मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
माओवादी बैठकमा कोशी प्रदेशको रिपोर्टिङ

‘उपनिर्वाचनको परिणामपछि भुईँमा खुट्टा छोड्न खोजियो’

कार्यतालिकासहित महाधिवेशन वा विशेष महाधिवेशन तय गर्नु पर्नेमा जोड
आइतबार, २१ पुस २०८१, २० : ०७
आइतबार, २१ पुस २०८१

विराटनगर । उपनिर्वाचनको परिणामपछि उत्साहित भएर भुईँमा खुट्टा छोड्न खोजिएको भन्दै कोशी प्रदेश माओवादीले केन्द्रीय समितिको बैठक ध्यानाकर्षण गराएको छ । 

काठमाडौँमा आइतबारदेखि सुरु भएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकमा प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्साले रिपोर्टिङ गर्दै उपनिर्वाचनको परिणामले पूर्ण सन्तुष्ट र धेरै उत्साहित हुने अवस्था नरहेको बताएका हुन् । ‘केही जिल्लाहरूमा नेतृत्व केन्द्रीकरण र एकरुपतामा समस्या रहेको छ । उपनिर्वाचनमा नेतृत्वबिचमा एकता र केन्द्रीकरण भएको जिल्लामा विजय हासिल भएको छ भने नेतृत्वबिचमा एकता र केन्द्रीकरण नभएको जिल्लामा परिणाम हात पार्न सकिएन,’उनले भने, ‘त्यसकारण उपनिर्वाचनको परिणामले पूर्ण सन्तुष्ट हुने र धेरै उत्साहित हुने अवस्था छैन ।’

उनले उपनिर्वाचनमा मतको हिसाबले प्रदेशमा पहिलो बनेको उल्लेख गर्दै मोरङ ग्रमथान गाउँपालिका, उदयपुरको त्रियुगा–१२ र बेलका–९ मा विजयी भएको, सुनसरीको गढी–६, ताप्लेजुङको सिरिजङ्गा–३ मा सन्तोसजनक मतसहित दोस्रो र झापाको कन्काई–६ मा चौथो भएको उल्लेख गरे । उनले तेह्रथुमको लालीगुराँस–८ मा २६ भोट र मोलुङ–५ ओखलढुङ्गामा २३ भोट मात्र प्राप्त गर्नुले जिम्मेवारी लिएका नेतृत्वको लापरबाही र पार्टीको कमजोर अवस्था उजागर भएको बताएका छन् । 

‘आगामी निर्वाचन २०८४ को तयारीमा जुट्नु पर्छ । उप–निर्वाचनको परिणामले उत्साहित भई फेरि भुईँमा खुट्टा छोड्न खोजिएको छ । यसले जमिनमा बजारिने जोखिम छ । त्यसकारण पार्टी निर्माणमा मसिनो गरी लानुपर्छ,’ उनले भने, ‘सही नेतृत्व विन्यास, पदाधिकारी, स्थायी समिति र केन्द्रको पुनर्संरचना, बेरोजगार नेतृत्वको कार्यक्षेत्र र योजना ठोस गरिनु पर्छ । आगामी निर्वाचनको एजेण्डामा होस पुर्‍याउनु पर्छ ।’

उनले कार्यतालिकासहित महाधिवेशन वा विशेष महाधिवेशन तय गर्नुपर्ने, एक पटकको लागि केन्द्र, प्रदेश र पालिकाको अधिवेशनको कार्य तालिका ल्याउनु पर्नेमा पनि जोड दिए । ‘विधान अनुसार माथिल्लो कमिटी सानो बन्ने तर, तल्लो कमिटीमा कोही बस्न नमान्ने र जिल्ला कमिटी कार्यकारी नहुँदा, केन्द्रीय समिति र प्रदेश समिति सानो बन्दा वर्तमान ठुला कमिटीको नेतृत्व व्यवस्थापनमा चुनौती भएकोले व्यवस्थापनको हिसाबले पनि अधिवेशनको कार्यतालिका जरुरी रहेको छ,’ उनले भने । 

उनले अवसर हद र उमेर हद, कार्यरतको व्यवस्थापनसहितको उत्पादन नीति, पूर्णकालिन र अल्पकालीन कार्यकर्ताको मापदण्ड, नेतृत्वहरूको सम्पत्ति सार्वजनिकीकरणको ठोस कार्यविधि निर्माण गरी लागू गरिनुपर्ने, सदस्यता र लेवीबारे पुनर्विचार गरिनुपर्ने, लेवी नलिने वा स्वैच्छिक सम्बन्धित कमिटीले मात्र लिने, सदस्यता नवीकरण शुल्क मात्र लिएर नवीकरण गरिनु पर्ने, विधानमा भएको व्यवस्था अनुसार सदस्यता वितरण, अभिलेखलगायतको सम्पूर्ण अधिकार प्रदेशलाई दिनु पर्ने पनि उनले माग गरे । यस्तै नेतृत्व विकास र विन्यासमा कोशी प्रदेशले हालसम्म अन्याय महसुस गरिरहेको पनि उनले बताए । उनले भ्रष्टाचारकोविरुद्ध सुशासनको राजनीतिक एजेण्डासहित  सडक र सदनबाट गर्ने जनसंघर्षको ठोस योजना बनाउनु पर्नेमा पनि जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप