जनमत नेतृत्वको मधेस सरकार ढल्न लागेको हो ?
काठमाडौँ । कांग्रेस–एमालेको समर्थनमा जनमत पार्टीले नेतृत्व गर्दै आएको मधेस सरकार अप्ठ्यारोमा परेको चर्चा चुलिएको छ । जनमत पार्टीका नेताहरूले पनि मधेस सरकार अप्ठ्यारोमा परेको बताउन थालेका छन् ।
जनमत पार्टी नेपालका अध्यक्ष डा. सीके राउत स्वयंले मधेस प्रदेशमा कांग्रेस र एमालेका मन्त्रीहरूले काम गर्न नदिएको गुनासो गरिरहेका छन् । यद्यपि सरकार परिवर्तनको सम्भावनालाई उनले नकारेका छन् ।
मुख्यमन्त्रीका आकांक्षी दलहरूले सरकार परिवर्तनको हल्ला चलाउने गरेको अध्यक्ष राउतको दाबी छ । उनले मधेस प्रदेशमा सरकार परिवर्तनको कुरा जति चले पनि केन्द्रमा त्यस विषयमा कुनै कुराकानी नएको प्रस्ट पारे ।
यद्यपि मधेस प्रदेशको सत्ता सहयोगी दल कांग्रेस र एमालेले मधेस प्रदेश सरकारलाई घेराबन्दीको अवस्थामा राखेको बताउँदै अध्यक्ष राउत अर्थ मन्त्रालय लिएको कांग्रेसले ५–५ महिनासम्म बजेट कार्यान्वयमा आउन नदिएको आरोप लगाउँछन् । आफ्नो पार्टी नेतृत्वको मधेस सरकारलाई असफल बनाउन बजेट नै खारेज गराउन खोजेको उनको आरोप छ ।
उनले मधेस सरकारबाट आफ्नो पार्टीलाई अनावश्यक तरिकाले हटाउने प्रयास भएमा संघीय सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने चेतावनीसमेत दिए ।
मधेस प्रदेशका कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले मधेस प्रदेश सरकारलाई आफूहरूबाट कुनै प्रकारको असहयोग नरहेको दाबी गरे । उनले भने, ‘मधेस सरकारको कामकाजको बारेमा मुख्यमन्त्री सतिश सिंहसँग दिनदिनै छलफल गरिरहेका हुन्छौँ । कुरा गरिरहेका हुन्छौँ । हामीबाट हुनुपर्ने सबै सहयोग प्राप्त भइरहेको छ ।’
कांग्रेस–एमालेबाट असहयोग भयो भने हल्ला जनमत पार्टीका नेता खासगरी सो पार्टीका अध्यक्ष राउतले नै चलाइरहेको यादवको आरोप छ । उनले भने, ‘जनमत पार्टीभित्रै आन्तरिक कुरा नमिलेको होजस्तो लाग्छ मलाई । यस्तैयस्तै कुरा गरेर मुख्यमन्त्रीलाई हटाउने तयारी पनि जनमत पार्टीले गरेको हुनसक्छ ।’
मधेस प्रदेशका एमाले संसदीय दलका नेता सरोजकुमार यादवले पनि जनमत पार्टी नेतृत्वको सरकारलाई कुनै प्रकारले असहयोग नभएको बताए । उनले भने, ‘जनमत पार्टीका नेताहरूले असहयोग भयो भन्दै आफैँ हल्ला गर्दै हिँड्नुभएको छ । मधेस सरकारबाट हुनुपर्ने सबै काम अगाडि बढेको छ । कामहरू भइरहेका छन् । मधेस सरकारलाई कांग्रेस–एमालेको पूरै सहयोग छ ।’
उपनिर्वाचनमा राम्रो नतिजा ल्याउन नसकेका कारण जनमत पार्टीमा छटपटी बढेको एमाले संसदीय दलका नेता यादवको भनाइ छ । ‘त्यसबाहेक अरु केही छैन,’ उनले भने, ‘हामीले नै बनाएको सरकार अहिले परिवर्तन गर्नेबारे सोचेका छैनौँ ।’
केही दिनदेखि जनमत पार्टीका अध्यक्ष राउतले सञ्चारमाध्यममा मधेस सरकारको बारेमा टिप्पणी गर्दै आएका छन् । उनको प्रतिक्रिया सुन्दा मधेस प्रदेश सरकार ढल्न लागेको बुझ्न सकिन्छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संघीय सरकारको खरो आलोचना गरिरहेको राउतले आफूले सरकारको बारेमा गरेको टिप्पणीकै आधारमा मधेस प्रदेश सरकारबाट हटाउन सक्ने धारणा राख्दै आएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि आफूले टिप्पणी गर्दा प्रधानमन्त्री ओलीलाई नमिठो लागेको र त्यसै कारणले मधेस प्रदेश सरकारबाट आफ्नो दललाई निकाल्ने भनेर गठबन्धनको बैठकमा थ्रेट नै दिएको अध्यक्ष राउतको दाबी छ ।
बंगलादेशमा भएको घटनाबारे आएको एउटा समाचार आफूले शेयर गर्दा प्रधानमन्त्री ओलीले आफूकहाँ दुई पटक मान्छे पठाएर त्यो समाचार किन शेयर गरेको भनेर सोध्न लगाएको राउतको भनाइ छ ।
कम्बोडिया गएको बेला त्यहाँको प्रधानमन्त्रीलाई भेटेपछि ट्वीटरमा लेखेका थिए– कम्बोडियाको प्रधानमन्त्रीलाई भेट्न सजिलो छ । आफ्नै देशका प्रधानमन्त्रीलाई भेट्न गाह्रो छ ।
सोही कारण पनि प्रधानमन्त्री ओलीको चीन भ्रमणमा जनमत पार्टीबाट कसैलाई नलगिएको अध्यक्ष राउतले गुनासो गरे । उनले आफू सरकारको टार्गेटमा रहेको टिप्पणी सञ्चारमाध्यममा गर्दै आएका छन् ।
जनमत पार्टीका अध्यक्ष राउतले मधेस सरकार ढल्नेमा चिन्ता गर्दै आए पनि मधेस प्रदेशमा त्यसप्रकारको कुनै मुद्दा वा तयारी अघि नबढेको कांग्रेस मधेस प्रदेशका सभापतिसमेत रहेका संसदीय दलका नेता कृष्ण यादवले बताए । अध्यक्ष राउतले मधेस सरकार परिवर्तनबारे दिएका अभिव्यक्तिका आधार के हुन् भन्नेमा मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंह नै बेखबर रहेको उनको भनाइ छ । मुख्यमन्त्री सिंहले अहिलेसम्म सरकारको बारेमा कतै टिप्पणी गरेका छैनन् ।
जनमत पार्टीबाट सतिश सिंह गत जेठ २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । त्यतिबेला केन्द्रमा एमाले–माओवादी गठबन्धनको सरकार थियो । प्रचण्ड नेतृत्वको सरकारले आफ्नो पार्टी विभाजन गरेको भन्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट समर्थन फिर्ता लिएका थिए ।
केन्द्रबाट समर्थन फिर्ता लिएपछि एमाले–माओवादीले मधेस प्रदेशमा जसपा नेपाल नेतृत्वको सरकारलाई हटाएर जनमत पार्टीको नेतृत्वमा सरकार गठन गरेका थिए ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशको सरकार जोगियोस् भनेर निकै प्रयास गरेका थिए । उनले सरकारमा नरहे पनि समर्थन जारी राख्नेसम्म पनि भनेका थिए । तर ओली र प्रचण्डले मधेस सरकारको नेतृत्व जनमत पार्टीलाई सुम्पेका थिए ।
त्यसको एक महिनापछि कांग्रेस–एमालेको गठबन्धन बन्यो । जसपा नेपालका अध्यक्ष यादवले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गरे । र, मधेस प्रदेश सरकारमाथि दाबी गरे । तर प्रधानमन्त्री ओलीले मधेस प्रदेशमा जनमत पार्टी नेतृत्वको सरकारलाई नै निरन्तरता दिए ।
तर अध्यक्ष राउतको अभिव्यक्तिका कारण पछिल्लो समय प्रधानमन्त्री ओली नेतृत्वको सरकार र जनमत पार्टीबिच राम्रो सम्बन्ध छैन । उपयुक्त समय हेरेर जनमत पार्टीलाई हटाएर अर्को सरकार बनाउने सोचमा प्रधानमन्त्री ओली रहेको बुझिएको छ । यही कुरा महसुस गरेर जनमत पार्टीका अध्यक्ष राउतले पछिल्लो समय मधेस सरकारबाट आफ्नो पार्टीलाई हटाउने प्रयास भइरहेको बताउने गरेको जानकारहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनसम्बन्धी समस्या छिट्टै समाधान हुन्छः गृहमन्त्री
-
बार अध्यक्षको अवहेलना मुद्दा न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा पेसी
-
तीन दिनयता सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
-
‘अहिलेको एमाले नेतृत्व लिन मात्र तयार छ, दिन छैन’
-
‘केपी ओलीले माधव नेपालमाथि नै कैँची चलाए’
-
चीनको सेनासँग काम गर्ने कम्पनीको सूचिमा अमेरिकाले राख्यो टेन्सेन्टलाई