मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कथा

परिवर्तन

आइतबार, २१ पुस २०८१, १९ : ३९
आइतबार, २१ पुस २०८१

‘मैले तँलाई नैतिक हिसाबले माया गर्छु भन्न मिल्दैन । तँ अर्कैकी भइसकिस् गरिमा ! बट, आई रियल्ली लभ यु । म तँलाई माया गरिरहनेछु ।’ 

परिवर्तनका आँखा आँसुले भरिएका थिए । गरिमाको मायाले ऊ अनायसै पग्लेको थियो ।

गरिमा र परिवर्तन बाल्यकालदेखिका सच्चा मित्र थिए । मित्रतासँगै उनीहरु एक–अर्काको प्र्रेममा पर्दै गए तर आफूहरुको बिहे हुन सक्दैन भन्नेमा उनीहरु सजग थिए । हुन पनि, उनीहरुबिच बिहे हुन सकेन । बिहे भएको केही दिनपछि गरिमा माइती आएकी थिई, त्यही बेला बाटोबिचमा भेटेर परिवर्तनले गरिमालाई भन्दै थियो— मलाई माफ गर । मैले तिमीलाई अपनाउन सकिनँ ।

जम्मा २३ वर्षको थियो परिवर्तन, सहरमा बसेर स्नातक पढ्दै थियो । तर तस्बिर हेर्दा १६/१७ वर्षझैँ देखिन्थ्यो । उसको नागरिकताको नाम गणेश थियो । घर–परिवार र समाजमा पनि यही नामले चिनिन्थ्यो तर खै आफूलाई वैचारिक हिसाबले अलि अग्रगामी देखाउन सामाजिक सञ्जालको दुनियाँमा आफूलाई परिवर्तन नामले चिनाउँथ्यो । लामो नाकै ऊ बाहुन हुनुको चिनारी थियो । नाकमुनि अलिअलि जुँगाको रेखी तर दाह्री खासै थिएन, जसले ऊ बाहुन हो भन्ने चिनारीलाई कमजोर बनाउँथ्यो । ज्यानमा तागत नै छैन जस्तो देखिए पनि सामाजिक सञ्जालमा ऊ बडो विद्रोही कहलिन्थ्यो । 

ऊ ब्रह्माणवादको विरोधी थियो । छुवाछुतलाई सबैभन्दा ठुलो कलङ्क मान्थ्यो । अनि महिलावादीजस्तो पनि देखिन्थ्यो । समानता, समावेशी र सामाजिक न्यायका कुरा गरिरहन्थ्यो । वैचारिक बहसमा सबैसँग जोरी खोज्न ऊ हौसिन्थ्यो । वैचारिक रुपमा आफू सबैभन्दा प्रगतिशील छु भन्ने घमण्ड थियो उसमा । 

जातीय विभेद र छुवाछुत हटाउने भन्दै ऊ मिठो कल्पनामा डुबुल्की माथ्र्याे । अन्तर्जातीय विवाह गरेर समाज परिवर्तन गर्ने चाह बोकेको थियो । उसका विचारलाई लिएर सामाजिक सञ्जालमा विरोध र आलोचना पनि हुन्थ्यो । जति धेरै आलोचना भयो, त्यति नै आफू ठिक रहेछु भन्ने उसले ठान्थ्यो । उसलाई धेरैले आदर्शवादी भन्थे । 

ऊ व्यक्तिगत रूपमा जस्तो थियो, उसको पारिवारको अवस्था निकै फरक थियो । उसका बुवा गाउँमा पुरेत थिए । लामो टुपी पालेका, निधारमा चन्दन लगाएर हिँड्ने उनी जातपातका पक्षधर थिए । उनको घरमा कट्टर खालको जातीय छुवाछुत गरिन्थ्यो । 

‘ओए गणेश, त्यो थाल नपखाली कहाँ भित्र लान लागेको !’

भोलिपल्ट बिहान, परिवर्तनलाई गाउँबाट आमाको फोन आयो, ‘त्यो चन्द्रकान्तकी छोरी छे नि, त्यसले त नाकै काटिछे, दलितसँग भागिछे । चन्द्रकान्त अहिले मुर्छा परेको छ । गाउँभरि उसका बारेमा कुरा काटेका छन् । सन्तानलाई पढायो–हुर्कायो बाउआमाको इज्जत माटोमै मिलाइदिने ! अब त चन्द्रकान्त बाँच्दैनजस्तो लाएको छ छोरीको पीडाले ।’

]छेवैको करेसाबारीमा गोडमेल गर्दै गरेकी परिवर्तनकी आमाले मिल्काउनलाई ठिक्क पारेको झारलाई मुठीमै समाई टाठो स्वरमा थर्काउन लागिन् । 
केहीअघि एक दलित महिलाले खाना खाई धोएर घाममा सुकाएको थाल थियो त्यो । त्यसलाई नचोख्याई परिवर्तनले घरभित्र लान खोजेपछि परिवर्तनकी आमाले चिच्याउनुपरेको थियो ।

आमाको चर्काे आवाज सुनिसकेपछि परिवर्तन टक्क रोकियो । उसका लागि उक्त आवाज अपेक्षित नै थियो ।

‘ह्या आमा, केही हुन्न के !’

परिवर्तनले केही सुस्त स्वरमा भने पनि खाटमा दाम्लो बाट्दै गरेका उसका बुवाले एकैचोटि उसलाई र आमालाई हेर्दै झोक्किएर भने, ‘तेरो छोरोलाई समाल है गणेशकी आमा, यसले कुन दिन हाम्रो जात फाल्छ ।’

बुवाको उक्त शब्दपछि परिवर्तनले नजिकैको पानीले त्यो थाल पखाल्यो र भित्र गयो । त्यस बखत ऊ न बुवाआमासँग बाहुनवादको विरोधी भएर निस्कियो, न त छुवाछुत गलत हो भनेर बहसको मैदानमा भिड्न तयार देखियो । 

सहरमा र सामाजिक सञ्जालमा ऊ जति विद्रोही देखिन्थ्यो, वास्तविक रूपमा ऊ त्योभन्दा धेरै कमजोर थियो । गाउँमा गएका बेला बा–आमा र समाजको सामु मुख खोल्न सक्दैनथ्यो । 

पहिलेको तुलनामा परिवर्तनले पछिल्ला केही महिनायता फेसबुकमा राजनीतिक र समाज परिवर्तनका विषयमा लेख्न कम गरेको थियो । उसका पोस्टहरूमा प्रेमिल कुरा धेरै देखिन थालेको थियो ।

‘ओए गणेश यो विद्रोहीहरूको प्रेम कस्तो हुन्छ होला !’ एक दिन परिवर्तनलाई एक मिल्ने साथीले सोध्यो । फेसबुकमा परिवर्तन नाम राखे पनि उसलाई नजिकका गाउँघरमा सबैले गणेश नै भन्थे ।

‘प्रेममा परेपछि जति विद्रोही पनि कायरमा परिवर्तन हुन्छ, ऊ जतिसुकै विद्रोही र घमण्डी किन नहोस्, प्रेमका लागि गिर्न तयार हुन्छ ।’ उसले साथीलाई जवाफ फर्कायो ।
‘अनि के, प्रेमले साहित्यकार पनि बनाउँछ कि क्या हो है !’ साथीले उसको मनोदशा बुझ्न खोज्दै थियो ।

‘साहित्यकार त खै तर ऊ आफ्नो भावनाहरू चाहिँ जरुर पोख्न चाहन्छ ।’

‘हाम्रो यो विद्रोही गणेशलाई प्रेममा गिराएर भावनाहरू पोख्न बाध्य बनाउने चाहिँ को रहेछ ?’ परिवर्तनको ढाडमा धाप मार्दै उसको साथी ऊसँग जिस्कन खोज्दै थियो ।
‘हैन यार त्यस्तो, बस् यसै ।’ केही लजाउँदै उसले भन्यो ।

उता दलित परिवारमा जन्मेकी गरिमालाई समाजले राम्रैसँग छुवाछुत सिकाएको थियो । गाउँमा हुँदा धारा–पँधेरामा कथित ठुला जातका मानिस सामुन्ने आउँदा ऊ आफैँ तर्किन खोज्थी । उसले गाउँनजिकैको बजारमा बसेर स्नातक गर्दै थिई । स्कुल पढ्दादेखिकै साथी भएकाले गरिमा र परिवर्तनबिच फोनमा कुरा भइरहन्थ्यो । परिवर्तनभन्दा गरिमा एक वर्ष कान्छी थिई ।

प्रेम र बिहेबारे गरिमाको आफ्नै धारणा थियो । उसले प्रायः भन्थी— कथित ठुलो जातको केटासँग बिहे गर्दिनँ, बाउआमाले खोजिदिएकै केटासँग बिहे गर्छु । 
‘गरिमा ! तिमीले जोसुकैसँग बिहे गर, बिहेपछि पनि हामी यसरी नै कुरा गर्नुपर्छ है ।’ परिवर्तन गरिमासँग मोबाइल फोनमा गफिँदै थियो । 
‘खै बिहेपछि त !’

‘किन यस्तो भन्छेस् के गरिमा, अनि के हाम्रो सम्बन्ध यति कमजोर छ र एउटा सीमित अवधिपछि छुटने ? मैले तँलाई कहिल्यै बिर्सन चाहन्न गरिमा,’ उसले केही रुन्चे आवाजमा जवाफ फर्कायो ।

‘अनि कहाँ यस्तो हुन्छ त नि ! आफ्नो बुढा अनि बुढीलाई धोका दिन भयो त ?’

‘धोका किन दिने त नि ! कुरा गर्दैमा धोका हुन्छ र ! यो लेभलमा कुरा नभए नि सम्बन्ध त रहनपर्‍यो नि ।’

‘सम्बन्ध कहाँ सकिन्छ त, यस्तो पो रहन्न भनेको नि !’ गरिमाले परिवर्तनलाई केही सान्त्वना दिन खोज्छे ।

‘गरिमा तैँले मसँग बिहे गर्छेस् ?’

‘नहुने कुरा किन सोच्ने के ?’

‘तँलाई आस गर त भन्दिनँ तर म तँलाई बिहे गर्ने प्रयास पक्कै गर्नेछु ।’

‘हेरम्ला म पनि, तपाईंको आँट,’ उसले परिवर्तनलाई चुनौती दिन्थी ।

परिवर्तन हर बखत गरिमा र आफ्नो बिहेका बारेमा काल्पनिक दुनियाँमा रमण गरिरहन्थ्यो । तर घर–परिवार र समाजसँग कसरी जुध्ने भन्ने चिन्ताले उसलाई कमजोर बनाउँथ्यो । 
ऊ कल्पन्थ्यो— के साँच्चै अहिले सती प्रथा भएको भए मैले आमा, दिदी र बहिनीहरूलाई चितामा जिउँदै जलाउँथे होला !  उतिबेलै गौतम बुद्धले विद्रोह गरे, योगमायाले त्यो राणाकालीन समयमै छुवाछुतविरुद्ध बोल्ने हिम्मत गरेकी थिइन्, रुदानेले त्यो समयमा पनि त्यसरी विद्रोह गर्न सके । तर म ? 

उसले कता–कता हिम्मत बटुल्थ्यो तर पुनः परिवार र समाज सम्झेर हाथ्र्यो— मैले अन्तर्जातीय बिहे गर्दा मेरा बुवाआमालाई नै समाजले बहिष्कार गर्नेछ । कि त मैले समाज छाड्नुपर्नेछ अर्थात् परिवार र समाजलाई मैले त्याग्नुपर्नेछ । 

ऊ आफ्नो परिवारलाई त्याग्ने कुरा सोच्नै सक्दैनथ्यो । यस्तै दुविधाका बिचमा उसले गरिमालाई प्रेम गरेको थियो । उनीहरुबिच बारम्बार फोनमा कुरा भइरहन्थ्यो । 
एक दिन मध्यरातमा गरिमाले फोन गरी । यसअघि उसले यति राति कहिल्यै फोन गरेकी थिइन् । 

‘हेल्लो बेबी, के छ ओ खबर ?’ परिवर्तन केही रोमान्टिक मुडमा प्रस्तुत भयो । 

त्यस दिन गरिमा बढी भावुक र चिन्तित भएकी थिई । 

‘परिवर्तन ! आर्ई लभ यु, म तिमीबिना बाँच्न सक्दिनँ, प्लिज जसरी भए पनि मलाई बिहे गर ।’

घरमा गरिमाको बिहे छिनिएको रहेछ । त्यसैले ऊ आफूले प्रेम गर्ने पुरुषसँग भाग्न चाहन्थी ।

गरिमाको कुराले ऊ अक्क न बक्क भयो । ‘आई लभ युु’ वाक्यांश परिवर्तनका लागि जति सस्तो थियो, गरिमाका लागि थिएन । यति लामो समयको सम्बन्धमा उसले पहिलोपटक यो वाक्यांश शब्द प्रयोग गरेकी थिई । 

परिवर्तन ठुलो दोधारमा पर्‍यो । ऊ केही बोल्नै सकिरहेको थिएन । 

‘किन नबोलेको ? के तिमीले नै मलाई सोधेको हैन, तिमी मसँग बिहे गर्छाै कि नाइँ भनेर ! अनि त्यसको जवाफ दिएँ त ।’

गरिमा यसरी मायामा पागल हुन्छे भन्ने उसले कहिल्यै सोचेको थिएन । उसले केही डिप्लोम्याटिक रूपमा त्यसको उत्तर दियो । ‘गरिमा आर्ई अल्सो लभ यु, आई एम अल्वेज विथ यु ।’

‘बिहे गर्छाै कि नाइँ’ गरिमाले पुनः उही कुरा दोहोर्‍यार्ई ।

परिवर्तन पुनः मौन रह्यो । गरिमाको प्रश्नको ढिपी सामु ऊ हार्‍यो र प्रस्तावलाई स्वीकार गर्‍यो । आँखामा आँसुका धारा बगाउँदै उसले पनि भन्यो, ‘गरिमा म तिमीलाई जसरी भए पनि आफ्नो बनाउनेछु ।’

‘पक्का नि,’ गरिमाले अझ स्पष्ट जवाफ खोजी ।

‘किन तिमीलाई तिम्रो परिवर्तनको विश्वास छैन र !’ परिवर्तनले गरिमालाई फकाउन कोसिस गर्‍यो ।

‘छ नि कति हो कति, त्यही भएर त यति माया लाग्छ नि ।’

फोनमा माया–प्र्रेमका कुरा गरेर उनीहरुले पूरा रात बिताए । 

भोलिपल्ट बिहान, परिवर्तनलाई गाउँबाट आमाको फोन आयो, ‘त्यो चन्द्रकान्तकी छोरी छे नि, त्यसले त नाकै काटिछे, दलितसँग भागिछे । चन्द्रकान्त अहिले मुर्छा परेको छ । गाउँभरि उसका बारेमा कुरा काटेका छन् । सन्तानलाई पढायो–हुर्कायो बाउआमाको इज्जत माटोमै मिलाइदिने ! अब त चन्द्रकान्त बाँच्दैनजस्तो लाएको छ छोरीको पीडाले । हेर त गाउँभरि त्यसको कस्तो इज्जत थियो, क्षणभरमै माटोमै मिलाइदिई ।’

आमासँग कुरा भएपछि परिवर्तनले मोबाइल अफ गर्‍यो, फेसबुक पनि चलाएन । गरिमाको बिहे भएको खबर पाएपछि मात्रै उसले आफ्नो मोबाइल अन गरेको थियो ।
०००
परिवर्तन आज घरको टेबलमा बसेर ल्यापटपमा ‘किन छुवाछुत अन्त्य हुँदैन’ भन्ने शीर्षकको आलेखको अन्तिम सम्पादन गर्दै छ । बिहानको समयमा यसरी लेख्न उसलाई जाँगर चल्छ । उसले आलेख सम्पादन गरिरहेका बेला उसको १९ वर्षको छोरो आउँछ । उसले बाबाको आलेखको शीर्षक सरर पढ्छ भन्छ, ‘बुवा एउटा कुरा भन्नु थियो ।’

आलेखतिर गम्भीर भएको उसको ध्यान भड्किन्छ अनि छोरालाई ‘भन न बेटा’ भनेर जवाफ फर्काउँछ ।

‘बुवा म रिलेसनसिपमा छु नि,’ केही हिचकिचाउँदै आफ्नो कुरा भन्न परिवर्तनको छोरा सफल हुन्छ । 

‘ए ल बधाई छ बेटा, उसको नाम के हो नि,’ साथीजस्तो तरिकाले परिवर्तन आफ्नो छोरालाई सोध्छ ।

‘सर्जु कुवँर हो बुवा ।’

छोराको उक्त नामपछि परिवर्तनले कुनामा जनै बाटिरहेका आफ्ना वृद्ध बुवालाई देख्छ, छोराले आफ्नो हजुरबुबालाई ख्यालै गरेको हुँदैन ।

त्यसपछि केही अप्ठेरो मान्दै उसले भन्छ, ‘क्षेत्री केटी त बाबु... !’

ऊ त्यति भन्दै लामो श्वास फेर्छ अनि उसको आँखा छेवैको पात्रोमा पर्छ, विक्रम संवत् २१०६ माघ । अनि पात्रोको छेवैमा रहेको ऐनामा आफ्नो अनुहार हेर्छ । उसले आफ्नो अनुहार एकदम कुरूप देख्छ । उसलाई यस्तो महसुस हुन्छ कि संसारमा म जतिको कुरूप मान्छे छैन होला । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विष्णु पौडेल लम्साल
विष्णु पौडेल लम्साल
लेखकबाट थप