मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

चीनमा अर्को भाइरसको आतंक

आइतबार, २१ पुस २०८१, १३ : ३३
आइतबार, २१ पुस २०८१

 बेइजिङ । चीनमा श्वासप्रश्वाससम्बन्धी नयाँ भाइरसको आतंक फैलिएको छ । भाइरसका कारण ठूलो संख्यामा मानिसले ज्यान गुमाएको दाबीसहितका समाचारहरू आइरहेका छन् । 

पछिल्लो स्थिति देखेर सर्वसाधारणहरू सतर्क भएको बताइएको छ । भाइरस ह्यूमन मेटान्यूमोभाइरस (एचएमभीपी) भएको बताइएको छ । चिसो मौसममा उत्तर चिनियाँ प्रान्तमा विशेषगरी बालबालिकाहरू भाइरसको चपेटामा आएको बताइएको छ ।

चीनको वुहान प्रान्तमा नोबेल कोरोना भाइरसको महामारी सुरु भएको पाँच वर्ष बित्दै गर्दा नयाँ भाइरसको प्रकोप देखिएको हो । चिनियाँ अस्पतालमा मानिसहरू मास्क लगाएर हिँडिरहेको फोटो र भिडियो सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छन् । 

स्थानीय पत्रिकाहरूले पनि एचएमभीपीको प्रकोपलाई कोभिडको महामारीको शुरुआती अवस्था जस्तै बताएका छन् । स्वास्थ्य अधिकारीहरूले संक्रमणमाथि निगरानी गर्न र फैलिन नदिन आकस्मिक उपायहरू अपनाइरहेको पनि भनिएको छ ।

तर चीन सरकारले भने वर्षेनी हिउँदमा यस्ता बिरामी देखिने भन्दै स्थिति भयावह नभएको बताइरहेको छ । शुक्रबार चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले श्वास प्रश्वाससँग सम्बन्धी सङ्क्रमण चिसो मौसममा उत्कर्षमा पुग्ने बताएकी थिइन् । रोग कम सङ्क्रामक रहेको र गएको वर्ष पनि यही स्तरमा फैलिएको उनको भनाई थियो ।

के हो एचएमभीपी ?

एचएमभीपी श्वासप्रश्वासमा आक्रमण गर्ने भाइरस हो । यसको संक्रमणपछि संक्रमितमा रुघा खोकी वा इन्फ्लुएन्जाको जस्तै लक्षण देखिन्छ । यसमा अधिकांश बिरामीको स्थिति मध्यम नै हुन्छ । तर विशेष गरी बालबालिकामा यो गम्भीर बनेर निमोनिया नै गराउँछ । प्रतिरक्षा प्रणाली कमजोर भएका वृद्धहरू पनि छिटै यसको चपेटामा आउँछन् । 

यो भाइरस नयाँ नै चाहिँ होइन । तर पछिल्लो समय उत्तरी चीनमा १४ वर्ष भन्दा कम उमेरका बालबालिकाहरूमा यसको सङ्क्रमण बढ्न थालेपछि सारा विश्व यसप्रति सशङ्कित भएको स्थिति छ । एचएमपीभी पहिलो पटक सन् २००१ मा देखा परेको थियो । यस अघि बेलायत लगायत देशमा पनि यसको सङ्क्रमण भेटिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप