‘विदेशीले जस्तो शासन जमाउन रैथाने अपरिहार्य छ’
रैथाने बालीको जगेर्ना किन ? यसले जलवायु परिवर्तनको प्रभावलाई थेग्छ । पोशक तत्त्व पर्याप्त दिन्छ । व्यावसायिक सम्भावना बोकेको छ । पर्यावरण संरक्षणमा योगदान दिन्छ । खाद्य सुरक्षासँगै आर्थिक उपार्जनमा टेवा पुर्याउन सक्छ । तर, रैथाने जगेर्ना गर्नुपर्छ पनि भन्ने अनि विकासे (आयातीत) बीउको प्रवद्र्धन पनि गर्ने दोहोरो नीति देखिएको छ । यसै सेरोफेरोमा राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक)का प्रमुख डा. बालकृष्ण जोशीसँग रातोपाटीकर्मी सरिता थारूले कुराकानी गरेकी छन् । प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंश ः–
- आयातीत बीउको प्रयोग देशभर व्यापक रूपमा बढेको देखिन्छ । यसको कारण के हो ?
यसका विभिन्न कारण छन् । तीमध्ये एउटा कारण हो, नीति । मुख्यतः हाम्रो नीति–नियमले के भन्छ भन्दा औपचारिक रूपमा बीउको बेचबिखन गर्ने हो भने दर्ता गराउनुपर्नेछ । त्यो प्रक्रियामा जुन दर्ता छ त्यो किनबेच गर्न पाउनुभयो । दर्ता गरेको लिस्ट नेपालको राजपत्रमा निस्केको लिस्ट हो । त्यो लिस्ट हेर्नुभयो भने ९० प्रतिशतभन्दा बढी बीउ विदेशी जात दर्ता भएको छ । जो दर्ता छैन हाम्रो रैथाने बीउ हो ।
हाम्रो पहलमा केही त दर्ता भएको छ । सबै विदेशबाट आएको छ । यो कारणले हाम्रो मानस्पटलमा के छ भने विदेशी चिज छ भने त्यो राम्रो हो । यो अमेरिकाको, यो जापानको भन्ने हिसाबमा सबैले सोच्छन् । विदेशी आइटम भनेसी सबैले राम्रो सोच्ने माहोल छ । तपाईं आफैँ भन्नु न दुर्गममा पनि विदेशीले झन् ठाउँ पाउने भयो ।
अर्को चाहिँ हामीले सहुलियत दिन्छौँ । बीउ बाँड्ने प्रचलन हुन्छ । विभिन्न स्थानमा बीउ सप्लायर कम्पनीहरू छन् । त्यहाँ हेर्नुभयो भने प्रायजसो शतप्रतिशत विदेशी बीउ छ । कहीँ हाट–बजार सञ्चालन गर्यो, कहीँ प्रदर्शनी सञ्चालन गर्यो भने सबै विदेशीले पाउँछ । कहीँ पुरस्कार गर्यो भने विदेशीले पाउँछ । यस्ता कुराले गर्दा विदेशी राम्रो बीउ भयो भन्ने सोच छ ।
कुनै पनि चिजको अधिकार हुन्छ । बीउमा किसानको अधिकार बिस्तारै हरण हुँदै गयो । अधिकार विदेशी वा अन्य बीउ कम्पनीले अथवा अन्य जातले पायो । कृषिमा बौद्धिक अधिकार भन्छौँ किसानलाई त्यस्तो कुनै पनि अधिकार छैन । हाम्रो कृषिमा पुरानो र धेरै प्रविधि छ । त्यसको सबै जननी किसान हुन् । तर, किसानलाई त्यो अधिकार जिरो छ । किसानको परम्परागत अधिकारलाई स्थापित गर्नुको सट्टा विस्थापित गर्यो । त्यो हिसाबले पनि स्वतः विदेशी कम्पनी र बीउले मार्केट लिइहाल्ने भयो ।
- हाइब्रिडबाट बढी उत्पादन हुने भएकाले त्यतातिर लोभिएको भनिन्छ नि त ?
यो केही हदसम्म सत्य हो । तर, हामीले पनि विदेशी र रैथाने जातको अनुसन्धान गरेका छौँ । त्यसमा थुप्रै उदाहरण छन् । रैथानेले हाइब्रिडको तुलनामा करिब ४० प्रतिशत बढी राम्रो उत्पादन गरेको देखियो । विदेशीले राम्रो उत्पादन दिन्छ भन्दै बाली र बिरुवालाई एकदम स्याहार गर्ने । मलजल बढी हाल्ने । विषादी हाल्ने गर्यो । बढी स्याहार गर्ने हो भने उत्पादन दिने नै भयो ।
‘किसानले आफैँ बीउ राख पाउने अधिकार हनन् भएको छ’
हाम्रो नेपालको परिस्थिति हेर्नु त । दूरदराज सबैको जीवन भनेको कृषि नै हो । त्यो कृषि हेर्नुस्, माटोको बनोट, त्यो ठाउँमा तुलना गर्नुस् । जलवायु परिवर्तनको सिनारियोमा हेर्नुस् । माटोको उर्वरता घट्दै गएको हेर्नुस् त ! रैथाने बालीको नै राम्रो छ । क्लाइमेट स्मार्ट हिसाबले हेर्नुस्, रैथानेमा बढी छ । पोषणको हिसाबले हेर्नुस्, रैथानेमा बढी छ । स्वास्थ्यको हिसाबले रैथानेमा बढी छ । रुखो स्थानमा उत्पादनको हिसाबले हेर्नुस्, रैथाने राम्रो छ । वातावरणीय दृष्टिकोणले हेर्नुस्, यो राम्रो छ ।
अर्को राम्रो विषय भनेको पर्यावरणीय उत्पादन भन्छौँ । जस्तोः कुनै ठाउँमा कृषि लगायौँ भने त्यसको उत्पादन मान्छेका लागि मात्रै होइन कि माटो, हावा सबैलाई योगदान रैथानेले नै दिने हो । रैथानेको आफ्नोपन नराम्रो भन्न मिल्दैन । हामीले तुलना गर्ने हो भने सबै बाली जात त्यस्ता छैनन् । बालीअनुसार फरक छ । कोदोमा ६० प्रतिशत, धानमा करिब ४० प्रतिशत विकासे जातभन्दा राम्रो छ ।
विकासेमा कार्बोहाइड्रेट बढी हुन्छ । रैथानेमा फाइभर, भिटामिन, सूक्ष्मजीवाणुलगायत खाद्य तत्त्व पाइएका छन् । पञ्च क्षेत्रीय योगदान भन्छौँ । खाद्य सुरक्षा, स्वास्थ्य सुरक्षा, पोषण सुरक्षा, व्यवसाय सुरक्षा र वातावरणीय सुरक्षा । यो पाँच क्षेत्रमा तुलना गर्ने भने विकासेभन्दा रैथाने जातको योगदान राम्रो छ । पहिला किसानले आफैँ बीउ राख सक्थे । तर, विकासे जात आएपछि यो अधिकार हनन् भएको छ । हाम्रो पोलिसी, पुस्तक, तालिम, प्रचारप्रसारमा हामीले रैथानेले उत्पादन दिँदैन भन्ने गरियो ।
- एकातिर सरकारले नै हाइब्रिड बीउ वितरण गर्छ । अर्कातिर रैथाने बाली नष्ट हुँदै गए पनि भन्छ । यो दोधारे नीति किन हो ?
दोधारे नीति हुनु हाम्रो कमजोरी हो । मुख्य कुरा हाम्रो रैथानेमा ‘भ्यालू एड’ गर्न सकेनौँ । हामीले हाइब्रिड भन्यौँ नि ! हाइब्रिड जुम्ली मार्सीको बनाउन सक्छौँ । फर्पिङको नास्पातीको इतिहास हेर्नुस् । फर्पिङको नास्पातीको रैथाने जात लागेर जापानले जापानिज हाइब्रिड निकाल्यो । त्यो नास्पातीको भ्यालू कति छ ? हाइब्रिड जात चाहिन्छ । त्यो विकासे जात हामीले आफ्नै रैथानेबाट तयार गर्नुपर्यो । हिमाल, पहाड र तराईको जात फरक छ । तिनीहरूलाई क्रस गरे हामीले भनेजस्तो जात निस्कन्छ । यो हामीसँग ब्युटी छ ।
दोहोरो नीति मुख्य गरी जो कृषिमा लागेको छ । जो कृषिसँग सम्बन्धित निकाय छ । उनीहरूभित्र कमजोर भयो के ! यहाँ के भयो बुझाइ भन्दा रैथाने चिज हराउँदै गयो जोगाउँदै जानुपर्यो भन्ने सोच आयो । त्यो सोच होइन । हामीले सोचेको त रैथाने ग्लोबल कम्पिट गर्न सक्छ । यसलाई भ्यालू एड गरेर जसरी विदेशीले नेपालमा मार्केट लिएको छ । हाम्रो रैथानेले अमेरिकाको बजार ओगट्नुपर्यो । जापानमा ओगट्नुपर्यो भन्ने सोच आउनुपर्यो ।
‘९५ प्रतिशत बीउ विदेशी रहेछ’
हाम्रो रैथाने हरायो, जोगाउनुपर्यो भन्ने सोचले हुन्छ ? हाम्रो उद्देश्य त जुम्ली मार्सी छ । नास्पाती छ । सिमी छ । त्यसमा कुनै समस्या छ भने भ्यालू एड गरेर अन्तर्राष्ट्रियकरण गर्ने हो । हाम्रो सोच र हाम्रो बुझाइ विदेशीमा निर्भर हुने भयो त्यसकारण दोहोरो नीति आयो ।
- हाम्रोमा धेरैजसो बीउको डोनर छ । बुझाइ के भयो भने उत्पादन धेरै दिन्छ । शतप्रतिशत विदेशीमा निर्भर हुनु त गम्भीर विषय हो । मल र विषादी शतप्रतिशत विदेशबाट आउँछ । हामीसँग थिएन र ?
हाम्रोमा कृषि कन्ट्रोल गर्ने परम्परा थियो । हाम्रोमा घरैपिच्छे फरक–फरक उत्पादन थियो । त्यसमा समस्या नहुँदा–नहुँदै पनि हामीले यो रैथाने हो, तिमीले केही गर्न सक्दैनौ, हामीले ल्याएको ठीक छ भनेर विदेशीको ह्विपमा त्यसलाई प्रस्ताव गर्यो । हाम्रो बुझाइ र लेखाइमा रैथाने काम लाग्दैन, हामीले निकालेको जात यो हो यो लगाऊ भन्ने सिकाउँछ ।
किसानले वर्षौंदेखि जन्माएको विषय नै हामीले सिकाइरहेका छौँ । किसान भनेको जननी हो । तर, अहिले किसानलाई धान कसरी लगाउने भन्ने सिकाएर हुन्छ ? बरु यसमा हामीले भ्यालू एड गर्नुपर्छ । हाम्रोमा रैथानेको नीति नै छैन । विदेशी प्रभाव बढी भएकाले हामीमा दोहोरो नीति छ । केही वर्ष दुःख होला तर एकल नीतिमा जानु नै पर्छ ।
- रैथानेमा भ्यालू एड कसरी गर्ने हो ?
हामीले भ्यालू एड धेरै वर्षदेखि गरिआएका छौँ । यसमा दुई किसिमले गर्न सकिन्छ । एउटा, गुण नै त्यसमा थप्ने । अर्को जस्तोः जुम्ली मार्सी धानमा ‘ब्लस्ट’ भन्ने मरुवा रोग आएको छ । भ्यालू एड गर्ने भनेको बीउमा त्यो रोग नलाग्ने ‘जिन’ थप्ने हो । त्यो एकपटक थपिसकेपछि त्यसमा रोग नलाग्ने बिरुवा उत्पादन हुँदै जाने हो । यसलाई प्रजनन्मार्फत भ्यालू एड गर्ने भन्छौँ ।
अर्को गैरप्रजनन् प्रविधिबाट भ्यालू एड गर्ने भन्छौँ । यो भनेको बाली काटिसकेपछि वा काट्नुभन्दा अगाडि प्रोसिङिङ गर्ने, ग्रेडिङ गर्नेलगायत पर्छन् । यी दुई तरिकाबाट भ्यालू एड गर्नुपर्छ भन्ने छ । यसरी भ्यालू एड गरिएमा विश्व विज्ञानले, बजारले, तपाईं–हामीले खोजेअनुसार, ठाउँअनुसार, आवश्यकताअनुसार बीउ तयार वा बनाउन सकिन्छ । र, बनाइरहेको छ पनि ।
हाम्रोमा घरैपिच्छे फरक–फरक जात थिए । हामी त्यसलाई घरायसी जिन बैंक पनि भन्छौँ । घरैपिच्छे फरक–फरक बीउ पनि आफैँले राख्ने गर्थे । त्यसलाई हामीले भ्यालू एड नगरीकन उल्टो बाहिरबाट ल्याएर बिजनेस गरेको, त्यो मुख्य समस्या हो ।
- ९५ प्रतिशत रैथाने बीउ ह्रास भइसकेको भनिन्छ । के यो सही हो ?
९५ रैथाने बाली ह्रास भएको होइन । अनुसन्धानमा हेर्ने हो वा हाम्रो राजपत्रमा निस्केको जात हेर्ने हो भने ९५ प्रतिशत बीउ विदेशी रहेछ । किसानले खेती गर्ने जग्गा, उसको भान्सा र हाम्रो बजार यो तीनवटा मुख्य क्षेत्र हो । यो तीनवटा क्षेत्रमा कुन देशले, कुन जातले बढी शासन गरेको छ ? हामीले प्रत्येक देशको बीउको विश्लेषण गरेका छौँ । भारत, अमेरिका र जापान बढी देखिन्छ । त्यो गर्दा ९५ प्रतिशत बीउ विदेशी रहेछ ।
‘मुख्य कुरा हाम्रो रैथानेमा ‘भ्यालू एड’ गर्न सकेनौँ’
हामीले विभिन्न ठाउँमा सर्भे गर्दा नेपालको ५० प्रतिशत रैथाने बाली हराएको छ । केही ठाउँमा हामीले किसानलाई सोध्दा शतप्रतिशत भनिएको छ । यस्तो समस्या विशेषतः तराई र जहाँ बजार नजिक छ । त्यस्ता क्षेत्रमा रैथाने बीउ शतप्रतिशत हराइसकेका छन् । नेपालभर पूर्वदेखि पश्चिम, तराईदेखि पहाडसम्म जाँदा औसतमा ५० प्रतिशत हराएको छ ।
हिमाली भेगमा जाने हो भने त्यति धेरै हराएको देखिँदैन । तराईमा जाने हो भने शतप्रतिशत हराइसकेको छ । लोकल धान सबै हराइसकेको छ । तर, मध्य पहाड र हिमाली भेगमा अझै पनि छ । सन् २०१७ मा हामीले अनुसन्धान गर्दा ५० प्रतिशत हराएको थियो । अहिले अझै बढी रैथाने बाली हराइसेकका होलान् ।
- शतप्रतिशत हराएका बाली के कस्ता छन् ?
त्यस्ता बाली धेरै छन् । मुख्य बढी धान बाली छन् । तराईको भैरहवामा जानुभयो भने कुनै किसानले पाँच थरी, सात थरी धान लगाउँथे । एकै किसानको खेतमा कोही खानालाई, कोही पर्वका लागि फरक–फरक धान लगाउने प्रचलन थियो । तर, अहिले जहाँ पनि एकै जात स्थानीय घैया धान हेर्नुस् । पहिला कति धेरै रोपाइँ हुन्थ्यो । तर, अहिले शतप्रतिशत हराएको छ ।
तराईमा मन्सुली चामल र विकासे जात आइसकेपछि जहाँसुकै जानुस् सबै एकै जात पाइन्छ । पहिला घरैपिच्छे फरक स्वाद हुन्थ्यो । तर, अहिले पूर्वदेखि पश्चिम जानुस् त्यही एउटा मन्सुली स्वाद हो । यो पहाडमा पनि उक्लिसकेको छ । धानमा ३ हजार लिस्ट छ । तर, १० देखि १५ वटा फिल्डमा होला । बढीमा २० वटा जात फिल्डमा छ ।
- के रैथाने बीउको उत्पादकत्व बढाउन सकिने उपाय नभएकै हो ?
बजारमा आएका सबै जात उथलपुथल गरेर हाइब्रिडबाट बनाएको हो । जुन बीउको उत्पादन बढी दिन्छ भन्छ । यस्तै रैथानेले उत्पादन भएको हो । त्यहाँ जसले बनायो वा जो कम्पनीले बनायो त्यो लागू भयो । अंगे्रजीमा ‘हेट्रोसिस’ भन्छ । यसमा दुईवटा फरक बिरुवाबाट क्रस गरी नयाँ बिरुवा वा बीउ निकाल्दा शतप्रतिशत होइन तर धेरै प्रतिशतमा त्यसको सन्ततिमा कुनै न कुनै गुण राम्रो हुन्छ । यो सिद्धान्तलाई विदेशीले अधिक प्रयोग गरे । सिद्धान्त र विज्ञानको अभ्यासले के देखाउँछ भने सबैभन्दा बढी फल दिने क्षमता भएको हाइब्रिड हो । बायोलोजिकल राइट पनि हो ।
पहिला प्रकृतिले दिएको बीउ थियो । हाइब्रिड बीउ किसानले आफैँले व्यवस्थापन गर्न नसक्ने भएर शतप्रतिशत कम्पनीको भर पर्नुपर्छ । त्यही भएर यसले स्थानीय जातलाई विस्थापन गर्यो । हाम्रो ज्ञानलाई विस्थापन गर्यो । अधिकारलाई पनि विस्थापन गर्यो । सबै विदेशीमय भयो ।
हाइब्रिड आएन भने के गर्ने ? हामीसँग थुप्रै विश्वविद्यालय छन् । संघसंस्था छन् । यिनीहरू भनेको हाइब्रिड बनाउन सक्ने हो । जस्तोः अकबरे छ । अहिले चाइनिज अकबरे आएको छ । हामीले इलामको लोकल अकबरेलाई हाइब्रिड निकाल्नुपर्छ । किनकि, ग्लोबल कम्पिटिसन छ । विश्वव्यापी रूपमा एक नम्बरमा ल्याउन त अध्ययन गर्ने, हाइब्रिड निकाल्ने, विभिन्न किसिमका जात निकाल्ने हो । तर, त्यो व्यवस्था छैन । हाइब्रिड आवश्यक छ । त्यही भएर हाइब्रिड आफैँले निकाल्नुपर्छ । त्यसको स्वामित्व देशभित्रका समुदाय, कम्पनी र संस्थामा हुनुपर्छ ।
- स्थानीय बीउको संरक्षण कृषि क्षेत्रका लागि किन महत्त्वपूर्ण छ ? खाद्य सुरक्षा र जैविक विविधतामा रैथाने बालीको भूमिका कस्तो हुन्छ ?
विदेशबाट बीउ आएन भने के रोप्ने भनेर अहिले धेरैले महसुस गरेका छन् । बजारको कुनै पनि मेला, सुपरमार्केट हेर्नुस् । किसानको खेत–बारी हेर्नुस् । औसतमा ८० प्रतिशतभन्दा बढी निर्भरता बाहिरको छ । अब रैथाने संरक्षण गरेनौँ भने किसान अधिकार, बाली प्रजनन्को अधिकार जिरो हुन्छ ।
विश्व समुदायले एउटा प्रोभिजन दिएको छ । हाम्रो अधिकारसँग सम्बन्धी लडाइँ छ । केही कम्पनीसँग धेरै बीउ छ भने प्याटेन्ट लिएको छ । अमेरिकाले धेरै बीउको प्याटेन्ट लिएको छ । ग्लोबलमा एकाअधिकार बजारीकरण गर्न यो प्याटेन्ट अधिकार एकदम महत्त्वपूर्ण छ । अब नेपालबाट रैथाने बाली हरायो भने आफ्नो चिज केही छैन भने शतप्रतिशत बाहिरका बीउमा भर पर्नुपर्छ ।
पहिला–पहिला नेपाल एकदम स्वायत्त प्राप्त देश हो । कसैसँग झुक्दैनथ्यो । तर, त्यो मान्छेको दृष्टिकोणले मात्रै भयो । अहिले हेर्नुस्, मान्छेबाहेक अन्य वस्तुमा शासन विदेशीले नै गरिरहेका छन् । यसलाई इन्डिपेन्डेन्ट कन्ट्री कसरी भन्ने ? शतप्रतिशत हाम्रा भवनदेखि लिएर बाटाका सामग्री, मार्केटका सामानमा विदेशीले नै शासन गरेको छ । हो त्यस्तो शासन जमाउन रैथाने अपरिहार्य छ । हामीले रोजेजस्तो, खोजेजस्तो, बढी उत्पादन दिने जात निकाल्न रैथानेबिना हुँदैन । नेपाली रैथानेका कारण विश्वमा अनुसन्धान गर्न मौका पाएका छन् । विभिन्न अवसर पाएका छन् । र, हाम्रो पञ्च कार्य क्षेत्र खाद्य, पोषण, स्वास्थ्य, व्यवसाय र वातावरणीय सुरक्षाका लागि रैथाने बीउ महत्त्वपूर्ण छ ।
मान्छे कोदो बालीमा किन लागेका छन् ? औषधिले निको पार्न नसकेको रोग रैथाने खानपिनले गरेको प्रमाण हामीसँग छ । जलवायु परिवर्तनमा रैथाने बाली हिरो हो । कुनै पनि कृषिको संस्था छ भने कृषि जैविकतामा हुनुपर्छ । सबैभन्दा ठूलो कुरा रिभोलुसन हो । रिभोलुसनलाई स्पिड अप गरिएन भने अहिलेको जलवायु परिवर्तन सिनारियोमा कम्पिटेन्ट बीउ निस्कँदैन । यो मूल मन्त्र हो ।
सिड कम्पनी वा बाहिरबाट आएको बीउ हेर्नुस्, जति बनाए पनि माउजस्तै मात्र निस्कन्छ । तर, रैथाने जातको प्रयोगबाट नयाँ बीउ निकाल्नुभयो भने फरक निस्कन्छ । किन फरक हुन्छ भने क्लाइमेटमा इन्टर्याक्सन हुँदा रैथानेमा आगामी सिजनमा कस्तो खालको सिजन हुन्छ भन्ने विषय प्रकृतिले नै निर्धारण गरेको हुन्छ । त्योअनुसार प्रकृतिबाट प्राप्त बीउले कहिल्यै धोका दिँदैन । तर, मान्छेले बनाएका विकासे जात बेला–बेला फल नलाग्ने, किरा लाग्ने भएर नेपालमा मात्रै नभई विश्वमा नै फेल खाएका छन् । हाम्रो तथ्यांकअनुसार २५ हजार नेपालको रैथाने बाहिर गएका छन् । त्यही रैथाने मोडिफाई गरेर व्यक्ति मिलिनियर बनेका छन् ।
- स्थानीय बीउको संरक्षण गर्न सबैभन्दा ठूलो भूमिका कसको हुनुपर्छ ?
अहिले तीन तहका सरकार छन् । तीनै तहको भूमिका हुनुपर्छ । रैथाने हराए, संरक्षण गरौँ भन्ने होइन कि रैथानेमा भ्यालू एड गरेर ग्लोबल कम्पिटेन्ट बनाऔँ । रैथानेले केही गर्न सक्छ । जसले गर्न सक्दैन त्यसलाई कम्पिटेन्ट बनाऔँ । रोल्पा जाँदा रोल्पाको रैथाने पाइने बजार हुनुपर्यो । भक्तपुर जाँदा भक्तपुर लोकल काँक्रो, काठमाडौँमा काठमाडौँ ज्यापु हुनुपर्यो ।
‘रैथाने कृषिमा आधारित गौरवको आयोजना ल्याउन पाए संरक्षणसँगै भ्यालू एड हुन्छ’
फर्पिङको नास्पाती जमानामा नाम चालेको चिज हो । तर, त्यसमा तपाईं–हामीले के गर्यौँ ? फर्पिङको नास्पाती हराउन लाग्यो, संरक्षण गरौँ । त्यो भनेर त भ्यालू आउँदैन । फर्पिङको नास्पाती जापान पुर्याउने काम गरौँ । त्यो गरे स्वतः संरक्षण भयो नि त !
संरक्षणका लागि तीनै तहका सरकार र तीन क्षेत्र शिक्षा, प्रचारप्रसार, अनुसन्धानले रैथानेलाई जोड दिनुपर्यो । कृषि देशको प्राण हो । तर, यहाँ कृषिमा आधारित कुनै पनि गौरवका आयोजना छैन । हामीले मन्त्रालयमा बारम्बार रैथाने कृषिमा आधारित राष्ट्रिय गौरवका आयोजना ल्याउनुपर्छ भनेका छौँ । धान, गहुँ, मकै मात्रै होइन रैथाने । हामीले ६ किसिमका डिफाइन्ड गरेका छौँ । स्थानीय स्तरमा पाइने बाली, किरा, सूक्ष्मजीवाणु, जलीय प्राणी, घाँसे बाली र पशुपन्छी भयो । यी ६ वटै विषयमा रहेर रैथानेमा आधारित राष्ट्रिय गौरवका आयोजना ल्याउन पाए संरक्षणसँगै भ्यालू एड हुन्छ ।
- जैविक चोरीका कुरा पनि बेला–बेला उठ्छन् । नेपालमा बीउको कानुनी सुरक्षा कस्तो छ ?
हामीले स्थानीयभन्दा विदेशीलाई मान्यता दिने प्रचलन छ । विदेशीले अलिकति पैसा दिएपछि आफ्नो सबै दिने गरिन्छ । चितवनको लोथरस्थित छायाँमा हुने जंगली धान । त्यो धान त्यहाँ थियो । तर, अहिले छैन । किसान भन्छन्, त्यहाँ विदेशी आएर पाँच हजार दिएर चार–पाँच किलो धान सबै संकलन गरेर दिएको छ । हामी जाँदा त्यहाँ केही पाउन सकेनौँ । रैथानेको ज्ञान नभएको भनौँ या केही पैसाको लागि विदेशीलाई दिने गरेको पाइन्छ ।
औपचारिक रूपमा २५ हजार नेपालका रैथाने विदेशी जिन बैंकमा छन् । भारत, जापान, चीन, अमेरिकामा छन् । विदेशीलाई घुमाउँदा सिड भिजिट हुन्छ । त्यहाँ दानाहरू टिपेर खल्तीमा राख्ने गर्छन् । त्यो गैरकानुनी हो भन्दा झसंग हुन्छन् । तर, खुला सिमाना छ । त्यसकारण बायोपाइरेसी धेरै छ । विदेशीले हाम्रो रैथाने जिन लागेर भ्यालू एड गरेका हुन् । फर्पिङको नास्पाती जापानमा लगेर, अन्य किराहरू, पशुपन्छी थुप्रै छन् ।
सन् १९९२ भन्दा अगाडि बायोपाइरेसी थिएन । जो जहाँ गए पनि ल्याउने प्रचलन थियो । त्यति बेला जो सक्षम छ । उसले थुप्रै जात लग्यो । त्योभन्दा पहिला त खल्तीमा हालेर लैजाने प्रचलन थियो । हामीले पनि संरक्षण गर्न सकनौँ । यहाँबाट लगेको रैथाने हाम्रो हो भन्न हामीसँग प्रमाण पनि छैन । बासमतीको केस सुन्नुभएको होला । धान र बासमती हाम्रो हो भन्न सकेनौँ । हामीले सय किसिमका कागजात दिँदा पनि प्रमाणित हुन सकेन । ओनरसिप कागजात छैन । किसान अधिकार छैन ।
- जिन बैंकले परम्परागत बालीको संरक्षणमा के गरिरहेको छ ?
जिन बैंकले रैथानेलाई प्रोत्साहन गर्नुपर्छ भन्ने भूमिका खेलेको छ । रैथानेलाई प्रोत्साहनका लागि संघसंस्था, सरकारी निकायलाई कन्भिन्स गर्ने कार्य गरेको छ । रैथानेमा अहिलेसम्म बनेका नीति नै सबै जिन बैंककै हो । रैथाने बालीसँग सम्बन्धित विभिन्न दिवस मनाउन हाम्रै योगदान हो । रैथाने प्रकाशन धेरै छ । सदाका लागि, सबैका लागि जिन बैंकले संरक्षण गरेको छ ।
सबैलाई निःशुल्क वितरण गर्ने कार्य गरेको छ । सबैका लागि सदाका लागि संरक्षण नगरेको भए रैथाने शतप्रतिशत हराएर जान्थ्यो । हामीसँग १८ हजार जाति रिपोर्ट भएका छन् । पछिल्लो समयको राम्रो पक्ष नेपालभरका सरकारी फर्म केन्द्र, किसानका संघ केन्द्र, युर्निभसिर्टीमा रैथाने संरक्षण गर्नुपर्छ भनेर एक सय एक असल अभ्यास छ ।
- के नेपालको कृषि प्रणालीमा परम्परागत बालीहरूको पुनःस्थापना गर्न सकिएला ?
सकिन्छ । धेरै हदसम्म सकिन्छ । अन्तर्राष्ट्रिय दुईवटा मुख्य सन्धि छ । त्यसको दाबेदार र सदस्य भएकाले रैथाने २५ हजार जात कुनै न कुनै हिसाबले जुन देशको हो त्यो देशले चाहन्छ भने दिनुपर्छ भन्ने छ । हाम्रो जात जापान, चीन, भारत, अमेरिकामा छन् भने हामीले माग्यो भने दिनुपर्छ । शतप्रतिशत सकिँदैन । तर, ५० देखि ६० प्रतिशतभन्दा बढी ल्याउन सकिन्छ ।
नेपालमा सन् १९८६ बाट संकलन सुरु भएको हो । विश्वमा सन् १९४५ देखि नै नेपालको रैथाने संरक्षण भएका छन् । प्राकृतिक रूपमा हराएका रैथाने फिर्ता ल्याउन सकिँदैन । तर, विश्वका जिन बैंकमा भएका नेपाली रैथाने जिन ल्याउन सकिन्छ । आफ्नो जिन आफ्नै देशमा फिर्ता गराउन सकिन्छ ।
तपाईंले भनेको पोइन्ट एकदम स्ट्रोङ हो । तर, यसमा सबै संघसंस्था लाग्नुपर्छ । बाली मात्रै हुँदैन, हामीले एक दिनमा १७ थरीको खान्छौँ । फिल्डमा बाली मात्रै सरभाइब हुन सक्दैन । एउटा धानको कुरा गर्नुहुन्छ भने त्यसको जरादेखि टुप्पोसम्म विभिन्न जीवाणुदेखि लिएर किराहरू, चराहरू हुन्छन् । रैथाने भनेर धान, गहुँ, कोदो, मात्रै भन्ने गरेका छौँ । एउटा किसान घर सस्टेन हुन ६ वटा तत्त्व आवश्यक पर्छ नै । यसलाई सन्तुलन गर्न सकिएन भने बाली मात्रैमा समस्या पर्छ । प्रयोगमार्फत संरक्षण गर्ने जो प्रयोगमा कमजोर छ यसलाई भ्यालु एड गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइपरसोनिक मिसाइलबारे किम जोङ उनले किन दिए यस्तो चेतावनी ?
-
ललितपुरको अवैध कल सेन्टरबाट ५३ जना पक्राउ
-
माघे सङ्क्रान्तिका लागि चाकु उत्पादनमा व्यस्त टोखाका व्यवसायी (तस्बिरहरू)
-
शपथ ग्रहण अघि ट्रम्पलाई झट्का
-
भूकम्पका कारण सिन्धुपाल्चोकको फुल्पिङकट्टी चौकीमा क्षति
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)