मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : लोपोन्मुख रैथाने बाली

खेतीपाती छाडेपछि रैथाने बाली कहाँबाट हुनु र ?

आइतबार, २१ पुस २०८१, १० : ३०
आइतबार, २१ पुस २०८१

नेपालमा दैनिक रूपमा प्रयोग हुने खाद्यवस्तु रैथानेभन्दा हाइब्रिड बढी छन् । रैथाने बाली बिस्तारै घट्दै गएको छ । खोज्दै हिँडे मुस्किलले मात्रै भेटिन्छ । सबै प्रकारका बालीमा अवस्था यस्तै छ । धान होस्, दाल होस् वा तरकारी नै किन नहोस् । सबै हाइब्रिड नै हुन् । आजभोलि रैथाने बाली पाउन गाह्रै छ । बजारको अवस्था हेर्ने हो भने रैथाने छन् भन्ने भान नै हुँदैन । 

घरायसी प्रयोजन तथा खानपिनको जीवनशैलीका कारण पनि रैथाने बाली हराउन थालेका हुन् । पछिल्लो समय फास्ट फुडको अवधारणा आएको छ । हामीले खानपिनका परिकार बनाउन नसक्नुलाई रैथाने बाली हराउनुको कारणमध्ये प्रमुख मान्नुपर्छ । बेलुका प्रायः धेरैको घरमा खाना पाक्दैन । हामीसँग समय नभएर भनौँ अथवा परिवर्तित जीवनशैलीका कारण यस्तो अवस्था आएको हो । हाम्रा आमाहरूको पालामा भान्सामै सबै परिवार मिलेर खाने गरिन्थ्यो ।  

खेती गर्ने मान्छे घट्दै गएका छन् । युवाहरू बिदेसिएका छन् । गाउँघरमा खेत बाझिँदै गएका छन् । खेतीपाती गर्नै छाडेपछि रैथाने बाली कहाँबाट हुनु र ! मान्छेले खेतीपाती छाड्दै जाँदा रैथाने बाली पनि मासिँदै गएका छन् । 

रैथाने बाली संरक्षण किसानमै निहित विषय हो । खेतीपाती छाड्नु रैथाने बाली छुट्नु हो । किसानले अर्को सालका लागि बीउ जोगाउने गर्थे । तर, खेतपाती गर्न छाडेपछि त्यो बीउ रहने कुरै भएन । गाउँबाट सहरी क्षेत्रमा बसाइसराइ भइरहेको छ । यसले पनि असर पारेको देखिन्छ । रैथाने बाली हराउनुको यो मुख्य कारण हो । 

त्यसैगरी पछिल्लो समय विभिन्न्न प्रविधि आए । हामीले नयाँ प्रविधि अवलम्बन पनि गर्नुपर्छ । नगर्ने होइन । हाम्रो जनसंख्या वृद्धि नै भइरहेको छ । हामी वृद्धि भएको जनसंख्यालाई धान्ने गरी उत्पादन बढाउन नयाँ प्रविधिमा त जानुपर्छ नै । यसको एउटा विकल्प हाइब्रिड टेक्नोलोजी हो । 

अहिले त त्योभन्दा नयाँ टेक्नोलोजी (प्रविधि) आइसकेका छन् । जस्तोः मोलिकुलर टेक्नोलोजी । हामीले त्यसलाई पनि अपनाउनुपर्छ । तर, व्यवस्थित ढंगले । नयाँ प्रविधिमा जाँदै गर्दा रैथाने जातको संरक्षण हुने कुरा सुनिश्चित गरिनुपर्छ । रैथाने जातको गुण, स्वादलगायत विशेषता फरक हुन्छ । हामीले यस्ता विषयलाई नीति–नियम बनाएरै जोगाउने व्यवस्था भयो भने संरक्षणको सुनिश्चितता हुन्छ ।

सरकारी तवरमा पहिला ‘कन्जर्भेसन थ्रु युटिलाइजेसन’ भन्ने नाराका साथ काम भइरहेको थियो । अहिले पनि भइरहेकै होलान् । 

हामी सानो हुँदा थापा चिनी धान भन्थे । तर, त्यो आजभोलि पाउन समस्या नै छ । बासमती अलिअलि पाइन्छ । जिन बैंक, सामुदायिक बीउ बैंकजस्ता विभिन्न संघसंस्था रैथाने संरक्षणको पहलमा लागेका छन् । त्यसकारण हामीसँगको बाँकी रैथाने बाली र बिरुवा संरक्षण हुन्छन् । यसले राम्रो नै हुन्छ । 

जिन बैंकले हामीसँग भएका रैथाने संरक्षण गरेर नयाँ प्रविधिमा बीउ निकाल्ने काम गर्छ । यसले उत्पादन बढाउनुका साथै रैथाने जिन संरक्षणको काम पनि गर्छ । त्यसकारण यस क्षेत्रमा तीनै तहका सरकार, सम्बन्धित निकायले अध्ययन– अनुसन्धान गर्ने हो भने राम्रो हुन्छ । अबको हाम्रो पहल त्यतातिर हुनुपर्छ । हामीले उत्पादनमा मात्रै ध्यान दिने गरेका छौँ । यो शैलीलाई बदल्नुपर्छ । 

अहिलेको हिसाबमा रैथाने बालीको संरक्षण आवश्यक छ । पछिल्लो पटक जलवायु परिवर्तन भइरहेका छन् । हामीसँग जुन जिन छ, प्राकृतिक रूपमा त्यसको प्रभावलाई सहन सक्ने क्षमता विकास भएका छन् । जलवायु परिवर्तन हुँदा पनि प्राकृतिक रूपमा नै क्षमता विकास हुँदा यसको दुष्प्रभाव सहन सक्छ । 

(कृषि वैज्ञानिक बज्राचार्य नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)की अवकाशप्राप्त मुख्य वैज्ञानिक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. ज्वाला बज्राचार्य
डा. ज्वाला बज्राचार्य
लेखकबाट थप