मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय
जय ट्रफी क्रिकेटमा आर्मी र पुलिसबिच भिडन्त

ब्याट्सम्यानहरु निरीह बनेपछि पहिलो दिन १७ विकेट खस्यो

आइतबार, २१ पुस २०८१, १७ : १०
आइतबार, २१ पुस २०८१

काठमाडौँ । दुई दिवसीय जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको पहिलो दिन आइतबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब दुबै टोलीका ब्याट्सम्यानहरुले निराशाजनक प्रदर्शन गरेका छन् । वीरगञ्जनमा जारी प्रतियोगिताको पहिलो दिन दुबै टोलीको गरेर कुल १७ विकेट खसेको छ । 

पहिले ब्याटिङ गरेको आर्मी क्लब आफ्नो पहिलो पालीमा सस्तैमा समेटिएपछि जवाफी ब्याटिङमा ओर्लिएको पुलिस क्लबका ब्याट्सम्यानले पनि गतिलो प्रदर्शन गर्न सकेनन् । पहिलो दिनको खेल सकिँदासम्म पुलिस क्लबले आफ्नो पहिलो पालीमा सात विकेट गुमाएर एक सय तीन रन बनाएको छ ।

पहिलो पालीमा आर्मी क्लबले बनाएभन्दा पुलिस क्लब अझै १८ रनले पछाडि छ । पहिलो पालीमा पुलिस क्लबका दुबै ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र अर्जुन साउद खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए ।  तेस्रो नम्बरमा क्रिज समाल्न आएका अमित श्रेष्ठले टोलीको खातामा १८ रन थपे । उनले १३ बलमा चार चौका हिर्काए । चौथो नम्बरका ब्याट्सम्यान दिलिप नाथ पनि ३४ बलमा एक चौकाको मद्दतले १० रन बनाउँदै पेभेलियन फर्किए । 

कप्तान आरिफ शेख पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् । छैटौँ नम्बरका ब्याट्सम्यान रासिद खानले २८ बलमा दुई चौकाको मद्दतले १६ रन बनाए । शंकर राना १३ रन बनाउँदै आउट भए । उनले १६ बलमा दुई चौका हिर्काए । गुलसन झा अविजित ३४ रन र प्रेम तामाङ अविजित एक रन बनाउँदै क्रिजमा छन् । आर्मी क्लबका बलर साहब आलम एक्लैले पाँच विकेट लिए ।

उनले ११ ओभरमा एक मेडन राख्दै ५५ रन खर्चिए । सोमपाल कामी र पवन कार्कीले पनि एक–एक विकेट हात पारे । पुलिस क्लबले अतिरिक्त रुपमा सात रन पाएको छ । त्यसअघि, त्रिभुवन आर्मी क्लब आफ्नो पहिलो पालीमा केवल एक सय २१ रन बनाउँदै अलआउट भएको थियो । आर्मी क्लबका ब्याट्सम्यान ३४.४ ओभरमात्र क्रिजमा टिक्न सकेका थिए । आर्मी क्लबका ब्याट्सम्यानले पनि निराशाजनक प्रदर्शन गरेका थिए । 

सेतो जर्सी लगाएर खेलिएको दुई दिवसीय प्रतियोगितामा आर्मी क्लबले टस हारी पहिले ब्याटिङको निम्तो पाएको थियो । प्रतिकुल मौसमका कारण निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो सुरु भएको खेलमा आर्मी क्लबका माथिल्ला तीन ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

ओपनर सन्तोष कार्की एक र अर्का ओपनर सोमपाल कामी पाँच रन बनाउँदै पेभेलियन फर्किए । आर्मी क्लबले दुई ओभरमै दुई विकेट गुमाइसकेको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका तृतराज दासले त खातासम्म खोल्न सकेनन् । चौथो नम्बरका ब्याट्सम्यान कुशल मल्लले २५ र पाँचौँ नम्बरका ब्याट्सम्यान भीम सार्कीले २२ रन बनाए ।  कुशलले ३८ बलमा एक छक्का दुई चौका तथा भीमले ४६ बलमा एक छक्का र दुई चौका प्रहार गरेका थिए । 

बसिर अहमद २५ बलमा एक चौकाको मद्दतले १२ रन बनाउँदै पेभेलियन फर्किए । कपतान विनोद भण्डारीले टोलीको खातामा २१ रन थपे । उनले १६ बलमा एक छक्का र दुई चौका पनि हिर्काए । विवेक यादबले खाता खोल्न सकेनन् भने साहब आलमले टोलीको खातामा ११ रन थपे ।

साहब आलमले २७ बलमा एक चौका हिर्काए । पवन कार्कीले पनि अविजित १५ रन बनाए । उनले २७ बलमा दुई चौका हिर्काए । आकाश चन्द भने शून्य रनमै पेभेलियन फर्किए । आर्मी क्लबले अतिरिक्त रुपमा पनि नौ रन पायो । त्रिभुवन आर्मी क्लबका ब्याट्सम्यानका लागि पुलिस क्लबका बलर ललित राजवंशी सबैभन्दा घातक बने । उनी एक्लैले सात विकेट लिए । ललितले १४.४ ओभरमा चार मेडन राख्दै केवल ४७ रन खर्चिएका थिए । 

कुशल भुर्तेल, श्रवण यादब र रासिद खानले पनि एक–एक विकेट हात पारे । आर्मी क्लबका अधिकांश ब्याट्सम्यानले सिमित ओभरकै प्रतियोगिताको शैलीमा ब्याटिङ गरेका थिए । त्यसैले पनि अधिकांश ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्किएका थिए ।  नेपाली क्रिकेटको इतिहासकै प्रतिष्ठित घरेलु प्रतियोगितामध्येको एक जय ट्रफी आइतबारदेखि जनकपुर र वीरगञ्जमा सुरु भएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रतियोगितामा चारवटा टोलीको सहभागिता रहेको छ । 

आइतबारको अर्को खेल बागमती प्रदेश र मधेश प्रदेशबिच जनकपुरमा जारी छ । प्रतिकुल मौसमका कारण पहिलो दिनको दुबै खेलमा निर्धारित समयभन्दा ढिलो सुरु भएको थियो । प्रतियोगिताको प्रारम्भिक चरणको खेल दुई दिवसीय हुनेछ ।  जय ट्रफीका खेलहरु प्रत्येक दिन ९० ओभरको हुनेछ । प्रतियोगिताको प्रत्येक पाली ६०–६० ओभरको हुनेछ । ब्याटिङ गर्ने टोलीले पुरै ६० ओभर ब्याटिङ गर्न वा आफूले चाहेमा बिचमै पाली समाप्तिको घोषणा गर्न सक्नेछ । 

नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष जयकुमारनाथ शाहको नाममा जय ट्रफी सुरु भएको हो । जयकुमार नाथ शाह आफैले २०३७ सालमा ‘जय ट्रफी’ सुरुवात गरेका थिए । लामो समयसम्म जय ट्रफी नै राष्ट्रिय टोली छनोटको आधार पनि थियो ।  वीरगञ्ज र जनकपुरमा आइतबारदेखि सुरु हुने जय ट्रफीमा दुबै टोलीका खेलाडी सेतो रङको जर्सीमा देखा परेका छन् भने खेल रातो बलले खेलाइँदै छ । नेपाल पुलिस क्लबको कप्तानको भूमिकामा आरिफ शेख छन् । 

बागमती प्रदेशको कप्तान सन्दीप लामिछाने हुन् । मधेश प्रदेश हरिशंकर साहको कप्तानीमा छ । त्रिभुवन आर्मी क्लबको कप्तान विनोद भण्डारी हुन् । प्रतियोगितामा ब्याटिङ र बलिङ गर्ने दुबै टोलीका लागि बोनस अंकको पनि ब्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप