मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : संगठन निर्माणलाई तीब्रता दिने रास्वपाको निर्णयदेखि मधेस केन्द्रित दलबीच एकताको चर्चासम्म

आइतबार, २१ पुस २०८१, ०० : ०४
आइतबार, २१ पुस २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 
 

१. रास्वपा बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन निर्माण अभियानलाई सक्रिय रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । शनिबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकको पहिलो दिन उक्त निर्णय गरिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । 

२. सुस्मिता मृत्यु प्रकरण
काठमाडौँ महानगरपालिका–९ गौशाला स्थित होटलमा युवती मृत भेटिएको प्रकरणमा फरार रहेका युवक पनि मृत फेला परेका छन् । ओखलढुंगा घर भएर जापान बस्दै आएका देव बहादुर थापा पनि झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

३. माओवादी स्थायी समिति
नेकपा माओवादी केन्द्रको शनिबार बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । पार्टी अध्यक्ष प्रचण्डसहित पदाधिकारीहरूको कार्य व्यस्तताका कारण बैठक स्थगित भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

४. मधेसवादी नेताहरूको निष्कर्ष 
मधेसी दलका नेताहरूले मधेसी दलको बिचमा एकता वा सहकार्य गर्नुभन्दा पहिले विगतको समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा मधेस दल बिच एकताको आवश्यकता बारे छलफल भएको हो ।

५. सर्वोच्च अदालत बार
सर्वोच्च अदालत बार एसोसियसनको निर्वाचनमा नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीनिकट गठबन्धन  विजयी भएको छ। कांग्रेस निकट डीएलएका उम्मेदवार वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी भएका छन्। 

६. एमाले केन्द्रीय समिति बैठक
नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय समिति बैठक आइतबारदेखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । 

७. भक्तपुर दुर्घटना
भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर–२ स्थित सडकमा पुस १५ मा दम्पती सवार स्कुटर दुर्घटना भयो । बागमती प्रदेश–०२–०२८ प ६६१० नम्बरको स्कुटरका चालक निश्चल प्रकाशराज भण्डारीको पुस १९ मा उपचारको क्रममा नर्भिक अस्पतालमा मृत्यु भयो ।

८. फोटोफिचर
सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय क्षेत्र सुकुटेमा शनिबारदेखि २३ औँ हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०२५ सुरु भएको छ। चक्रपथको कलंकी–नारायणगोपाल चोक क्षेत्रमा बस्ने र व्यवसाय गर्नेहरूका लागि घाम लाग्दा उड्ने धुलो र पानी पर्दा हुने हिलो हुने बानी नै परिसकेको छ ।

९. तस्बिरहरू
दोलखा जिल्लाको कालिन्चोक गाउँपालिकामा रहेको कालिन्चोक भगवती मन्दिर धार्मिक, प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण छ। विशेषगरी पुस, माघ र फागुनमा हिउँ पर्ने भएकाले कालिन्चोकको सौन्दर्य थप मनोरम बन्छ। यहाँको प्राकृतिक रमणीय दृश्यले जो–कोहीलाई मन्त्रमुग्ध बनाउँछ।

१०. निबन्ध बहस
‘क्रान्ति रात्रि–भोज होइन, न यो निबन्ध लेख्ने वा चित्र बनाउने काम जतिकै सजिलो छ, न त फूलबुट्टा भर्ने कामजस्तो सहजै गर्न सकिन्छ । क्रान्ति कहिल्यै सुसंस्कृत, विश्रामपूर्ण, मृदु, शालीन, दयालु, विनम्र, संयमित र उदार हुनै सक्दैन ।’

११. क्षेप्यास्त्र खसालेको दाबी 
रुसले अमेरिकाले आपूर्ति गरेको अत्याधुनिक (एटीएसीएमएसं) क्षेप्यास्त्र खसालेको दाबी गरेको छ । रुसविरूद्ध युक्रेनले प्रयोग गरेको एटिएसिएमएस क्षेप्यास्त्रको प्रयोगले मध्य किएभमा हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमण हुनसक्ने चेतावनी दिएको छ ।

१२. त्रिवेणी कपको उपाधि एपीएफलाई 
लमजुङमा सम्पन्न त्रिवेणी कपको उपाधि एपीएफ क्लबले जितेको छ । त्रिवेणी रंगशालामा भएको फाइनलमा घरेलु टोली वीवाईसी भोटेओडारलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै एपीएफले ३२औं संस्करणको कप हात पारेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप