निबन्धका धेरै विषयवस्तु पत्रकारिताले खोस्यो : प्रा.डा. गोविन्दराज भट्टराई
रातोपाटीकर्मी ध्रुवसत्य परियारले प्रा.डा. गोविन्दराज भट्टराईलाई निबन्धका बारेमा केही प्रश्न इमेल गरेका थिए । प्रा.डा. भट्टराईले जवाफ लेखेर इमेल फर्काए :
- समाचारका तत्त्व पुगेन भने ‘न्युजरुम’मा रिपोर्टरलाई डेस्क इडिटरले प्रायः भनेको सुनिन्छ, ‘निबन्ध लेखेर हुन्छ !’
अर्कोतिर देखिरहेको गाईका बारेमा लेख्न सजिलो होला, सांस्कृतिक वा धार्मिक आस्थाले पनि होला— हामीकहाँ विद्यार्थीलाई स्कुलमा गाईको निबन्ध लेख्न सिकाइन्थ्यो, अझै सिकाइन्छ ।
अल्छी वा विभिन्न आयाममा विषयवस्तुलाई नबुझेको विद्यार्थीको सन्दर्भमा भनिन्छ, ‘परीक्षामा गाईको निबन्ध घुसाउने सोचेका छौ !’ जस्तोः परीक्षामा डाँफेको बारेमा निबन्ध लेख्न भनियो भने विद्यार्थीले यसरी लेख्छ— डाँफे हाम्रो राष्ट्रिय पन्छी हो । डाँफे वनमा बस्छ । वनमा घाँस पलाउँछ । घाँसलाई गाईले खान्छ । गाई हाम्रो राष्ट्रिय जनावर हो । गाईका चारवटा खुट्टा हुन्छन्... ।
क्रेबले भनेको भनेर भारतीय लेखकहरूले उद्धृत गरेको पाइन्छ, ‘निबन्ध सबैभन्दा लोकप्रिय विधा हो । किनकि यो यस्ता लेखकका लागि उपयुक्त छ, जसमा आफ्नो जिज्ञासा बढाउनका लागि न प्रतिभा हुन्छ न त लगाव । निबन्ध सामान्य पाठकका लागि हो, जो विविधता र सतहीपनबाट प्रशन्न हुन्छन् ।’
यसरी हेर्दा— निबन्ध कस्तो विधा हो, निबन्ध लेख्न सजिलो छ वा गाह्रो ?
अलिकति प्रसङ्ग र पृष्ठभूमि बताएर मात्रै म तपाईंको उत्तरमा अवतरण गर्न चाहन्छु ।
प्राचीन ग्रिसेली साहित्यको दृष्टिकोण सबै अनुयायी भाषा–साहित्यको आद्यरूप हो । त्यस अनुसार काव्य (कविता), नाटक प्राचीनतम विधा हुन् । पूर्वमा (संस्कृतमा) पनि सोही सिद्धान्त थियो । त्यसमा समालोचना जोडियो भने आख्यान र निबन्ध अलिक पछिका हुन् । फ्रान्सेली र अंग्रेजीमा निबन्ध १६औँ/१७औँ शताब्दीमा आए, नेपालीमा २०औँ शताब्दीमा मात्रै ।
यसको प्रथम श्रेय महाकवि लक्ष्मीप्रसाद देवकोटालाई जान्छ । उनको ‘लक्ष्मी निबन्ध संग्रह’ आधुनिक चेतनाको, शैलीको, विचारको नेपालीत्व चिनाउने संग्रह हो । निबन्धबेगर साहित्य अपूर्ण रहन्छ भन्ने कुराको हृदयङ्गम गरेर उनले अंग्रेजी साहित्यका एडिसन, जोन्सन, बेकन जस्ता स्रष्टाबाट चयन गरी पाश्चात्य निबन्धको प्रथम संग्रह अनुवाद गरे । जसको नाम हो— प्रसिद्ध प्रबन्ध संग्रह ।
जोन्सनले निबन्धलाई ‘लुज स्याली अफ् माइन्ड’ अर्थात् मस्तिष्कको एक कोमल विद्रोह भने । प्रथम फ्रान्सेली निबन्धकार मोतेँले त निबन्धलाई ‘प्रयत्न, कोसिस’ मात्र भने । आज पाँच सय वर्ष बिते ।
आज त विश्व साहित्यकै एक महत्त्वपूर्ण विधामा एक निबन्धको गणना हुन्छ । कविता, कथा, नाटक, निबन्ध, समालोचना प्रत्येकको आफ्नो स्थान हुन्छ । कुनै पनि साहित्यिक इतिहासमा एक विधा कम होलान् तर त्यो कुरा परिवर्तनशील छ र सबैको समान अस्तित्व हुन्छ ।
तपाईंले उद्धरण गरेको उक्तिमा जस्तो निबन्ध सामान्य पाठकका लागि होइन । यो पनि तर्क, विवेक र विश्लेषण शक्ति भएको बौद्धिक व्यक्तिलाई नै हो । त्यसो त बाल साहित्यदेखि नै यो सुरु हुन्छ । तर कुनै साहित्यको स्तर देखाउन गतिला निबन्धको आवश्यकता पर्दछ । यो त्यस्तो लोकप्रिय पनि होइन एउटा आख्यानजस्तो । यसले अलिक बौद्धिक पाठक खोज्छ । किनभने यसमा आख्यानमा जस्तो चरित्र, कथानक परिवेशजस्ता विशेषता अनिवार्य हुँदैनन् । मनको हलचल, तरंग, जिज्ञासा, ज्ञान आदि संवेदनालाई पाठक लोभिने गरी तान्दै लानुपर्छ । यसको भाषाशैली नै सकेसम्म औपचारिक र उच्च हुन्छ ।
अभ्यास हुनेलाई सजिलो छ, नहुनेहरू कहिल्यै निबन्ध नलेख्ने पनि छन् । विश्वलाई नेपाली निबन्धको नमुना प्रस्तुत गर्न मैले ३० निबन्धको अंग्रेजी अनुवाद गरेँ, जीवा लामिछानेले प्रकाशित गर्नुभयो, जसको नाम हो ‘सेलेक्टेड नेपाली एसेज’ (२००४) ।
- हामीकहाँ निबन्धको काल विभाजन गर्दा प्रारम्भिक काल वा चरण (वि.सं. १८३१– १९५७ सम्म), माध्यमिक काल (१९५८ देखि १९९२ सम्म) र आधुनिक काल (१९९३ देखि यता) भनेको पाइन्छ ।
शारदा पत्रिकाको प्रकाशन मिति (१९९३) देखियता नेपाली निबन्धको शैली, प्रवृत्ति र धार उस्तै छ कि बदलिएको पाउनुहुन्छ ? अर्थात् यहाँले १९९३ यताका निबन्धलाई काल विभाजन गरेर हेर्नुभएको छ ? अझ स्पष्ट पारौँ — हाम्रा निबन्ध आधुनिककालमै रुमलिएका छन् कि अत्याधुनिक कालको यात्रा गर्दै छन् ?
श्रीओम श्रेष्ठको सक्रियतामा मैले २० वर्षपछि दोस्रो निबन्ध संग्रहको अंग्रेजी अनुवाद गराई सम्पादन गर्दै छु । छानिएका चयनित निबन्ध पढ्दा के लाग्छ भने अमर निबन्ध रच्न ठुलै स्रष्टा चाहिने रहेछ । अहिले त्यो पुराना विविध पुस्ताका निबन्धकारमा आइरहेका छन् जुन कुरा श्रीओम श्रेष्ठ भाइले सम्पादन गर्नुभएको ‘समकालीन नेपाली निबन्ध’का ३५ थान रचनाले बताउँछन् । त्यसो त अघिका साझा निबन्ध, प्रज्ञा–प्रतिष्ठानको, मोमिलाजस्ता निबन्ध मर्मज्ञ सम्पादकले कलाश्रीमा समेटेका यस्ता अरु पनि छन् । ‘मधुपर्क’, ‘शारदा’, ‘रचना’, ‘अभिव्यक्ति’ भर्खरको ‘आरब्ध’जस्ता प्रकाशनले पनि निबन्धलाई राम्रो स्थान दिएको हुन्छ । खिमानन्दको ‘हिमाली गुराँस’ले पनि ३५ स्रष्टाको निबन्ध विशेषाङ्क निकाल्यो तर सबै निबन्धको टेक्निक उस्तै हो ।
निबन्ध सर्वाधिक स्वतन्त्र विधा पर्यो । स–साना फिचर आर्टिकल, न्युज रिपोर्ट, काँचा यात्रा वृत्तान्तदेखि लिएर तमसुके गन्थनहरू पनि निबन्धभित्र घुस्न खोजेर यसको हुर्मत लिन्छन् ।
हाम्रा निबन्धकार रुमलिएका छन् जस्तो लाग्दैन । कथा, उपन्यास, नाटक आदिमा जुन प्रकारको नवीनता र प्रयोगशीलता थपिन्छ, त्यसको तुलनामा विश्वकै निबन्ध गति स्थिर छ । तर समयले ल्याएको परिवर्तन, साइबरीय टेक्निक र विषयवस्तुलाई सबैले सबै निबन्धमा लेख्छन् तर नेपालीका लागि साइबर निबन्ध रच्न अझै असम्भव छ ।
निबन्धका धेरै विषयवस्तु पत्रकारिताले खोस्यो, अझ श्रव्य–दृश्य साधनको विश्वव्यापिताले पठन संस्कृति सुकाएझैँ निबन्ध पनि सुक्तैछ । दुई वर्षअघि जीबीएलओले हामीलाई ‘नायग्रा फल्स’ लगेको थियो । त्यस अपूर्व अवसरको सम्झनामा एक निबन्ध रचेको थिएँ । आज फाइनल गर्ने बेलामा एउटा जीवन्त भिडियो हेर्दै थिएँ— मलाई लाग्यो अब प्रविधिले अक्षरलाई डिलिट गर्दै लान्छ कि क्या हो । त्यो भिडियो हेर्नेले यी अक्षर पढ्दैनन् किनभने एउटा क्रियाकलापको अथवा स्थानको जीवन्त चित्र देख्न पाएपछि त्यसैलाई बुझ्न को अक्षर पल्टाइरहन्छ । भिडियोमा भएको दृश्यात्मकता अक्षरले बयान गरेभन्दा सयौँ गुणा जीवन्त हुन्छ ।
- महाकवि देवकोटाले निबन्धलाई प्रबन्ध भनेका थिए । अचेल कुनै ग्रन्थ वा शोधलेखलाई प्रबन्ध भनेको पनि पाइन्छ । निबन्ध र प्रबन्धको भेद के हो ? अहिलेका हाम्रा निबन्ध कति हदसम्म प्रबन्ध (शोध लेख) हुन् वा होइनन् ?
अपेक्षाकृत छोटो र साहित्यतेर गुणको निबन्धात्मक लाग्ने लेखन प्रबन्ध हो । अनेक प्रकारका लेखन प्रबन्धात्मक हुन्छन् । तर त्यस्तो ‘क्लियर कट’ भेद गरेको त मैले पढेको छैन । यो निबन्धकै एक प्रकृति हो भने यति सम्झौँ, निबन्धको एक उत्कृष्ट रूप हो— ललित निबन्ध । जसको अर्थ हुन्छ, आत्मपरक विषयप्रधानता एवं व्यक्तिनिष्ठ निबन्ध । यो प्रचलित विषयमा भन्दा पनि व्यक्तिपरक हुन्छ ।
विषयवस्तुहरूको विराट् जगत्मा चारखुट्टे जन्तुदेखि अदृश्य, अणु, परमाणु आत्मा, परमात्मा र अनेक संवेदनाहरूको अन्तर्मिश्रण प्रस्तुत गर्ने माध्यम हो निबन्ध ।
विशेष शब्दको अभावले विश्वविद्यालयका थेसिसलाई पनि ‘प्रबन्ध’ भनी अनुवाद गरिएको हो । ती निबन्धात्मक रचना होइनन्, नाम मात्र एकै भो ।
- निबन्ध कति हदसम्म आख्यान (फिक्सन) र कतिसम्म तथ्य वा गैरआख्यान (नन–फिक्सन वा फ्याक्ट) हो, वा एउटा निबन्धमा यति प्रतिशत फिक्सन र यति प्रतिशत फ्याक्ट हुनुपर्छ वा हुँदा फरक पर्दैन भनी भन्न सकिन्छ ?
सारा साहित्य तथ्य हो तर सारा साहित्य कल्पनाको सहाराले बनिन्छ । तसर्थ यी दुई तत्त्वलाई सम्पृक्त राख्न सकिन्न । निबन्धमा पनि त्यही नियम लागु हुन्छ । साहित्य रच्ता अनेक अलंकारको प्रयोग हुन्छ । ती प्रत्येकले कल्पित तथ्यतिर संकेत गर्छन् । कसैले ‘एउटा ढाडे जत्रै मुसो आयो’ भन्यो भने त्यो अतिशयोक्ति अलङ्कार भयो । ‘पूर्णिमाको जूनले गर्दा जुरेली पाखा दूधले नुहाएजस्तो देखियो’ भन्यो भने रूपक अलंकार भयो । यी अलङ्कारको प्रयोग गर्न कत्रो कल्पना चाहिन्छ ! साहित्यको सामान्य आरम्भ पनि कल्पनाबाटै हुन्छ ।
- हाम्रो इतिहास हेर्दा निबन्धको काल विभाजन गरेको पत्रकारिताले देखिन्छ । जस्तो ः गोरखापत्र (१९५८), शारदा (१९९१) । अचेल पत्रकारितामा समस्या देखिन्छ, कस्तो आलेख वा सामग्रीलाई कुन विधामा राख्ने भन्ने । जस्तो ः लेखनको शैली आत्मपरक छ भने ‘ब्लग’ मान्ने गरिन्छ; वस्तुगत छ भने विचार वा आलेख मानिन्छ; बढी अनुभवजन्य छ भने साहित्यतिर राखिन्छ; केही तथ्यगत वा सन्दर्भसहित आएको छ भने फिचर वा लामा आलेख मानिन्छ । यसले गर्दा पत्रपत्रिकामा निबन्ध कम प्रकाशन भएझैँ देखिन्छ ।
अर्कोतिर हामीकहाँ ऐतिहासिक निबन्ध वा सांस्कृतिक निबन्ध भनेर पनि पुस्तक छापिएका छन् ।
यस सन्दर्भमा— निबन्ध भनेर छुट्टिनका लागि निबन्धका तत्त्व के के हुन्, निबन्ध कति प्रकारका हुन सक्छन्, सामान्यतः निबन्ध हुनलाई अधिकतम वा न्यूनतम शब्द कति हुनुपर्छ ?
त्यो कुरा ठिक भन्नु भो । आरम्भमा लेख्ने अथवा प्रकाशन गर्ने माध्यम थिएनन् । त्यस कारणले केही चुनिएका पत्रिका वा अखबारले नै साहित्यको ठुलो भार बोक्नुपरेको थियो । केही वर्षअघि गोरखापत्रमा सय वर्ष पुगेको उपलक्ष्यमा प्रा. माधव पोख्रेलको सम्पादनमा गोरखापत्रका चुनिएका निबन्ध प्रकाशित भयो । भर्खरको नेपाली साहित्यको आधुनिककाल १०० वर्ष पुगेको छैन ।
एउटा जीवन्त भिडियो हेर्दै थिएँ— मलाई लाग्यो अब प्रविधिले अक्षरलाई डिलिट गर्दै लान्छ कि क्या हो । त्यो भिडियो हेर्नेले यी अक्षर पढ्दैनन् किनभने एउटा क्रियाकलापको अथवा स्थानको जीवन्त चित्र देख्न पाएपछि त्यसैलाई बुझ्न को अक्षर पल्टाइरहन्छ । भिडियोमा भएको दृश्यात्मकता अक्षरले बयान गरेभन्दा सयौँ गुणा जीवन्त हुन्छ ।
निबन्धका उद्देश्य, तिनमा प्रयुक्त भाषाशैली र विधि अनुसार तिनको प्रकार छुट्ट्याइएको छ । तार्किक एवं विश्लेषणात्मक शक्तिद्वारा आफ्नो भिन्न वा नवीन दृष्टिकोणलाई, अध्ययन र अनुसन्धानलाई पाठकसमक्ष पुर्याइने निबन्ध तार्किक निबन्ध हुन्छ । तिनमा तर्क र विवाद हुन सक्छ । उदाहरण ः बालकृष्ण गुरु, प्रा. माधव पोख्रेल । यसमा प्रमाण साक्षी आवश्यक हुन्छ । कृष्णचन्द्र सिंह र तेजेश्वरबाबु ग्वंगका सांस्कृतिक निबन्धमा पनि यो शक्ति छ ।
अर्को खालमा पर्छन्— व्याख्यात्मक वा प्रतिपादन विषयका विकास, विस्तार, परिवर्तन बुझाउने कुरा । नेपालको पत्रकारिता, नेपाली निबन्धको इतिहास, नेपाली समाज, नेपाली नारी चेतनामा परिवर्तन, वैश्वीकरण आदि यसका शीर्षक नमुना हुन् । यसमा विषयवस्तुको ज्ञान केन्द्रीय कुरा हुन्छ ।
तेस्रोमा जुन कुनै विषय हुन सक्छ तर यसको आख्यानात्मक शक्ति सिर्जनात्मक भाषाको प्रयोगमा हुन्छ । सानो कुरा टिपेर होस् पाठकलाई विश्वस्त पार्ने शक्ति चाहिन्छ । कुनै कथावस्तु रचिएजस्तो शक्ति आवश्यक हुन्छ । देवकोटा, कृष्णचन्द्र, शंकर लामिछानेका आंशिक गुणयता छन् । ललित निबन्धका स्वरूप यसै अन्तर्गत पर्छन् ।
अन्त्यमा छ, वर्णनात्मक । आख्यानात्मकले अदृश्य मनलाई वा कुनै विषयलाई टिपेर देखाउँछ । तर यो सोझो, दृश्यमान भौतिक अस्तित्वको प्रस्तुति हो । नाम्चे बजारमा एक बिहान, लुम्बिनीदेखि पाल्पासम्म आदि यसका उदाहरण हुन् ।
मानिसले सिद्धान्त पढेर लेख्ने होइन । त्यसमा पनि निबन्ध सर्वाधिक स्वतन्त्र विधा पर्यो । स–साना फिचर आर्टिकल, न्युज रिपोर्ट, काँचा यात्रा वृत्तान्तदेखि लिएर तमसुके गन्थनहरू पनि निबन्धभित्र घुस्न खोजेर यसको हुर्मत लिन्छन् ।
सिद्धान्तले निबन्धका तीन खण्ड लगाएको छ— आरम्भ अर्थात् परिचय, मूल खण्ड र अन्त्य अर्थात् सारांश वा निचोड ।
तर सबै सिद्धान्त पढेर बुझेर निबन्ध लेख्न थालिन्न । अरुको पढेर प्रभाव ग्रहण गर्दै–गर्दै जाँदा म पनि यति गर्न सकुँला भन्ने आउँछ । मैले पनि स्नातक नेपालीमा पढ्दा देवकोटा, ताना शर्मा लगायतका विशेष निबन्ध पढेँ । काठमाडौँको बास भएकाले नेपाली भाषा साहित्यिक समस्त स्रोत सामग्री पाइन्थे— रूपरेखा, शारदा, रचना, उताको दियालो, भारती आदि ।
नजिकको भारतीय पुस्तकालय, अमेरिकी बेलायती पुस्तकालय र पाठ्यक्रममा पढ्नुपर्ने चाल्र्स ल्याम्, जोनाथान स्विफ्ट, फ्रान्सिस, बेकन, एल्डौस हक्सले, जज अर्बेल, जीके चेस्टर्टन, लिटन स्ट्राची, जोन गाल्स्वर्दी, नामी निबन्धकार पढ्यौँ, पढायौँ । तर नारीमा भर्जिनिया उल्फ मात्र थिइन् । हाम्रोमा पनि भर्खरसम्म त्यस्तै छ । अब त ज्ञानु पाण्डे, मोमिला, सुधा त्रिपाठी, ज्ञानु अधिकारीजस्ता राम्रा शक्ति अघि लागेका छन् ।
- लेखनलाई उद्देश्यका रूपमा पनि हेरिन्छ, हेर्नुपर्छ । हामीकहाँ सामाजिक न्यायका मुद्दामा केन्द्रित निबन्धको अवस्था के कस्तो पाउनुहुन्छ ?
यो महत्त्वपूर्ण पक्ष छ । राजनीतिक पक्षधरता र सामाजिक मुद्दामा शोषित वर्गसम्म समतामूलक न्यायको चेतना भर्ने प्रचारहरू हुन्छन् । असहिष्णु समाजमा शिक्षा र चेतनाले केही प्रभाव पार्दै छ तर साहित्यिक अभियानहरू नगन्य छन् । दुई वर्षअघि सिक्किमको गेजिङमा ‘भारतीय नेपाली साहित्यमा दलित तथा सबाल्टर्न साहित्यको स्वरूप’ भन्ने विषयमाथि तीनदिने सम्मेलनमा भाग लिने अवसर मिलेको थियो । साहित्यले उठाउनुपर्ने सामाजिक डिस्कोर्स हाम्रामा शून्य बराबर छ भन्दा हुन्छ ।
त्यसमा एउटा खतरा पनि छ— त्यसरी साहित्यले उठाउन चिनाउन गरेको प्रयत्नलाई राजनीतिक नाराभित्र सीमित गरियो भने त्यसलाई साहित्य बन्न मुस्किल पर्छ । तर हाम्रा शैक्षिक प्राज्ञिक प्रतिष्ठानले यसतर्फ सोच्नुपर्छ । हाम्रा स्रष्टाको पनि मानसिकता नबदलिएसम्म साहित्यले वञ्चितहरूको जीवनमा परिवर्तन ल्याउन सक्तैन । त्योभन्दा ठुलो कुरा— जुन वर्ग वञ्चित अपहेलित छ, त्यसै भित्रबाट कला गर्ने वा आवाज उठाउन सक्ने प्रतिभा चाहिन्छ । अर्काले लेखिदिएको सहानुभूति काम लाग्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रीय समिति बैठकमा ८० नेताले राखे धारणा
-
सार्वजनिक यातायातको भाडादर वृद्धि
-
नेपाल टेलिकमलाई सर्वोच्चको दुई बुँदे आदेश- व्यक्तिको सूचनामा पहुँच नदिनू
-
सरकारले खेलकुद विश्वविद्यालय यथाशीघ्र स्थापना गर्नुपर्छ : नेता महर
-
कांग्रेस (बीपी)का संस्थापक सभापति भट्टराईसहित १२ जना कांग्रेसमा प्रवेश
-
अफशोर ड्रिलिङमा बाइडेनले लगाए स्थायी प्रतिबन्ध