३ महिने ‘जरा केन्द्रित’ कार्यक्रमको खाका बनाउँदै एमाले
काठमाडौँ । नेकपा एमालेले माघ महिनाबाट सुरु गर्ने तीन महिने वडा केन्द्रित कार्यक्रमको स्पष्ट खाका बनाउने भएको छ । जसलाई एमाले नेताहरूले जरा केन्द्रित कार्यक्रम पनि भनेका छन् ।
नेपाली कांग्रेससँग नयाँ गठबन्धन गरेर सरकारको नेतृत्व गरेको एमालेले सत्ता सहकार्यका बारेमा समेत समीक्षा गर्ने तयारी गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार सुरु हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन, र एमालेको आन्तरिक सांगठानिक गतिविधिबारे झन्डै २० पेज लामो राजनीतिक प्रतिवेदन पेस गर्नेछन् ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटीमा समसामयिक राजनीतिको अलावा मुख्यगरी दुई प्रस्तावमा छलफल हुने जानकारी दिए ।
गौतमका अनुसार गठबन्धन सरकारको कामका उपलब्धिसहित आगामी दिनमा गर्नुपर्ने काम र एमालेलाई राष्ट्रिय शक्ति बनाउने विषय मुख्य प्रस्तावमाथि छलफल गर्ने तयारी गरेको छ ।
यसअघि मङ्सिर अन्तिम साता बसेको एमाले कार्यशाला बैठकले माघदेखि चैतसम्म तीन महिने वडा कन्द्रित कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार एमालेले केन्द्रीय कमिटी बैठकमार्फत उक्त कार्यक्रमका लागि स्पष्ट खाकासहितको कार्ययोजना बनाउन लागेको हो ।
‘वडा केन्द्रित अभियान अन्तर्गत तीन महिना जरा केन्द्रित अभियानमा नेताहरू खट्ने निर्णय हुनेछ । सङ्गठनका कमजोरी, जनताको चासो र गुनासो के छ भन्ने कुरा त्यो कार्यक्रममार्फत सङ्कलन गरिने र सम्बोधनको प्रयास हुनेछ’, प्रचार विभाग प्रमुख गौतमको भनाइ छ ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा सरकारका कामको समीक्षा, पार्टी संगठन निर्माण र आगामी कार्यक्रम समेटिएको बताए । त्यसबाहेक ओलीको प्रतिवेदनमा पार्टी नेतृत्व र सरकारविरुद्ध भइरहेका कुप्रचार र घेरावन्दीका बारेमा समेत विश्लेषण गरिएको बताइएको छ ।