गायिका शान्तारानीको तर्क : ‘म त ढलेँ ढलेँ’ गीत अर्थ नखुलेरै हिट
शान्तारानी परियारले गाएको ‘म त ढलेँ ढलेँ’ बोलको गीत पछिल्लो समय चर्चामा छ । करिब १३ सयभन्दा बढी गीत गाएकी शान्तारानी यतिखेर यही गीतका कारण देश तथा विदेशका सांगीतिक कार्यक्रममा व्यस्त छन् ।
यस गीतप्रति विभिन्न धारणा वा प्रतिक्रिया आइरहेकै छन्— कतिले यस गीतलाई अश्लील भन्छन् त कतिले बुझ्न नसकेको बताउँछन् । यही गीतसँग सम्बन्धित रहेर रातोपाटीकर्मी कुवेर गिरीले परियारसँग राखेका केही प्रश्न ।
- मेला–महोत्सवले व्यस्तता कति बढेको छ ?
– एकदमै धेरै व्यस्त, भ्याइनभ्याई छ । दैनिकजस्तो कार्यक्रम परिरहेका छन् । आज दुबई उड्दै छु । हिजो धनगढीको कार्यक्रम सकाएर फर्किएँ ।
- पुसमा मात्र कति कार्यक्रम भ्याउनुभयो ?
– पुसको ३ र ४ गते खाली थिएँ । त्यसपछि एकदिन पनि खाली बसेकी छैन । यसपालि सबैभन्दा बढी व्यस्त पुसमै भइयो ।
- कार्यक्रममा कस्ता गीत गाउने गर्नुभएको छ ?
– मेरा ‘म त ढलेँ ढलेँ’, ‘पञ्चेबाजा’ लगायत थुप्रै गीत बजारमा आएका छन् । तीमध्ये ६–७ वटा गीत छानेर गाउने गरेकी छु ।
- ‘म त ढलेँ ढलेँ’ गाउन कति अनुरोध गरिन्छ कि !
– मेरो पछिल्लो समयको चलेको गीत यही हो । यही गीतका कारणले अहिले म व्यस्त भएकी हुँ । प्रत्येक कार्यक्रममा यो गीत दुई–तीनपटक गाएकै हुन्छु । यो गीतको दर्शकबाट फर्माइस धेरै हुन्छ ।
अझै एक–दुई महिना कार्यक्रममा व्यस्त भएका कारण नयाँ गीत गर्न सक्दिनँ । कार्यक्रमबाट फुर्सद हुनेबितिक्कै नयाँ गीतको काममा लाग्छु ।
- ‘म त ढलेँ ढलेँ’ गीत कतिले अश्लील त कतिले बुझिनँ समेत भनेका छन् । तपाईंले बुझेर गाउनुभयो कि नबुझी ?
– गीतको भिडियोमा कुखुराको भाले र पोथीलाई देखाइएका कारण पनि अलिकति अश्लील लागेको होला । त्यो भिडियो निर्देशकको पाटो हो । म त गायिका हो । गीत गाएपछि मेरो पाटो सकियो । धेरैले मलाई गीत बुझिनँ, अर्थ खुलेन भन्नुहुन्छ । सबै कुराको अर्थ खुलेको राम्रो हुन्छ भन्ने हुँदैन ।
अर्थ नखुलेर पनि गीत लोकप्रिय हुन सक्छ भन्ने यो एउटा उदाहरण हो । मैले गाएको कति गीत चलेका छैनन् । यो गीत धेरैले मनपराउनुभएको छ । यो राम्रो भएर सबैले मन पराएको हो । यो गीत अलि फरक खालको पनि छ ।
- गायिकालाई मेला–महोत्सवका फाइदा के–के छन् ?
– दर्शक, श्रोतासँग प्रत्यक्ष भेट हुन्छ । आफ्नो र गीतका बारेमा प्रतिक्रिया लिन पाइन्छ । जसले आगामी दिनमा अगाडि बढ्न सजिलो हुन्छ, आम्दानी पनि छ ।
- मेला–महोत्सवको आम्दानी कस्तो छ ?
एकदमै आकर्षक र राम्रो छ ।
- कलाकार उधारोमा पर्छन् भन्ने पनि सुनिन्छ नि ?
– पहिले–पहिले एक–दुई कार्यक्रममा त्यस्तो पनि पर्यो । त्यो उधारो अहिलेसम्म उठेको छैन । कोही आयोजक नै त्यस्तो नियत भएका हुँदा रहेछन् । अहिलेका मेला–महोत्सवमा त्यस्तो छैन । कार्यक्रम पनि राम्रो राख्नुहुन्छ । कलाकारलाई पारिश्रमिक राम्रो तिर्नुहुन्छ ।
- बिचौलियाले पारिश्रमिक खान्छन् भनेर कलाकारले बेलाबेला सामाजिक सञ्जालमा लेख्ने गरेका छन् । त्यो भनेको के हो ?
– बिचौलिया नहोलान् भन्न सकिन्न । एक व्यक्तिले मसँग कुरा गर्ने र मैले भनेको भन्दा बढाएर आयोजकसँग पैसा लिने बिचौलिया छन् । मैले पनि एक–दुई ठाउँमा त्यसको सामना गरेकी छु ।
- अहिले नेपाली गीत–संगीतको अवस्था कस्तो छ ?
– राम्रा गीत बजारमा ल्याउन सक्ने हो भने देश–विदेशका कार्यक्रमबाट पनि कलाकारले आम्दानी गर्न सक्छन् । अहिले यति धेरै मेला महोत्सव आयोजना भइरहेको छ कि आम्दानी पनि राम्रो हुने गरेको छ ।
- पछिल्लो समय आफ्नो गीतको भिडियोमा गायिका आफैँ देखिन थालेका छन् । तपाईंलार्ई त देख्न पाइन्न नि !
– अभिनयमा रुचि छैन, आउँदैन पनि । त्यसैले नदेखिएको हो । अभिनय गरियो भने पब्लिकलाई चिन्न सजिलो हुन्छ भन्ने हो । कहिलेकाहीँ भिडियोमा थोरै लिप्सिङ भने हुन्छ । अभिनयमा पनि आउन पाए पब्लिकले राम्रोसँग चिन्थे भन्ने लाग्छ ।
- गायनमा लामो समय बिताइसक्नुभयो, बल्ल चर्चा भयो होइन ?
– २०६९ देखि म नियमित गायनमा छु । त्यो समयदेखि अहिलेसम्म आउँदा करिब १३ सयभन्दा बढी गीत गाइसकेकी छु । कति गीत रेकर्ड भएर थन्किए, कति अडियोमा मात्र आए, कतिको भिडियो राम्रो नभएर चलेन । ‘म त ढलेँ ढलेँ’ गीतले भने सर्वत्र चिनायो ।
- गायन किन रोज्नुभयो ?
– ममा सानैदेखि गायनमा रुचि थियो । भगवानले मलाई गायिका नै बन् भनेर स्वर दिएको जस्तो लाग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत सरकारको सहयोगमा निर्मित क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण
-
नेपालको पुँजी बजारमा प्राप्त विदेशी मुद्रा भित्र्याउने सरकारको तयारी छ : मन्त्री भण्डारी
-
रवि लामिछानेको पक्षमा बहस : प्रधानमन्त्री र आईजीपीको संवाद भिडियो इजलासमा पेस
-
सरकारले फेरि सोध्यो कुलमान घिसिङलाई स्पष्टीकरण
-
सेवा–सुविधा थप्ने निर्णयविरुद्ध परेको रिटको पेसी पुस २९ मा, दुवै पक्षलाई झिकाउने आदेश
-
ढिला गरेर वितरण भयो राज्य व्यवस्था समितिमा परेको उजुरी, ३४ उजुरी अझै गोप्य