मधेसी दलहरू एकता होइन, मोर्चा बनाउन सकारात्मक
काठमाडौँ । पछिल्लो समय मधेसी दलहरूबिच एकता र सहकार्यका लागि भेटवार्ता र छलफलहरू तीव्र हुँदै आएको छ । तर नेताहरू एकता गर्नमा भन्दा मोर्चा बनाएर अघि बढ्नुपर्नेमा सकारात्मक देखिएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अनिलकुमार झाले मधेसमा गठबन्धन बनाउनका लागि सबै तयार हुनुपर्ने बताएका छन् । मधेसी एकता सम्बन्धी राजधानीमा शनिवार आयोजित एक कार्यक्रममा उनले एक अर्काको बारेमा टीकाटिप्पणी गर्न छाडेर सहकार्यका लागि तयार हुनुपर्ने बताए ।
'कसले कहाँ के कमी कमजोरी गरे त्यतातिर अहिले जाने बेला होइन, सहकार्यका लागि सबै पक्षबाट पहल हुनुपर्छ, उनले भने ।
लोसपा नेपालका उपाध्यक्ष लक्ष्मणलाल कर्णले पनि विगतमा कसले के गरे त्यसको बारेमा टिप्पणी गर्दै जाने हो भने एकता वा मोर्चाबन्दी कहिले हुँदैन भन्दै सहकार्य तथा एकताका लागि सबै कुरा बिर्सेर लाग्नुपर्ने बताए ।
मधेसी युवा संजय यादवले संयोजन गरेको कार्यक्रममा उनले भने, ‘अहिलेको अवस्थामा एकता सम्भव छैन, मोर्चा बनाएर जानुपर्छ । कसै कसैले एकताभन्दा पहिले मधेसमा डायग्नोसिस हुनुपर्ने बताएका छन्, यदि डायग्नोसिसतिर लाग्यो भने सहकार्य हुँदैन त्यसैले अहिले सिर्फ सहकार्यको कुरा गर्नुपर्छ ।'
जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादवले मधेसमा मधेसवादी दलको बिचमा सहकार्य वा एकता अपरिहार्य छ तर परम्परा ढङ्गले हुँदैन विशेष खालको सहकार्य हुनु आवश्यक रहेको बताए । 'देशको स्थिति पहिला जस्तो छैन, अन्तर्राष्ट्रिय राजनीतिमा परिवर्तन आएको छ त्यसको प्रभाव नेपालमा पनि परेको छ, त्यो ढङ्गबाट पनि सोच्ने बेला आएको छ', उनले थप भने, ‘मधेसले पनि अन्तर्राष्ट्रिय राजनीतिमा चासो लिएर आफ्नो रणनीति बनाएर अगाडि बढ्नुपर्छ ।’
मधेसीले आफ्नो क्षमता बढाउनुपर्छ र लडाइँको स्वरूप परिवर्तन गर्नुपर्छ भन्दै उनले आफ्नो अधिकार लिनका लागि सङ्घर्षको विकल्प नरहेको धारणा राखे ।
जनता समाजवादी पार्टीका उपाध्यक्ष रेणु यादवले मधेसको पार्टी अलग अलग भएपनि मुद्दामा एक रहेको बताइन् । जो जहाँ भएपनि आवश्यक परेको बेलामा एक ठाउँ आउनु नै ठुलो कुरा रहेको बताउँदै उनले देशको परिस्थिति अनुसार एकता र सहकार्यका लागि अगाडि बढ्नुपर्ने बताइन् ।
देशको राजनीतिक अवस्था हेर्दा दलहरूको बिचमा सहकार्य आवश्यक रहेको बताउँदै उनले सहकार्य वा मोर्चाबन्दीबाट कुनै पनि दल पछाडि हट्न नहुने बताइन् । विगतमा दलबाट भएको कमी कमजोरीको बारेमा पनि समीक्षा हुनुपर्ने उनले बताइन् ।
मधेसी युवा संजय यादवले देशको राजनीतिक परिस्थितिका कारण मधेसी दलबिच एकता हुनुपर्ने भन्दै त्यसको वातावरण बनाउन यो कार्यक्रमको आयोजना गरेको बताए । एउटै मुद्दा, एउटै विचार भएका पार्टीहरु अलग अलग लडाइ लडेर केही प्राप्त नहुने भन्दै उनले एक ठाउँमा आएर संयुक्त रूपमा सङ्घर्ष गरेमा मात्र केही प्राप्त हुने धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२९ वर्षदेखि ओडारमा व्यापार
-
माघमा ‘विराट एक्स्पो’ हुने
-
१२ बजे, १२ समाचार : रविमाथि राजनीतिक पूर्वाग्रह साँधिएको प्रतिवादीका वकिलको जिकिरदेखि कुलमानलाई सरकारले फेरि सोध्यो स्पष्टीकरणसम्म
-
जनार्दनको विषयमा प्रचण्डको ९ मिनेट : हिजोको तिक्तताको स्थिति अब अन्त्य हुन्छ !
-
पासाङको राजनीतिक सक्रियतामाथि माओवादी बैठकमै उठ्यो प्रश्नै प्रश्न
-
क्यानडाका प्रधानमन्त्री ट्रुडोले दिए राजीनामा