पत्रिकाले बेजोस र ट्रम्पको कार्टुन छाप्न नमानेपछि वासिङ्टन पोष्टकी कार्टुनिष्टले दिइन् राजीनामा
वासिङ्टन डीसी । वासिङ्टन पोष्टका कार्टुनिष्ट एन टेल्नसले राजिनामा दिएकी छिन् । वासिङ्टन पोष्टले आफ्नो खर्बपति मालिक जेफ बेजोस अमेरिकाका नवनर्विाचित राष्ट्रपति डोनल्ड ट्रम्प सामु घुँँडा दोबारेर बसेको कार्टुन छाप्न नमानेपछि टेल्नसले शुक्रबार राजिनामा दिएकी हुन् । टेल्नस सन् २००८ देखि उक्त पत्रिकाको कार्टुनिष्ट थिइन् ।
आफूले बनाएर दिएको कार्टुुनबारे सम्पादकीय टोलीबाट फिडब्याक पाएको र रचनात्मक छलफलबीच मतभेद उत्पन्न भएर पत्रिकाले नछापेपछि आफूले राजिनामा दिएको उनले बताइन् । टेल्नसको कार्टुनमा वासिङ्टन पोष्टका मालिक बेजोस, मेटाका संस्थापक मार्क जुकरबर्ग र ओपनएआईका प्रमुख स्याम अल्टम्यान तीनै जना हातमा डलरको थैलो बोकेर घुँडा टेकेर ट्रम्पको मूर्ति अघि बसेका छन् । कार्टुनमा लस एञ्जलस टाइम्सकी मालिक प्याट्रिक सून–शिओङ भने हातमा लिपिष्टिक बोकेर त्यही अवस्थामा बसेकी छिन् ।
नजिकै मिकी माउस लम्पसार परेर बसेको छ । कार्टुनमा आगामी राष्ट्रपतिलाई फकाउनमा मग्न अर्बपति प्रविधि र सञ्चार माध्यमका प्रमुख कार्यकारीहरूलाई गिज्याइएको छ । पत्रिकाले यो कार्टुन छाप्न नमान्नुलाई टेल्नसले ‘गेम चेञ्जर’ र स्वतन्त्र छापाका लागि खतरनाक भनेकी छिन् । शनिबार अमेरिकाका कार्टुष्टिहरूको एउटा संगठनले पत्रिकाको यस कदमको आलोचना गरेको थियो ।