सोमबार, २२ पुस २०८१
ताजा लोकप्रिय
निबन्ध बहस

निबन्धबारे गम्भीर विमर्श आवश्यक

शनिबार, २० पुस २०८१, १६ : ००
शनिबार, २० पुस २०८१

वि. सं. १९९३ देखि आधुनिक नेपाली निबन्ध लेखनको आरम्भ भएको हो । त्यसयता झन्डै नौ दशक बितेका छन् । यस अवधिमा सयौँ स्रष्टाले निबन्धमा कलम चलाएका छन् । निबन्धका सयौँ कृति प्रकाशित भएका छन् । निबन्ध लेखन सँगसँगैजसो यसका विषयमा विमर्श पनि आरम्भ भएको हो । आज पनि यो छलफलको महत्त्वपूर्ण विषयमा रूपमा रहेको छ । 

‘निबन्ध’ संस्कृत शब्द भए पनि यसको प्रयोग निबन्धको पाश्चात्य अर्थका सन्दर्भमा गरिन्छ । यसको जन्म र विकास पश्चिममा भयो । आज यो साहित्यको लोकप्रिय विधा बनेको छ । पश्चिममा १६औँ शताब्दीदेखि निबन्ध लेखनको आरम्भ भएको थियो । निबन्ध लेखिन थालेको लामो समय भए पनि यसका विषयमा समान धारणा छैनन् । निबन्धलाई विभिन्न ढङ्गले परिभाषित गरिएको छ । परिभाषित गर्ने कुरामा रहेका भिन्नतालाई स्वाभाविक मान्दै यसका विषयमा चर्चा परिचर्चा भएका छन् । पश्चिममा १६औँ शताब्दीदेखि लेख्न थालिएको निबन्ध हामी कहाँ झन्डै नब्बे वर्ष अघिदेखि लेख्न थालिए पनि यसको अवस्थालाई लिएर धेरै असन्तोष गर्नुपर्ने स्थिति छैन । 

निबन्ध लेखनमा आत्मपरक वा निजात्मक निबन्धलाई बेसी महत्त्व प्रदान गरिन्छ । वस्तुपरक निबन्धभन्दा आत्मपरक निबन्ध कलात्मक मूल्यका दृष्टिले महत्त्वपूर्ण हुने भएकाले यसो गरिएको देखिन्छ । निबन्धको क्षेत्र फराकिलो छ । यसभित्र आत्मपरक र वस्तुपरक निबन्धका सबै भेद पर्छन् । नेपाली निबन्ध परम्परामा सबै प्रकारका निबन्ध लेखिएका छन् । बालकृष्ण समबाट वस्तुपरक निबन्ध लेखनको आरम्भ भएको थियो भने लक्ष्मीप्रसाद देवकोटाबाट आत्मपरक निबन्ध लेखनको सुरुवात भएको थियो । आधुनिक नेपाली निबन्ध लेखनमा निबन्धका सबै भेदहरूमा कलम चलाइए पनि सबैभन्दा बढी चर्चा, विश्लेषण र मूल्याङ्कन आत्मपरक निबन्धहरूको भएको छ । यसपछि मात्र अन्य निबन्धहरूको चर्चा परिचर्चा भएको पाइन्छ । निबन्धका बारेमा हुने गरेका चर्चा परिचर्चालाई अझ गहिरो र फराकिलो बनाउन आवश्यक छ । समग्र निबन्ध लेखनका विषयमा गम्भीर र फराकिलो विमर्श चलाएर नै निबन्ध लेखनलाई अझ समृद्ध तुल्याउन सकिन्छ । हामी कहाँ चल्ने विमर्श त्यति गहिरा र फराकिला छैनन् । 

विगतको तुलनामा निबन्ध धेरै लेखिँदै छ । यसको क्षेत्र पनि फराकिलो भएको छ । निबन्धकारहरूको सङ्ख्यामा पनि वृद्धि भएको छ । आत्मपरक र वस्तुपरक निबन्धका अनेकन् कृति प्रकाशित छन् । निबन्ध लेखनमा भएको विस्तार गुणात्मक दृष्टिले कस्तो छ भनेर गम्भीर मूल्याङ्कन हुनुपर्ने थियो तर यसो हुन सकेको पाइँदैन । मूल्याङ्कन हुन सक्दा अहिलेको निबन्ध लेखनको स्तर के हो भन्ने थाहा हुन्थ्यो र यसको स्तरीकरणमा सहयोग पुग्थ्यो । निबन्ध मात्र होइन, साहित्यका सबै विधाको गम्भीर मूल्याङ्कन हुन नसकेको समय हो यो । गम्भीर विचार–विमर्श र समीक्षाभन्दा पनि सतही समीक्षा र सस्तो प्रशंसा बढी हुने गरेको समयमा हामी छौँ । सिर्जनात्मक लेखनमा यसको नकारात्मक प्रभाव परेको छ । सस्तो चर्चा र प्रशंसाका पछि दौडने प्रवृत्तिलाई यसले मलजल गरेको छ । 

गम्भीर विचार–विमर्श र समीक्षाभन्दा पनि सतही समीक्षा र सस्तो प्रशंसा बढी हुने गरेको समयमा हामी छौँ । सिर्जनात्मक लेखनमा यसको नकारात्मक प्रभाव परेको छ । सस्तो चर्चा र प्रशंसाका पछि दौडने प्रवृत्तिलाई यसले मलजल गरेको छ ।

सूचना प्रविधि र बजारको निर्णायक भूमिकाको विकाससँगै स्तरीय र स्तरहीन लेखन बिचको भेद पनि मेटिँदै छ । यसले कमजोर रचना लेखेर प्रशंसा खोज्नेहरूलाई सहयोग पुगेको छ । यसैअनुरूप लेख्ने र पढ्नेहरूको मनोविज्ञानको निर्माण हुँदै छ । समीक्षा समेत यसबाट प्रभावित छ । हामी बौद्धिकता, तार्किकता र सौन्दर्यबोधको क्षयीकरणको समयमा छौँ । हाम्रो ज्ञान र बोध निरन्तर साँघुरिँदै छ । हामी सतही, प्रियतावादी, आत्ममुग्ध मनुष्यमा फेरिँदै छौँ । समकालीन नेपाली निबन्ध लेखनलाई नियाल्ने हो भने कमजोर रचनाहरूको सङ्ख्या धेरै छ । निबन्धको मर्म नबुझीकन कलम चलाउनेहरू निकै छन् । यस विषयमा गम्भीर विमर्श हुन्थे र गहिरा समीक्षा लेखिन्थे भने परिदृश्य अलि भिन्न हुन्थ्यो । निबन्धजस्ता निबन्ध धेरै लेखिन्थे निबन्धकारहरूले निबन्ध लेखनका चुनौतीलाई गम्भीरतापूर्वक लिन्थे । 

आधुनिक नेपाली निबन्ध लेखनका विभिन्न चरण छन् । विभिन्न चरण हुँदै नेपाली निबन्धको विकास भएको छ । उत्कृष्ट निबन्ध लेख्ने स्रष्टाहरूको सङ्ख्या पनि निकै छ । लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, हृदयचन्द्रसिंह प्रधान, श्यामप्रसाद शर्मा, शङ्कर लामिछाने, कमल दीक्षित, भैरव अर्याल, बालकृष्ण पोखरेल, तारानाथ शर्मा, कृष्णचन्द्र सिंह प्रधान, जनकलाल शर्मा, रमेश विकल, राममणि रिसाल, राजेन्द्र सुवेदी आदि जस्ता निबन्धकारले नेपाली निबन्धलाई समृद्ध गर्न महत्त्वपूर्ण योगदान दिएका छन् । निबन्ध लेखनमा अझै पनि सक्रिय पुराना र नयाँ पुस्ताका कैयौँ स्रष्टाहरूको लेखनी लोभलाग्दो छ । 

निबन्धकारका दृष्टिकोण समान छैनन् र हुने कुरा पनि भएन । कसैले विसङ्गतिवादी, अस्तित्ववादी, प्रयोगवादी दृष्टिकोण अनुसार निबन्ध लेखेका छन्, कसैले प्रगतिवादी दृष्टिकोण अनुसार कलम चलाएका छन् । कसैले आलोचनात्मक यथार्थवादी दृष्टिकोणलाई अपनाएका छन्, कसैले उत्तरआधुनिकतावादी दृििष्टकोणलाई अपनाएर निबन्ध लेखेका छन् । यी केही उदाहरण मात्र हुन् । जुनसुकै दृष्टिकोण अपनाएर र निबन्धको जुनसुकै परिभाषामा टेकेर लेखे पनि निबन्ध निबन्ध जस्तो हुनुपर्‍यो । आत्मपरक निबन्ध आत्मपरक जस्तो हुनुपर्‍यो, वस्तुपरक निबन्ध वस्तुपरक जस्तो । आत्मपरक निबन्धमा निबन्धकार आफूलाई पोख्न स्वतन्त्र हुन्छ तर यो स्वतन्त्रता निरपेक्ष हुँदैन । निबन्धलाई ‘छरिएको चिन्तन’ भनियोस् वा ‘मनको खुकुलो विचरण’, ‘आत्माको अभिव्यक्तिको प्रयत्न’ भनियोस् वा ‘कुनै विषयमा केन्द्रित, सीमित आयाम र सुगठित शैली भएको रचना’ भनियोस्, ‘व्यक्तित्वको अभिव्यक्ति’ भनियोस् वा ‘कुनै विषयबारे स्वाधीन चिन्तन र अनुभूतिको अभिव्यक्ति’ ठानियोस्, निबन्ध निबन्धजस्तै हुनुपर्‍यो । देवकोटाका निबन्धमा देवकोटेली चिन्तन मात्र पाइँदैन, अनुभूतिको गहिराइ, रागात्मकता, सरसता, सजीवता, कल्पना, गहिरो संवेदना र प्रौढता पनि पाइन्छ । शैलीगत माधुर्य देवकोटाका निबन्धहरूको लोभलाग्दो पक्ष हो । विषयवस्तु, अनुभूति, विचार, कल्पना र संवेदनाको प्रभावकारी कलात्मक प्रस्तुतिकै कारण उनका निबन्ध उच्च मानिएका हुन् । 

शङ्कर लामिछाने प्रयोगवादी निबन्धकार हुन् । निबन्धात्मक दृष्टिले उनका रचना उच्च छन् । विचार, भावना, अनुभूति, कल्पना र संवेदनाको गजबको प्रस्तुति उनका निबन्धमा पाइन्छन् । उनको अभिव्यक्ति शैली नवीन र प्रभावकारी छ । हृदयचन्द्र सिंह प्रधान र श्यामप्रसाद शर्माले प्रगतिशील दृष्टिकोण अनुसार निबन्ध लेखेका छन् तर ती निरस, संवेदनहीन, अनुभूति र विचारको खस्रो अभिव्यक्तिका रूपमा छैनन् । त्यहाँ सरसता, सजीवता, कल्पनाशीलता, बौद्धिकता, तार्किकता र गहिरो सामाजिक एवं मानवीय सरोकार पाइन्छ । भैरव अर्यालले हास्यव्यङ्ग्य निबन्धलाई उचाइ प्रदान गरे । यात्रा निबन्धले तारानाथ शर्माबाट उचाइ प्राप्त गर्‍यो । यी नेपाली निबन्धका केही प्रतिनिधि नाम हुन्, जसका निबन्धले निबन्ध कस्तो हुनुपर्छ भन्ने दृष्टान्त प्रस्तुत गर्छन् । वैचारिक दृष्टिले विमति जनाउन सकिन्छ तर उनीहरूका निबन्ध कमजोर छन् भन्न सकिँदैन । उनीहरूले आफूलाई निबन्धमा प्रभावकारी रूपमा प्रस्तुत गरेका छन् । यसै कारण उनीहरूका निबन्ध पठनीय छन् । 

स्थूल अनुभूति, अत्यधिक भावुकता, कमजोर कल्पनाशीलता, छिपछिपे संवेदना, निबन्धको आयामको बेवास्ता, विषयवस्तुको पुनरावृत्ति, अभिव्यक्तिमा नवीनताको अभाव, कमजोर सामाजिक एवं मानवीय सरोकार आजका कैयौँ निबन्धमा पाइने कमजोरी हुन् ।

निबन्धका विषयवस्तु अनेक हुन सक्छन् । धाराका दृष्टिले निबन्धलाई विभिन्न धारामा वर्गीकरण गर्न सकिन्छ । निबन्धकार कुनै पनि ठाउँमा उभिएर लेख्न स्वतन्त्र छ तर ऊ निबन्धको विषयवस्तु, उद्देश्य, भाषाशैली र शिल्पका बारेमा गम्भीर बन्नैपर्छ । ऊ निबन्धको रचना प्रक्रियाका बारेमा पनि गम्भीर हुनुपर्छ । अनुभूति, चिन्तन र अभिव्यञ्जनाको प्रक्रियाबाट निबन्धकार जति परिष्कृत भएर अभिव्यक्त हुन सक्छ, निबन्ध त्यति नै स्तरीय हुन सक्छ । चिन्तनको प्रौढता, बौद्धिकता, अनुभूति एवं संवेदनाको गहिराइ, कल्पनाको उचाइ र अभिव्यक्तिको नवीनताले निबन्धलाई पठनीय बनाउँछन् । कतिपयले निबन्धमा चिन्तन वा बुद्धितत्त्वलाई उपेक्षा गरेको पाइन्छ । आत्मपरक होउन् वा वस्तुपरक, निबन्धमा चिन्तनको महत्त्वपपूर्ण स्थान रहन्छ । यसको उपेक्षाले निबन्ध कमजोर बन्छन् । आज लेखिँदै गरेका कैयौँ निबन्धमा यसको अभाव खट्कन्छ । स्थूल अनुभूति, अत्यधिक भावुकता, कमजोर कल्पनाशीलता, छिपछिपे संवेदना, निबन्धको आयामको बेवास्ता, विषयवस्तुको पुनरावृत्ति, अभिव्यक्तिमा नवीनताको अभाव, कमजोर सामाजिक एवं मानवीय सरोकार आजका कैयौँ निबन्धमा पाइने कमजोरी हुन् । निबन्ध लेख्ने कतिपयमा त सामान्य विधागत ज्ञानसम्म पाइन्न । 

निबन्धलाई अझ खँदिलो र प्रभावकारी बनाउनुपर्ने समयमा हामी छौँ । साहित्यको महत्त्व आज अझ बढेको छ । निबन्धलाई नितान्त ‘निजात्मक’ बनाउने कुराबाट बच्दै यसलाई अझ धारिलो बनाउनुपर्ने समय हो यो । आफैँ र समाजदेखि कट्दै गरेको मनुष्य, कलाका विविध रूपहरूको वस्तुकरण हुँदै गरेको कटु यथार्थ, बजार र चरम उपभोक्तावादका कारण आफ्नो स्व र गरिमा गुमाउँदै गरेको व्यक्ति, आणविक हातहतियारहरूको निर्माण, पर्यावरण विनाश, मूल्य विघटन, विमानवीकरण, अतिवाद, वर्गीय, जातीय एवं लैङ्गिक विभेद, रङ्गभेद, युद्ध आदिका विरुद्ध साहित्यले अझ सार्थक भूमिका सम्पादन गर्नुपर्ने समयमा हामी छौँ । निबन्धका माध्यमबाट साहित्यको यस भूमिकालाई अझ प्रभावकारी बनाउन सकिन्छ । कैयौँ समर्थ नेपाली निबन्धकारले आफ्ना निबन्धमा यी विषयलाई गम्भीरतापूर्वक उठाएका छन् । उनीहरूका निबन्धमा नितान्त आफ्ना सुख–दुःख, राग–विराग, घात–प्रतिघात, आँसु हाँसो मात्र पाइँदैनन्, देशभक्तिको भावना, परिवर्तनको चाहना, उत्पीडनको अन्तको आकाङ्क्षा, नौलो समाज निर्माणको चाहना, स्वतन्त्रता, समानता, सामाजिक न्याय, मानवीय गरिमा र सौन्दर्यको भावनाको अभिव्यक्ति पनि पाइन्छन् । नेपाली निबन्धमा पाइने यी विषयलाई अझ समृद्ध गर्न आवश्यक छ । समकालीन निबन्ध लेखन आफ्नो समयसँग गहिरो गरी जोडिएर र आलोचनात्मक विवेकलाई अझ बढी महत्त्व दिएरै अझ सुन्दर हुन सक्छ । आफ्ना कमजोरीहरूप्रति गम्भीर भएरै समकालीन निबन्धकारहरूले निबन्धलाई नयाँ उचाइ प्रदान गर्न सक्छन् । समकालीन निबन्ध लेखनमा समर्थ निबन्धकारहरूको कमी छैन, तर जुन अनुपातमा निबन्ध लेखिँदै छ र स्रष्टाहरूको सङ्ख्यामा वृद्धि हुँदै छ, निबन्ध लेखनका विषयमा गम्भीर विमर्शको आवश्यकता बढेको छ । एकातिर आफ्ना सबल र दुर्बल पक्षका बारेमा निबन्धकारहरू स्वयं जागरूक हुन आवश्यक छ, अर्कातिर गम्भीर समीक्षा कर्मको आवश्यकता छ । आउँदा दिनहरूमा हामी यसप्रति गम्भीर बन्ने नै छौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अमर गिरी
डा. अमर गिरी
लेखकबाट थप