जब यात्रुवाहक बस मालवाहक बन्दै गयो...
केही दिनअघि (पुस ४ गते) संखुवासभाको तुम्लिङटारबाट काठमाडौँ आउँदा बसमा यात्रा गरेको थिएँ । सप्तकोशी यातायात प्रालिबाट सञ्चालित ६७९१ नम्बरको मिनीबसमा टिकट काटेर ‘भगवान भरोसा’को यात्रा गरियो ।
सुरुमा बसको छतमा रुद्राक्षले भरिएको एउटा बोरा थियो । तुम्लिङटार आएर पनि केही बोरा सामान थपियो, छत करिब–करिब भरिएको थियो ।
बसले तुम्लिङटार छाड्दै थियो । बसको सबै सिटमा यात्रु थिए । बसभित्र सिटसम्म पुग्ने खालि ठाउँमा समेत सामान कोचिएको थियो । बसको डिक्कीमा खसी राखिएका थिए । चल्ने–चलमलाउने ठाउँ नभएको भन्दै एक यात्रु गुनासो गर्दै थिए ।
बाटो पूरै नागबेली । तुम्लिङटारदेखि चैनपुर, मुडे, वसन्तपुर हुँदै हिले धनकुटा पुग्न ५–६ घण्टा लाग्यो । बाटोमा भेटेजति स्थानीय यात्रु कोचिँदै थियो । ओरालोमा त बस जसोतसो गुड्दै थियो तर कतिपय उकालोमा तान्नै धौ धौ पथ्र्यो । यस्तैमा मुडे पुगियो । केही यात्रु झारे अनि सामानका बोरा थपे । वसन्तपुरतिर पुग्न लाग्दा होला, बडेमानको चार बोरा नौनी घिउ थप भयो । पहिलेदेखि नै चामल, कोदो लगायत राखेर यात्रुलाई भित्रबाहिर गर्न सकस भइरहेको थियो । बढी सामान नराख, बढी मान्छे नचढाउ भनेर यात्रुले विरोध गरे पनि कुनै सुनुवाइ थिएन । यात्रुलाई दिसा–पिसाबका लागि पाँच मिनेट समय नदिने बसका कर्मचारीले सामान कोच्न भने रौ समय लिन्थे ।
बिहान ११ बजेतिर तुम्लिङटारबाट हिँडेको बस साँझ ६ बजे धनकुटाको हिले आइपुग्यो । बस रोकेर बसका चालकसहित सामान मिलाउन हुटमा चढे । करिब ३० भन्दा बढी कार्टुन थपियो । अहो ! यसरी सामान राखियो भने त खतरा हुन्छ । यही ठानेर मैले सहचालकलाई भनेँ— अति भयो, मैले प्रहरीलाई खबर गर्छु है ।
टिकट काउन्टरलाई समेत फोन गरेर भनेँ— बसले सामान धेरै बोकेको छ, यसले हामीलाई खतरा हुन्छ है !
मैले प्रहरीलाई भनेँ— दुर्घटना भइहाल्यो भने को जिम्मेवार हुन्छ, तपाईं हुने ?
कसैले पनि मेरो भनाइ सुनेनन् । उल्टै जवाफ आयो— जसलाई भने पनि केही फरक पर्दैन ।
मुडेबाट वसन्तपुर पुग्नअघि एक ट्राफिकले जाँच त गरे तर सहचालकसँग के कुरा भएछ कुन्नि ट्राफिकले बसलाई अगाडि बढ्ने संकेत गरे ।
बस हिलेको ओरालो घुम्तीमा निकै असहज रूपमा अगाडि बढ्दै गयो । उकालो लागेपछि त बसलाई तान्नै गाह्रो भयो । किनभने यात्रुवाहक बस रात छिप्पिँदै जाँदा मालवाहकमा परिणत भइसकेको थियो ।
बल्लबल्ल धनकुुटाको भेडेटारमा बस पुग्यो । त्यहाँ प्रहरीले बसको चेकजाँच गर्यो । प्रहरीले सोधे— के हो सामान टन्नै छ त ।
सहचालकले झुटो बोल्दै थिए— यो सबै सामान यात्रुको हो । एकजना यात्रुकै तीन–चार बोरा सामान छ ।
त्यसपछि मैले प्रहरीलाई भनेँ— एउटा बस यत्रो सामान र यात्रु लिएर गुड्न सक्छ ? हेर्नुस् त कति सामान छन् ?
ती प्रहरीले ‘एकपटकलाई भै’गो, मिलाएर होसियारीपूर्वक लैजान्छ’ भन्दै मलाई सम्झाउन थाले ।
ती प्रहरी नाजवाफ भए । मैले अडान लिएपछि हिलेबाट हालिएको एभोकाडोको ३० कार्टुन गाडीबाट ओरालियो ।
मैले प्रहरीलाई भनेँ— दुर्घटना भइहाल्यो भने को जिम्मेवार हुन्छ, तपाईं हुने ?
ती प्रहरी नाजवाफ भए । मैले अडान लिएपछि हिलेबाट हालिएको एभोकाडोको ३० कार्टुन गाडीबाट ओरालियो । त्यसबाहेक अन्य सामान निकाल्न प्रहरीले आवश्यक ठानेन । अनि बसलाई कारबाही स्वरुप एक रुपैयाँको चिट पनि नकाटी छाडियो । यात्रुको सुरक्षामा खटिने प्रहरी कति संवेदनशील छ भन्ने यसले देखाउँछ ।
देशमा दैनिक रुपमा हुने दुर्घटनाको साक्षी बनेको प्रहरीको यस्तो व्यवहारको पछाडि केले काम गरेको छ भन्ने बुझ्न सकिएन । सायद घटनापछि मुचुल्का उठाउने र मुद्दा बनाउने मात्रै प्रहरीको बानी होला ।
सामान्य चेकजाँच प्रक्रियापछि बस भेडेटारबाट अघि बढ्यो । यता सप्तकोशी यातायातका सञ्चालकले मलाई पटक–पटक फोन गरेर धम्की दिइरहेका थिए । उनीहरुको धम्कीलाई नजरअन्दाज गर्दै मैले भेडेटारमा सामान झार्नका लागि प्रहरीसँग अडान लिएको थिएँ ।
बिहान ११ बजे करिब २४ घण्टामा हामी अरनिको बसपार्क जडीबुटीमा आइपुग्यौँ । अनि भनियो— सबैको सामान जिम्मा लिनुहोला, बस नयाँ बसपार्क जाँदैन ।
नयाँ बसपार्क पुग्ने सोचमा रहेका यात्रुहरु फेरि अलपत्र परे । बसका कर्मचारीको रुष्ट व्यवहारले आजित भनेका यात्रु चुपचाप झोला बोक्दै पठाओ चढ्न बाध्य भए ।
बसका कमचारी भने बसमा ल्याइएका सामान जिम्मा लगाउनका लागि फोन गर्न थाले । बाटोेभरि प्रहरीलाई यात्रुको सामान भनिएको थियो, गन्तव्यमा आएपछि भने व्यापारीको भइदियो ।
यात्रुवाहकका नाममा स्वीकृत लिएका यस्ता बसले बसलाई नै मालवाहक बनाएर खुलेआम गुडाइरहँदा नेपाल सरकारका निकाय किन मौन छन् ? यात्रुले त्यस रुटमा दुई हजार रुपैयाँभन्दा बढी तिरेर यात्रा गर्छन् तर खै त यात्रुको सुरक्षा ?