मधेसविरुद्ध बागमतीका ब्याट्सम्यानको पनि उस्तै प्रदर्शन
काठमाडौँ । जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको आइतबार जनकपुरमा जारी मधेस प्रदेश र बागमती प्रदेशबिचको खेलमा बलरहरु हाबी भए । त्यसैले पहिलो दिन आइतबार दुबै टोलीको गरेर कुल १२ विकेट खस्यो । पहिलो दिनको खेल सकिँदासम्म जवाफी ब्याटिङमा ओर्लिएको बागमती प्रदेशले आफ्नो पहिलो पालीमा दुई विकेट गुमाएर ३४ रन बनाएको छ । पहिलो पालीमा मधेस प्रदेशले बनाएभन्दा बागमती प्रदेश अझै ६८ रनले पछाडि छ ।
बागमती प्रदेशका ओपनर आशुतोष घिरैया खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । अर्का ओपनर रित गौतम पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएका ईशान पाण्डे नौ रन र चौथो नम्बरका ब्याट्सम्यान शुभ कंसाकार २२ रन बनाउँदै क्रिजमा छन् । मधेस प्रदेशका बलर रुपेश सिंह र विशाल पटेलले एक–एक विकेट लिए ।
त्यसअघि मधेस प्रदेशको टोली आफ्नो पहिलो पालीमा केवल एक सय दुई रन बनाउँदै अलआउट भएको थियो । मधेस प्रदेशको टोली ३५.३ ओभरमै अलआउट भएको हो । दुई दिवसीय प्रतियोगितामा मधेस प्रदेशले टस जिति पहिले ब्याटिङको निर्णय लिएको थियो ।
प्रतिकुल मौसमका कारण निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो सुरु भएको खेलमा मधेस प्रदेशका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । कप्तानसमेत रहेका ओपनर हरिशंकर साह चार रन बनाउँदै पेभेलियन फर्किए । उनले १८ बलमा एक चौका हिर्काए । अर्का ओपनर मयान यादबले टोलीको खातामा २१ रन थपे । उनले ३६ बलमा एक छक्का र एक चौका हिर्काए ।
तेस्रो नम्बरका ब्याट्सम्यान निरज यादब भने १२ रनभन्दा अगाडि बढ्न सकेनन् । उनले ३५ बलमा एक चौका प्रहार गरे । चौथो नम्बरमा क्रिज समाल्न आएका साहिल पटेल ६ रनमै आउट भए । विकेटकिपर ब्याट्सम्यान हिमांशु दत्त पनि १० रनभन्दा अगाडि बढ्न सकेनन् ।
रुपेश सिंह पनि ६ रन बनाउँदै पेभेलियन फर्किए । सातौँ नम्बरमा क्रिज समाल्न आएका विशाल पटेलले टोलीको खातामा १६ रन थपे । उनले ३० बलको सामना गरी एक छक्का र एक चौका पनि हिर्काएका थिए । अभिषेक तिवारीले ११ रन बनाए ।
उनले ४० बलको सामना गरी दुई चौका पनि हिर्काए । प्रदिप पासवान दुई रन बनाउँदै आउट भए । रञ्जित कुमारले शून्य रनमै आउट भए । भुलावन साहनीले दुई रनमा अविजित रहे । मधेश प्रदेशले अतिरिक्त रुपमा पनि १२ रन पायो ।
बागमती प्रदेशका बलर सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए । टोलीका कप्तानसमेत रहेका सन्दीपले १४ ओभरमा दुई मेडन राख्दै ४१ रन खर्चिए । सूर्य तामाङले तीन विकेट हात पारे । उनले २.३ ओभरमा केवल सात रन खर्चिए । नन्दन यादब र प्रतिस जीसी पनि एक–एक विकेट लिए ।
जय ट्रफी आइतबारदेखि जनकपुर र वीरगञ्जमा सुरु भएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रतियोगितामा चारवटा टोलीको सहभागिता रहेको छ । प्रारम्भिक चरणको खेल दुई दिवसीय हुनेछ ।
फाइनल खेल भने तीन दिवसीय हुनेछ । जय ट्रफीका खेलहरु प्रत्येक दिन ९० ओभरको हुनेछ । प्रतियोगिताको प्रारम्भिक चरणमा प्रत्येक पाली ६०–६० ओभरको हुनेछ । ब्याटिङ गर्ने टोलीले पुरै ६० ओभर ब्याटिङ गर्न वा आफूले चाहेमा बिचमै पाली समाप्तिको घोषणा गर्न सक्नेछ ।
नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष जयकुमारनाथ शाहको नाममा जय ट्रफी सुरु भएको हो । जयकुमार नाथ शाह आफैले २०३७ सालमा ‘जय ट्रफी’ सुरुवात गरेका थिए । लामो समयसम्म जय ट्रफी नै राष्ट्रिय टोली छनोटको आधार पनि थियो ।
वीरगञ्ज र जनकपुरमा आइतबारदेखि सुरु भएको जय ट्रफीमा दुबै टोलीका खेलाडी सेतो रङको जर्सीमा देखा परेका छन् भने खेल रातो बलले खेलाइँदै छ । पुलिस क्लबको कप्तानको भूमिकामा आरिफ शेख छन् ।
बागमती प्रदेशको कप्तान सन्दीप लामिछाने हुन् । मधेश प्रदेश हरिशंकर साहको कप्तानीमा छ । त्रिभुवन आर्मी क्लबको कप्तान विनोद भण्डारी हुन् । प्रतियोगितामा ब्याटिङ र बलिङ गर्ने दुबै टोलीका लागि बोनस अंकको पनि ब्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन दिनयता सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
-
‘केपी ओलीले माधव नेपालमाथि नै कैँची चलाए’
-
चीनको सेनासँग काम गर्ने कम्पनीको सूचिमा अमेरिकाले राख्यो टेन्सेन्टलाई
-
एमालेमा फरक मतमाथि दमन शृंखला : पहिले माधव, अहिले केपी
-
सहकारीको रकम हिनामिना : सञ्चालक फरार रहेपछि पत्नीलाई पक्राउ गरेर थालियो अनुसन्धान
-
राम चरणको ‘गेम चेञ्जर’को प्रि–रिलिज शोपछि २ फ्यानको मृत्यु