मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
केन्द्रीय समिति बैठक

प्रचण्डको निष्कर्ष : हामी कांग्रेस र एमालेजस्तै भयौँ, नसच्चिए भविष्य डामाडोल हुने निश्चित छ

पार्टीभित्र गुटबन्दी र अराजकता बढेको भन्दै आक्रोश
आइतबार, २१ पुस २०८१, १९ : ५३
आइतबार, २१ पुस २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीभित्र अराजकता र गुटबन्दी बढेको भन्दै आक्रोश पोखेका छन् । आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा आफ्नो राजनीतिक प्रस्ताव पेस गर्दै प्रचण्डले पार्टीको वर्ग नै नामेट हुने ढंगले गतिविधि भइरहेको भन्दै आक्रोश पोखेका हुन् । 

‘हामी जुन बाटो हिँडिराखेका छौँ । त्यति राम्रो बाटो त हिँडिएन । पार्टी अराजकतातिर, गुटबन्दीतिर, व्यक्तिगत स्वार्थतिर केन्द्रीय हुँदै गएको छ’, प्रचण्डको भनाइ उदृत गर्दै एक स्थायी समिति सदस्यले भने, ‘त्यो त राम्रो होइन । हामीले हाम्रो वर्ग र विरोधी वर्गको भेदलाई मेटाउने खालका कयौँ काम गरेका छौँ, त्यो गलत छ ।’

यस्तै उनले पार्टी दिनदिनै बिग्रिने बाटोमा गइरहेको समेत बैठकमा धारणा राखेको ती स्थायी कमिटी सदस्यको भनाइ छ । ‘हाम्रो र अरबौँ चलखेल गर्ने बिचौलिया र दलाल पुँजीपतिहरुको भेद बिस्तारै मेटिन खोजेजस्तो जनताले भन्न थालेका छन् । माओवादी पनि उस्तै कांग्रेसपनि उस्तै एमाले पनि उस्तै भन्याजस्तो देखिन जो गयो त्यहाँ हामी चुकेकै हो’, प्रचण्डको भनाइ थियो । 

यसले बिस्तारै बिस्तारै माओवादी पनि कांग्रेस र एमालेजस्तै दलाल पुँजीपतिको पक्षधर जस्तै देखिने बाटोमा अघि बढेको महसुस भएकाले सच्चिन ढिला गर्न नहुने प्रचण्डले जोड दिएको उनको भनाइ छ । 

 ‘हामी सच्चिनका लागि चिरफारसहित जुन स्तरबाट रूपान्तरणका लागि आवश्यक योजना र कार्यक्रम ल्याउनुपर्थ्यो त्यसमा हामी चुकेकै हो’, प्रचण्डले कमजोरी स्विकार्दै भने, ‘यो पटक हामीलाई अवसर र वातावरण पनि प्राप्त छ । हामीले यसबारे जनताबिच पनि आत्मसमीक्षा गरेका छौँ । अब हामीले रुपान्तरण अरुलाई उपदेश दिएर हुने कुरा होइन । पहिला त आफैँ रुपान्तरणको प्रतिज्ञा हुनुपर्छ ।’

उनले माओवादी नसच्चिए नेता कार्यकर्ताको भविष्य नरहने र त्यो भन्दा ठुलो कुरा देशकै भविष्य डामाडोल हुन स्थिति रहेको खतरा औँल्याए । 

‘माओवादी फेरि विभाजनतिर जाने, फेरि अराजकतातिर जाने, झन कमजोर हुँदै जाने हुने भयो देश र जनताको भविष्य लथालिंग हुने अवस्था छ’, प्रचण्डले भने, ‘हाम्रो काँधमा हामीलाई अन्तिम पटक अवसर प्राप्त भएको स्थिति छ । यसका लागि हामी नयाँ संकल्प गर्नुपर्ने ठाउँमा छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप