मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

बीपीएससी परीक्षामा धाँधली : आमरण अनसनमा बसेका प्रशान्त किशोर पक्राउ

सोमबार, २२ पुस २०८१, ०७ : ३६
सोमबार, २२ पुस २०८१

पटना । पटनाको गान्धी मैदानमा बीपीएससी उम्मेदवारको समर्थनमा आमरण अनसनमा बसेका प्रशान्त किशोरलाई प्रहरीले हिरासतमा लिएको छ ।  समाचार एजेन्सी एएनआईका अनुसार पटना प्रहरीले उनलाई सोमबार बिहान पक्राउ गरेको हो । 

सो क्रममा उनी र उनका सहकर्मी र प्रहरीबीच केहीबेर झडपसमेत भएको थियो । हिरासतमा लिनुअघि पत्रकारसँग कुरा गर्दै प्रशान्त किशोरले अनशन तोड्न अस्वीकार गरेका थिए । उनले भनेका थिए , "डाक्टरले अनशन अन्त्य गर्न सल्लाह दिएका छन्, यो स्वाभाविक हो। अनशनमा के कस्ता समस्या छन्, हामीलाई थाहा छ। तर अनशन भने जारी छ।"

बीपीएससी परीक्षाका सम्बन्धमा सर्वोच्च अदालतमा निवेदन परेको सम्बन्धमा उनले भने, ‘हामीलाई यसबारे जानकारी छैन। मैले सबै कानुनी विकल्प प्रयोग गर्ने विद्यार्थीलाई वाचा गरेको थिएँ, जनवरी ७ मा उच्च अदालत जान्छौँ।"

जनसुराज पार्टीका संस्थापक प्रशान्त किशोरको आमरण अनसनको आइतबार चौथो दिन थियो । उनले गत बिहीबारदेखि अनशन सुरु गरेका हुन् । भ्यानिटी भ्यानलाई लिएर विरोध स्थलमा राजनीतिक चर्काचर्की पनि भएको थियो । बिहारका पूर्व उपमुख्यमन्त्री तथा आरजेडी नेता तेजस्वी यादव र बिहारका मन्त्री मंगल पाण्डेले भ्यानिटी भ्यानलाई निशाना बनाएका थिए ।

डिसेम्बर १३ मा भएको बीपीएससी परीक्षामा धाँधली भएको आरोप लागेपछि गत डिसेम्बर १८ देखि पटनाको गर्दनीबागमा उम्मेदवार आन्दोलनरत छन् । परीक्षा पुनः सञ्चालन हुनुपर्ने परीक्षार्थीहरूको माग भए पनि शनिबार पटनाको बापु परीक्षा परिसर परीक्षा केन्द्रका परीक्षार्थीहरूको मात्रै पुनः परीक्षा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप