माओवादीले पूर्व राजावादीहरूसँग बाक्लै बसाउठी गरिरहेको ओलीको आरोप

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र पूर्व राजावादीहरूसँग बाक्लै बसाउठी गरिरहेको आरोप लगाएका छन् । केन्द्रीय कमिटीको आठौँ बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा माओवादी अस्थिरताको प्रयासमा लागिरहेको बताएका हुन् ।
ओलीको प्रतिवेदनमा भनिएको छ, ‘आज माओवादी–केन्द्र एक वर्ष अगाडि आफ्नै प्रदेशसभा सदस्यहरूको समेत सहभागितामा नामाकरण गरिएको 'कोशी'को विरुद्ध उग्र जातीयतावादी समूहहरूसँग मोर्चाबन्दी गरिरहेको छ । ऊ राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुऱ्याउन उद्धत देखिएको छ । पूर्व राजावादीहरूसँग बाक्लै बसाउठी गरिरहेको छ । सरकारमा रहँदा आफैले कारबाही गरेका व्यक्तिहरू र समूहको खुला समर्थनमा उत्रिएको छ ।’
प्रधानमन्त्रीको चीन भ्रमण र हिजो आफ्नै कार्यकालमा भएको सम्झौतालाई समेत विवादित बनाउन माओवादी उद्धत देखिएको ओलीको भनाई छ । यी घटनाक्रमहरू माओवादी केन्द्रमा गहिरिँदै गरेको वैचारिक विचलन, राजनीतिक अस्थिरता, अवसरवाद र सरकारबाट बाहिरिनु परेका पीडाका अभिव्यक्ति भएको उनको ठहर छ ।
‘असार ३० साँझसम्म प्रधानमन्त्रीकै कुर्चीमा रहेका र कुर्चीमा रहँदासम्म ‘देश समृद्ध बन्दै गरेको’, ‘अर्थतन्त्र लयमा फर्किएको' र 'निराशाको मात्रै कुरा गर्न नहुने' भाषण गरिरहेका ‘प्रचण्ड' बाट सरकारबाट हटेको दुई साता नबित्दै संसद्को रोष्ट्रमबाट नेपाल 'बङ्गलादेश' जस्तै बन्ने अभिव्यक्ति आयो । यो अत्यन्त गैरजिम्मेवार, गैर-कूटनीतिक र अशोभनीय टिप्पणी मात्रै थिएन, राजनीतिक अवसरवादको भद्दा नमुना पनि थियो,’ प्रतिवेदनमा भनिएको छ ।
दुई मुख्य राजनीतिक दलहरूबिच नयाँ राजनीतिक सहकार्य प्रारम्भ भएपछि, यो सहकार्य आगामी निर्वाचनसम्म दिगो रहने आधार बलियो बन्दै गएपछि र आगामी निर्वाचन पनि मुख्य राजनीतिक दलहरूले एक्लै लड्ने उद्घोष गरेपछि अस्थिरतामा रमाइरहेका र आफ्नो लगानी एवं हैसियतभन्दा अत्यधिक लाभ लिइरहेका समूहहरूमा बेचैनी उत्पन्न भइरहेको ओलीको बुझाई छ । तीमध्ये कतिपयलाई अस्तित्व सङ्कटको प्रश्नले त्रसित बनाएको उनको भनाई छ ।
‘कतिलाई ‘हङपार्लियामेन्ट’ भित्र खेलिने झिँगे दाउको खेल अन्त्य हुने चिन्ताले सताएको छ। यतिबेला यस्ता तत्त्वहरू अस्थिरताको सुनियोजित प्रयासमा लागिरहेका छन्,’ प्रतिवेदनमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसाइँसराइले बरेङमा बस्ती सुनसान
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी
-
महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल
-
हमासले मुक्त गरेका ६ बन्धक परिवार भेट्दै