लुम्बिनी विकास कोषभित्रका सीसी क्यामेरा प्रयोगविहीन, चोरीका घटना वृद्धि

बुटवल । लुम्बिनी विकास कोषभित्र सीसी क्यामेरा तीन महिनादेखि उपयोगविहीन भएका छन् । कोषको पावर रुमभित्र विद्युत् सर्ट भएर आगलागी हुँदा १७५ वटा सीसीटीभी क्यामेरा प्रयोगविहीन छन् ।
कोषका आइटी इन्जिनियर दिवाकर गौतमले भदौ १६ गतेदेखि अहिलेसम्म सीसीटीभी क्यामेरा र आन्तरिक सर्भर डाउन भएको रातोपाटीलाई बताए ।
पावर रुममा भएको आगलागीले उपकरण क्षति भएको महिनौँसम्म पनि नयाँ उपकरण राख्ने विषयमा कोषका कर्मचारीले ध्यान दिएका छैनन् । यसो गर्नुको पछाडि लुम्बिनी विकास कोषका कर्मचारीहरूको गलत मनसाय रहेको लुम्बिनी बचाउ अभियानका सहसंयोजक रामविकास चौधरीको आरोप छ ।
चौधरीले रातोपाटीसँग भने, ‘सीसीटीभी क्यामेरा हुँदा त पटकपटक दानपेटिका हराउँथे, अहिले सीसीटीभी नै नहुँदा चोरीमा झन् सजिलो भएको छ ।’
सहसंयोजक चौधरीले भनेजस्तै अहिले यहाँ पर्यटकका विभिन्न सामान हराउने घटना बढेको पाइन्छ । हालै एक भारतीय भिक्षुको मोबाइल र ५० हजार रुपैयाँ चोरी भएको छ । लुम्बिनी विकास कोषका आन्तरिक सुरक्षा गार्ड जितेन्द्र यादवको मोटरसाइकल पनि परिसरभित्रबाटै चोरी भएको छ ।
इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक दीपक मगराठीले भिक्षुको मोबाइल र रकम लुम्बिनी परिसरभित्रबाटै चोरी भएको रातोपाटीलाई बताए । कोषका प्रमुख सुरक्षा अधिकृत खगेन्द्र काफ्लेका अनुसार हालै विकास कोषको हेलिप्याड रहेको ठाउँबाट सुरक्षा गार्डको मोटरसाइकल हराएको हो ।
लुम्बिनी विकास कोषभित्र रहेका माला पसल तथा साना होटलमा पनि पछिल्लो समय चोरीका घटना वृद्धि भएको स्थानीयको भनाइ छ ।
लुम्बिनीका बासिन्दा तथा रुपन्देही क्षेत्र नम्बर ५ (ख)का प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ताले लुम्बिनी प्रदेश सभाको बैठक लुम्बिनीमा बढ्दो चोरीका घटना नियन्त्रण गर्न ध्यान नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । उनले लुम्बिनी विकास कोषभित्र चोरी वृद्धि भएको विषयमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा प्रदेश सभाको ध्यानाकर्षण पटकपटक गराउँदै आएको रातोपाटीलाई बताए ।
गुप्ताले विकास कोष संघीय सरकारको मातहत रहेकाले पनि संघीय सरकारले पर्यटकमाथि हुने नराम्रा गतिविधि नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिए । विकास कोषको डाटा सेन्टरमा आगलागी हुँदा भएको क्षतिपछि नयाँ सामान खरिद गर्न ५२ लाख रुपैयाँदेखि ८० लाख रुपैयाँसम्म लाग्ने अनुमान गरिएको आइटी इन्जिनियर दिवाकार गौतमले जानकारी दिए ।
लुम्बिनी गेटदेखि चोकचोकमा रहेका विद्युत् पोलमा गरी १७५ वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ । तर अहिले ती क्यामेरा काम लाग्ने अवस्थामा छैनन् । जसले गर्दा अपराधी पत्ता लगाउन अप्ठ्यारो परेको सुरक्षाकर्मीको गुनासो छ ।
लुम्बिनीका आन्तरिक सुरक्षा प्रमुख खगेन्द्र काफ्लेका अनुसार विगतमा चोरीका घटना हुँदा सीसीटीभी फुटेज हेरेर अपराधी पत्ता लगाउन सजिलो हुन्थ्यो । तर अहिले क्यामेराले काम नगर्दा अन्य विधि प्रयोग गरेर अनुसन्धान गर्नुपर्दा केही असहज हुने उनको भनाइ छ ।
इलाका प्रहरी कार्यालय लुम्बिनी प्रहरी निरीक्षक दीपक मगराठीले पनि चोरी तथा अन्य अपराधका घटनाको अनुसन्धान गर्न सीसीटीभी क्यामेरा अति उपयोगी हुने बताए । विकास कोषका पदाधिकारीलाई क्यामेरा जडान गर्न आफूहरूले बारम्बार आग्रह गर्दै आएको उनको भनाइ छ ।
लुम्बिनी विकास कोष स्रोतका अनुसार विकास कोषका सदस्यसचिव सानुराज शाक्यले बजेट अभावका कारण सीसीटीभी जडानमा समस्या भएको रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई सङ्कटमा धकेल्ने काम हो : गृहमन्त्री लेखक
-
नेपाली कथामा जनयुद्धको प्रतिविम्बनः साक्ष्य सर्वेक्षण
-
जनकपुरका अस्पतालहरूले बिरामीसँग गम्भीर लापरबाही गरेको पाइएको छ : मुख्यमन्त्री सिंह
-
प्राधिकरणको आधिकारिक ट्रेड युनियनमा माओवादी केन्द्र निकट कर्मचारी सङ्गठन विजयी
-
‘बोरा’ निर्दयी छोराको कुरूप
-
अब प्रज्ञा प्रतिष्ठानमार्फत भाषा र संस्कृतिको खोज अनुसन्धानलाई गति दिनेछौँ : मुख्यमन्त्री आचार्य