्यकर्तासँग उनको भेटघाट र गफगाफ भएको छ । यसलाई एमालेको एघारौँ महाधिवेशनको ‘काष्टिङ’का रूपमा पनि धेरैले अर्थ्याउन थालेका छन् । एमालेभित्र त्यो खालको बहस भए पनि पूर्वराष्ट्रपति भण्डारीको पोखरा भ्रमणमा एमाले महाधिवेशनको चर्चा नभएको गण्डकी प्रदेशकी पूर्वसांसद प्रभा कोइरालाले बताइन् ।
‘साथीहरूले आफूलाई लागेको अभिव्यक्ति दिनुभएको हो । केही महिला कमरेडहरूले उहाँललाई नेतृत्वमा आइदिए हुन्थ्यो भन्नुभयो,’ कोइरालाले भनिन्, ‘महिला अधिकारका सम्बन्धमा हिजोदेखि गरेका योगदानका कारण यहाँसम्म हामी आइपुग्यौँ, अब हजुरलाई नेतृत्वमा देख्न चाहन्छौँ भनेर साथीहरूले भन्नुभयो । त्यसमा पूर्वराष्ट्रपतिज्यूले कुनै प्रतिक्रिया दिनुभएन ।’
भण्डारीसँग भेट्ने र फोटो खिच्नेमै एमालेका नेता–कार्यकर्ताले उपलब्धि ठानेको कोइराला सुनाउँछिन् । ‘७ वर्षसम्म सम्पर्कविहीन जस्तो भइयो, भेट्न त परको कुरा,’ उनले भनिन्, ‘आज घेराबाट बाहिर निस्किनुभएको छ । हामीले हाम्रो नेतासँगै बसेर बोल्ने र आफ्ना कुरा राख्न पायौँ । यही उपलब्धि ठानेर बिदा गरियो ।’
पुस ४ र ५ गतेको औपचारिक कार्यक्रममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी पुस २ गते नै पोखरा आइपुगेकी थिइन् । कार्यक्रम सकिएपछि पनि थप ३ दिन उनले पोखरामै बिताइन् । पोखरा विमानस्थलमा भण्डारी ओर्लिनुअघि नै एमाले नेता–कार्यकर्ताको लावालस्कर थियो ।
एक साताको बसाइमा पूर्वराष्ट्रपति भण्डारीले एक दिन पनि नेता–कार्यकर्ताबाट नघेरिएर बिताउन पाइनन् । उनी एयरपोर्टबाट बिदा भएपछि मात्रै धेरै एमालेजन, स्थानीय तहका जनप्रतिनिधिदेखि मन्त्रीहरू समेत बल्ल आफ्नो दैनिक कामकाजमा फर्किएका थिए ।
पार्टीका नेता–कार्यकर्ताको दैनिक कार्यसूची नै स्थगित गर्ने भण्डारीको पोखरा भ्रमण के निजी घुमघाममा मात्रै सीमित थियो ? भ्रमण निजी नै भए पनि चहलपहल राजनीतिक भएको गण्डकीका एक प्रभावशाली नेताको तर्क छ । ‘गैर राजनीतिक भ्रमण भएको भए सबै व्यक्तिसँग भेट्नुपर्थ्यो । छानीछानी एमालेकै नेता–कार्यकर्ता, त्यो पनि बोलाइबोलाइ भेट्नुमा पर्दा पछाडि केही पाकिरहेको छ भन्ने अनुमान सहजै लगाउन सकिन्छ,’ उनले भने, ‘अहिले देशमा महिलाको नेतृत्व चाहियो भन्ने मनोविज्ञान बलियो हुँदै गएको छ । त्यो पर्सनालिटी विद्या भण्डारी नै हो । पूर्वराष्ट्रपतिको पोखरा भ्रमण पार्टीभित्रको जनमत बुझ्न पनि होला ।’
४ गते त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालयबिच छलफल गर्ने ‘फेवा डायलग’ आयोजना भएको थियो । त्यसको प्रमुख अतिथि थिइन् पूर्वराष्ट्रपति भण्डारी । त्यसबाहेकको समय उनले पार्टी र निकटस्थहरूलाई दिइन् ।
- विद्या राजनीतिमा फर्किने आधार के ?
भण्डारी प्रतिस्पर्धा गरेरभन्दा पनि पार्टीबाट सर्वसम्मत स्वागतको प्रतीक्षा गरिरहेकी छन् । त्यसैले उनी निकटका नेताहरू सक्रिय राजनीतिमा फर्कने विषयमा प्रतिक्रिया दिँदा ‘पार्टीले आवश्यक ठान्यो भने’ भन्ने तर्क सबैभन्दा अघि सार्छन् । ‘केपी शर्मा ओलीले बोलाएर लगुन् भन्ने मनोविज्ञान छ । निश्चित आकार नबने पनि पार्टीभित्र देशभर अन्तरविरोध बढेको छ,’ भण्डारी निकटकै एक नेता भन्छन्, ‘त्यसको नेतृत्व विद्याले गर्ने अवस्था आए केपीले सत्ता सुम्पनुहुन्छ होला । यसमा प्रचण्ड–माधव फ्याक्टर पनि समावेश हुन सक्छन् ।’
एमालेभित्र नेतृत्वबाट उकुसमुकुस बढेको छ । त्यसका केही प्रमाणहरू पछिल्ला कारबाहीले पनि पुष्टि गर्छ । अध्यक्ष केपी शर्मा ओलीले महासचिव शंकर पोखरेलको गुटलाई मात्रै संरक्षण गरेको आरोपले पनि एमालेभित्र आकार ग्रहण गरिसकेको छ ।
‘यसरी पार्टी चल्दैन । धेरै पेल्न–ठेल्न हुँदैन भनेर विद्यालाई अघि सार्न खोजिएको देखिन्छ । बृन्दा पाण्डेलाई गरिएको कारबाही विद्या लक्षित नै हो भन्ने बुझ्दा पनि हुन्छ,’ ती नेताले भने, ‘पार्टीमा निकास खोज्नका निमित्त प्रयत्न भइरहेको छ । कम्युनिस्टहरूको छुटेको शक्ति एकीकृत गर्न यो माध्यम उपयुक्त हुन्छ होला ।’
विद्याको राजनीतिक पुनरागमनको कारण छिमेकसँग पनि जोडिएको छ । अध्यक्ष केपी ओली दुवै छिमेकी देशका लागि कम्फर्टेबल नभएको रिपोर्टिङ छ । उनीहरू पनि विकल्पको खोजीमा छन् । ‘उत्तरी छिमेकीले विद्यालाई भरोसा गर्छ । दक्षिण प्रचण्डतिर ढल्केको देखिन्छ,’ ती नेताले भने, ‘विद्याको इन्ट्रीमा भूराजनीतिक कारण पनि जोडिन सक्छ ।’
सार्वजनिक रूपमै एमाले नेता कर्ण थापाले भनेका छन्, ‘राष्ट्रपति चाहना राखेर बनेको होइन । पार्टीको आवश्यकता हो । उहाँको उमेर छ । पार्टीमा २ पटक उपाध्यक्ष भएर काम गरिसकेको मान्छे हो । आवश्यकता पर्छ भने सक्रिय राजनीतिमा आउनुपर्छ भन्ने उहाँको पनि मनोभावना छ भन्ने मलाई लाग्छ ।’
एमालेकै स्थायी कमिटी सदस्य केशव बडालचाहिँ मुलुककै अभिभावक भइसकेको मान्छेले फेरि सक्रिय राजनीतिको रहर गर्न नहुने तर्क गर्छन् । ‘राष्ट्रपति भइसकेको मान्छेले यस्तो रहर गर्न हुन्न । पार्टीको नेतृत्व गर्न धेरै नेता काबिल हुनुहुन्छ । असल होस्, राम्रो होस् भनेर कामना गर्नु त ठिकै हो नि,’ उनले भने ।
विद्याको सक्रिय राजनीतिको पटाक्षेप भइसकेको छैन ।
- आलमदेवी र गोरखनाथ किन रोजिन् विद्याले ?
आलमदेवी मन्दिर शक्तिको उपासना गर्ने ठाउँ हो । पूर्वराष्ट्रपति विद्या भण्डारीको पोखरा भ्रमणको पहिलो कार्यसूची थियो आलमदेवी, त्यसपछि गोरखनाथ दर्शन गर्ने । आलमदेवी १३५० सालमा स्थापना भएको खाँण र शाह वंशको कुल देवता र कुल मन्दिर हो । गोरखनाथलाई चाहिँ एकीकृत नेपालको आशिर्वादको रूपमा लिने गरिन्छ । भण्डारीले यी दुई शक्तिपीठको यात्रा रोज्नुमा आन्तरिक कारण हुन सक्ने एकाथरीको तर्क छ ।
‘सबै कुरा समयले बताउँदै जाला । सरसर्ती हेर्दा शक्तिपीठको यात्रामार्फत सेनाका रिटायर्डहरूको विश्वास आर्जन गर्न खोजेको हुन सक्छ,’ एक नेताले भने । विश्व प्रसिद्ध फोर्ब्स पत्रिकाले वर्ष २०१६ का शक्तिशाली महिलामध्ये ५२ औँ नम्बरमा विद्या भण्डारीलाई सूचीकृत गरेको थियो । राजनीतिक प्रभाव र नेतृत्व क्षमतालाई आधार मानेर शक्तिशालीको सूची तयार गरिन्छ । सबै विवरणले भण्डारीलाई शक्ति आसपास रहने प्रमुख पात्रका रूपमा देखाएको छ ।
- को–कोसँग भेटिन् पोखरामा ?
पोखरा आएपछि एमाले गण्डकीका अध्यक्ष नवराज शर्माले भण्डारीलाई पोखरा ग्राण्डमा पुगेर सक्रिय राजनीतिका बारेमा सोधेका थिए । ‘केन्द्रीय कमिटी बैठकपछि तपाईंको नाम जोडिएर अध्यक्षको चर्चा भयो । पोखरा भ्रमणमा पनि राजनीतिक अर्थ छ र भनेर सोधेको थिएँ । चर्चाको विषयमा स्मरण गराएको थिएँ,’ उनले भने, ‘सक्रिय राजनीतिमा आउने सङ्केत कहीँकतै देखाउनु भएन । फेवा डायलगमा आएको हुँ, केही दिन बस्छुमात्रै भन्नुभयो ।’
यद्यपि पूर्वराष्ट्रपति भण्डारीले शर्मासँग राजनीतिक स्थिरताबारे बताएकी थिइन् । ‘पार्टी राम्रो बनोस्, राजनीतिक स्थिरता होस् भन्नुभयो,’ शर्माले भने, ‘सरकार चुनावसम्म निरन्तर जानुपर्छ । सरकार र पार्टी दुवै सफल हुनुपर्छ भन्नुभयो । पार्टीहरू बलियो बनाउनुपर्छ भन्नेमा उहाँको मुख्य चिन्ता थियो ।’
शर्मासँगै दर्जनौँ उच्च तहका नेता र सयौँ कार्यकर्ताहरूले भण्डारीलाई भेटे । भेटघाटको चाँजोपाँचो मिलाउने चल्तापुर्जा थिए धनाढ्य मन्त्री प्रकाशबहादुर केसीका छोरा विनय केसी । भण्डारीले पोखरामा रहँदा धार्मिक स्थलहरूको भ्रमण गरिन् । पोखरा बसाइमा उनले प्रदेश प्रमुख डिल्लीराज भट्ट, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, एमाले गण्डकीका इन्चार्ज किरण गुरुङ, मन्त्रीहरू, सांसदहरू, स्थानीय तहका जनप्रतिनिधिहरूसँग भेट गरिन् । उनी ठाउँठाउँमा जाँदा नेताहरूको बाक्लो उपस्थिति थियो ।
अखिल नेपाल महिला संघकी गण्डकी कोषाध्यक्ष अञ्जु क्षेत्रीका अनुसार पूर्वराष्ट्रपति भण्डारीसँग भेट्नेमा सबैभन्दा धेरै महिला थिए । ‘उहाँले आफ्नो राजनीतिक जीवनमा धेरै महिला नेता जन्माउनुभयो,’ क्षेत्रीले भनिन्, ‘पार्टीमा पनि धेरै योगदान गर्नुभएको हो । उहाँलाई सहज रूपमा नभेटेको लामो समय भइसकेको थियो । त्यसैले पोखरा आएको बेला सबैले भेट्न खोजे, भेटे ।’
भण्डारीलाई भेट्न आएकाहरूले कार्यकारी नेतृत्वमा देख्न चाहेका क्षेत्री सुनाउँछिन् । ‘धेरैले अझै उहाँले नेतृत्व गरिदिए हुन्थ्यो भन्ने चाहेका छन् । महिलाको ३३ प्रतिशत समावेशीता अभियान भण्डारीले नै चलाउनुभयो । अझै बढाउनुपर्छ । त्यसको नेतृत्व पनि उहाँले नै गर्नुभए राम्रो हुन्थ्यो,’ उनले भनिन्, ‘सक्रिय राजनीतिमा आए राम्रो, नआए पनि हाम्रो अभिभावक त हो नि । अभिभावकका रूपमा उहाँका अनुभव हामी लिइरहन्छौँ ।’
एउटा टेलिभिजन अन्तरवार्तामा सक्रिय राजनीतिबारे प्रश्न गर्दा भण्डारीले भनेकी थिइन्, ‘मैले धारणा बनाइसकेको छैन । प्रत्यक्ष राजनीतिमा फर्किन्छु कि फर्किन्नँ, ठेगान छैन । देशको परिस्थिति पनि कस्तो हुन्छ ! तर मूलधारका राजनीतिक दलहरूलाई राष्ट्रिय एजेण्डामा सहयोग पुर्याउने सोचेको छु ।’
देश र जनतालाई राम्रो हुने काममा आफूले सक्रियता देखाउने उनले बताएकी थिइन् । त्यसपछि एमालेको प्रसङ्गमा उनले भनिन्, ‘एमालेको माया नहुनुपर्ने के कारण छ र ? कृतघ्न व्यक्ति म होइन ।’
पछिल्ला भेटघाट, नेता–कार्यकर्तासँगको संवाद र एमालेप्रतिको चासोले भण्डारीको सक्रिय राजनीतिलाई अनायासै डोर्याइरहेको छ, उनको मुखबाट व्यक्त नगरे पनि ।