७ महिनामा ११ वटा देशको भ्रमण गरिसकेका मोदी निम्तो पाएर पनि किन आएनन् नेपाल ?
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि गत जेठ २७ (जुन ९)गते शपथ लिएपछि पहिलो विदेश भ्रमण नेपालबाट सुरु गर्ने भनेका थिए ।
तर ७ महिनाको बीचमा ११ वटा देशको भ्रमण गरिसकेका भारतीय प्रधानमन्त्री मोदीले अहिलेसम्म पनि नेपाल भ्रमण गर्ने योजना बनाएका छैनन् । जबकि प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमणका लागि उनलाई औपचारिक निम्तो पनि पठाइसकेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा नेपालबाट तत्कालीन प्रधानमन्त्री प्रचण्ड सहभागी भएका थिए । शपथग्रहणपछि भएको भेटघाटमा मोदीले प्रचण्डसँग चाँडै नेपाल भ्रमणमा आउने प्रतिबद्धता जनाएका थिए ।
तत्कालीन प्रधानमन्त्री प्रचण्डले नेपाल फर्केपछि यसबारे अभिव्यक्ति दिएका थिए । शपथ लिएपछि मोदी जुन १३ मा जी–सेभनको बैठकमा सहभागी हुन इटाली पुगेका थिए । उताबाट फर्केपछि उनी नेपाल आउने कुरा थियो ।
भारतबाट फर्केपछि माओवादी केन्द्रका अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थलमा भनेका थिए, ‘उहाँ (नरेन्द्र मोदी)ले उपयुक्त समयमा भ्रमण गर्ने बताउनु भएको छ । जी–सेभेनको बैठक भएकाले उता गएरमात्रै नेपाल आउन सक्छु भन्नुभएको छ ।’
जी–सेभनको सम्मेलनबाट फर्केपछि प्रचण्डले भनेजस्तो मोदी नेपाल आएनन्, बरु असार २४ अर्थात् जुलाइ ८ मा अष्ट्रेलिया भ्रमणमा गए । उनी अष्ट्रेलियाबाट फर्केको तीन दिनपछि नेपालमा प्रचण्ड नेतृत्वको सरकार ढल्यो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार ३१ गते प्रधानमन्त्री पदको शपथ लिए ।
त्यसको भोलिपल्ट भारतका प्रधानमन्त्री मोदीले आफ्नो एक्स (ट्वीटर)मार्फत प्रधानमन्त्री ओलीलाई ‘दुई देशबिचको मित्रताको गहिरो बन्धनलाई अझ सुदृढ गर्न र राष्ट्रका जनताको प्रगति र समृद्धिका लागि सहयोगलाई अझ नजिकबाट विस्तार र सहकार्य गर्न तयार छु’ भन्दै बधाइ दिए ।
विगतमा फोन गरेर बधाइ दिएका मोदीले यसपटक सामाजिक सञ्जालमार्फत बधाइ दिएका थिए । यसअघि २०७२ र ०७४ मा ओली प्रधानमन्त्री हुँदा मोदीले फोन गरेर बधाइमात्र होइन, भारत भ्रमणको निमन्त्रणा दिँदै स्वागत गर्न आतुर रहेको पनि उल्लेख गर्दथे । तर यसपटक त्यस्तो भएन, ओलीले भारत भ्रमणको निम्तो पाएनन् ।
गत साउन २७ गते भारतका विदेशसचिव विक्रम मिस्री नेपाल भ्रमणमा आएर प्रधानमन्त्री ओलीलाई भेटेका थिए । मिस्रीले भारतका प्रधानमन्त्री मोदीको तर्फबाट प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्ता दिन्छन् भन्ने धेरैको अपेक्षा थियो । तर त्यस्तो भएन ।
प्रधानमन्त्री ओलीले नै सचिव मिस्रीमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । त्यो निम्तोको भारतबाट कुनै ‘रेस्पोन्स’ नआएपछि प्रधानमन्त्री ओलीले एक महिनापछि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवामार्फत मोदीलाई निम्तो पठाएका थिए ।
परराष्ट्रमन्त्री आरजु गत भदौ २ गते भारत भ्रमणमा गएकी थिइन् । त्यहाँ उनले मोदीलाई भेटेर नेपाल भ्रमणको निम्तो दिएकी थिइन् । तर निम्तो पाएका मोदीले त्यतिबेला कुनै प्रतिक्रिया जनाएनन् ।
एक महिनापछि प्रधानमन्त्री ओली र मोदीबिच असोज ७ गते अमेरिकामा भेटवार्ता भएको थियो । सो भेटवार्तामा पनि ओलीले मोदीलाई नेपाल भ्रमणका लागि निम्तो दिएका थिए । त्यहाँ पनि भ्रमणप्रति खासै प्रतिक्रिया नदिएको परराष्ट्र मन्त्रालयका अधिकारी बताउँछन् ।
भेटघाटमा सहभागी परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘प्रधानमन्त्री ओलीले नेपाल भ्रमणका लागि निम्तो दिँदा मोदीको तर्फबाट धन्यवादबाहेक तत्काल कुनै प्रतिक्रिया आएको थिएन ।’
इटलीबाट फर्केपछि नेपाल आउने कुरा गरेका मोदीले त्यसपछि पनि थप १० वटा देशको भ्रमण गरिसकेका छन् । ओलीले नेपाल भ्रमणको निम्तो दिएपछि पनि मोदी युक्रेन, सिंगापुर, अमेरिका, लाओस, रसिया, नाइजेरिया, ब्राजिल, गुयाना, कुबेत लगायतका देशको भ्रमण गरिसकेका छन् । तर नेपाल उनको प्राथमिकतामा परेन ।
अझै एकदुई महिना मोदी नेपाल भ्रमणमा आउने सम्भावना देखिएको छैन । दिल्लीमा विधानसभा चुनाव हुन गइरहेको छ । जनवरीको दोस्रो हप्ता विधानसभा चुनावको मिति घोषणा हुँदैछ । प्रधानमन्त्री मोदी त्यसमा व्यस्त हुने भएकाले नेपाल भ्रमणमा आउने कुनै सम्भावना नरहेको स्रोत बताउँछ ।
‘छिमेकी पहिलो’ नीति लिएका मोदीले तेस्रो कार्यकालको शपथ लिनुभन्दा पहिले भुटानको भ्रमण गरेका थिए । त्यसपछि उनले नेपालको भ्रमण गर्ने भनिएको थियो ।
प्रचण्ड भारतबाट फर्केपछि मोदीले जुनसूकै बेला नेपालको भ्रमण गर्न सक्ने भनेर परराष्ट्र मन्त्रालयलगायत प्रधानमन्त्री कार्यालयलाई समेत आवश्यक तयारी गर्न भनेका थिए । तर ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि मोदीको नेपाल भ्रमणको चर्चा नै हुन छाडेको छ ।
एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठले प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदीलाई निम्ता दिएको र उपयुक्त समय मिलाएर भ्रमणमा आउने बताए । उनले भने, ‘प्रधानमन्त्री मोदीको कार्यव्यस्तता होला । समय मिलाएर उहाँ आउनु हुन्छ ।’
एमालेका नेता एवं विदेश मामिलाका जानकार विष्णु रिजालले पनि प्रधानमन्त्री ओली भारत जानुभन्दा पहिले भारतका प्रधानमन्त्री मोदी नेपाल आउनु पर्ने बताउँछन् । ‘यहाँबाट निमन्त्रणा गइसकेको हो, त्यसैले उच्चस्तरीय भ्रमण भारतबाटै हुनुपर्ने हो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
प्रिमियर लिगमा नटिङघमलाई सफलता
-
अमेरिकी डलरको भाउ निरन्तर उकालो, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
आज गणेशको बार, कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल
-
रियाल मड्रिड कोपा डेल रे’को अन्तिम १६ मा
-
एसी मिलान इटालियन सुपरकप च्याम्पियन, लगातार चौथो उपाधि जित्ने इन्टरको सपना चक्नाचुर