मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय
जय ट्रफी क्रिकेट प्रतियोगिता

१०२ रनमै सेमिटयो मधेश प्रदेश, बागमतीका कप्तान सन्दीपले लिए ५ विकेट

आइतबार, २१ पुस २०८१, १५ : ४५
आइतबार, २१ पुस २०८१

काठमाडौँ । जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको आइतबार जनकपुरमा जारी बागमती प्रदेशविरुद्धको खेलमा मधेश प्रदेशको टोली आफ्नो पहिलो पालीमा केवल एक सय दुई रन बनाउँदै अलआउट भएको छ । मधेश प्रदेशको टोली ३५.३ ओभरमै अलआउट भएको हो । 

दुई दिवसीय प्रतियोगितामा मधेश प्रदेशले टस जिति पहिले ब्याटिङको निर्णय लिएको थियो । प्रतिकुल मौसमका कारण निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो सुरु भएको खेलमा मधेश प्रदेशका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।

कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान हरिशंकर साह केवल चार रन बनाउँदै पेभेलियन फर्किए । उनले १८ बलमा एक चौका हिर्काए । अर्का ओपनर मयान यादबले भने टोलीको खातामा २१ रन थपे । उनले ३६ बलको सामना गरी एक छक्का र एक चौका पनि हिर्काए ।
तेस्रो नम्बरका ब्याट्सम्यान निरज यादब भने १२ रनभन्दा अगाडि बढ्न सकेनन् । उनले ३५ बलमा एक चौका प्रहार गरे । चौथो नम्बरमा क्रिज समाल्न आएका साहिल पटेल ६ रनमै आउट भए । विकेटकिपर ब्याट्सम्यान हिमांशु दत्त पनि १० रनभन्दा अगाडि बढ्न सकेनन् ।
रुपेश सिंह पनि ६ रन बनाउँदै पेभेलियन फर्किए । सातौँ नम्बरमा क्रिज समाल्न आएका विशाल पटेलले टोलीको खातामा १६ रन थपे । उनले ३० बलको सामना गरी एक छक्का र एक चौका पनि हिर्काएका थिए । 

अभिषेक तिवारीले ११ रन बनाए । उनले ४० बलको सामना गरी दुई चौका पनि हिर्काए । प्रदिप पासवान दुई रन बनाउँदै आउट भए । रञ्जित कुमारले शून्य रनमै आउट भए । भुलावन साहनीले दुई रनमा अविजित रहे । मधेश प्रदेशले अतिरिक्त रुपमा पनि १२ रन पायो । 
बागमती प्रदेशका बलर सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए । टोलीका कप्तानसमेत रहेका सन्दीपले १४ ओभरमा दुई मेडन राख्दै ४१ रन खर्चिए । सूर्य तामाङले तीन विकेट हात पारे । उनले २.३ ओभरमा केवल सात रन खर्चिए । नन्दन यादब र प्रतिस जीसी पनि एक–एक विकेट लिए । 
जय ट्रफी आइतबारदेखि जनकपुर र वीरगञ्जमा सुरु भएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रतियोगितामा चारवटा टोलीको सहभागिता रहेको छ । आइतबारको अर्को खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच वीरगञ्जमा जारी छ । 
प्रतिकुल मौसमका कारण पहिलो दिनको दुबै खेलमा निर्धारित समयभन्दा ढिलो सुरु भएको थियो । प्रारम्भिक चरणको खेल दुई दिवसीय हुनेछ । फाइनल खेल भने तीन दिवसीय हुनेछ ।

जय ट्रफीका खेलहरु प्रत्येक दिन ९० ओभरको हुनेछ । प्रतियोगिताको प्रारम्भिक चरणमा प्रत्येक पाली ६०–६० ओभरको हुनेछ । ब्याटिङ गर्ने टोलीले पुरै ६० ओभर ब्याटिङ गर्न वा आफूले चाहेमा बिचमै पाली समाप्तिको घोषणा गर्न सक्नेछ । 

नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष जयकुमारनाथ शाहको नाममा जय ट्रफी सुरु भएको हो । जयकुमार नाथ शाह आफैले २०३७ सालमा ‘जय ट्रफी’ सुरुवात गरेका थिए । लामो समयसम्म जय ट्रफी नै राष्ट्रिय टोली छनोटको आधार पनि थियो । 

वीरगञ्ज र जनकपुरमा आइतबारदेखि सुरु भएको जय ट्रफीमा दुबै टोलीका खेलाडी सेतो रङको जर्सीमा देखा परेका छन् भने खेल रातो बलले खेलाइँदै छ । पुलिस क्लबको कप्तानको भूमिकामा आरिफ शेख छन् । 

बागमती प्रदेशको कप्तान सन्दीप लामिछाने हुन् । मधेश प्रदेश हरिशंकर साहको कप्तानीमा छ । त्रिभुवन आर्मी क्लबको कप्तान विनोद भण्डारी हुन् । प्रतियोगितामा ब्याटिङ र बलिङ गर्ने दुबै टोलीका लागि बोनस अंकको पनि ब्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप