सभापति पोखरेलका स्वकीयको ठगी धन्दा : चेकको अर्धकट्टीमा भुक्तानी लिएको भन्दै हस्ताक्षर !
विराटनगर । नेकपा एमालेका सांसद एवम् सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव तथा एमाले मोरङका सदस्य अनिलकुमार पोखरेलले एमबीबीएसमा निकालिइदिनकै लागि रकम लिएको लिखत, प्रमाण फेला परेको छ ।
सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका– ५ का बौआलाल चौधरीसँग छोरी दीक्षा चौधरीको नाम एमबीबीएसमा निकालिइदिनकै लागि पोखरेलले ३८ लाख ८० हजार रुपैयाँ बुझेको चेकको अर्धकट्टीमा पोखरेल आफैंले हस्ताक्षर गरेको प्रमाण फेला परेको हो ।
विभिन्न मितिमा चौधरीसँग सो रकम लिएपछि २२ मङ्सिर २०७३ मा चेकको अर्धकट्टीमा रकम बुझेको हस्ताक्षर गरेको पाइएको छ । ‘तपाइको छोरी दीक्षा चौधरीलाई एमबीबीएसमा भर्ना गराउन लाग्ने ३८ लाख ८० हजार रुपैयाँ चेकमार्फत बुझिलिएको छु’ पोखरेलले चेकको अर्धकट्टीमा लेखेर हस्ताक्षर गरेका छन् ।
वरिष्ठ कृषि प्रसाद अधिकृतमा कार्यरत चौधरीले विराटनगर १४ डिग्री क्याम्पस अगाडिको १ कट्ठा जग्गा बिक्री गरेर अनिललाई पैसा दिएको बताएका छन् । ‘दुःख गरेर कमाएको पैसाले किनेको एक कट्ठा जग्गा ४० लाखमा विक्री भयो । छोरीलाई डाक्टर बनाउन सो जग्गा विक्री गरेको पैसा २०७१ देखि २०७३ मा पटक–पटक गरेर बुझाएको थिएँ,’ चौधरीले भने, ‘सबै रकम बुझेपछि पोखरेलले विराटनगरमा आएर चेकको अर्धकटट्टीमा हस्ताक्षर गरेका हुन् ।’
एमबीबीएसको प्रवेश परीक्षामा छोरीलाई उत्तीर्ण गराइदिने र होस्टलमा राख्ने वातावरण बनाइदिने भन्दै पोखरेलले चौधरीबाट रकम लिएका थिए । तर, दीक्षाको नाम निस्किएन । चौधरीले पहिलो किस्ताबापत २०७१ फागुन १३ मा साथी केदारप्रसाद घिमिरेमार्फत अनिललाई ५० हजार रुपैयाँ दिएका थिए भने रामदेव सिंहमार्फत १ लाख रुपैयाँ नबिल बैंकमा रहेको अनिलको खाता नं ३५१००१७५०३९८१ मा जम्मा गरेको बैंक भौचरमा उल्लेख छ । २०७३ जेठ १३ मा नबिल बैंकको सोही खातामा १ लाख ३० हजार जम्मा गरिएको थियो । २०७३ मङ्सिर २२ मा बौआलालले एकमुष्ट १८ लाख रुपैयाँ जम्मा गरिदिए ।
चौधरीका अनुसार पैसा लिएपछि अनिल करिब ३–४ महिना सम्पर्कविहीन भएका थिए । एमबीबीएसको प्रवेश परीक्षामा छोरीको नाम निस्केला भनेर पर्खेर बसेका उनी पोखरेल सम्पर्कविहीन भएपछि निराश भए । ‘बल्लतल्ल सम्पर्क हुँदा कहिले अस्ट्रेलिया पुगेको छु भन्थे, कहिले क्यानडा,’ चौधरीले भने, ‘त्योबेला म र परिवार पुरै तनावमा थियौं, एकातिर छोरीको डाक्टर बन्ने सपना उसको विश्वासमा पर्दा तुहियो, अर्कोतिर रकम पनि डुब्यो ।’
चौधरीका अनुसार एकपटक अनिलले सहकारीमा पैसा राखेको र चाहिएका बेला झिक्न मिल्ने बताएका थिए । अर्कोपटक भने क्यानडाबाट आफ्नो एक करोड रुपैयाँ आउन लागेको र आउने बित्तिकै पैसा फिर्ता गर्ने आश्वासन दिएका थिए । एक पटक पैसा नभएको बैंक खाताको चेक पनि दिन खोजेको भएपनि लिन नमानेको उनले बताए ।
एमाले मोरङको जिल्ला अधिवेशनताका पनि अनिलको ठगी धन्धाबारे बौआलालले ध्यानाकर्षणसहित निवेदन दिएका थिए । तर, एमालेबाट बौआलालले सहयोग पाएनन्, बरु अनिलले भने संरक्षण पाइरहे ।
२०७९ साउन ९ मा भने हिसाब चुक्ता गरिदिन्छु भनेर अनिलले बौआलाललाई काठमाडौँ बोलाए । ‘तपाईंको हिसाब चुक्ता गरिदिन्छु आउनुहोस् भनी बोलाई ८–१० जनाको समूहले मलाई २०७४ असार २५ गते आइतबारको मिति राखिएको कपाली लिखतमा ऋणी बनाई ५० लाख रुपैयाँको कागज बनाएर जबरजस्ती हस्ताक्षर गराए,’ उनले अदालतमा दिएको निवेदनमा उल्लेख छ ।
उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको इजलासले गत भदौमै अनिलविरुद्ध जाहेरी दर्ता गरी कानुनअनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको छ । आदेशको पुस ११ गते प्रमाणीकरण भएको छ । तर, अझै प्रहरीले आदेश आई नपुगेको भन्दै अनुसन्धान अगाडि बढाएको छैन ।
एकातिर ठगीमा परेको र अर्कोतिर किर्ते तमसुक बनाएर उल्टै आफूलाई ऋणी बनाएपछि चौधरीले ५० लाख ऋणको कपाली लिखत बदर गरी आफ्नो ३८ लाख ८० हजार रकम फिर्ता गराइदिन प्रहरी गुहारेका थिए । उनी अनिलमाथि कानुनी कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय रंगेली पुगेका थिए । प्रहरीले जिल्लामा निवेदन दर्ता गर्नु भन्दै फर्काइदियो । उनी पोखरेललाई रकम दिएको बैंक भौचर र पोखरेलले रकम बुझेको भन्दै गरेको हस्ताक्षरसहितको कागजसहित जिल्ला प्रहरी कार्यालय मोरङ पुगे । तर, प्रहरीले प्रमाण नपुग्ने भन्दै जाहेरी दर्ता गर्न मानेन ।
बौआलालले जिल्ला सरकारी वकिलको कार्यालय गुहारे । त्यहाँबाट पनि उनको पीडा सुनुवाइ भएन । त्यसपछि उनले २०७९ साउन १८ मा जाहेरी हुलाकबाट प्रहरीलाई पठाए । प्रहरीले हुलाकबाट आएको पत्र बुझेपनि जाहेरी दर्ता गरेन । त्यससपछि उनले अनिलमाथि ठगीमा अनुसन्धान गर्नका लागि प्रहरी र वकिल कार्यालयका नाममा परमादेश जारी गरिपाऊँ भनेर उच्च अदालत पुगेका थिए ।
उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको इजलासले गत भदौमै अनिलविरुद्ध जाहेरी दर्ता गरी कानुनअनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको छ । आदेशको पुस ११ गते प्रमाणीकरण भएको छ । तर, अझै प्रहरीले आदेश आई नपुगेको भन्दै अनुसन्धान अगाडि बढाएको छैन ।
२०७१ सालमा कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र झुम्का, सुनसरीको प्रमुख थिए, बैआलाल । त्यसबेला बैआलालको साथी रामदेव सिंहमार्फत अनिलसँग चिनजान भएको थियो । चिनजानका क्रममै अनिलले आफ्नो ‘माथिसम्म’ राजनीतिक पहुँच रहेको बताएपछि बौआलालले सहजै पत्याए ।
बैआलालको श्रीमती बीएससी नर्सिङ भएकोले छोरीलाई डाक्टर बनाउने सपना चौधरी परिवारले देखेको थियो । त्यतिबेला छोरी दीक्षा एसएलसी सकेर बसेकी थिइन् । डाक्टर पढ्ने छोरीको धोको पूरा गर्न बौआलालले अनिलसँग सहयोग मागे । त्यसपछि अनिलले ‘म नाम निकाल्न लगाइदिन्छु तर त्यसबापत पैसाचाहिँ निकै खर्च गर्नुपर्छ’ भनेको बौआलाल बताउँछन् ।
एमालेको निरन्तर संरक्षण
प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल र एमाले पार्टीले नै अनिल पोखरेलविरुद्ध तीन वर्ष अगाडि पार्टीमा आएको उजुरीलाई बेवास्ता गर्दै उनको संरक्षण गरेको खुलेको छ ।
ऋषिकेश पोखरेल नेकपा एमाले मोरङको अध्यक्ष हुनसाथ अनिल पोखरेलले ठगी गरेको भन्दै पार्टी कार्यालयमा उजुरी दिएका थिए । बौआलाल चौधरीले २०७८ पुस २७ गते नेकपा एमाले मोरङमा लिखित निवेदन दिएका थिए । उनले नेकपा एमाले मोरङका अध्यक्षलाई सम्बोधन गरेर पत्र लेखेको खुलेको हो । त्यसबेला एमाले अध्यक्ष उनै ऋषिकेश पोखरेल थिए । ऋषिकेश पछिल्लो पटक २०७८ पुस २३ गते भएको अधिवेशनबाट एमाले मोरङको अध्यक्ष बनेका थिए ।
चौधरीले गरेको उजुरीको बेवास्ता गरेका ऋषिकेशले ठगीको आरोप लागेका अनिललाई एमाले मोरङको जिल्ला सदस्य मात्र बनाएनन्, आफ्नै स्वकीय सचिवसमेत नियुक्त गरे । त्यसो त चौधरीले लिखित पत्र पार्टीमा बुझाउनु भन्दा अगाडि पनि एमाले पार्टी कार्यालय पाञ्चालीमा पटक–पटक पुगेर न्यायको याचना गरेका थिए ।
अनिलले लालबाबु पण्डित स्थानीय विकास मन्त्री हुँदा कर्मचारी सरुवाको लागि रकम उठाएको खुलेको थियो । पैसा लिएर कर्मचारी सरुवा गर्न मन्त्रालय पुगेपछि मन्त्री पण्डितले हप्काएर पोखरेललाई फर्काएको एमाले स्रोत बताउँछ ।
एमाले स्रोतका अनुसार ठगीमा मुछिएका पोखरेल नेकपा एमालेको मोरङ–काठमाडौँ सम्पर्क मञ्चका सचिव र अध्यक्ष रहिसकेका व्यक्ति हुन् । उनले चौधरीलाई ठगी गर्दा सम्पर्क मञ्चको नेतृत्वमा नै थिए । ‘त्यसबेला उजुरी आएपछि ऋषिकेश पोखरेलले यस्ता उजुरीको वास्ता गर्नुहुन्न, अनिल पार्टीको इमान्दार कार्यकर्ता हो भन्नुभएको थियो’, एमाले मोरङका एक सदस्यले त्यसबेलाको घटना स्मरण गरे, ‘ऋषिकेशकै संरक्षणमा रहेका अनिलले उनकै आडमा धेरैलाई ठगेको गुनासो पार्टीलाई पहिले नै जानकारी थियो ।’
बौआलालले पार्टीको जिल्ला इन्चार्ज, केन्द्रीय सदस्य र एमाले रंगेली नगर कमिटीलाई पनि अनिल पोखरलबाट ठगिएको पत्रको बोधार्थ दिएका थिए । तर पोखरेलबारे कतैबाट पनि सोधपुछ भएन । बरु उनी पार्टी जिल्ला सदस्य मात्र भएनन्, प्रदेशसभाको उम्मेदवार नै सिफारिस भए । प्रदेशसभाको टिकट नपाएपछि ऋषिकेशले उनलाई स्वकीय सचिव बनाए ।
अनिलले लालबाबु पण्डित स्थानीय विकास मन्त्री हुँदा कर्मचारी सरुवाको लागि रकम उठाएको खुलेको थियो । पैसा लिएर कर्मचारी सरुवा गर्न मन्त्रालय पुगेपछि मन्त्री पण्डितले हप्काएर पोखरेललाई फर्काएको एमाले स्रोत बताउँछ । शिवमाया तुम्बाहाम्फे भूमिसुधार मन्त्री भएको बेला पनि पोखरेलले विभिन्न व्यक्तिसँग सरुवा र नियुक्तिको लागि रकम लिएको आरोप छ ।
पोखरेलको ठगीबारे समाचार प्रकाशित भएपछि भने लेखा समिति सभापति रहेका पोखरेलले स्वकीय सचिव पदबाट हटाएका छन् । स्वकीय सचिवबाट हटाएको पत्र सङ्घीय संसद् सचिवालयलाई शुक्रवार पठाइसकेका छन् । तर, उनी अहिले पनि एमालेका जिल्ला सदस्य कायमै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज गणेशको बार, कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल
-
रियाल मड्रिड कोपा डेल रे’को अन्तिम १६ मा
-
एसी मिलान इटालियन सुपरकप च्याम्पियन, लगातार चौथो उपाधि जित्ने इन्टरको सपना चक्नाचुर
-
२९ वर्षदेखि ओडारमा व्यापार
-
माघमा ‘विराट एक्स्पो’ हुने
-
१२ बजे, १२ समाचार : रविमाथि राजनीतिक पूर्वाग्रह साँधिएको प्रतिवादीका वकिलको जिकिरदेखि कुलमानलाई सरकारले फेरि सोध्यो स्पष्टीकरणसम्म