मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
केन्द्रीय समिति बैठक

मोदीसँगको भेट र बीआरआई सम्झौतालाई ओलीले दिए विशेष महत्त्व

आइतबार, २१ पुस २०८१, २० : ००
आइतबार, २१ पुस २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले चीनसँग बीआरआई सहयोग ढाँचामा भएको हस्ताक्षर विशेष महत्त्वको रहेको बताएका छन् ।

नेकपा एमालेको आइतबार सुरु केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री ओलीले चीनसँगको सम्झौता उल्लेख गर्दै कनेक्टिभिटी र पूर्वाधार निर्माणमा टेवा पुर्याउने विश्वास लिएको बताएका छन् । भूपरिवेष्ठितताले सिर्जना गरेका नेपालका अप्ठ्यारालाई चिर्न र नेपालको पारवहन सुविधाको विविधीकरण, व्यापार सहजीकरण र लगानी अभिवृद्धिमा यो हस्ताक्षरले टेवा पुर्याउने विश्वास लिइएको एमाले अध्यक्षसमेत रहेका ओलीले उल्लेख गरेका छन् ।

उनले नेपाललाई यथाशाक्य छिटो मध्यम आय भएको मुलुकबाट माथि उठाउन स्रोतको अभाव रहेको औँल्याएका छन् । नेपालको प्राथमिकताका क्षेत्र, राष्ट्रिय हितको सुनिश्चितता गर्दै अन्य विकास साझेदारहरूसँग पनि यस्तै साझेदारी अभिवृद्धि गर्न चाहको ओलीले जनाएका छन् ।

गुण–दोषका आधारमा होइन, आफ्ना निश्चित राजनीतिक आग्रह या भूराजनीतिक स्वार्थमा कुनै पनि सहायता परियोजनाका विषयलाई अनावश्यक राजनीतीकरण गर्नु र विवादित बनाउनु राष्ट्रिय हितमा नहुने उनको भनाइ छ । उनले यो सम्झौता आफैँमा महत्त्वपूर्ण रहेको र यसले यावत् भ्रम, मिथ्या प्रचार र असहजतालाई चिर्ने बताएका छन् ।

संवेदनशील विषयमा सत्ता सहकार्यमा विभाजन ल्याएर पुनः अस्थिरताको खेती गर्न चाहनेहरूको योजना पनि यसले विफल तुल्याइदिएको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

सन् २०१७ को मे १२ मा बीआरआई समझदारीपत्रमा हस्ताक्षर भएसँगै चीन र नेपाल यसअन्तर्गत सहयोग संरचनामा प्रवेश गरेका उल्लेख ओलीले गरेका छन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको चीन र चिनियाँ समकक्षी सी चिनफिङको नेपालको औपचारिक भ्रमणपछि दुई देशबिचको सम्बन्धलाई सहकार्यको रणनीति साझेदारीका रूपमा विकसित गरेको उनको भनाइ छ ।

यो सम्झौतापछि शान्ति तथा सहकार्य, खुलापन तथा समावेशिता, आपसी सिकाइ तथा लाभका लागि परामर्श र संयुक्त योगदान गर्ने उनले बताएका छन् । खुलापन, हरित, सफा र वातावरणमैत्री विकासका अवधारणा अनुसरण गर्नुका साथै जनताको हित र दिगो विकासका लक्ष्यहरू पूरा गर्न सक्दो प्रयास गर्ने उनले बताएका छन् । एकार्काको सार्वभौमिकता र साझा चासोहरूको सम्मान गर्ने र नेपालको ठोस विकास आवश्यकता र प्राथमिकतामा विशेष जोड दिने प्रतिवेदनमा उल्लेख छ ।

दुवै पक्षले वाणिज्य बैंकहरू बिचको सहकार्यलाई सहयोग गर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाली पक्षले चिनियाँ बैंकहरू र वित्तीय संस्थाहरूको शाखा नेपालमा स्थापना गर्न सहजीकरण गर्ने बताएका छन् । बीआरआईमा हस्ताक्षर भइसकेपछि दुवै पक्षले व्यावहारिकताको आधारमा द्विपक्षीय व्यापार र लगानीमा राष्ट्रिय मुद्रा प्रयोगको प्रयासलाई विस्तार गर्ने प्रतिवेदनमा उल्लेख छ ।

चिनियाँ पक्षले नेपाल सरकारद्वारा अनुमोदित नेपाली संस्थागत लगानीकर्तालाई चिनियाँ वित्तीय बजारमा लगानी गर्न प्रोत्साहित गर्ने जनाइएको छ । उनीहरूका लागि अनुकूल व्यावसायिक वातावरण सुनिश्चित गर्न सहजीकरण गर्ने राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।

दुवै पक्षले द्विपक्षीय वित्तीय संस्थाहरूबिच र वित्तीय नियमनका क्षेत्रमा सञ्चार र सहकार्यलाई सुदृढ गर्नुका साथै आआफ्ना कानुन र नियमहरूको पालना गर्दै एकार्काको बजारमा घरेलु वित्तीय संस्थाहरूको लगानी गर्न र व्यापार प्रवर्द्धन गर्ने भनिएको छ । साथै, बेल्ट एन्ड रोड इनिसिएटिभ्सका लागि उच्च गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न प्रतिबद्ध रहने बताइएको छ ।

दुवै पक्षले वित्तीय सूचना आदान–प्रदान गर्ने र एमओयूमा आधारित सम्पत्ति शुद्धीकरण र प्रतिआतंकवाद वित्तसम्बन्धी कानुनी सहकार्यको खोजीसमेत गर्ने प्रतिवेदनमा उल्लेख छ । दुवै पक्षले नेपाल राष्ट्र बैंक र चीनको बैंकिङ नियामक आयोगबिच सन् २०१६ मा हस्ताक्षर भएको द्विपक्षीय बैंकिङ नियमन सहकार्य सुदृढ गर्नेसम्बन्धी सम्झौता सहकार्यका लागि फ्रेमवर्कका आधारमा सहकार्यलाई गहिरो बनाउने प्रतिवेदनमा उल्लेख छ ।

दुवै पक्षले बन्दरगाह, पुल र सुरुङसहित सडक, रेलवे, उड्डयन पूर्वाधार, दूरसञ्चार परियोजना र विद्युत् प्रसारण लाइनको निर्माणमार्फत ट्रान्स–हिमालयन बहुआयामी सम्पर्क सञ्जालको संयुक्त रूपमा निर्माण गर्ने प्रतिवेदनमा उल्लेख छ । बेल्ट एन्ड रोड सहकार्य अगाडि बढाउन चीन–नेपाल अन्तरसरकारी परामर्श र सहकार्य प्रणाली प्रयोग गरी चीन–नेपाल सीमापार रेल परियोजनालाई प्रवर्द्धन गर्ने भनिएको छ ।

ओलीले राष्ट्र संघको ७९ औँ महासभाको साइडलाइनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता पनि महत्त्वपूर्ण भएको जनाएका छन् । उनले भनेका छन्, ‘एमाले चाहन्छ– सन्तुलित, असंलग्न, विश्वसनीय, दिगो एवं पारस्परिक विश्वास र लाभमाथि आधारित परराष्ट्र नीतिका आधारमा मुलुकको बाह्य सम्बन्ध परिचालन होस् । कुनै पनि स्वतन्त्र राष्ट्रले अरूको आदेश, निर्देश या हितका लागि काम गर्नुपर्ने बाध्यता अब नरहोस् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप