प्रचण्डको तीन घण्टा : महाधिवेशनदेखि उपनिर्वाचनबारे के भने ?
काठमाडौँ । सबैले चासोपूर्वक हेरेको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३० पृष्ठको प्रतिवेदन करिब तीन घण्टा लगाएर वाचन गरे । बैठक निर्धारित समय(दिउँसो १ बजे)भन्दा एक घण्टा ढिलो गरी धुम्बाराहीस्थित स्मार्ट दरबार ब्याङ्क्वेटमा सुरु भएको थियो ।
बैठकको उद्घाटन समारोह सम्पन्न भइसकेपछि सुरुमा ७ भूगोल ३ गैर भूगोल गरी ११ प्रदेशका अध्यक्षले रिपोर्टिङ गरेका थिए । प्रदेशको रिपोर्टिङ सकिएपछि अध्यक्ष प्रचण्डले प्रतिवेदन वाचन गर्नुअघि आधा घण्टा आन्तरिक लोकतन्त्रबारे ब्रिफिङ गरिएको सहभागी एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार आन्तरिक लोकतन्त्रको सवालमा माओवादी नै पहिलो पार्टी भएको दाबी गरेका थिए । ‘आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने नेपालका पार्टीहरूमध्ये माओवादी एक हो । यसअघि केन्द्रीय कार्यालय बैठकमा पाँच दिन छलफल र घण्टौँ बहस गर्यौँ । त्यतिले पनि नपुगेपछि स्थायी समिति बैठकमा पाँच दिनसम्म घण्टौँ बहस गर्यौँ । त्यसले पनि नपुगेपछि प्रत्येक प्रदेशमा पुगेर केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको पनि कुरा सुन्यौँ । एक-एक जनाको बिचमा पुगेर ६१९ जनासँग कुरा गर्यौँ । उहाँहरूको सुझाव लियौँ । अझै लिखित र अलिखित सुझाव समेत अभिलेख नै गर्यौँ । यसको आधारमा प्रतिवेदन बनाइएको छ । केन्द्रीय समिति बैठक बस्नुअघि तीन दिनसम्म स्थायी समिति बैठकमा पेस गर्यौँ । त्यसकै आधारमा आज केन्द्रीय कमिटीमा प्रस्ताव राखेँ । यो प्रस्ताव हो प्रतिवेदन होइन । भोलि तपाईँहरूकै आधारमा थपघट गरेर पार्टीको दस्ताबेज बन्नेछ । पछिल्लो पार्टीहरू हेर्दा आन्तरिक लोकतन्त्रको सबैभन्दा बढी अभ्यास गरेको पहिलो पार्टी हो । राष्ट्रिय महाधिवेशन वा सम्मेलनमा पनि देखावटी मात्रै हुन्छ । प्रदेश प्रदेश र विभिन्न विभाग पुगेर यस्तो गरेको देखिँदैन त्यसैले हामी पहिलो हो भन्ने मेरो दाबी हो,’ प्रतिवेदन वाचनको बेला प्रचण्डले भनेका थिए ।
उनले आन्तरिक लोकतन्त्रको अभ्यास गर्नमा पहिलो पार्टी भइसकेपछि स्थायी कमिटिभन्दा पनि केन्द्रीय कमिटीमाथि भएकाले स्थायी कमिटीले निर्णय गरेर केन्द्रीय कमिटीमा निर्णय सुनाउने हुन नसक्ने उनको तर्क थियो । आन्तरिक लोकतन्त्रबारे थप स्पष्ट पार्दै उनले भने–‘स्थायी कमिटीमा केही निर्णय भएको छैन, त्यो छलफल मात्र हो । यस्तो यस्तो भएको छ भनेर सुनाउने हो र बाँकी केन्द्रीय कमिटीले गरेको निर्णय स्थायी समितिले मान्ने हो । नेपालमा आन्तरिक लोकतन्त्रको अभ्यासमा कांग्रेस र एमालेभन्दा अब्बल छौँ । एकले अर्कालाई थिचेर जाने कुरा भएन । हाम्रै कार्यकर्ताबाट हल गर्नुपर्छ भनेर केन्द्रीय कार्यालय, स्थायी समिति, केन्द्रीय परामर्श समितिमा छलफल गर्यौँ । ती सबै साथीहरुको सुझावमा यो दस्ताबेज आएको हो । तर यो पनि अन्तिम होइन ।’
- महाधिवेशनको सवालमा प्रचण्डको दुई प्रस्ताव
उपमहासचिव जनार्दन शर्मा लगायत विभिन्न नेताहरूबाट आएका लिखित वा अलिखित सबै मतहरूलाई आगामी ९ औँ केन्द्रीय महाधिवेशनबाट सम्पूर्ण रूपमा हल गरिने उनले उल्लेख गरे । यद्यपि शर्माले आगामी असोज वा कात्तिकभित्र महाधिवेशन गर्नुपर्ने सुझाव दिएको र अन्य नेताहरूले पनि महाधिवेशनतर्फ जानुपर्ने मत राखिरहेको बेला प्रचण्डले दुईवटा प्रस्ताव गरेका छन् ।
पहिलो यही केन्द्रीय समितिलाई आयोजक समिति बनाएर जाने कि केही समय अभियान चलाएर फेरी केन्द्रीय समितिको बैठक बसेर महाधिवेशन आयोजक समिति बनाएर जाने भन्नेमा केन्द्रीय समितिलाई नै जिम्मा दिएका छन् । त्यसका लागि सुझाव दिन मंगलबार सम्मको समय सीमा दिएका छन् ।
दोस्रो प्रचण्डको आशय अहिले आन्तरिक समस्या भन्दा पनि पार्टीप्रति बाहिर माहौल राम्रो भइराखेको विश्लेषण गरेका छन् । उनले यस्तो बेला फेरी महाधिवेशन गरिरहँदा आन्तरिक झमेलामा अल्झिन बलियो मत राखेका छन् । यस्तै पार्टीलाई थप सुदृढीकरण र चलायमान बनाउनका लागि पाँचवटा अभियान प्रस्ताव गरेका छन् ।
पहिलो फागुन १ देखि सुरु हुने पूर्व–पश्चिम राजमार्ग र हुलाकी राजमार्गमा हुने जागरण अभियान रहेको छ । दोस्रो मेची–महाकाली जागरण अभियानअन्तर्गत मध्यपहाडी पुष्पलाल मार्गमा सञ्चालन गर्ने प्रस्ताव छ । संगठन विशेष अभियान तीनवटा रहेका छन् । काठमाडौँ उपत्यकावासीका हितका लागि काम गरे पनि उनीहरूले माओवादीलाई नचिनेकाले त्यसका लागि उपत्यका विशेष अभियान चलाउने प्रस्ताव गरेका छन् । चौथो मधेसमा सबैभन्दा धेरै जनसङ्ख्या छन्, त्यही नै पार्टीको पहुँच पुगेन । सबैभन्दा मतदाता बढी भएका मधेसमा मधेस विशेष अभियान प्रस्ताव गरेका छन् । पाँचौँ प्रवासमा लाखौँ मानिस रहेका र त्यहाँका मानिसहरूको समस्या समाधान गर्न त्यति धेरै गम्भीर नभएको उनको निष्कर्ष रहेको छ । त्यसका लागि प्रवास विशेष अभियान सञ्चालन गर्ने प्रस्ताव गरे । यी बाहेक आन्तरिक संगठन सुदृढीकरण, जबस/मोर्चाको सम्मेलन/महाधिवेशन गर्दा ६ महिना जाने उनको मत रहेको छ । ६ महिनापछि फेरी केन्द्रीय समितिको बैठक बसेर महाधिवेशन मिति तय गर्न सकिने वा यही केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समिति बनाएर जाऊँ भन्ने जोड दिए पनि निर्णय नभएको स्पष्ट पारे ।
- अन्तर्राष्ट्रिय राजनीतिबारे
अन्तर्राष्ट्रिय राजनीतिबारे पनि व्याख्या गर्दै प्रचण्डले भनेका छन् - पहिलो विश्वयुद्धपछि युरोप शक्ति केन्द्र बन्यो । दोस्रो विश्व युद्धपछि अमेरिका शक्तिशाली भयो । तर अब एसिया शक्ति सम्पन्न हुँदै छ । चाहे चीनको आर्थिक विकासको कुरा होस्, चाहे भारतको कुरा होस् । चीन र भारत अगाडि बढिसके । एसिया अगाडि शान्तिपूर्ण रूपमै पुग्ने या अर्को तेस्रो विश्वयुद्धद्वारा नै एसिया शक्तिमा आउने भन्ने कुरा त भोलि गर्भको कुरा भयो । तर अबको टक्कर भनेको युरोप वा अमेरिकामा हुँदैन । अब विश्वको शक्ति एसिया केन्द्रित हुनेछ । त्यसमा पनि दक्षिण एसिया केन्द्रित भइसक्यो । अहिलेको विश्वको राजनीति यो हो ।
नेपालमा यो अवसर चुनौती दुवै हो । हामी पनि एसियामा शक्ति आयो भनेर प्रफुल्ल हुने होइन । सबै शक्ति सन्तुलनलाई हेरेर अहिलेसम्म अपनाउँदै आएको दुई कुरा असंलग्न परराष्ट्र नीति, विश्व शान्तिको हाम्रो आह्वान यही नै हाम्रो हुन्छ । नत्र हाम्रो राष्ट्रिय स्वतन्त्रता खतरामा पर्न सक्छ । चीन पावरमा आयो र अमेरिका कमजोर भयो जस्तै अमेरिका र चीनका आआफ्नै स्ट्राटिजी रहेका छन् । अमेरिकाको नेटो, चीनको ब्रिक्स, बीआरआई आ–आफ्ना हितका लागि बनाएको छ । त्यसकारण यिनीहरूको पक्ष वा विपक्षभन्दा पनि कम्तीमा असंलग्न परराष्ट्र नीति र विश्व शान्तिको कामना गरेर राष्ट्रिय स्वाधीनतालाई प्रमुख मुद्दा बनाउने । त्यसका लागि राष्ट्रिय शक्तिहरू बलियो बनाउनेतिर लाग्नुपर्छ । यति भएमा अरूले केही गर्न सक्दैनन् ।
- राष्ट्रिय राजनीति
हामीले २०६२/६३ को आन्दोलन हुँदै आजसम्म चारवटा आन्दोलन गरिसक्यौँ । जनआन्दोलन, संविधान कार्यान्वयन र शान्ति प्रक्रियाका लागि परम्परागत शक्तिसँग जे सम्झौता गर्यौँ, त्यो स्वागतयोग्य थियो । तर यसलाई रणनीतिक ढंगले उनीहरूसँगै सहकार्य गरेर चुनाव लड्न पुग्यौँ । यो गल्ती थियो । कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर जानु गल्ती थियो । अब हामी एउटा राजनीतिक घुम्तीमा पुगेका थियौँ । हामीले २०६२ को चुनबाङ बैठकमा के भन्न पुगेका थियौँ भने हामी गणतन्त्रमा गयौँ । तर यो गणतन्त्र बुर्जुवाहरूले आफ्नो बनाउन प्रयास गर्छन् । हामीले जनताको गणतन्त्र बनाउन प्रयास गर्ने भनेका थियौँ । त्यो कहिले हो भन्ने स्पष्ट थिएन । त्यो समय अहिले आयो ।
अर्को नेपालमा हरेक ८ देखि १० वर्षमा राजनीतिक परिवर्तन हुँदै आएको छ । तर २० वर्षसम्म हुँदा पनि राजनीतिक परिवर्तन देखिँदैन किनभने हामीले जनतालाई गरेको अपिल, लोकतन्त्र र परिवर्तन जुन आयो यो जनताले गरेको विश्वास हो । अब यही बिन्दुमा रहिरहने हो भने न गणतन्त्र रहन्छ न हामी रहन्छौँ न यो परिवर्तन रहन्छ । अब हामी यसमा क्रमभङ्ग गर्ने समय आइपुग्यो, त्यो भनेको लोकतन्त्र वा गणतन्त्रको सर्भिसिङ गर्ने उपाय हो । ती उपाय भनेको सुशासन, सामाजिक न्याय र समृद्धि हो । हामीले नयाँ नयाँ नेपाल भन्दै जाने भ्रष्टाचारयुक्त समाज हुन सक्दैन । नयाँ नयाँ भन्दै जाने दलित, महिला, मजदुर हेपिएर त्यो पनि हुँदैन । त्यसलाई सुशासन र सामाजिक न्यायले क्रस गर्छ । अर्को नयाँ नेपाल भन्दै जाँदा लाखौँ युवाहरू वैदेशिक रोजगारमा जाने त्यो पनि हुँदैन । त्यसैले अब यी तिन कुरा चाहिन्छ । सुशासन, सामाजिक न्याय, समृद्धि हाम्रो मूल मन्त्र हो । यसमै टेकेर नेपालको लोकतन्त्र, गणतन्त्रको सर्भिसिङ गर्ने हो ।
- पछिल्लो उपनिर्वाचन परिणाम कांग्रेस एमालेलाई धक्का
पछिल्लो स्थानीय तहको उपनिर्वाचनसम्म आइपुग्दा चुनावी परिणाम एमालेलाई धक्का भएको र कांग्रेसलाई कमजोर बनाएको उनको विश्लेषण छ । उनले भनेका छन् - माओवादीका लागि यो उत्साह जनक हो । यसको अर्थ सम्पूर्ण होइन । यसले २०८४ को बाटो खोलेको हो । यसले हामीलाई गहिरो पाठ के दियो भने हामी पार्टीभित्रका मान्छे, बाहिरका शुभचिन्तक र विरोधीहरू सबैलाई के लाग्थ्यो भने माओवादीले एक्लै चुनाव लड्न सक्दैन भन्ने थियो । त्यो मनोविज्ञानबाट यो क्रमभङ्ग हो यो । एक्लै चुनाव लड्न सक्छ । आफ्नै चुनाव चिन्हमा लड्न सक्छ भन्ने हो । र, हामी बलियो भएको ठाउँमा कांग्रेस र एमाले मिल्न सक्छन् भन्ने नकारात्मक सन्देश पनि हो । जस्तै स्थानीय तह उपनिर्वाचन हेर्दा रुकुमपूर्वको पुथाउत्तरगंगा, सर्केगाड, नलगाडमा जुन प्रकारको विजयी हासिल गर्यौँ त्यो सामान्य हिसाबले जित्ने ठाउँ होइन । यी सबैको शिक्षा के हो भने भोलि हामी बलियो भएको ठाउँमा कुनै पनि बेला उनीहरू मिल्न सक्छन्, त्यस्तो अवस्थामा गठबन्धन नगर्ने भन्ने छ । अब हामी घुम्तीमा छौँ । फेरी यिनीहरूसँग सहकार्य गरेर चुनावमा जाने होइन । शान्तिपूर्ण राजनीति नै हाम्रो कार्यदिशा हो । तर एक्लै र आफ्नै मुद्दामा चुनाव लडेर जाने भन्नेमा छ ।
- पार्टी एकता सम्बन्धमा
प्रचण्डले पार्टी एकताका बारेमा विगतका एकता किन टिकेनन् भनेर सैद्धान्तिक व्याख्या गरेका छन् । उनले भनेका छन् - खासगरी एमालेसँग एउटै स्कुलिङ भएन । उनीहरुको र हाम्रो सोचाइ मिलेन । अब पार्टी एकता गर्ने भए भावनात्मक र विचारात्मक दुई कुरालाई मिलाउन पर्छ । यसो हो भने अहिले तत्कालका लागि माओवादी घटकहरु बिचको एकता नै हाम्रो उच्च प्राथमिकता हुन्छ । नेकपा, नेसपा महिन्द्र राय यादव, नेकपा बहुमत, प्रभु साह नेतृत्वको आजपासँग एकता हुन सक्छ । यसका लागि तत्काल उच्चस्तरीय शक्ति बनाएर अगाडि बढ्नुपर्छ । बाँकी माओवादीलाई माया गर्ने शक्तिहरूसँग संयुक्त मोर्चाको प्रयास गरी कार्यगत एकता पर्छ । त्यसले पार्टी एकताको आधार तय हुँदै जान्छ ।
- दलित महिला, र मुस्लिम समुदायबारे
दलित महिला र मुस्लिमको बारेमा अलिकति सोच्नुपर्ने उनले बताए । उनले भने- दलितलाई अहिले १३ प्रतिशत भन्दै आएका छौं यो अलि पुगेन । क्षतिपूर्तिसहित दिनुपर्छ मेरो मत हो । नेपाल र भारतमा जुन प्रकारको वर्ण व्यवस्थाले दलितमाथि गरिएको विभेद हो, यो हामीले युग युगसम्म पनि चुक्ता गर्न सक्दैनौँ । महिलाहरूलाई ५० प्रतिशत नै दिनुपर्छ । नेपालको सन्दर्भमा मुस्लिम पनि पीडित हुन् । उनीहरू अल्पसङ्ख्यक नै हुन् यी सबैलाई समेट्ने गरी समेटेर जानुपर्छ ।
यस्तै स्थानीय तहबाट कसरी समाजवाद लागु गर्ने भन्ने विषयमा पाँच पेजमा उनले व्याख्या गरेका छन् । सांगठनिक रूपमा पनि कार्य विभाजन गर्ने गरी सैद्धान्तिक ढंगले आएको छ । यस्तै कार्यविभाजनमा कुनै पनि केन्द्रीय सदस्यलाई बेरोजगारी नबनाउने, सबै प्रदेश, इन्चार्ज चेन्ज नगर्ने जस्तो देखिन्छ । बाँकी कार्यालय बैठक बसेर कार्य विभाजन गर्ने गरी प्रस्ताव ल्याएका छन् । सोमबारदेखि प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्नेछन् ।