उपनिर्वाचनमा माओवादी पहिलो भयो भनेर भ्रामक सन्देश प्रवाह गरियो : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचन परिणामलाई लिएर नेकपा (माओवादी केन्द्र) ले भ्रामक सन्देश सम्प्रेषण गर्ने प्रयास गरिरहेको बताएका छन् । केन्द्रीय कमिटीको आठौँ बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले माओवादीले आफ्नो दल पहिलो भएको र लोकप्रिय मत ह्वात्तै बढेको भन्दै भ्रम फैलाएको आरोप लगाएका हुन् ।
‘माओवादी केन्द्रले ८ बाट बढाएर ११ स्थानमा विजय हासिल गरेको सत्य हो, तर हिजो ६ दलीय गठबन्धनका बेला आफूले उम्मेदवार नै नउठाएको र त्यसै कारण शून्य मत भएको ठाउँमा अहिले प्राप्त भएको मत जोड्दा मात्र उसको मत बढेको देखिएको हो,’ प्रतिवेदनमा भनिएको छ ।
मङ्सिर १६ गते स्थानीय तहमा रिक्त ४२ स्थान (थप दुई जिल्ला समन्वय समिति समेत) मा उपनिर्वाचन सम्पन्न भएको थियो । ७७ जिल्ला समन्वय समिति र ७५३ पालिकाका कुल ८, ४०३ जनप्रतिनिधिमध्ये ४४ पदमा भएको र कुल २,२६,७९९ मतदाता (१.२६ प्रतिशत) ले मतदान गरेको यस निर्वाचनले राजनीतिक शक्ति सन्तुलन र भविष्यको निर्वाचनको ठुलो पूर्वानुमान नगर्ने ओलीको ठहर छ ।
तर पनि २०७९ को तुलनामा सम्बन्धित ठाउँमा मतदाताहरूको बदलिँदो रुझान, जनप्रतिनिधिप्रतिको असन्तुष्टि र नयाँ भनिने दल र राजावादी शक्तिहरूको खस्किँदो अवस्थालाई बुझ्न भने यसले केही आधार दिने उनको बुझाइ छ ।
सो उपनिर्वाचनमा नेकपा (एमाले)ले एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष र ५ वडा अध्यक्ष सहित ८ स्थान मा जीत हासिल गरेको थियो । ‘हामीले जितेका ७ वटा वडा रिक्त भएको अवस्थामा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष समेत समग्रमा ८ स्थानमा हासिल गरेको विजय थप हाम्रा लागि उपलब्धिपूर्ण र सकारात्मक परिणाम हो । यद्यपि, हामीले गरेको अपेक्षाभन्दा यो कम हो,’ ओलीले स्वीकार गरेका छन् ।
आफूले विजय हासिल गरेका ठाउँमा पार्टी र जनप्रतिनिधिहरूले थप मिहिनेत गर्नु पर्ने र सहरिया मतदातामाझ नेकपा (एमाले)ले अझै मेहनत गर्नु पर्ने शिक्षा यस निर्वाचनबाट प्राप्त भएको ओलीको भनाई छ । प्रतिवेदनमा भनिएको छ, ‘विगतमा जितेका वडामध्ये एउटामा मात्र विजय कायम हुनु (यद्यपि यो प्रवृत्ति अन्य दलको हकमा पनि उत्तिकै देखिएको छ), कीर्तिपुर जस्तो ठाउँमा अपेक्षित परिणाम हासिल नहुनु र सहरिया जनमतमा अपेक्षित आकर्षण बढ्न नसक्नुलाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ ।’
गएको २०८१ वैशाख १५ मा इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ र बझाङ प्रदेशसभा-१ मा उपनिर्वाचन सम्पन्न भएको थियो । उक्त उपनिर्वाचनमा नेकपा (एमाले) ले इलाममा निकै फराकिलो मतान्तरसहित (२०७९ मा १०८ मतको तुलनामा ७,५०० मतले ) विजय कायम राख्न सफल भयो भने बझाङमा पनि विजय हासिल गर्न सफल भयो । राष्ट्रिय राजनीतिमा व्याप्त प्रतिकूलताका बिच नेकपा (एमाले) लाई प्राप्त यस सफलताले पार्टी पङ्क्तिको मनोबल माथि उठाउन निकै मद्दत पुग्यो भने विभिन्न जातिवादी समूह, कथित नयाँ शक्ति र पश्चगामीहरूको हैसियत पनि स्पष्ट पाएको ओलीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरको सुनाकोटी स्थित एक प्लाइ उद्योगमा आगलागी
-
फ्रान्समा दुई प्रहरीमाथि चक्कु प्रहार, रोक्न जाने वृद्धको ज्यान गयो
-
बालबालिका हुर्काउने–पढाउने २५ सूत्र !
-
एयरपोर्टमा पार्किङ शुल्क असुल्न ठेक्का आह्वान
-
अमेरिकामा सरकारी कर्मचारी हटाउन मस्कको अर्को निर्णय
-
पाकिस्तानी गजलकार गुलाम अली काठमाडौँमा गुञ्जने