मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

वरिष्ठ पत्रकार थापालाई शहिद बैकुण्ठहरि स्मृति जनपक्षीय पत्रकारिता पुरस्कार

आइतबार, २१ पुस २०८१, १४ : २५
आइतबार, २१ पुस २०८१

भक्तपुर । वरिष्ठ पत्रकार बलराम थापालाई शहिद बैकुण्ठहरि स्मृति जनपक्षीय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । शहिद बैकुण्ठहरि श्रेष्ठको स्मृतिमा प्रेस सेन्टर नेपाल, भक्तपुरले स्थापना गरेको सो पुरस्कार तेस्रो अधिवेशनको अवसर पारेर वरिष्ठ पत्रकार थापालाई प्रदान गरिएको हो ।

थापाले मूलप्रवाह मासिक पत्रिकामार्फत देश, जनता र सर्वहारा वर्गलाई हित पुर्‍याएको योगदानको उच्च कदर गर्दै पुरस्कार दिइएको प्रेस सेन्टर भक्तपुरले जनाएको छ । पुरस्कारको राशि रु १० हजार नगद र सम्मान पत्र रहेको प्रेस सेन्टर भक्तपुरका निवर्तमान अध्यक्ष संजीप घिमिरेले बताएका छन् । 

सो अवसरमा नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित प्रेस सेन्टरमा आबद्ध पत्रकारलाई समेत सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले पुरस्कार वितरण गर्दै जनपक्षीय पत्रकारलाई राज्यले प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याए ।

महासचिव गुरुङले पद र प्रतिष्ठालाई केद्रविन्दुमा राखी सत्तापक्षले विपक्षीहरूलाई शत्रुतापूर्ण व्यवहार गरिरहेको समेत जानकारी गराए । यस्तो प्रवृत्तिले नेतन्याहु जन्मने खतरा भएको भन्दै उनले प्रेस जगतले उनीहरूलाई समयमै सच्याउन सक्नुपर्नेमा जोड दिए । 

बहुदलमा दलहरूबिच प्रतिस्पर्धा हुनुपर्नेमा निषेधको सोच बढ्नु प्रत्युत्पादक हुने उनको भनाइ छ । दलाल पुँजीवादले सर्वसत्तावादलाई बढवा दिएको बताउँदै महासचिव गुरुङले विश्व साम्राज्यवादको लाइन पनि यहीँ भएको उल्लेख गर्दै नेपालमा वर्तमान सरकार गठन यसैको पटाक्षेप भएको आरोप लगाए । वर्गीय अन्तर्विरोध पहिचान गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उनले तब मात्र समाजवाद सम्म पुग्न सकिने बिचार व्यक्त गरे ।

यसैबिच प्रेस सेन्टर नेपालको तेस्रो अधिवेशनले मदन ढुङ्गानाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गरेको निवर्तमान अध्यक्ष घिमिरेले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप