मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

रास्वपाले रवि लामिछानेलाई भन्यो संस्थापक सभापति

आइतबार, २१ पुस २०८१, २१ : ४४
आइतबार, २१ पुस २०८१

काठमाडौँ । रास्वपाले रवि लामिछानेलाई ‘संस्थापक सभापति’ भनेर सम्बोधन गरेको छ । उक्त पार्टीको यही २० गतेदेखि दुई दिन बसेको केन्द्रीय समिति बैठकपछि आइतबार जारी विज्ञप्तिमा यो विषय उल्लेख छ ।

‘बैठकमा पार्टी कार्यवाहक सभापति श्री डोलप्रसाद अर्याल, उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक सन्दर्भमा जानकारी गराउनुहुँदै पार्टीका गतिविधिका बारेमा पनि अवगत गराउनुभयो’, विज्ञप्तिको बुँदा नम्बर २ मा लेखिएको छ, ‘साथै पार्टीका संस्थापक सभापति श्री रवि लामिछानेका सम्बन्धमा चलिरहेको अदालती प्रक्रियासम्बन्धी पछिल्लो अवस्थाका सम्बन्धमा जानकारी गराइयो ।’

उक्त पार्टीको वेबसाइटमा भने लामिछाने सभापति नै भनेर लेखिएको छ । यसअघि प्रतिनिधिसभाले लामिछानेलाई सांसद पदबाट निलम्बन गरेपछि पुस ८ गते उपसभापति अर्याललाई कार्यवाहक सभापति तोकिएको थियो । यससम्बन्धी जानकारी उक्त दिन बसेको सचिवालयको आकस्मिक बैठक दिइएको थियो । त्यति बेला पनि लामिछानेलाई पार्टी सभापति नै सम्बोधन गरिएको थियो ।

‘पार्टी विधान २०७९ (संशोधन २०८१)को धारा २५ (४) (क) (९) बमोजिम मिति २०८१।०९।०६ गते पार्टी सभापतिले उहाँलाई कार्यवाहक सभापति तोकिएको व्यहोराको पत्र जिल्ला अदालत कास्कीको रोहवरमा कार्यवाहक महामन्त्रीमार्फत केन्द्रीय समितिलाई जानकारी गराइएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा लेखिएको थियो ।

लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएको छ । प्रहरीले उनलाई गोर्खा मिडिया नेटवर्कमा सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप