मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय
राजनीति

नेतृत्वमा पुग्न कस्सिए विरासत बोकेका तीन कांग्रेस नेता

एकपछि अर्को ‘लञ्च मिटिङ’
सोमबार, २२ पुस २०८१, ०७ : ००
सोमबार, २२ पुस २०८१

काठमाडौँ । विरासत बोकेका नेपाली कांग्रेसका तीन नेता १५ औँ महाधिवेशन केन्द्रित संवादमा जुटेका छन् । नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका पुत्र शशांक कोइराला, गणेशमानसिंह पुत्र प्रकाशमान सिंह तथा महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र निधिबिच एकपछि अर्को ‘लञ्च मिटिङ’ हुन थालेको हो ।

विधानसम्मत कांग्रेसको केन्द्रीय महाधिवेशन सुरु हुन एक वर्ष बाँकी छ । विधानमै टेकेर एक वर्ष समय थप गरे महाधिवेशन २०८३ को मंसिर अन्तिममा सुरु हुनेछ । तर, तीन नेता भने अहिलेबाटै महाधिवेशनको सन्देश दिन र नेतृत्वमा पुग्ने चाहनासहित संवादमा जुटेका छन् ।

यी तीन नेताले गत असोज पहिलो हप्ता पार्टी पूर्वमहामन्त्री शशांक कोइरालाको निवासमा लञ्च मिटिङ गरेका थिए । कोइरालाको निवास महाराजगञ्जमा आयोजित लञ्च मिटिङमा पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंह सहभागी थिए ।

त्यसपश्चात् यी तीन नेताले गत बुधबार सिंहको निवास चाक्सीबारीमा अर्को लञ्च मिटिङ गरेका छन् । उनीहरूको सचिवालयबाट तस्बिर बाहिरिएपश्चात् भेटको सन्देश तल्लो तहका कार्यकर्ता र पार्टीको विभिन्न संरचनासम्म पुगेको छ ।

केन्द्रीय सदस्य थपलियाले भनिन्, ‘कुनै बाहिर सामाजिक सञ्जालमा आएका छन् । कतिपय आएका छैनन् । तर, यो गति अघि बढेको छ ।’

पूर्वमहामन्त्री कोइराला निकट मानिएकी केन्द्रीय सदस्य उर्मिला थपलियाको भनाइमा पनि तीन नेताबिचको संवाद नेतृत्वमा पुग्ने तयारी नै हो । ‘उहाँहरू तीन जनामध्ये जो पार्टी सभापति लडे पनि एक अर्कालाई सहयोग गर्ने भन्दै आउनुभएको हो । त्यही अनुसार बारम्बार छलफलमा बस्नुभएको छ र एकले अर्कोलाई सहयोग गर्ने कुरामा स्पष्ट हुनुहुन्छ,’ उनले रातोपाटीसँग भनिन् ।

नेतृत्वमा पुग्ने भन्दै यी तीन नेताहरूले पार्टीको १४ औँ महाधिवेशनमा पनि पटकपटक संवाद र छलफल गरेका थिए । एक अर्कालाई सहयोग गरेरै अघि बढ्ने उनीहरूको भनाइ थियो । तर, अन्तिम समयमा निधि र सिंह सभापतिमा लड्दा कोइराला भने चुपचाप बसेका थिए । अर्थात् सहमतिअनुसार उनीहरू अघि बढेका थिएनन् ।

‘यसपटक उहाँहरूको सहमति कार्यान्वयनमा जानेमा विश्वस्त छौँ । सिनियर नेताहरूसँग निरन्तर यसरी संवाद गरिरहनुभएको छ,’ केन्द्रीय सदस्य थपलियाले भनिन्, ‘कुनै बाहिर सामाजिक सञ्जालमा आएका छन् । कतिपय आएका छैनन् । तर, यो गति अघि बढेको छ ।’

१५ औँ महाधिवेशनकै लागि कोइराला देश दौडाहामा छन् । उनी जिल्लाजिल्ला पुगेर नेता–कार्यकर्ता भेटिरहेका छन् । यसबाहेक उपप्रधानमन्त्री समेत रहेका सिंह पनि विभिन्न जिल्लामा जाने कार्यक्रम बाक्लिएको छ । निधि पनि नेता–कार्यकर्तासँग संवादमै छन् । यी तीनै नेताले अरू सिनियर नेताहरूलाई पनि जोड्दै जाने र सामूहिक भावनामा अघि बढ्ने बताउँदै आएका छन् ।

त्यसो त पार्टीको १५ औँ महाधिवेशनबाट नेतृत्वमा स्थापित हुन अन्य नेताहरू पनि लागिरहेकै छन् । शेखर कोइराला घोषणा गरेरै जिल्ला दौडाहामा छन् । महामन्त्री गगनकुमार थापाले पनि महाधिवेशनको तीव्र तयारी गरिरहेका छन् । यसबाहेक उपसभापति पूर्णबहादुर खड्का पनि सभापतिमा उम्मेदवार हुने सम्भावना उस्तै छ । स्वाभाविक रूपमा १४ औँ महाधिवेशन लडेका प्रकाशमान र विमलेन्द्र पनि महाधिवेशन लड्ने र नेतृत्व आफ्नो पक्षमा पार्ने रणनीतिमा लागेकै छन् । अघिल्लो पटक महाधिवेशनबाट ब्याक भएका शशांक यसपटक सभापति बन्ने घोषणा गरेर अघि बढेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइली तीन नेताको भेट महाधिवेशन केन्द्रित रहेको बताउँछन् । आफू लिडरसिपमा आउने कसरतका रूपमा उनी तीन नेताको भेटघाटलाई व्याख्या गर्छन् । नेतृत्वमा पुग्न आफूलाई केन्द्रमा राखेर हुने यस्ता गतिविधिलाई स्वाभाविक रूपमा लिनुपर्ने उनको तर्क छ ।

‘उनीहरू पछि एकै ठाउँमा हुन्छन् कि, अरू मान्छे साथ दिन आउँछन् कि, उनीहरू आफैँ कसैसँग टाँसिन पुग्छन् भन्ने महाधिवेशनकै समयमा थाहा हुन्छ,’ उनले भने ।

गत महाअधिवेशनमा एक तहमा शक्ति परीक्षण गरिसकेका नेताहरूले यसपटक सभापति शेरबहादुर देउवाको समर्थनमा अघि बढ्ने तयारी गरेको विश्लेषण पनि पार्टीभित्र हुने गरेको छ । २ कार्यकाल पार्टी सभापति बनेका देउवालाई तेस्रो कार्यकालमा सभापति बन्न विधानले दिँदैन । त्यसैले पनि देउवाको सहयोग पाउने गरी यी तीनै नेता दौडधुपमा लागेको हुन सक्ने विश्लेषण भइरहेको छ । आफूहरू एक रहेको सन्देश दिने र देउवाको समर्थन लिने प्रयासको रूपमा पनि यसलाई अर्थ्याउने गरिन्छ ।

केन्द्रीय सदस्य रसाइली तीन नेताको निकटता भोलि कति प्रभावकारी र निष्कर्षमा पुग्छ भन्ने जान्न महाधिवेशनसम्म कुर्नुको विकल्प नभएको बताउँछन् ।

‘उनीहरू पछि एकै ठाउँमा हुन्छन् कि, अरू मान्छे साथ दिन आउँछन् कि, उनीहरू आफैँ कसैसँग टाँसिन पुग्छन् भन्ने महाधिवेशनकै समयमा थाहा हुन्छ,’ उनले भने ।

कांग्रेस राजनीतिका जानकार वरिष्ठ पत्रकार किशोर नेपाल तीन नेताको ‘लञ्च मिटिङ’ लाई सकारात्मक ढंगले हेर्छन् । काठमाडौँ उपत्यकालाई पकड मान्ने प्रकाशमान, मधेसमा पकड बनाएका विमलेन्द्र र बीपी पुत्र शशांकको आ–आफ्नै एजेन्डा भएको बुझाइ उनको छ । त्यसैले शीर्ष नेताहरू भेट्ने र संवादलाई निरन्तरता दिने विषयलाई कटाक्ष गर्नुपर्ने विषय नभएको उनले बताए ।

तर, राजनीति आफ्नै खेल हुने भन्दै नेपाल नेताहरूबिच सद्भावना छ भनेर ढुक्क भएर बस्ने अवस्था नरहने बताउँछन् । ‘अहिलेको राजनीतिमा उहाँहरूसँग भएको एजेन्डामात्र पर्याप्त छैन । राजनीतिक धेरै प्रतिस्पर्धात्मक भएको छ,’ उनले भने ।

नेपालका अनुसार अहिले तीन नेताको फरक जिम्मेवारी र भूमिका निर्वाह गर्नुपर्ने समय हो । ‘नेपाली कांग्रेसको आफ्नो पार्टीको इतिहासलाई पुनरवलोकन गर्नुपर्छ । त्यसपश्चात् मात्र वर्तमानको रेखा कोर्न सकिन्छ,’ उनले भने, ‘नेपालीहरू विभाजित हुन थालेका छन् । मुट्ठीभर मान्छेको हातमा देश छ । असमानताको खाल्डो धेरै छ । यसलाई मेट्न लाग्नुपर्ने थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप