वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनमा के–के भइरहेको छ बहस ?
काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय सम्मेलनको बन्दसत्र आइतबार दोस्रो दिन पनि जारी छ ।
भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा शनिबारदेखि सुरु भएको बन्दसत्रमा समूहगत छलफल भइरहेको नेता जागृत रायमाझीले जानकारी दिए । रायमाझीका अनुसार सम्मेलनमा पार्टीको आगामी समाजवादी कार्यदिशा, वैचारिक, राजनीतिक विचारधारा तथा सङ्गठनात्मक सिद्धान्तबारे बहस भइरहेको छ । देशभरबाट २५० प्रतिनिधि सहभागी भएको यस सम्मेलनले केही सचिवालय सदस्य हेरफेर हुने उनले जानकारी दिए ।
‘बन्दसत्रमा महासचिवले पेस गर्नुभएको पार्टीको आगामी समाजवादी राजनीतिक कार्यदिशा, सङ्गठनात्मक दस्ताबेज पेस भएको छ । त्यसबारे समूहगत छलफल भइरहेको छ’, रातोपाटीसँग उनले भने, ‘अबको वैज्ञानिक समाजवादी कार्यदिशा कस्तो बनाउने भन्ने विषयमा टिम बनाएर जाने भएको छ । उत्पादन युनिट बनाउनेबारे यो सम्मेलनले टुङ्ग्याउँछ ।’
विगतमा कम्युनिस्ट पार्टीले प्रयोग गरेका विचारधारात्मक तथा सङ्गठनात्मक कार्यदिशामा थप विकास गरी प्रारम्भबाट नै वैज्ञानिक समाजवादी अर्थतन्त्र, राजनीति र संस्कृति निर्माणको कार्यदिशालाई अघि बढाउने रायमाझीले जिकिर गरे ।
‘पहिलो कुरा हामीले जे अभियान सुरु गर्यौँ । संसारभरका पुराना कम्युनिस्ट पार्टी लेनिन, माओदेखि नेपालमा एमाले, माओवादीसम्म आइपुग्दा उनीहरूले जुनजुन विषय उठाए त्यो त्यतिबेलाको विषय थियो । अहिले हामीले नयाँ युगको नयाँ वैज्ञानिक समाजवाद रिभोलुसनको नयाँ कार्यदिशा लिएर हिँडेका छौँ । हिजो समाजवाद ल्याउने अथवा समाजवादमा पुग्ने भन्ने थियो । त्यो भनेको पहिला जनविद्रोह वा जनयुद्धको बाटोबाट विद्रोह गर्ने अनि समाजवाद ल्याउने भन्ने थियो । हामीले त्यसलाई उल्ट्याएर देशव्यापी उत्पादन नीति ल्याउने तयारीमा छौँ । पार्टीको तल्ला कमिटीलाई सार्वभौम बनाउने छौँ’, पार्टीभित्र भइरहेका बहसबारे उनले भने ।
यस्तै पार्टीको तल्ला समितिलाई सार्वभौम बनाउन तीनवटा योजना ल्याएको उनले दाबी गरे । रायमाझीका अनुसार पहिलो उत्पादनसम्बन्धी काम रहको छ । उत्पादनलाई अनिवार्य गरिएको छ । उत्पादन नभई सार्वभौम समिति नबन्ने उनको ठम्याइ छ । दोस्रो वैचारिक राजनीतिक काम रहेको छ भने तेस्रो वर्ग संघर्षका काम हुनेछ । यी तीन काम सँगसँगै लिएर जाने नीति पार्टीले अगाडि सारेको रायमाझीले जानकारी दिए ।
‘आजैदेखि समाजवाद लागु गर्दै जाने पार्टीको नीति छ । समाजवाद बनाउने वा ल्याउने वा पुग्ने पनि होइन । यो बनाउँदै जाने व्यवस्था रहेछ । हिजोको कम्युनिस्टले बनाउँदै जान खोजेनन् । ल्याउन वा पुग्न खोजे । एउटा यो कुरा भयो’, उनले भने, ‘अर्को समानान्तर अर्थव्यवस्था सहितको सांस्कृतिक, आर्थिक, राजनीतिक कमिटीभित्र समाजवादलाई प्रयोग गर्दै जाने हो । समानान्तर भनेको राज्यको अर्थव्यवस्था आफ्नो ठाउँमा छ । हामीले आफ्नो उत्पादनमार्फत अगाडी बढ्नुपर्छ । हामी सबै उत्पादक र उपभोक्ता हौँ । यसलाई अहिलेदेखि नै लागु गर्दै जाने हो । त्यसकारण पार्टीले उत्पादनको प्रक्रिया पुरै सुरु गरेका छौँ ।’
सम्मेलनको अर्को विषय नेपाल लगायत दक्षिण एसियाको हकमा पितृसत्ता प्रधान रहेकोमा पार्टीले महिलालाई पनि मूल नेतृत्वमा ल्याउने गरी नीति सारिएको रायमाझीको दाबी छ । अब कम्युनिस्ट आन्दोलनको चालक टिममा महिला अनिवार्य हुनुपर्ने उनको तर्क छ । महिला नेतृत्वमा नआएसम्म अबको कम्युनिस्ट आन्दोलन अगाडि नबढ्ने उनको भनाइ छ ।
यसैगरी सम्मेलनले नेतृत्वको विषयमा ६० वर्षसम्म महासचिव, अध्यक्ष बन्ने परम्परा वैज्ञानिक समाजवादीले तोडेको रायमाझीले जिकिर गरे । पार्टीलाई जरासम्म पुग्दा बलियो बनाउन प्रतिनिधिले प्रतिनिधित्व गरेर नहुने निष्कर्ष निकाल्दै तल्ला समितिलाई सार्वभौम बनाउने र प्रतिनिधिलाई निर्णय गर्ने अधिकार होइन कार्यान्वयन गर्ने अधिकार दिनेबारे बहस भइरहेको उनले बताए । नेतृत्व र सचिवालय सदस्यहरूलाई रोटेसन प्रणालीमार्फत संगठन सञ्चालन गरिरहेको रायमाझीले बताए ।
वैज्ञानिक समाजवादी पार्टीमा अहिले ११ जना सचिवालय सदस्य छन् । केन्द्रीय समिति सङ्ख्या ५१ जना रहेको छ । यो सम्मेलनपछि केही सङ्ख्या यताउति हुन सक्ने रायमाझीले बताए । बन्दसत्रमा ५१ सदस्यीय केन्द्रीय समिति प्रस्ताव पेस भएको छ । दुई वर्षअघि राष्ट्रिय भेलाबाट विश्वभक्त दुलाल आहुती महासचिव चुनिएका थिए । अर्को आगामी २०८३ मा हुने राष्ट्रिय महधिवेशनबाट आहुती हट्नेछन् ।
यस्तै समाजवादी पार्टीले सांस्कृतिक रूपान्तरण अन्तर्गत कुनै कार्यक्रममा अध्यक्ष बन्ने, फूलमाला, ब्याच लगाउने, आसन ग्रहण गर्ने व्यवस्थालाई खारेज गरेको छ । मञ्चलाई विश्वविद्यालय जस्तो गरी प्रयोगमा ल्याएको छ । अहिलेसम्म नेतृत्व सर्वसम्मत रूपमा चयन भएपनि भविष्यमा हरेक समुदायबाट छानिएर आउने व्यवस्था पार्टीले गरेको रायमाझीले जानकारी दिए ।