निबन्ध कस्तो हुनुपर्छ ?

‘क्रान्ति रात्रि–भोज होइन, न यो निबन्ध लेख्ने वा चित्र बनाउने काम जतिकै सजिलो छ, न त फूलबुट्टा भर्ने कामजस्तो सहजै गर्न सकिन्छ । क्रान्ति कहिल्यै सुसंस्कृत, विश्रामपूर्ण, मृदु, शालीन, दयालु, विनम्र, संयमित र उदार हुनै सक्दैन ।’
फरेन ल्याङ्ग्वेजेज प्रेस पेकिङले सन् १९६७ मा प्रकाशन गरेको ‘माओत्से तुङका छानिएका रचना’मा यो वाक्यांश परेको छ ।
माओले भनेजस्तो निबन्ध लेख्न त्यति सजिलो पनि छैन । यद्यपि पत्रकारले समाचारका तत्त्व नपुर्याई समाचार लेख्यो भने न्युज रुमहरूमा डेस्क इडिटरले भनेको सुनिन्छ, ‘निबन्ध लेखेर हुन्छ !’ स्कुलमा ‘गाईको निबन्ध’ भनेर सिर्जनात्मक लेखन सुरु गरेका हामी अधिकांशलाई लाग्न सक्छ, निबन्ध लेखन सजिलो छ ।
माओको उपरोक्त भनाइमा लुकेको अर्को अर्थ हो— निबन्ध सुसंस्कृत मृदु, शालीन, दयालु, विनम्र, संयमित र उदार हुन्छ ।
के मृदु, शालीन, दयालु, विनम्र, संयमित र उदार विषय लेख्न सहज हुन्छ ? कुनै पनि विषयमा बुझी–नबुझी विरोध र समर्थन गर्न उद्वेलित हुने आजको समाजमा यो गम्भीर बहसको विषय छ ।
राजनीतिज्ञ वा समाजका लागि यस्तो गुरु हो कला, जसले राजनीतिज्ञको कान समाउँदैन तर घतलाग्दो किसिमले सम्झाउने हैसियत राख्छ । यस्तो हैसियत राख्ने कला बनाउन र साहित्य वा निबन्ध लेख्न निश्चय नै सजिलो छैन । थुप्रै मूल, खहरे र खोला मिसिएर नदी शक्तिशाली बनेजस्तै कला र साहित्य पनि आफ्नो लामो बाटो हिँडेर शक्तिशाली बन्ने हो । नयाँ लेखक वा कलाकारले तिनै पुराना पुस्ताको अनुभव र अभ्यासमाथि टेकेर केही नयाँ भन्ने हो । नयाँ चिज ‘साँच्चिकै नयाँ’ भयो भने त्यसले राजनीतिज्ञ र समाजको मर्ममा प्रहार गर्छ ।
निबन्धको इतिहास खोतल्दा हामी १६औँ शताब्दीका फ्रान्सेली लेखक मिसेल डी मोन्तेनसम्म पुग्छौँ । उनले पाठकसँग कुरा गरेको शैलीमा लेखेको छोटा र रसिला लेखहरूको संग्रह सन् १५८० मा छापिएको थियो, ‘इस्से (Essais) शीर्षकमा ।
यही फ्रान्सेली Essais (अर्थ : प्रयास गर्नु) बाट अंग्रेजी Essay बन्यो । हामीकहाँ ‘एस्से’ शैलीको लेखनलाई निबन्ध भनिएको छ ।
हामीकहाँ निबन्ध शब्दको व्युत्पत्ति जे–जस्तो अर्थमा भए पनि लेखन वा साहित्यको एक विधाका रूपमा निबन्धले आत्मपरक वा वस्तुपरक शैलीमा गद्यमा लेखिएको छोटो रचनालाई नै जनाउँछ ।
निबन्धको चर्चा सम्बन्धमा हामीकहाँ केही पुस्तक लेखिएका छन् । डा. कुमारबहादुर जोशीको ‘लक्ष्मी निबन्धसंग्रहका निबन्धहरूमा देवकोटाका काव्यमान्यता’ (२०६१), गोपीकृष्ण शर्माको ‘नेपाली निबन्ध परिचय’ (२०४०), डा. रजनी ढकालको ‘निबन्ध : सिद्धान्त र विश्लेषण’ (२०८०)मा निबन्धबारे चर्चा गरिएको छ ।
शर्मा र जोशी दुवैले निबन्ध शब्द याज्ञवल्क्यस्मृति र गीतामा सांसारिक मायाजालको बन्धनको अर्थ लिएर आएको उल्लेख गरेका छन्— ‘निबन्धो द्रव्यमेव च’ (२/२२१ याज्ञवल्क्यस्मृति) ‘निबन्धायासुरी मता’ (१६/५ श्रीमद्भगवतगीता) ।
मोन्तेनले निबन्धलाई ‘स्वच्छन्द आत्म–प्रकाशन’ मानेका छन् भने बेलायतका फ्रान्सिस बेकन (१५६१–१६२६)ले ‘छरिएको चिन्तन’ भनेका छन् । जेहोस् निबन्धमा लेखकको ज्ञान र अनुभूति जोडिएको विचार आउँछ ।
हामीकहाँ निबन्ध शब्दको व्युत्पत्ति जे–जस्तो अर्थमा भए पनि लेखन वा साहित्यको एक विधाका रूपमा निबन्धले आत्मपरक वा वस्तुपरक शैलीमा गद्यमा लेखिएको छोटो रचनालाई नै जनाउँछ ।
निजी ज्ञान वा अनुभव भन्ने र लेख्ने प्रचलन संसारमै पुरानो हो । यद्यपि मानिसले लिपि, भाषा र साहित्यमा प्रगति गर्दै जाँदा साहित्य वा लेखनका विधाहरू जन्मदै गएर निबन्ध विधा जन्मियो ।
प्रमोद प्रधानको पुस्तक ‘नेपाली निबन्धको इतिहास’ (२०६६)मा नेपाली निबन्ध लेखनलाई तीन चरणमा विभाजन गरिएको छ— प्रारम्भिक वा पहिलो चरण (वि.सं.१८३१– १९५७ सम्म), दोस्रो चरण (१९५८ देखि १९९२ सम्म) र तेस्रो चरण १९९३ देखि यता ।
‘खासगरी पृथ्वीनारायणको दिव्योपदेश (१८३१)बाट आख्यानेतर गद्य साहित्यको प्रारम्भ भयो । यसमा पृथ्वीनारायणको निजी व्यक्तित्व प्रतिविम्बित छ,’ उनले लेखेका छन् ।
आफ्नो पुस्तक ‘साहित्य प्रकाश’मा केशवप्र्रसाद उपाध्याय लेख्छन्, ‘निबन्धको प्राचीन अर्थ मुख्यतया बाँध्नु नै थियो । अति प्राचीनकालमा जब कागज र मुद्रण कथा थिएन, लेखकहरू आफ्ना लेख वा रचनालाई पृष्ठ–पृष्ठ नत्थी गरेर वा बाँधेर राख्थे— यस बन्धन क्रियालाई नै निबन्ध वा निबन्धन भनिन्थ्यो ।’
यसर्थ निबन्धको परिभाषा गर्ने हो भने ‘वाक्यहरू बाँधिएको वा कसिलो भएको रचना’ भन्ने नै बुझ्नुपर्ला ।
हामीकहाँ सूचना दिन, सरकारका काम–कारबाही अभिलेख गर्न र साहित्य सिर्जना पस्कन पत्रपत्रिका निस्केको पाइन्छ । पत्रपत्रिकामै निबन्धले स्थान पाउन थाले । पछिल्लो समयमा आएर पत्रपत्रिका नै कुन निबन्ध हो र कुन होइन भन्नेमा अलमल परेको देखिन्छ । आलेख, स्तम्भ, फिचर, ब्लग, अनुभूति, संस्मरण, रिपोर्ताज आदि भनेर छापिने रचनामा निबन्धको शैली आएको हुन्छ तर निबन्ध नै भनेर छापिएको कमै देखिन्छ ।
निबन्ध मिठासपूर्ण लेखन भएकाले कुुनै पनि ठाउँ, वस्तु, विषय वा मुद्दा, व्यक्ति आदिको वर्णन पाठकका लागि रुचिकर हुने ढंगले गर्न सकिन्छ । पछिल्लो समय सामाजिक मुद्दाको उठानमा निबन्ध एउटा सशक्त माध्यम बनेको छ ।
नाटकले कला र साहित्यका सबै विधालाई लिन सकेजस्तै निबन्धले साहित्यका सबै विधालाई घुसाउन सक्छ । तर उद्देश्य यही हो कि भन्न खोजेको विषय वा लेखकको विचार थप बलियो र विश्वसनीय बनोस् ।
‘निबन्धले आफ्नो परिधि दिन परदिन फराकिलो गराउँदै गएको छ । कहीँ निबन्ध कथाको गोरेटो भएर हिँडेको हुन्छ भने कहीँ नाटकीय संवाद र दृश्यात्मक प्रस्तुति पनि दिइरहेको हुन्छ,’ गोपीकृष्ण शर्मा उपरोक्त पुस्तकमा लेख्छन्, ‘केही निबन्ध औपन्यासिक चमत्कार आत्मसात् गर्न पुग्छन् यसरी कथा, कविता, नाटक र उपन्यासका छेउछाउ घुमे पनि निबन्ध निबन्ध नै हो । निबन्धले आकार, प्रस्तुति र प्रबन्धबाट आफ्नोपन स्पष्ट गरेको हुन्छ ।’
विशेषतः आत्मपरक र वस्तुपरक गरी दुई प्रकारका निबन्ध हुन्छन् । मूलतः निबन्धमार्फत लेखकले केही भन्छ, त्यो ‘भनाइ’ वा लेखन बौद्धिक विलासका लागि मात्रै हुने कि सामाजिक मूल्यका लागि हुने भन्ने प्रश्न पनि छ । निबन्ध के हो र यो कस्तो हुने भन्ने सम्बन्धमा विश्वव्यापी रूपमै बहस छन् । ‘नोट्स टु लिटरेचर’ (भोलुम १) मा थियोडोर डब्लु एडोर्नो लेख्छन्, ‘कमसल निबन्धले व्यक्तिको प्रशस्ति गाउन वा दानवीकरण गर्नमा आफ्नो शक्ति खर्च गर्छ, जबकि अब्बल निबन्धले विषयवस्तुलाई मिहीन ढङ्गले पर्गेल्ने गर्छ । कलाबाट विज्ञान र विद्वतालाई अलग गर्न असम्भवप्रायः छ । कलानुरागीबाहेक अरु औसत लेखकहरू घिसिपिटी मसला घोलेर निबन्धलाई बेकार बनाउँछन् ।’
निबन्ध मिठासपूर्ण लेखन भएकाले कुुनै पनि ठाउँ, वस्तु, विषय वा मुद्दा, व्यक्ति आदिको वर्णन पाठकका लागि रुचिकर हुने ढंगले गर्न सकिन्छ । पछिल्लो समय सामाजिक मुद्दाको उठानमा निबन्ध एउटा सशक्त माध्यम बनेको छ ।
डा. रजनी ढकालले आफ्नो उपरोक्त पुस्तकमा डा. वानिरा गिरीको निबन्ध ‘समानान्तर रेखा : नारी’ निबन्धलाई लिएर लेखेकी छन्, ‘निबन्धले नेपाली समाजको संरचनाकै कारणले नारीमाथि हुने गरेका विरोधाभासपूर्ण व्यवहारहरू चिनाएको छ । वास्तवमा नारी पुरुषसरह मानव अधिकार भएकी स्वतन्त्र मानव हो, देवी वा दासका रूपमा कहिले पुज्ने र कहिले उपेक्षित हुने व्यवहारको सामाजिक संरचनाको अन्त्य हुनुपर्ने विचार यस निबन्धमा पाइन्छ ।’
निबन्धमा लेखनका दृष्टिले जे जस्ता तत्त्व आए पनि खासगरी निबन्धकारको विचार नै प्रधान हो । वास्तवमा विचार निर्माण गर्न र भाषाको समृद्धिमा समेत निबन्धको भूमिका रहन्छ । त्यसैले विशेषतः सञ्चारमाध्यममार्फत निबन्धका सम्बन्धमा बहस अनिवार्य छ । किनभने सञ्चारमाध्यमबाट प्रकाशन हुने अधिकांश लेख–रचना निबन्ध शैलीकै छन् र तिनले कुनै न कुनै मुद्दा उठाएका छन् । लेखक नेत्र एटम भन्छन्, ‘पछिल्लो चरणमा आएर हामीकहाँ धेरै पत्रकार र स्तम्भकारहरू निबन्धकार भएका छन् । अलिकति कलात्मक ढंगले लेख्न सक्यो भने पत्रकार निबन्धकार हुने सम्भावना बढी छ । अहिले रिपोर्टिङ वा भनौँ पत्रकारिताबाट आएका निबन्ध र अनुभव अनि चिन्तन मिसिएका निबन्धले पाठकलाई बढी प्रभाव पारेका छन् ।’
प्रा.डा. गोविन्दराज भट्टराई सञ्चारमाध्यमले निबन्धको हुर्मत काढेको बताउँछन् । उनी भन्छन्, ‘निबन्ध सर्वाधिक स्वतन्त्र विधा पर्यो । स–साना फिचर आर्टिकल, न्युज रिपोर्ट, काँचा यात्रा वृत्तान्तदेखि लिएर तमसुके गन्थनहरू पनि निबन्धभित्र घुस्न खोजेर यसको हुर्मत लिन्छन् ।’
यो पृष्ठभूमिमा निबन्ध कस्तो हुने भन्ने बहस सधैँ महत्त्वपूर्ण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैठकमा रविले सुनाए हिरासतको पीडा– मध्यरातमा मेराे ज्यानकाे खतरा थियो
-
सभामुख घिमिरेद्वारा विधेयकहरू प्रमाणित
-
प्रधानमन्त्रीसँग पत्रकार रजकका परिवारको भेट
-
बागमती प्रदेशमा २०८२ मा सार्वजनिक विदा ४ दिन थप
-
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव : ६५.३४ प्रतिशत मात्रै खस्यो
-
राजावादी हर्कतविरुद्ध एमालेको मोटरसाइकल र्याली (तस्बिरहरू)