मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय
जय ट्रफी क्रिकेट प्रतियोगिता

सेतो जर्सीको प्रतियोगितामा आर्मीका ब्याट्सम्यानको कमजोर प्रदर्शन, पुलिसका ललितले लिए ७ विकेट

आइतबार, २१ पुस २०८१, १४ : ५९
आइतबार, २१ पुस २०८१

काठमाडौँ । जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको आइतबार वीरगञ्जनमा जारी नेपाल पुलिस क्लबविरुद्धको खेलमा त्रिभुवन आर्मी क्लब आफ्नो पहिलो पालीमा केवल एक सय २१ रन बनाउँदै अलआउट भएको छ । आर्मी क्लबका ब्याट्सम्यान केवल ३४.४ ओभर क्रिजमा टिक्न सके ।

सेतो जर्सी लगाएर खेलिएको दुई दिवसीय प्रतियोगितामा आर्मी क्लबले टस हारी पहिले ब्याटिङको निम्तो पाएको थियो । प्रतिकुल मौसमका कारण निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो सुरु भएको खेलमा आर्मी क्लबका माथिल्ला तीन ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

ओपनर सन्तोष कार्की एक र अर्का ओपनर सोमपाल कामी पाँच रन बनाउँदै पेभेलियन फर्किए । आर्मी क्लबले दुई ओभरमै दुई विकेट गुमाइसकेको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका तृतराज दासले त खातासम्म खोल्न सकेनन् ।

चौथो नम्बरका ब्याट्सम्यान कुशल मल्लले २५ र पाँचौँ नम्बरका ब्याट्सम्यान भीम सार्कीले २२ रन बनाए । कुशलले ३८ बलमा एक छक्का दुई चौका तथा भीमले ४६ बलमा एक छक्का र दुई चौका प्रहार गरेका थिए । 

बसिर अहमद २५ बलमा एक चौकाको मद्दतले १२ रन बनाउँदै पेभेलियन फर्किए । कप्तान विनोद भण्डारीले टोलीको खातामा २१ रन थपे । उनले १६ बलमा एक छक्का र दुई चौका पनि हिर्काए । विवेक यादवले खाता खोल्न सकेनन् भने साहब आलमले टोलीको खातामा ११ रन थपे ।

साहब आलमले २७ बलमा एक चौका हिर्काए । पवन कार्कीले पनि अविजित १५ रन बनाए । उनले २७ बलमा दुई चौका हिर्काए । आकाश चन्द भने शून्य रनमै पेभेलियन फर्किए । आर्मी क्लबले अतिरिक्त रुपमा पनि नौ रन पायो । 

त्रिभुवन आर्मी क्लबका ब्याट्सम्यानका लागि पुलिस क्लबका बलर ललित राजवंशी सबैभन्दा घातक बने । उनी एक्लैले सात विकेट लिए । ललितले १४.४ ओभरमा चार मेडन राख्दै केवल ४७ रन खर्चिएका थिए । 

कुशल भुर्तेल, श्रवण यादव र रासिद खानले पनि एक–एक विकेट हात पारे । आर्मी क्लबका अधिकांश ब्याट्सम्यानले सिमित ओभरकै प्रतियोगिताको शैलीमा ब्याटिङ गरेका थिए । त्यसैले पनि अधिकांश ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्किएका थिए । 

नेपाली क्रिकेटको इतिहासकै प्रतिष्ठित घरेलु प्रतियोगितामध्येको एक जय ट्रफी आइतबारदेखि जनकपुर र वीरगञ्जमा सुरु भएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रतियोगितामा चारवटा टोलीको सहभागिता रहेको छ । 

आइतबारको अर्को खेल बागमती प्रदेश र मधेस प्रदेशबिच जनकपुरमा जारी छ । प्रतिकुल मौसमका कारण पहिलो दिनको दुवै खेलमा निर्धारित समयभन्दा ढिलो सुरु भएको थियो । प्रतियोगिताको प्रारम्भिक चरणको खेल दुई दिवसीय हुनेछ । 

जय ट्रफीका खेलहरू प्रत्येक दिन ९० ओभरको हुनेछ । प्रतियोगिताको प्रत्येक पाली ६०–६० ओभरको हुनेछ । ब्याटिङ गर्ने टोलीले पुरै ६० ओभर ब्याटिङ गर्न वा आफूले चाहेमा बिचमै पाली समाप्तिको घोषणा गर्न सक्नेछ । 

नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष जयकुमारनाथ शाहको नाममा जय ट्रफी सुरु भएको हो । जयकुमार नाथ शाह आफैले २०३७ सालमा ‘जय ट्रफी’ सुरुवात गरेका थिए । लामो समयसम्म जय ट्रफी नै राष्ट्रिय टोली छनोटको आधार पनि थियो । 

वीरगञ्ज र जनकपुरमा आइतबारदेखि सुरु हुने जय ट्रफीमा दुवै टोलीका खेलाडी सेतो रङको जर्सीमा देखा परेका छन् भने खेल रातो बलले खेलाइँदै छ । नेपाल पुलिस क्लबको कप्तानको भूमिकामा आरिफ शेख छन् । 

बागमती प्रदेशको कप्तान सन्दीप लामिछाने हुन् । मधेस प्रदेश हरिशंकर साहको कप्तानीमा छ । त्रिभुवन आर्मी क्लबको कप्तान विनोद भण्डारी हुन् । प्रतियोगितामा ब्याटिङ र बलिङ गर्ने दुवै टोलीका लागि बोनस अंकको पनि व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप