मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
नियात्रा

अमेरिकामा विरक्तिएको नेपाली मन

शनिबार, २० पुस २०८१, १८ : ००
शनिबार, २० पुस २०८१

इतिहासकारका अनुसार धेरै युरोपियन नाविकहरूको जमात इन्डियाको खोजीमा हिँडेको थियो । उनीहरूले इन्डिया भन्ने ठाउँमा सुनको खानी छ भन्ने बुझेका थिए । त्यसैले त्यो देशको खोजीमा निकै नाविकहरू लागेका थिए, तर कसैले पनि अफ्रिका खण्ड पार गरेर इन्डिया आउन सकेका थिएनन् । 

स्पेनमा बसोबास गर्ने क्रिस्टोफर कोलम्बस नामक नाविक यिनीहरूमध्ये एक थिए । यिनी पनि यसै देशकोे खोजीमा धेरैपटक असफल भएपछि पक्कै पनि इन्डिया उल्टो दिशामा छ होला भन्ने बुझेर एकपटक उत्तर एटलान्टिक महादेशको पश्चिमतिर आफ्ना नाविकलाई लिएर गए । समुद्रको धेरै लामो यात्रापछि सन् १२ अक्टोबर १४९२ का दिन कोलम्बसको टोली बाहमास खण्डमा पुग्यो । त्यहाँ उनीहरूले राता–राता गाला भएका व्यक्तिहरू देखे । अब त हामी इन्डिया पुगियो भन्ने ठानेर त्यहाँ भएका मानिसलाई आफूहरूले वर्षौंबाट खोजी गर्दै हिँडेका यिनै व्यक्ति रेड–इन्डियन हुन् भनेर भने । मङ्गोलियन प्रजातिका आदिवासीहरू पुर्खौंदेखि बसोबास गर्ने गरेकोे यही भूभाग नै आजको संयुक्त राज्य अमेरिकाका नामले संसारभर आफ्नो परिचय दिन सक्षम बनेको छ । हिजोको त्यही अमेरिका आज विश्वका धेरै मानिसको सपनाको संसार बनेको छ । 

सायद विचार र सिद्धान्तभन्दा पनि सबैका लागि समान नियम–कानुन, प्राकृतिक सम्पदाहरूको उचित र बुद्धिमत्तापूर्ण उपयोग, क्षमता अनुसारको रोजगारीका अवसरहरू उपलब्ध हुने भएरै होला यो देश धेरै मानिसको उच्च रोजाइमा पर्ने गरेको छ । 

हाम्रा छोराछोरी बसोबास गर्ने सहरहरूमा सिधै कतार एअरको उडान नभएका कारण प्रत्येकपटक काठमाडौँबाट आउँदा फरक सिटीमा ओर्लन्छौँ । त्यस्तै यसपटक हामी बुढाबुढी क्यालिफोर्निया राज्यअन्तर्गत सान फ्रान्सिस्कोको टिकट लियौँ । यहाँ आउनुको अर्को उद्देश्य योे सहर सरसर्ती हेर्ने पनि थियो । बडेमानको हवाईजहाजको लामो यात्राबाट ३ अक्टोबर २०२४ का दिन यहाँ आइपुग्दा दिउँसोको करिब २ बजेको थियो । हामी चढेको हवाईजहाजले विमानस्थलमा उत्रनु अगाडि यो सहरलाई फनक्क दुई फन्का मार्‍यो । आकाशमा बादलको एक टुक्रा पनि थिएन, यसैले झ्यालबाट एकातिर स–साना पहाड, अर्काेतिर निलो पानी, त्यसमाथि रातो गोल्डेन गेट ब्रिज, ओकलेन वे ब्रिज र समुद्रका बिचमा भएको ऐतिहासिक जेल (हालको म्युजियम अल्काटे«ज टापु) स्पष्ट देखिन्थ्यो । यो दृश्य यति धेरै सुन्दर थियो कि त्यो दृश्यावलोकनपश्चात् काठमाडौँबाट त्यहाँ आइपुग्दा करिब दुई दिनकोे लामो यात्राको थकाइ एकैछिनमा बिर्सेको महसुस भयो । हामीलाई यो सहर घुमाउन विमानस्थल बाहिर धेरै टाढाबाट छोरा–बुहारी आइपुगेका थिए । 

IMG_4782 (1)

नेपालीको लोकप्रिय उखान ‘घरै पिँडालु बनै पिँडालु, ससुराली गएको पन्ध्र हातको पिँडालु’ भनेजस्तै हामी बस्ने होटलको ठिक अगाडि ग्रान्ड हायात होटल रहेछ । तलब वृद्धिको माग राखेर त्यहाँका कर्मचारीले बिहान ७ बजेदेखि राति १० बजेसम्म विभिन्न खाले बाजा बजाउँदै, तलब बढाइदेउ भन्ने नारा भट्याउँदै हात¬–हातमा प्लेकार्ड बोकेर होटलको मूल ढोकालाई छाडेर बाँकी भाग ओगटेर आन्दोलन गरिरहेका रहेछन् । यहाँको आन्दोलन हाम्रोभन्दा धेरै फरक हुँदो रहेछ । त्यो के भने होटलको काममा बाधा पारेर गर्ने होइन रहेछ । होटलका कर्मचारीहरू आफ्नो ड्युटी भएका बेलामा होटलको काम गर्ने बाँकी समयमा पालोपालो आन्दोलनमा बस्ने गर्दा रहेछन् । नेपालमा यस्ता आन्दोलन देख्दा, आफैँ सहभागी हुँदाहुँदा वाक्क भएका हामीलाई त्यो ‘पिँडालु’ले यहाँ पनि पछ्याउन छाडेन । मजदुरहरूका माग पूरा हुने सम्भावना बढी भएका कारणले अमेरिकामा यस्ता आन्दोलनहरू प्रायःजसो चुनाव हुने समयमा गरिँदो रहेछ । यो आन्दोलन, होटल अगाडि जुलुस, बाजाको ट्याङट्याङले हामी त्यस होटलमा बसुन्जेलसम्म एकाबिहान ७ बजेदेखि राति १० बजेसम्म छाडेन । बिचरा ती मजदुरहरू आफ्ना माग पूरा गराउन सफल भए होलान्, यही आशा गरौँ ।  

इतिहासलाई हेर्दा पहिला सान फ्रान्सिस्कोलाई ‘यार्बा बोयना’ अर्थात् ‘जडीबुटीको सहर’ भनेर चिनिदो रहेछ । करिब ५० साना–ठुला पहाड भएको यो सहर करिब १२१ वर्ग किलोमिटर फैलिएको रहेछ । करिब नौ लाख जनसङ्ख्या भएको यस सहरको इतिहास सन् १७६९ मा स्पेनिसहरू आएपछि मात्र सुरु भएको मानिन्छ । त्यसपछि यो सहर सन् १८२१ मा म्याक्सीकोसँग जोडिन पुगेछ । सन् १८३५ देखि मात्र अमेरिकी सहर भएको रहेछ । अहिले आएर यो सहर अमेरिकाको महत्त्वपूर्ण सहरमध्येको एउटामा गणना हुन्छ । मुख्य सहर नजिकै धेरै अङ्गे्रजी चलचित्रमा देखिने, यो स्थानको एउटा गौरवका रूपमा रहेको संसारको सबभन्दा ठुलो र अग्लो पुल अर्थात् गोल्डेन गेट ब्रिज बनेको रहेछ । हाल यो ब्रिज आफैँमा सुनौलो रङको त छैन तर पनि यहाँ पुग्दा निकै रमाइलो लाग्दो रहेछ । त्यसैले होला, त्यहाँ पुगेका कुनै पर्यटकहरू आनन्दसँग लम्पसार परेर घाममा पल्टिरहेका, कुनै विभिन्न पोजिसनमा फोटो खिचिरहेका, कोही पुलको किनाराको बाटोमा पैदल हिँडिरहेका देख्न पाइन्थ्यो । मौसम पनि सफा भएकाले यहाँका दृश्यहरू अरु सुन्दर देखिन्थे । 

सान् फ्रान्सिस्को पुगेपछि १२०० फिट लम्बाइ र ९० फिट चौडाइ भएको विश्वकै लामो झोलुङ्गेपुल एकपटक नहेरी फर्कने कमै मात्र मानिस होलान् । २०औँ शताब्दीमा बनेको यो पुलको सन् २३ मे, १९३७ मा उद्घाटन गरिएको रहेछ । यसले प्रशान्त महासागर र खाडीको भूमिलाई जोडेको रहेछ । यहाँ बच्चा भन्दा कुकुरको सङ्ख्या धेरै रहेछ । यहाँका जनताले कुकुरलाई धेरै नै माया गर्दा रहेछन् । मृत्युपश्चात् अन्त्येष्टि गर्नका लागि यस सहरमा कुकुरको पनि मानिसको जस्तै चिहानघाट बनाइएको रहेछ । यसैले पनि यस स्थानलाई कुकुरप्रेमी स्थान भनेर पनि चिनिदो रहेछ । 

IMG_5790

आजका दिनमा विश्वभरिका मानिसले लगाउन मन पराउने गरेको लिभाइज जिन्स पेन्टको सुरुवात पनि यहीँबाट भएको मानिदोरहेछ । लेभी स्ट्राउस नामका एक व्यक्तिले सन् १८५३ मा आरामदायी र टिकाउ लुगाको खोजीका सिलसिलामा लिभाइज जिन्सको उत्पादन सुरु गरेका थिए भनिन्छ ।

सान फ्रान्सिस्को सहरको मध्यभागमा अवस्थित लोम्बर्ड स्ट्रिट विश्वको सबैभन्दा असजिलो बाटोमध्ये एउटा पर्दाे रहेछ । आठवटा तिखा मोड भएको यो सडक, एकपटकमा एकतर्फी गाडी मात्र गुड्न मिल्ने र यसको गति आठदेखि दश किलोमिटर प्रतिघण्टा मात्र हुनुपर्ने अनौठा खालले बनेको एउटा बाटोे रहेछ । समग्रमा भन्नुपर्दा यो बाटो यात्राका लागि भन्दा पनि पर्यटकको मन तान्न अत्यन्त सफल बनेको देखिन्छ । करिब २० लाख मानिस एक वर्षमा यस बाटोलाई हेर्न आइपुग्दा रहेछन् । ठुलो सङ्ख्यामा पर्यटक मात्र होइन, यो ठाउँमा प्रत्येक वर्ष दश हजारभन्दा बढीपटक साना–ठुला भूकम्प पनि आइराख्दा रहेछन् । 

विश्वका धेरै मानिसले रुचाएको फेसबुकको केन्द्रीय कार्यालय, आजको कम्प्युटर युगमा चमत्कार गरिरहेको माइक्रोसफ्टको कार्यालय, अमेरिकाका ठुलाठुला धनी मानिसहरू यही ठाउँमा भएका भए पनि सहरका गगनचुम्बी भवनमुनि कतै आश्रय नभएका घरबारविहीनहरूको वास हुँदो रहेछ । गुगल २०२४ का अनुसार हाल अमेरिकाको सान फ्रान्सिस्कोमा मात्र ८,३२३ घरबारविहीन व्यक्ति बस्दा रहेछन् । अवसर सबैका लागि समान हुन्छ भनिए पनि एकै ठाउँका मानिस कोही विश्वका धनीमा गनिन्छन् त कसैलाई रात काट्ने छत छैन, खानलाई गास छैन । अर्थात् भनौँ जिन्दगीप्रति कुनै मोह छैन, बाँच्नुको कुनै अर्थ छैन । अझ दुःखद त के छ भने निकै ठुला सपना बोकेर अमेरिका आइपुगेका केही नेपाली युवा पनि आश्रयविहीन भएर त्यही सडकमा पुगेका छन् भन्ने सुनेपछि कुन नेपाली मन घाइते नहोला र ? 

शरीर अमेरिकामा भए पनि मन नेपाल पुग्छ । दिनानुदिन वृद्धहरूको वासस्थान बन्दै गइरहेको हाम्रो देश जहाँ युवाहरू ताँती लागेर हजारौँको सङ्ख्यामा दिनदिनै बिदेसिन्छन् । अधिकांश हाम्रा यी युवाका हातमा अहिलेको विश्व बजारमा बिक्री हुने न दक्षता हुन्छ, न त हातमा दक्षताको आवश्यक प्रमाणपत्र । नतिजास्वरूप धेरै थोरैले मात्र परदेशमा आफूलाई स्थापित गर्न सक्छन् । अरु बिचरा या त सडकमा पुग्नपर्ने हुन्छ, या सपना सबै चकनाचुर बनाउँदै रित्तो हात घर फर्कनुपर्ने हुन्छ । यसबिचमा पाइने सास्तीका त कुरै नगरौँ । देशमा गणतन्त्र आएको अठार वर्ष र समाजवाद उन्मुख संविधान बनेको पनि नौ वर्ष बितिसके । हो, योे पृथ्वीमा जन्मेका सबैलाई आफ्नो वा देशको उज्ज्वल भविष्य बनाउने समान अवसर हुन्छ । हाम्रो देशलाई पनि विश्वको सबैभन्दा विकसित र धनी देश बन्ने अवसर नभएको होइन । यसबिचमा हजारौँ हजार जनताको बलिदानीबाट प्राप्त राज्य व्यवस्थामा नातावाद, कृपावाद, परिवारवाद, के के वाद फस्टाए, फले–फुले । सिद्धान्तको राजनीति सुविधाको राजनीतिमा परिणत भयो । जनताहरूले पैतृक सम्पत्ति जस्तै कहिल्यै छाड्ननपर्ने नेतृत्व पाए । यिनीहरूलाई कोरा आदर्श, दिउँसै तारा झार्ने भाषण र प्रतिशोधमा तल्लिन हुँदै फुर्सद छैन । बनेका भ्रातृ–सङ्गठनलाई नेताहरूको भजन गाउनमै भ्याइनभ्याइ छ । 

देशको यही अवस्थालाई चित्रित गर्दै महावीर पुनले आफ्नो पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’मा लेखेका छन्, ‘नेपालको कार्यकारिणी पदमा रहेका व्यक्तिमा देशलाई आत्मनिर्भर बनाउन, देशभित्र अध्ययन अनुसन्धान गर्नुपर्छ, अध्ययन अनुसन्धानको महत्त्व के हो र कसरी हुन्छ भन्ने कुराको ज्ञानको कमी भएको देखियो ।’ 

यसैगरी ‘सरकारी उच्च पदमा बसेका र राज्य चलाउनेहरूलाई आफ्नो पद जोगाउनैको भ्याइनभ्याई, देशको वर्तमान र भविष्यका बारेमा सोच्ने समय नै नभएको’ भनेर पनि पुनले उल्लेख गरेका छन् । त्यसै भएर होला हाम्रा युवाले देशमा आफ्नो भविष्य देख्न छाडिसकेका छन् । कुनचाहिँ बाबुआमालाई आफ्नो बुढेसकालको सहारालाई टाढा पठाउन मन लाग्छ होला र ? कसलाई आफ्नो घर–परिवार छाडेर अर्काको देशमा रगत–पसिना बगाउने रहर हुन्छ होला र ? यस्तै यस्तै के के कुरा मनमा खेलाउँदा खेलाउँदै हाम्रा अगाडि चालकविनाका ट्याक्सीहरू, टुइनपिकबाट देखिने सुन्दर दृश्यहरू, रेडउड आदिको अवलोकन गर्‍यौँ । हाम्रै देशमा जन्मिएका राजकुमार सिद्धार्थ गौतम राजपाठ त्यागेर गौतम बुद्ध बन्न सक्छन्, बचपनदेखि कुपोषणग्रस्त जुम्लाकी सुनमाया बुढाले चीनमा भएको दौड प्रतियोगितामा प्रथम हुन सक्छिन्, आवश्यक स्रोत र साधनविना पनि तेन्जिङ नोर्गे शेर्पा सगरमाथा चढ्न सक्छन् । अमेरिका आज कहाँ छ, यस्ता वीर–विराङ्गनाको देश नेपाल कहाँ छ ! कारण के होलाको प्रश्न मनमा लिएर बालबच्चाहरूसँग रमाइलो मानेर घुम्नुपर्ने समयमा विरक्तिनुपर्ने हामी प्रत्येक नेपालीको बाध्यता । सान फ्रान्सिस्को सहरको चार रातको बसाइलाई बिट मार्दै हामी मिन्नेसोटा राज्यतर्फ लाग्यौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. राधिका बुढ्थापा
डा. राधिका बुढ्थापा
लेखकबाट थप