मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाली सेना भएको रुसी बटालियन ध्वस्त पारेको युक्रेनको दाबी

आइतबार, २१ पुस २०८१, १२ : १६
आइतबार, २१ पुस २०८१

किभ । रुस–युक्रेनबिच जारी युद्धबारे युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ठुलो दाबी गरेका छन् । कुस्र्क क्षेत्रमा विगत दुई दिनदेखि जारी लडाइँमा रुसी सेनाले ठुलो क्षति बेहोरेको जेलेन्स्कीको भनाइ छ । आफूहरूले उत्तर कोरियाली सैनिकहरूसँगै रुसी इन्फन्ट्री बटालियनलाई नष्ट गरेको उनले बताए । यो जानकारी पूर्णतया सही भएको युक्रेनी सेनाका कमान्डर इन चीफले दिएको जानकारी शेयर गर्दै जेलेन्स्कीले भने ।

कमान्डर इन चीफ सिस्र्कीले आफूलाई रुसविरुद्धको कारबाहीबारे जानकारी गराएको र यस अनुसार पोक्रोभस्क नजिक भयंकर युद्ध चलिरहेको उनले बताए । कुस्र्क क्षेत्रको मखनोवका गाउँ नजिकैको लडाइँमा रुसी सेनाले उत्तर कोरियाली सैनिक र रुसी प्याराट्रूपर्ससहितको इन्फन्ट्री बटालियन गुमाएको थियो । युक्रेनी अड्डाहरूको रक्षा गर्ने र रुसलाई रोक्ने आफ्ना सैन्य इकाईलाई पनि उनले बधाई दिएका छन् ।

रुसले सुमी र खार्किभ क्षेत्रमा आक्रमण गरेको जेलेन्स्कीले बताए । चेर्निहाइभ क्षेत्रमा मिसाइल आक्रमणपछि उद्धार कार्य पूरा भएको छ । यस आक्रमणमा ४० भवन ध्वस्त हुँदा एक जनाको मृत्यु भएको थियो ।

जारी द्वन्द्वमा रुसलाई उत्तर कोरियाली सेनालाई सहयोग गरिरहेको युक्रेनले दाबी गर्दै आएको छ । रुसको तर्फबाट युद्धमा १० देखि १२ हजार कोरियाली सैनिक तैनाथ छन् । यसलाई अमेरिका र दक्षिण कोरियाले पनि पुष्टि गरिसकेका छन् । तर, रुसले उत्तर कोरियाली सेना तैनाथ गरेको कुरा अस्वीकार गर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप