राजनीतिक इतिहासको सँगालो ‘नेपालका निधि’
काठमाडौँ । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाली कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिका बारेमा नयाँ पुस्ताका कार्यकर्ता तथा आमनागरिकलाई कमै थाहा छ । वरिष्ठ पत्रकार किशोर नेपालले ‘नेपालका निधि’ पुस्तकमार्फत निधिको पारिवारिक, सामाजिक र राजनीतिक पक्षलाई उजागर गरेका छन् ।
महेन्द्रनारायण निधि पहिलो पुस्ताका राजनीतिज्ञ हुन् । त्यसैले उनको राजनीतिक जीवनको सुरुवाती चरणबारे जानकारी राख्ने पुस्ता पाउन अहिले मुस्किल छ । निधिको समग्र जीवनबारे मात्र नभई प्रजातान्त्रिक आन्दोलनमा उनले निर्वाह गरेको भूमिकाबारे चासो राख्ने जो–कोहीका लागि यो पुस्तक राम्रो खुराक बन्न सक्छ ।
‘मधेसका मूर्धन्य व्यक्तित्वहरूका बारे धेरै कम लेखिएको छ । मधेसका महारथीहरूले नेपाली जनजीवनको विकासक्रममा हरेक क्षेत्रमा योगदान दिएका छन् । तर देशले न त ती महारथीहरूको समुचित मूल्याङ्कन गरेको छ, न त सम्मान नै गर्न सकेको छ,’ लेखकका यी हरफले नै यो पुस्तक तयार पार्नुको औचित्य र उनले पुस्तकको विषयका लागि चयन गरेको पात्रको महत्त्वलाई राम्ररी प्रकाश पारेको छ ।
००७ सालको ऐतिहासिक जनक्रान्तिका कमाण्डरका रूपमा राणा शासन अन्त्य गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका निधिले त्यस अघि नै मधेसका प्रभावशाली नेताका रूपमा आफ्नो परिचय स्थापित गराइसकेका थिए । निधिको उल्लेखविना न नेपालको लोकतान्त्रिक आन्दोलनको अन्तर्य पहिचान गर्न सकिन्छ, न त नेपाली कांग्रेसकै इतिहास पूर्ण हुन सक्छ भनेरै यो पुस्तक तयार पारेको लेखकले प्रस्ट्याएका छन् ।
कुनैबेला मधेशमा असुरक्षा र आतङ्कको पर्याय बनेका झिँझाका डाकालाई तह लगाएर निधिले स्थानीयको जल्दोबल्दो समस्या पार लगाएको मात्र होइन, गान्धीवादका तीन सूत्र– सत्य, अहिंसा र प्रेमलाई आत्मसात् गर्दै जनकपुर र वरपरका गाउँमा गान्धीको स्वावलम्बन कार्यक्रममार्फत जागरण ल्याएको प्रसङ्गलाई लेखकले पुस्तकमा समेटेका छन् । यस्ता गतिविधिलाई निधिले ग्रामीण क्षेत्रमा रहेका कांग्रेसका कार्यकर्ताहरूसँग सम्पर्कको बलियो माध्यम बनाएका थिए ।
नगराइनको अर्धसामन्ती परिवारमा जन्मिएका निधि आफ्ना सुकर्महरूका कारण कालान्तरमा राष्ट्रकै निधि बन्न पुगेको लेखकको ठहर छ । निधि आजीवन गान्धीवाद र समाजवादको संयोजनमा जुटेको चर्चा पनि पुस्तकमा गरिएको छ ।
घरपरिवार र छरछिमेकमा शीतल निधिका रूपमा चिनिने निधिको नाम कसरी महेन्द्रनारायण राखियो भन्नेबारे पनि लेखकले रोचक प्रसङ्ग पुस्तकमा उल्लेख गरेका छन् ।
आफ्नो स्वार्थ पूरा गर्नका लागि तत्कालीन राजा महेन्द्रले निधि र आफ्नो नाम मिलेको भन्दै मित लगाउन राखेको प्रस्ताव, जननिर्वाचित सरकार अपदस्थ गरेर २०१७ सालमा पञ्चायती व्यवस्था लागु गरेका महेन्द्रले कांग्रेसका शीर्ष नेतामध्ये निधिलाई मात्र गिरफ्तार नगर्नुको कारणबारे पनि पुस्तकमा चर्चा गरिएको छ ।
लेखकका अनुसार राजा महेन्द्रसँग निधिको सम्बन्ध ‘प्रेम र घृणा’को थियो । प्रजातन्त्रका लागि संघर्ष गरेको एक योद्धाले पञ्चायती व्यवस्था लादेका राजा महेन्द्रको निधन हुँदा नगर पञ्चायत भवनमा गएर किन शोक पुस्तिका राख्न लगाए ? निधिकै अग्रसरतामा शोकसभा आयोजना गर्नु र निधिले आफ्नो केश मुण्डन गर्नुको कारण पनि पुस्तकमा चर्चा गरिएको छ । यतिमात्र होइन, राजाकै प्रतिनिधिका रूपमा रहने तत्कालीन अञ्चलाधीशलाई समेत निधिले केश मुण्डन गर्न लगाएको प्रसङ्ग आफैँमा रोचक छ ।
मधेसका प्रायः सबै नेतामा देखिने भारतप्रतिको ‘लाडप्यार’ निधिमा कहिल्यै नदेखिएको प्रसङ्गलाई पनि लेखकले पुस्तकमा उतारेका छन् ।
युवा अवस्थामा व्यापारमा संलग्न निधिले शिक्षा क्षेत्रमा गरेको योगदान, लोभलालचरहित राजनीतिमा देखाएको समर्पण लगायतका प्रसङ्गबारे पनि चर्चा गरिएको छ । गुटबन्दी र व्यक्तित्वको टकराव अहिले राजनीतिको विशेषता नै बनेको छ । हरेकजसो दलमा यस खालको समस्या देखिन्छ । तर, निधिले एउटै भूगोलका आफ्ना समकक्षीदेखि लिएर शीर्ष नेतृत्व तहमा हुने टकरावका बाबजुद कसरी सबैको विश्वास जितेर काम गर्थे भन्नेबारे पनि पुस्तकमा उल्लेख छ । निधिले नीतिगत विषयमा कसरी आफ्ना कुरा राख्थे, कसरी परिस्थितिलाई आफ्नो काबुमा राख्थे भन्ने विषय उजागर गरिएको छ । यस्ता विषय अहिलेका नेताहरूका लागि पनि प्रेरणादायक हुन सक्छन् ।
पुस्तक महेन्द्रनारायण निधिका बारेमा लेखिएको भए पनि ‘मधेस : इतिहास र वर्तमान’ शीर्षक (पृष्ठ ११२ देखि १२० सम्म) लेखकले आफ्ना विचार व्यक्त गरेका छन्, जसमा निधिको प्रसङ्ग नै छैन । लेखकले यो शीर्षकमा मधेसको राजनीतिमा रुचि राख्नेहरूका लागि ‘यक्ष प्रश्न’ पनि गरेका छन्, देशको भूगोल अनुसारका संस्कृतिबारे पनि चर्चा गरेका छन् ।
यस क्रममा नारायणी पूर्वदेखि कोशीसम्म एउटा संस्कृति, कोशीदेखि पूर्व सुनसरी र झापासम्म अर्को संस्कृतिको चर्चा गरिएको छ । नारायणी पूर्व दुई खण्डगरी झापासम्मको भूगोल औँल्याइसकेका लेखकले फेरि ‘नारायणीपूर्व थारु संस्कृति छ’ भनेका छन् । ‘नारायणी पश्चिम’ भन्न पो खोजिएको हो कि भनेर पाठकले नै लख काटेर बुझ्नुपर्ने अवस्था छ । यद्यपि लेखकले भनेका छन्, ‘यी तीन वटा संस्कृतिको अध्ययन नगरेसम्म मधेसलाई बुझ्न सकिन्न ।’
यही शीर्षकमा लेखकले ‘२०४७ सालको आन्दोलनले मधेसको मुद्दालाई सम्बोधन नगरेकै हो । यसमा खासै द्विविधा राख्नुपर्दैन’ (पृष्ठ ११६मा)भनेका छन् । आन्दोलन २०४६ सालमा भए पनि पुस्तकमा २०४७ लेखिएको छ, जसले गर्दा नयाँ पुस्ताका पाठकमा गलत सन्देश जान सक्छ । आन्दोलन २०४६ सालको अन्त्यमा सफल भएर प्रजातन्त्र पुनर्स्थापना भइसकेको थियो । संविधानचाहिँ २०४७ सालमा बनेको हो ।
‘कांग्रेसदेखि कांग्रेससम्म’ शीर्षकमा ‘निधिले प्रदीप गिरीलाई २०४७ को चुनाव नलड्ने सल्लाह दिनुभएको थियो’ (पृष्ठ १२६मा) लेखिएको छ । तर चुनाव २०४८ साल वैशाख २९ गते भएको हो । यस्ता त्रुटि लेखकको तहबाट नभएर प्राविधिक कारणले भएको हुन सक्छ । यद्यपि, पुस्तकमा यस्ता त्रुटिलाई सामान्य मानिँदैन ।
राज्य रुपान्तरण प्रालिका लागि रुचि श्रेष्ठद्वारा प्रकाशित पुस्तक १८४ पृष्ठको छ । यसको मूल्य ५०० रुपैयाँ राखिएको छ । राजनीतिप्रति वितृष्णा भएका पाठकले समेत पुस्तक पढिसकेपछि निधि साँच्चै नै देशका निधि रहेछन् भन्ने धारणा बनाउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षको लागि दरखास्त आह्वान
-
सडक विभागका सब इन्जिनियर बर्खास्त
-
साना किसानको १४ प्रतिशत बोनस सेयर पारित
-
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयम अपनाउन आग्रह
-
भ्यालेन्सिया कोपा डेल रे’को अन्तिम १६ मा
-
हिरोका लागि प्रस्ताव आउँदा जितुले भने– ‘मलाई हिरो सुहाउँदैन, नजिस्क्याउनु न’