माछालाई हुनसक्ने तनाव व्यवस्थापन गर्न सुझाव
काठमाडौँ । तापक्रममा आएको परिवर्तनसँगै माछामा तनाव बढ्ने गर्दछ । तराई भू–भागमा बिहानपख हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेकाले माछालाई हुनसक्ने तनाव कम गर्न प्रति हेक्टर जलाशयमा बिहान ४–६ बजेसम्म ०.७५ के.भि.ए. क्षमताको वायुयन्त्रको प्रयोग गर्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि वातावरण केन्द्रले सुझाएको छ । साथै दैनिक दिने दानामा दिन बिराई भिटामीन सी ०.५ ग्राम प्रति के.जी. दरले थप गरी दिनुपर्ने केन्द्रले जनाएको छ ।
यस्तै, न्यानो पानीमा हुर्कने माछाले पानीको तापक्रम २० डिग्री सेल्सियस भन्दा कम भएपछि दाना कम खाने भएकाले १४–१५ डिग्री भन्दा कम भएपछि नखान सक्ने केन्द्रले उल्लेख गरेको छ ।
चिसो पानीमा पालिने ट्राउट माछाले ८–९ डिग्री भन्दा कम भए राम्ररी दाना खन नसक्ने, त्यसैले पोखरीको पानीको तापक्रम र दाना खाए नखाएको अनुगमनको आधारमा थप दानाको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
यस्तै, पानी फेरबदल गर्दा बोरिंगको पानी प्रयोग गर्नुका साथै माछामा लाग्ने आग्र्युलस (माछाको जुम्रा)को उपचारको लागि आईभरमेक्टीन १ एम. एल. प्रति २० के.जी. माछाको दरले दानामा राखेर लगातार ३ दिनसम्म खुवाई २ दिनको अन्तरालपछि पुनः २ दिन लगातार ( कुल पाँच दिन) खुवाउनु पर्ने केन्द्रले जनाएको छ ।
माछाको घनत्व कम गर्ने, पोखरीभित्र ठाउँठाउँमा बाँस गाड्ने र उक्त बाँसलाई ३ दिनको अन्तरमा झिकेर सुकाउने वा पोटासियम परम्याङ्गानेटको २% झोलमा डुबाई जुम्राको अण्डा मान सुझाएको छ । साथै पोखरीको भित्री डिलमा उम्रेका झारपात हटाउनु पर्ने सुझाव दिइएको छ ।
केन्द्रका अनुसार, चिसो समयमा जंगली माछाले पोखरीमा भएका कार्प जातका माछामा इ. यु.एस. संक्रमण बढाउन सक्ने भएको हुँदा जंगली माछाको प्रवेश रोक्न माछापोखरीको ईनलेटमा मसिनो जाली लगाउनु पर्ने हुन्छ ।
चिसो बढेसँगै ट्राउटको दानामा ओसिलोपना बढी भई ढुसीको संक्रमण हुन्छ । यस्तो दाना खुवाउँदा ट्राउट माछामा कलेजो सुन्निने रोग हुन सक्दछ । ढुसीको संक्रमण हुन नदिन दानालाई ओभानो तथा चारैतिर हावा खेल्ने कोठामा भण्डारण गर्नुपर्ने हुन्छ ।
कलेजो सुन्निने रोगको असरलाई न्यूनीकरण गर्न भिटामिन ई २० ३०– एम. जी. प्रति के.जी. माछाको वजनको अनुपातमा १५ दिनको अन्तरालमा दानामा मिसाई दिनुपर्ने केन्द्रले उल्लेख गरेको छ ।