मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : लोपोन्मुख रैथाने बाली

खेत–बारीमा विदेशी बीउको राज, झन्–झन् मासिँदै रैथाने बाली

आइतबार, २१ पुस २०८१, ०९ : ५९
आइतबार, २१ पुस २०८१
  • दृष्टान्त १ 

चितवन रत्ननगरका किसान कृष्णप्रसाद बजगाईंले स्थानीय जातको धान नदेखेको चार दशक नाघ्यो । उमेरले ६० पुगेका उनले नयाँ–नयाँ विकासे धान आएपछि दूधराज, सत्तरी, थापा चिनीलगायत प्रजाति रोप्न त के बीउ देख्नै पाएका छैनन् । यी धान २०४५ सालयता आफूले रोप्न नपाएको बजगाईं सुनाउँछन् । 

kisan krishna pra bagjai

‘दूधराज र सत्तरी धान २०३० सालतिर लगाइन्थ्यो’, उनी भन्छन्, ‘२०४०–४५ सालसम्म थापा चिनी धान देख्न पाइन्थ्यो । मन्सुली आएपछि त्यो लोकल जातका धान भेटिन छोड्यो ।’ 

उनले १.५ बिगाहा जग्गामा खेती गर्दै आएका छन् । नयाँ जातका बीउले रैथानेलाई विस्थापित गरेको अनुभव बजगाईंको छ । भन्छन्, ‘छिटो तयार हुने र राम्रो उत्पादन दिने भएकाले नयाँ–नयाँ जात लगाउने गरेका छौँ ।’

  • दृष्टान्त २ 

सिरहामा एक दशक अघिसम्म एक–दुई थरी स्थानीय धान पाइन्थ्यो । तर, पछिल्लो समय रैथाने बीउ पाउन छाडेको सुनाउँछिन्, भगवानपुर गाउँपालिका–२ की शारदा चौधरी । ‘धुम्ब्रा, ख्रेरहा, खिम्ती, सुन्गहा धान रोपिन्थ्यो । त्यो धेरै मोटो हुन्थ्यो,’ उनी भन्छिन्, ‘अल्लि पछि फल्थ्यो त्यो धान । मंसिर–पुसमा काट्ने गरिन्थ्यो ।’

sarada chaudhary

उनका अनुसार स्थानीय धान मोटो हुन्थ्यो । धेरै फल्थ्यो । तर, खानपानमा फेरबदलसँगै मोटोको भात खान छाडेकाले मसिनो जातका बासमती, बंगली, सोना मन्सुलीलगायत रोप्ने गरेको पाइन्छ । ‘त्यो धानको भात एकदमै मोटो–मोटो हुन्थ्यो खानलाई । अहिले त्यति मोटो भात खाँदैन मान्छेहरू,’ उनी भन्छिन् । 

  • दृष्टान्त ३

कैलालीको थारू सामुदायमा एक–दुई दशकअघि लाल अनदी धान प्रचलित थियो । यो प्रजाति पनि हराउँदै गएको छ । यसको सट्टामा नयाँ जातको रोप्ने गरेको किसान दुर्गा चौधरी सुनाउँछिन् ।

‘१०–१२ वर्ष पहिला लाल अनदी धान सबैले २–३ कठ्ठामा रोप्थे,’ उनी भन्छिन्, ‘अहिले त्यो धानको बीउ पनि पाउन मुस्किल छ ।’ यसो हुनुमा अनदी गुण भएको नयाँ प्रजाति आएको ठम्याइ उनको छ । अनदीको भात लेसिलो हुन्छ । 

gene bank (2)

०००

हाम्रा रैथाने बाली र बीउ कसरी मासिँदै छन् भन्ने दृष्टान्त हुन् यी । यसले खेत–बारीमा आयातीत (विदेशी) अर्थात् विकासे बीउको राज चलिरहेको देखाउँछ । देशभर औसतमा ५० प्रतिशत रैथाने बाली हराइसकेका छन् । यो तथ्य राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक)को अध्ययनले देखाएको हो । उक्त अध्ययनअनुसार बजारनजिक र सडक सुविधा पुगेको क्षेत्रमा स्थानीय प्रजाति शतप्रतिशत नै लोप भइसकेका छन् । 

हाइब्रिड बीउले ९५ प्रतिशत स्थान ओगटेको छ । पछिल्लो एक दशकको भन्सार विभागको तथ्यांकले बर्सेनि अर्बौं रकमको बीउ आयात भइरहेको देखाउँछ । निर्यात भने त्यसको तुलनामा निकै कम छ । (हेर्नुहोला आयात–निर्यातको विवरण)

जिन बैंक प्रमुख डा. बालकृष्ण जोशी विभिन्न ठाउँमा सर्भे गर्दा ५० प्रतिशत रैथाने बाली हराएको पाइएको सुनाउँछन् । ‘हामीले केही ठाउँमा किसानलाई सोध्दा शतप्रतिशत भनिएको छ,’ उनी भन्छन्, ‘यस्तो समस्या विशेषतः तराई र जहाँ बजार नजिक छ त्यस्ता क्षेत्रमा रैथाने बीउ शतप्रतिशत हराइसकेका छन् ।’

raithane 1

जिन बैंकको सन् २०१७ को तथ्यांकले यो अवस्था देखाएको हो । ‘अहिले अझै बढी रैथाने बाली हराइसकेका होलान्’, डा. जोशी भन्छन् । उनका अनुसार हिमाली भेगमा भने अझै केही रैथाने बाली पाइन्छन् ।

  • आयातीत बीउ सजिलै दर्ता, रैथानेको छैन  

हामीकहाँ बीउ–बिजन कारोबार गर्न अनुमति लिनुपर्ने व्यवस्था छ । बीउ–बिजन ऐन २०४५ को दफा ११(क)१ मा लेखिएको छ, ‘कुनै व्यक्ति वा संस्थाले बीउ–बिजनको बिक्रीवितरण सम्बन्धी कारोबार गर्न चाहेमा तोकिए बमोजिमको दस्तुरसहित तोकिएको अधिकारीसमक्ष निवेदन दिई तोकिएको ढाँचामा अनुमतिपत्र लिनुपर्नेछ ।’

अनुमति नलिई बिक्रीवितरण गरेको पाइएमा त्यस्तो बीउ–बिजन बाली निरीक्षकले जफत गर्ने व्यवस्था छ । यस्तै, दफा ११ख.ले सूचित नभएका बीउ–बिजन बिक्रीवितरण गर्न रोक लगाएको छ । यसकै उपदफा ११ख.२ मा लेखिएको छ, ‘कसैले उपदफा ११ख.१ बमोजिम सूचित नभएका बीउ–बिजन बिक्रीवितरण गरेको पाइएमा त्यस्तो बीउ–बिजन बाली निरीक्षकले जफत गर्नेछ ।’

विज्ञका अनुसार आयातीत बीउ सजिलै दर्ता गर्न सकिन्छ । राजपत्रमा प्रकाशित बीउको सूचीमा ९५ प्रतिशत आयातीत रहेको जिन बैंक प्रमुख डा. जोशीको भनाइ छ । भन्छन्, ‘जो दर्ता छैन हाम्रो रैथाने बीउ हो ।’ रैथाने दर्ता गर्ने नीति बन्न नसकेकाले देशभरका खेतमा आयातीत, विकासे वा हाइब्रिड पुग्ने गरेको देखिन्छ ।

डा. जोशीका अनुसार यस्ता बीउ खेतबारीमा पुर्‍याउँदा बढी उत्पादन दिने, थोरै समयमा पाक्नेजस्ता प्रचार गरिएको छ । किसानलाई हाइब्रिड वा विदेशी राम्रो हो भन्ने परिभाषा गरिएको उनको भनाइ छ । सरकारी निकाय र संघसंस्थाले किसानलाई सहुलियतमा बीउ वितरण गर्दा आयातीत नै उपलब्ध गराउने गरेका छन् । 

‘हाम्रो पोलिसी, पुस्तक, तालिम, प्रचारप्रसारमा हामीले रैथानेले उत्पादन दिँदैन भन्ने गरियो,’ डा. जोशी भन्छन् । 

  • किन लगाउन छाडियो रैथाने बाली ?

नेपालमा भौगोलिक विविधता भएकाले त्यहीअनुसार स्थानविशेष उत्पादन भएजस्तै ती बालीका लागि फरक–फरक प्रविधि आवश्यक देखिन्छ । तर, त्यस्ता प्रविधि उपलब्ध हुन नसकेकाले किसानले रैथाने बाली लगाउन छाडेको रैथाने एग्री प्रडक्ट्स नेपालका अध्यक्ष तिलक ढकालको भनाइ छ । किसानले प्रविधि र बजार जोड्न नसकेर रैथाने उत्पादन छाडेको दाबी उनी गर्छन् । 

tilak dhakal

‘उत्पादन नभएर मात्रै किसानले लगाउन छाडेको होइन । बजार नपाएर पनि हो,’ ढकाल भन्छन्, ‘नयाँ प्रविधिहरू रैथाने बालीसँग जोडिएको छैन । कोदो टिप्ने, फापर दिप्ने, चुट्ने मेसिन हुनुपर्यो । तर, त्यो छैन ।’ 

उनका अनुसार रैथानेको विविधीकरण गरी बजारीकरणमा जोड दिइएको छैन । समय–सान्दर्भिक परिकार पनि बनाउन नसक्दा पनि किसानले रैथाने उत्पादन छाडेको उनी सुनाउँछन् । 

रैथाने जिन नास हुँदै जानुमा विभिन्न कारण देखाउँछन्, जिन बैंकका सूचना अधिकारी डा. मुकुन्द भट्टराई । जसमा वासस्थान नास हुनु तथा टुक्रिनु, बाह्य मिचाहा प्रजातिको प्रवेश, कृषि प्रणाली र खेतीपातीको तौरतरिकामा परिवर्तन, भूउपयोग परिवर्तन, जलवायु परिवर्तन, बढ्दो सहरीकरण, प्राकृतिक स्रोतको अत्यधिक दोहनलगायत रहेको उनको भनाइ छ । यसका साथै आगलागी, अत्यधिक चरिचरन, मानव र वन्यजन्तुबीच द्वन्द्व पनि रहेको तर्क भट्टराईको छ । 

Dr. mukunta bhattarai

किसानले पनि नयाँ जात, धेरै उत्पादन दिने र छोटो समयमा तयार हुने बाली भन्दै संघसंस्था, सरकारी निकायबाट निःशुल्क वितरण गरिएका बीउ लगाउने गरेका छन् । जसकारण आफूले परम्परागत रूपमा लगाउँदै आएको बीउ हराएको जानकार बताउँछन् । 

  • विकासे बीउले हैरानी, हरण हुँदै किसानको अधिकार 

एक वर्ष रोपेको बालीको बीउ राख्दा अर्को पटक उम्रिँदैन । जसकारण हरेक वर्ष नयाँ बीउ किन्नुपर्ने बाध्यतामा छन् किसान । यसो हुनुमा हाइब्रिड प्रयोग नै कारक हो । यस्ता बीउ एकपटक रोप्दा उत्पादन दिने भए पनि अर्को पटक पुनः प्रयोग गर्न नसकिने समस्या हुन्छ । 

चितवनका किसान बजगाईं हरेक वर्ष नयाँ बीउ खरिद गर्ने गरेको सुनाउँछन् । ‘पुराना जातका धानका बीउ पनि आजभोलि भेटिँदैन,’ उनी भन्छन्, ‘यो हाइब्रिड जातका धान बीउ राख्न मिल्दैन । ती जातका धान बीउ राख्न पाइन्थ्यो । तर, अहिले बर्सेनि बीउ किन्नुपर्छ ।’

अर्की किसान चौधरी पनि नयाँ बीउबाट खेती गर्दा रोग–किरा लागेर उत्पादन कम हुने अनि बीउ नपाइने समस्या रहेको सुनाउँछिन् । 

gene bank (6)

यसरी नेपालमा विदेशी बीउको राज चलिरहेको देखिन्छ । ९५ प्रतिशत विदेशी बीउमा भर पर्नु गम्भीर विषय हो । यसले किसानको अधिकार नै हनन् गरेको छ । । डा. जोशी बीउमा किसानको अधिकार बिस्तारै हरण हुँदै गएको बताउँछन् । 

‘अधिकार विदेशी वा अन्य बीउ कम्पनीले अथवा अन्य जातले पायो,’ उनी भन्छन्, ‘कृषिमा बौद्धिक अधिकार भन्छौँ त्यस्तो किसानलाई कुनै पनि अधिकार छैन । हाम्रो कृषिमा पुरानो र धेरै प्रविधि छ । त्यसको सबै जननी कृषक हुन् । तर, किसानलाई त्यो अधिकार जिरो छ ।’ कृषिसँग सम्बन्धित निकायले किसानको परम्परागत अधिकारलाई स्थापित गर्नुको साटो विस्थापित गरेको उनी गुनासो गर्छन् ।

विज्ञका अनुसार विकासे प्रजातिमा कार्बोहाइडेट बढी हुन्छ । रैथानेमा फाइभर, भिटामिन, सूक्ष्मजीवाणुलगायत खाद्य तत्त्व पाइएका छन् । रैथानेले पाँच क्षेत्रमा योगदान दिने सम्बद्ध अधिकारी बताउँछन् । ती क्षेत्र खाद्य सुरक्षा, स्वास्थ्य सुरक्षा, पोषण सुरक्षा, व्यवसाय सुरक्षा र वातावरणीय सुरक्षा हुन् । यी पाँच क्षेत्रमा तुलना गर्ने हो भने विकासेभन्दा रैथानेको योगदान राम्रो छ । रैथाने मासिँदा जैविक विविधतामा नै असर पर्ने देखिन्छ ।

gene bank (5)

  • दोहोरो नीतिको सकस, रैथानेमा ‘भ्यालू एड’ गर्न आवश्यक

रैथाने बाली संरक्षण गर्न विभिन्न पहल भएका देखिन्छन् । तर, ती पहल दोहोरो नीतिले बाँधिएका छन् । एकार्फत विभिन्न निकायले उत्पादन बढाउन हाइब्रिड बीउ–बिजन सहुलियतमा बाँड्ने गरेका छन् । अर्कातर्फ रैथाने जोगाउनुपर्नेमा जोड दिएको देखिन्छ । 

दोहोरो नीतिभन्दा एक प्रकारको नीतिमा जान विज्ञ सुझाउँछन् । जसका लागि सरकारी निकायबाट रैथाने बालीमा ‘भ्यालू एड’ गर्नुपर्ने देखिन्छ । यसका साथै रैथाने संरक्षण गर्न राष्ट्रिय गौरवका आयोजना ल्याउनुपर्ने हुन्छ । 

gene bank (3)

सुख्खा, पानी, चिसो, तातो सहन सक्ने र थोरै उत्पादन दिने रैथानेका गुण हुन् । तर, यी बाली किसानले लगाउन छाडेका छन् । थोरै उत्पादन दिने बालीको सट्टामा आजभोलि किसानले बढी उत्पादन दिने हाइब्रिड लगाउन थालेका छन् । यसो हुनु पनि स्वाभाविक नै हो । उत्पादनकर्ता वा किसानले आफ्नो खेतमा धेरै फल्ने भएपछि सोही बीउ नै रोज्ने भए । 

रैथाने उत्पादनबाट बन्ने खानाका परिकारमा विविधीकरण गरी बजारीकरणमा जोड दिन ढकाल सुझाउँछन् । ‘बजारमा पाइने समय सान्दर्भिक खाने परिकार पनि रैथाने बालीबाट बनाउन सकिन्छ,’ उनी भन्छन्, ‘रैथाने बालीलाई प्रविधिसँग पनि जोड्नुपर्छ ।’

डा. भट्टराई संरक्षणका लागि पाँच रणनीति आवश्यक रहको बताउँछन् । उनका अनुसार प्रचारप्रसार र सचेतना अभिवृद्धि, प्रविधि एवं उत्पादन सहयोग, परिकार विविधीकरण तथा मूल्य अभिवृद्धि, उद्मशीलता एवं बजारीकरण सहयोग, रैथाने जातको संरक्षण गर्नुपर्छ । 

gene bank (4)

सरकारले रैथाने जोगाउने र खाद्यान्न पुर्‍याउने गरी दुवै नीति लिनुपर्ने अवस्था रहेको बताउँछिन्, कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी प्रवक्ता डा. मतिना जोशी वैद्य । ‘एकातिर हाइब्रिड बीउ प्रयोग गरेर उत्पादकत्व बढाउने, लागत घटाउने, सस्तो मूल्यमा खाद्यान्न उपलब्ध गराउनुपर्नेछ । अर्कातर्फ रैथाने बाली– बिरुवालाई जोगाउनुपर्नेछ’, उनी भन्छिन् । 

उनका अनुसार जलवायु परिवर्तनले रैथानेलाई असर पार्दैन । तर, हाइब्रिडलाई धेरै नै  असर पार्छ । ‘सरकारले रैथाने बालीलाई प्रवद्र्धन गर्नुपर्ने महसुस गरेको छ । नीतिगत रूपमा सबै ठाउँमा संघ, प्रदेश र स्थानीय तहबाट सम्बोधन भई नै रहेको छ’, उनी भन्छिन्, ‘जलवायु परिवर्तनसँग जोडिएर आएको छ । यसलाई प्रवद्र्धन र संरक्षण गर्नु आवश्यक पनि हो ।’

gene bank (8)

  • जिन बैंककोे संरक्षणमा १०५९४ रैथाने बाली–बिरुवा

जिन बैंकले रैथाने जिन संरक्षण गर्ने गरेको छ । बैंकमा १८ हजार २ सय ८० रैथाने संरक्षण भएको दाबी गर्छन् डा. भट्टराई । तर, गत आवसम्म १० हजार ५ सय ९४ संरक्षण गरेको तथ्यांकले देखाउँछ । 

यो सरकारी निकायले तीन तरिकाले रैथाने बाली संरक्षण गर्ने गरेको छ । पहिलो दीर्घकालीन भण्डारण । जहाँ ५० वर्षदेखि १ सय वर्षसम्म बीउ संरक्षण हुन्छ । दोस्रो मध्यकालीन भण्डारण । यसमा १० वर्षदेखि १५ वर्षसम्म संरक्षण हुन्छ । तेस्रो, अल्पकालीन सात वर्षका लागि बीउ भण्डारण संरक्षण गरिने डा. भट्टराई बताउँछन् । 

यहाँ रैथाने बाली किसानले आफैँ ल्याएर संरक्षण गर्न सक्ने व्यवस्था छ ।साथै आवश्यक परेको बेला बीउ पनि लैजान सक्छन् । देशभर ७५ सामुदायिक बीउ बैंकमा रैथाने बीउ संरक्षण गरिएको छ । ‘संकलन भएका बीउको जार्मिनेसन परीक्षण गरी ८५ प्रतिशत रहेको पाइएमा संरक्षण गछौँ’, उनी भन्छन् ।  

जिन बैंकले विद्युतीय प्रविधिमार्फत बीउ संरक्षण गर्न थालेको छ । यसमा संरक्षणकर्ताको नामसहितको क्यूआर कोड तयार गरी संरक्षण गर्ने गरिएको छ ।  

जिन बैंकले संरक्षण गरेका बीउ

data-2

बैंकमा संरक्षण गरिएकामध्ये अन्न बाली ६ हजार ४ सय १२ छन् । यस्तै, दलहन बालीमा १ हजार ४ सय १० वटा छन् । नक्कली अन्न ६ सय ३७, कोदो १ हजार १ सय ९४, तेल बाली २ सय ९८, तरकारी ३ सय ६८ वटा छन् । डाले तथा घाँसे २१, फलफूल ३, मसला ९५, रेशा ९, बालीका जंगली नातेदा १ सय ७ र अन्य ४० वटा संरक्षण गरिएका छन् ।  

जिन बैंकमार्फत विभिन्न रैथाने बालीको संरक्षण भइरहेको बताउँछिन् मन्त्रालयकी प्रवक्ता डा. वैद्य । ‘संघीय ससर्त बजेटमा पनि रैथाने बालीसँग सम्बन्धित अनुदानहरू गइरहेको छ । उत्पादन मात्रै गरेर पुगेन । उपभोक्तासम्म पुर्‍याउनुपर्यो । यसका लागि विभिन्न प्रडक्ट बनाउने गरिएको छ’, उनी भन्छिन्, ‘स्वास्थ्य तथा पोषणका लागि पोलिस नगरेको रैथाने परिकार खाने प्रचलन बढेको छ । यसका साथै चिनो कागुनो, कोदो, फापरका परिकार पनि खाने गरिएको पाइन्छ ।’

gene bank (7)

उनका अनुसार एकातर्फ सरकारले खाद्य सुरक्षालाई ध्यान दिनुपर्यो । अर्कातर्फ सबै नगारिकलाई खाद्यान्न पुर्‍याउनु नै पर्नेछ । नपुगेको अवस्थामा आयात गर्नुपर्ने अवस्था छ । 

‘हामीले रैथानेको भरमा मात्रै उत्पादन गर्ने हो भने उत्पादकत्व कम हुन्छ । रोग, किरासँग लड्ने क्षमता बढी हुन्छ । उत्पादकत्व हाइब्रिडमा बढी नै हुन्छ । हाइब्रिड सबै बालीमा होइन कि जस्तोः धान, गहुँ, मकैमा हाइब्रिड नलगाई सुक्खै छैन,’ उनी भन्छिन्, ‘तर, रैथानेको महत्त्व विशेष गरेर पहाडी र उच्च पहाडी भेगमा विभिन्न मिलेटहरू कोदो, कगुनो, फापर, चिनोलगायत बाली सहरी क्षेत्रमा प्रख्यात पनि छ । त्यो हिसाबमा सुख्खा ठाउँमा, रोग किरा नलाग्ने, निरन्तर सिँचाई धेरै नचाहिने भएकाले ती ठाउँहरूका लागि संरक्षण गर्न जरुरी पनि छ ।’

gene bank (2)

रैथानेमा विभिन्न गुण हुन्छन् । खाँदा स्वादले नै आनन्द दिन्छ । थोरै खाए पनि दरिलो हुन्छ । पोषणले भरिपूर्ण हुन्छ । जिब्रोमा एकपटक लागेको तिक्खर स्वाद कसैले कहिले पनि बिर्सिंदैन । तर, मौलिक ‘तिक्खर’ स्वादका रैथाने बाली आजभोलि ‘भक्काइन’ भएका छन् । अर्थात्, थारू भाषामा धान वा चामल बिग्रेर आउने गन्ध वा बन्ने स्वाद ‘भक्काइन’ हुन्छ । त्यसरी रैथाने बालीको स्वादका सट्टामा अन्य बालीले स्थान ओगटेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप